मन्दीको मौका
मदन लम्साल
राजनीतिक अन्योल कायम छ । समयमा बजेट आएन । बजेट नआउँदा त्यसको प्रभावले देशको समग्र आर्थिक गतिविधिमा मन्दी आयो । विश्व आर्थिक मन्दीको असर नेपाललाई परेन । तर, राजनीतिक अकर्मण्यताको गहिरो चोट नेपाली अर्थतन्त्रलाई परेको छ । राजनीतिक अन्योलका कारणले लगानीमा ल्याएको सुस्तीलाई सीधै आर्थिक मन्दी भनिहाल्न मिल्छ वा मिल्दैन बहस हुन सक्छ । तर, एउटा कुरा पक्का छ । जब सङ्कट पर्छ, त्यसबेला प्रायः व्यवस्थापक र उद्यमी आफ्ना कम्पनीलाई बचाउनतिर मात्र आफ्नो सम्पूर्ण शक्ति खर्च गर्दछन् । अहिले धेरै नेपाली उद्योग, घरजग्गा व्यवसायी र बैङ्कहरुले त्यस्तै गर्न थालेको देखिन्छ ।
यसो हेर्दा क्षणिक समयका लागि यो रणनीति ठीकैजस्तो देखिन्छ । तर, वर्तमानमा मात्र बाँच्ने खालको यस्तो रणनीति दीर्घकालीन रुपमा कुनै पनि कम्पनीका लागि घातक हुन्छ । त्यसो भए अगाडिको बाटो के त ?
शायद हिजोका आफ्ना रणनीतिलाई पनि पुनरवलोकन गर्नुपर्ने बेला आएको हो कि ? सङ्कटपछिको समयमा आफ्ना ग्राहकका आवश्यकता के हुन्छन्, बजारको मानसिकता कस्तो हुन्छ भनेर आगामी दिनका लागि योजना बनाएर त्यसैअनुसार चल्नु सबैभन्दा महत्वपूर्ण हुन्छ ।
सङ्कटले कम्पनीको कमजोरी पत्ता लगाउने र सो हटाउने मौका प्रदान गर्दछ । समयमा आफ्ना कमजोरी नसच्याउँदा कम्पनीहरु फेल हुन्छन् । उदाहरणका लागि हालै फेल भएका दुइ कम्पनीलाई हेरौं । चाहे नेपाल विकास बैङ्क होस् वा नेपालमा हयुण्र्डाई मोटरको विक्रेता एभ्को इण्टरनेशनल, उनीहरुलाई आफ्नो कम्पनी जसरी चल्नुपर्ने हो नचलेको र कम्पनी घाटामा गइरहेको छ भन्ने वर्ष दिनअगाडि नै थाहा थियो । तर, आफ्ना कमजोरीहरुलाई सच्याउँदै जानुको सट्टा कमजोरी लुकाउनमा मात्रै समय र पैसा खर्च गरेको सबैले देखेको कुरा हो ।
एभ्को समूहकै कस्मिक एअरको पनि रोग उस्तै थियो । जब एअरलाइन्स सोचेजस्तो चल्न नसकेर बैङ्क ऋणमा चुर्लुम्म डुबेको थियो, उसले अझ एउटा टिकट खरीद गर्दा अर्को सित्तैमा पाउने योजनासमेत ल्याएको थियो । तर, त्यसो गर्दा पनि ऊ माथि उठ्न सकेन । किनभने समस्या टिकटको मूल्यमा नभई उसले दिने सेवामा थियो, कम्पनी बचाउने नाममा लिएको उसको गलत रणनीति थियो ।
उस्तैउस्तै बाहय परिस्थितिबाट गुज्रिएर पनि यती र बुद्ध एअर आजको स्थितिमा सफलतापूर्वक आउन सकेका छन् । तर, कस्मिकले आफूलाई बचाउन सकेन । एभ्को र नेपाल विकास बैङ्कको पनि समस्या उस्तै थियो । त्यसैले भनिन्छ आर्थिक मन्दी वा सङ्कटको बेलामा आत्तिएर जथाभावी मूल्य घटाउने वा लगानी खुम्च्याउनेभन्दा पनि आफ्ना कमजोरी हटाउने र आफ्नो क्षमता र शक्तिलाई विस्तार गर्ने हुनुपर्दछ । यो आफ्ना प्रतिस्पर्धीलाई पछाडि पार्ने एउटा मौका पनि हो ।
