समयानुकूल परिवर्तन
मदन लम्साल
आज हामी अङ्ग्रेजी क्यालेण्डरको नयाँ वर्ष सन् २०११ को चौथो दिन प्रवेश गरिसकेका छौं । गत दश वर्षदेखि हामीले राजनीतिक स्थायित्व होला र नेताहरुले आर्थिक मुद्दाहरुलाई अगाडि बढाउलान् भनेर दलहरुका विभिन्न नाटक हेरेर करीब करीब त्यसै समय खेर फाल्यौं । तर, यो निराशाबीच पनि नेपालको निजीक्षेत्रले गत दश वर्षमा सरदर ३ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि गर्न सघाइरह्यो । त्यसमध्ये कति कम्पनी धराशयी भए, कतिले नयाँ क्षेत्रमा लगानी गरेर सफल भए, कति अझै पनि संघर्ष गरिनै रहेका छन् । विगतको दश वर्षहामीले गुमाए पनि अबको दिन नयाँ ढङ्गले काम गरेर विश्वबजारमा नसके पनि कम्तीमा सार्क क्षेत्रमा र स्वदेशमै आफ्ना वस्तु तथा सेवाको पहुँच धेरैभन्दा धेरै ग्राहककहाँ पुर्याएर आफू खरो उत्रनुको विकल्प छैन । तर चुनौती थुप्रै छन् ।
नीतिनियममा आएको परिवर्तन
नेपाल पनि विश्व व्यापार सङ्गठनलगायतका विश्वका विभिन्न व्यावसायिक मञ्चको सदस्य भइसकेको र द्विराष्ट्रिय तथा बहुराष्ट्रिय विभिन्न अन्तरराष्ट्रिय सन्धिसम्झौतामा आबद्ध भइसकेकाले ती प्रतिबद्धताको पालना गर्नुपर्ने हुन्छ । निजीक्षेत्रले पनि सोहीअनुसार आफूलाई परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने हुन्छ । उदाहरणका लागि आफ्नो कम्पनी वा ब्राण्डको ट्रेडमार्क दर्ता गर्ने, बैङ्किङ क्षेत्रमा अन्तरराष्ट्रिय लेखाप्रणाली वासेलको प्रावधान पछयाउनुपर्ने, पेट्रोलियममा यूरो-२ प्रयोग बढाउने, साधारण पासपोर्टलाई छिट्टै एमआरपीमा बदल्ने, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कुराहरु पालना गर्ने आदि कार्य छिटो गर्नुपर्नेछ ।
करका दरहरुमा आएको परिवर्तन
आन्तरिक बजारमा पनि करका नयाँ र बढ्दो दर र नयाँ नियमहरु पालना गर्नुपर्ने भएको छ । पूँजीबजारमा बैङ्किङ तथा वित्तीय क्षेत्रले नयाँ र कडा निर्देशनहरु सामना गर्दै छ । कतिपय कम्पनी वा क्षेत्रमा कर्मचारीलाई पनि हिस्सेदार बनाउँदै लानुपर्नेजस्ता नयाँ अवधारणाहरु थपिँदै गएका छन् । यी सबै नयाँ प्रावधानहरुअनुसार आफूलाई परिमार्जन गर्न त्यति सहज छैन । तर, नगरी बस्नुको विकल्प पनि छैन ।
प्रतिस्पर्धा र खर्च बढ्दो