सङ्कटका बेला कहिलेकाहीँ कम्पनीमा झन् लगानी बढाउनुपर्ने पनि हुन सक्छ । उदाहरणका लागि आईबीएम र एप्पलजस्ता विश्वप्रसिद्ध कम्प्युटर कम्पनीहरुले विश्वमा आर्थिक सङ्कट मडारिइरहेकै बेला आफ्ना कम्पनी विस्तारमा ठूलो लगानी थपेर आफ्ना प्रतिस्पर्धीहरुलाई धेरै पछाडि पारेका हुन् । नेपालमा अहिले खेतान गू्रपले पनि यस्तै खालको रणनीति लिएको देखिन्छ । उसले दूरसञ्चारलगायत नयाँ क्षेत्रमा लगानी गर्नुका साथै आफ्नो समूहको लगानी रहेको लक्ष्मी बैङ्कलाई ५ अर्ब पूँजी भएको बैङ्क बनाउन अन्य बैङ्क खरिद गर्ने, नभए आफै पूँजी थप्ने योजना सार्वजनिक गरिसकेको छ । केही वर्षअघि इण्टेल र जेननले सङ्कटकै समयमा लगानी विस्तार गरेर आजको सफलता प्राप्त गरेको उदाहरण पनि हाम्रोसामु नै छ ।
त्यसैले आर्थिक सङ्कटको समयमा कम्पनीको धेरैजसो ध्यान यसलाई सम्हाल्न, आजको समयमा कम्पनी डुब्नबाट बचाउनमा लाग्नुपर्ने बाध्यता भए तापनि कम्पनीमा केही प्रमुख व्यवस्थापकलाई सङ्कटपछिको समयमा कम्पनीको आर्थिक वृद्धिका लागि केन्द्रित गराउनु बुद्धिमानी हुन्छ ।
यस्तै आफ्नो कम्पनीको साख 'इण्डष्ट्री लिडर' का रुपमा राखिरहनु त्यत्तिकै महङ्खवपूर्ण हुन्छ । हिजो कम्पनीले लिएको रणनीतिमा आजको समयअनुसार परिवर्तन गरेर बजारमा जाँदा गर्नुपर्ने विस्तृत कार्यसूची तयार पारेर काम गर्ने कम्पनी नै अन्ततः सङ्कटकाललाई सजिलै पार गर्न सक्छ र भविष्यमा पनि अगुवा नै रहिरहन सक्छ ।
अर्को कुरा, सही रणनीति भएर पनि त्यसलाई कार्यान्वयन गर्न नसकेका कारण कम्पनीहरु फेल भएका उदाहरण थुप्रै छन् । तर, सही रणनीति कार्यान्वयन गरेकै कारण प्रतिस्पर्धीहरु सङ्कटग्रस्त बनेका बेला आफूले झन् प्रगति गरिरहेको उदाहरण हेर्न नेपालकै सीई कन्ष्ट्रक्सन समूहलाई हेरे पुग्छ ।
नेपालका कतिपय हाउजिङ कम्पनीहरुले घरजग्गा खरीदमा मन्दी आएका कारण आफ्नो मूल्यमा व्यापक कटौती गरिरहेका बेला सीईले भने आफ्ना घर तथा अपार्टमेण्टहरु झन् प्रिमियम मूल्यमा बेच्न सकिरहेको छ । घरको नक्सा मात्र देखाएर ग्राहकबाट पैसा असुलेका कतिपय कम्पनीले समयमा घर दिन सकेका छैनन् । तर, सीईले भने प्रायः सम्पूर्ण घर निर्माण कार्य पूरा भइसकेपछि मात्र ग्राहकबाट पैसा भुक्तानी लिँदै आएको छ । यसले गर्दा ग्राहक बरु प्रिमियम मूल्य तिर्न पनि तयार भएका छन् । आज सीईले जुन सफलता प्राप्त गरेको छ, त्यो उसले मन्दीको बेलामा लिएको सही रणनीति, उसको गुणस्तरीय सेवा आदिको प्रतिफल हो । यो सबैले सिक्नलायक छ ।