हिजोको जस्तो एक प्रकारको एकाधिकार गरेर काम गर्न सक्ने स्थिति अब घट्दै गएको छ । आन्तरिक रुपमा पनि धेरैभन्दा धेरै प्रतिस्पर्धीहरु जन्मिएका छन् भने विश्व व्यापार सङ्गठन आदिका कारण अन्तरराष्ट्रिय प्रतिस्पर्धीहरु पनि भित्रिँदै छन् । तर, प्रतिस्पर्धा जति बढ्दो छ, खर्च पनि बढ्दो नै छ । कर्मचारीको खर्च, सीएसआरको खर्च, विज्ञापनमा गर्नैपर्ने बढ्दो खर्च त छँदै छ । प्रायः सबै क्षेत्रमा धेरै कर्मचारी नयाँ हुने भएकोले उनीहरुको तालिममा पनि प्रशस्त खर्च हुनेछ । हाम्रो समाजमा जरा गाड्दै गएको अर्को खर्च भनेको चन्दा, दान आदिको नदेखिने खर्च पनि हो । यस्ता खर्च पूर्तिका लागि उत्पादनको मूल्य धेरै बढाइहाल्ने स्थिति छैन । किनभने मूल्यवृद्धिका कारण नेपाली ग्राहकको खरीद गर्न सक्ने क्षमता त्यही अनुपातमा बढेको छैन । यसबीच मूल्यवृद्धि भने निकै बढेको छ । उदाहरणका लागि दश वर्षअगाडि एक प्याकेट चाउचाउको मूल्य रू. १० थियो, अहिले मुस्किलले रु. १५ पुगेको छ ।
जोखिमयुक्त वातावरणको चुनौती
राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरुका अराजक व्यवहारका कारण आर्थिक वातावरण राम्रो छैन । लगानीको सही प्रतिफल आउँछ भनेर सामान्य अनुमान लगाउन पनि गाह्रो छ । त्यस्तै बजार नगदमा भन्दा उधारोमा चल्न थालेको देखिएको छ । बैङ्किङ क्षेत्रमा बाहेक प्रायः सबै क्षेत्रमा ६ महीना उधारो भनेको सामान्यजस्तै भइसक्यो ।
यी सबै प्रकारका जोखिम, अनिश्चितता हुँदाहुँदै पनि बजारमा आएका यी सबै नयाँ परिवेशलाई सूक्ष्म अध्ययन गरेर त्यसैअनुसार आफ्नो रणनीति बनाएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन । बजारको हिसाबले विश्व नै एक गाउँजस्तै हुन गएकाले नेपाल पनि त्यही गाउँभित्र बसेर काम गर्नुबाहेक अर्को उपाय छैन । यो आफैमा एउटा मौका पनि हो । किनकि विश्वमा आएका नयाँ आर्थिक विकास, नयाँ प्रविधिबाट फाइदा लिन सक्ने मौका हामीसँग पनि छ ।
सूचना प्रविधिले अबको धेरै कुरालाई निर्देशित गर्छ भन्ने कुरा नेपाली कम्पनीहरुले समयमै बुझ्नु जरुरी छ । अबको दशकमा सूचना कसरी हासिल गरिन्छ, प्रशोधन गरिन्छ, भण्डार र प्रयोग गरिन्छ भन्ने कुरामा त्यस कम्पनीको सफलता असफलता अडेको हुनेछ । त्यसैले जसले प्रविधिमा आएका नयाँ उपयोगी कुराहरुलाई समयमा चिनेर कम्पनीको हितमा प्रयोग गर्न सक्छ, तिनै कम्पनी र व्यवस्थापकको जित हुनेछ ।
त्यस्तै नयाँ जोखिम व्यवस्थापन उपकरण पत्ता लगाउने, लागत कम गर्ने उपाय खोज्ने र नयाँ चुनौतीको सामना गर्न स्रोत व्यवस्थापन गर्ने कम्पनी नै प्रतिस्पर्धामा अगाडि हुनेछ । यसैले अबको बजार उसैको हितमा हुनेछ, जसले आफ्नो प्राथमिकतालाई पुनरवलोकन गरेर आफ्ना लगानीका क्षेत्रबारे अझ स्पष्ट भएर कुनै क्षेत्र वा व्यवसाय केन्द्रित हुनेछ र जसले पुरानो ढङ्गले काम गर्न छोडेर नयाँ शीप, नयाँ अवधारणा, नयाँ आइडियालाई आत्मसात गर्नेछ । आउने नयाँ दशक उसैको हुनेछ, जसले आफूलाई अझ सान्दर्भिक, अझ दक्ष र अझ लक्ष्यकेन्द्रित बनाउनेछ ।