शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

मार्गचित्र विज्ञापन व्यवसायको
मदन लम्साल

नेपालमा चलिरहेका प्रायः विज्ञापन एजेन्सीमा अरु कतिपय क्षेत्रकै जस्तो समस्या देखिएको छ । त्यो हो 'प्रतिभाशाली' मानिसहरुलाई आकर्षित गर्न नसक्नु । केही एजेन्सीलाई छाडेर प्रायः सबैमा जसले कम्पनी शुरु गर्यो, सबै विभाग उसैले हेर्नुपर्ने नत्र कम्पनी चलाउन अप्ठेरो पर्ने खालको परिस्थिति देखिन्छ । प्रवर्द्धकले जसलाई उत्तराधिकारीका रुपमा तयार गर्यो, उसैले नयाँ एजेन्सी खोलिहाल्ने र प्रवर्द्धक हेरेको हेर्यै भएका घटना पनि थुप्रै छन् । यसले गर्दा एजेन्सीहरुले चाहेर पनि आफ्ना कर्मचारीको क्षमता वृद्धिका लागि लगानी गर्ने विश्वसनीय वातावरण बन्न सकेको छैन । त्यसको सीधा प्रभाव एजेन्सीहरुको गुणस्तरमा परेको छ । उनीहरुले योजना बनाएर काम गर्ने र अनुसन्धान गर्ने क्षमतामा असर परेको छ ।

गत ५-७ वर्षमा विज्ञापन व्यवसाय खासै नबढे पनि विज्ञापन कम्पनीहरु भने बढेका छन् । यो उद्योगमा जागीर छाड्दै हिँड्ने वा अर्को एजेन्सीमा जाने प्रवृत्ति पनि बढेको छ । पुरानो कम्पनीमा 'क्लाइण्ट सर्भिस' वा 'मार्केटिङ' मा काम गरेका थुप्रैले नयाँनयाँ एजेन्सी खोलेर प्रबन्ध निर्देशक बनेका छन् । देशमा नयाँ कम्पनी खुल्नु त पक्कै पनि राम्रै कुरा हो । तर, विज्ञापन व्यवसाय साँच्चै उद्योगका रुपमा स्थापित हुनका लागि सृजनशीलता र पेशागत दक्षताले मात्र होइन, पेशागत इमानदारीसमेत भएको जनशक्ति निर्माण हुन सकेको छैन ।

एक त अहिलेसम्म व्यवस्थापन कलेजहरुमा विज्ञापन क्षेत्र पाठयक्रममा पर्न सकेको छैन । दोस्रो, विज्ञापन एजेन्सीहरुमा आफ्नो दक्षता बढाउने खालको तालीमको मौका नभएको पनि संलग्नहरुको बुझाइ छ । विज्ञापन क्षेत्र व्यवसाय र पेशाका रुपमा आकर्षणपूर्ण हुन नसक्नुमा तेस्रो र सबैभन्दा महत्वपूर्ण समस्या भनेको एजेन्सीहरुले साह्रै कम मार्जिनमा काम गर्नुपर्ने परिस्थिति पनि हो । उनीहरुले चाहेर पनि सेवामा पूर्णता ल्याउन सकेका छैनन् ।

मिडिया रिलिजकै कुरा गरौं न । प्रायः कम्पनीहरुले मिडियाले दिने १५ प्रतिशत छूटबाट पनि एजेन्सीसँग ५ देखि १०/१२ प्रतिशतसम्म फिर्ता माग्ने गरेका छन् । कतिपयले त १५ प्रतिशत छूटसमेत एजेन्सीसँग लिने गरेको पाइएको छ । प्रतिस्पर्धी बजारमा टिक्न नगदमा काम गर्दा पहिल्यै पैसा पाइने आशमा कतिपय एजेन्सीले यस्तो शर्तमा पनि काम गरिरहेका छन् । यस्तो परिस्थितिमा कसरी सृजनशीलता बढ्ने अपेक्षा गर्न सकिन्छ ?

अर्को महत्वपूर्ण पक्ष सृजनशीलतासँग सम्बन्धित छ । नेपाली एजेन्सीहरुले दिँदै आएका परम्परागत डिजाइन र मेडिया रिलिज सेवाहरुबाहेक विज्ञापनको दुनियाँमा आएका नयाँ, सेवा र प्रविधिजस्तै डिजिटल कम्युनिकेशनका माध्यमसम्बन्धी सेवासमेत ग्राहकलाई एउटै प्याकेजभित्र दिन शुरु गर्न सक्छन् । त्यस्तै नेपालमा एक दुई एजेन्सीबाहेकले पीआर म्यानेजरका रुपमा पनि काम गर्न सकेका छैनन् । अर्थात् एउटा विज्ञापन एजेन्सीका रुपमा कुनै कम्पनीलाई 'पिचिङ' गर्दा एउटा 'कम्प्रिहेन्सिभ कम्युनिकेशन्स् सोलुशन' अर्थात् मिडियासम्बद्ध सबै किसिमका सेवा एकै ठाउँबाट दिन सक्ने हो भने अहिले पनि राम्रो 'मार्जिन' राखेर काम गर्न सक्ने मौका छ । किनभने कम्पनीलाई छुट्टाछुट्टै दश जनासँग काम गर्नभन्दा एउटैसँग काम गर्न पाउँदा सजिलो र मितव्ययी हुन्छ ।

त्यस्तै एजेन्सीहरुले आफूले दिने सेवामध्ये केहीमा विशिष्टीकरण गर्नु जरुरी छ । सबै कम्पनीहरुले मोडल राख्न वा ३० सेकेण्डको टीभीसी बनाउन धेरै खर्च गर्न सक्तैनन् । त्यसको विकल्पका रुपमा मोडल नराखी सस्तोमा एनिमेटेड १५ सेकेण्डको कुनै नयाँ कन्सेप्टमा उत्कृष्ट टीभीसी बनाउन सकिन्छ । यसो गर्दा क्लाइण्टले कम खर्चमा आफ्ना उत्पादनको विज्ञापन गर्ने मौका पाउँछ । यस्तोमा एजेन्सीले आफ्नो मार्जिन अलि बढी राखेर काम गर्न सक्छ । यस्ता किसिमका थुप्रै अवधारणा हुन सक्छन्, जसले एजेन्सीको नाफा बढाउन मद्दत गर्नेछ ।

विज्ञापन भनेको इन्नोभेसन र सृजनशीलताको व्यवसाय हो । यदि कुनै एउटा उद्योगले वा क्षेत्रले प्रगति गर्न सक्छ भने विज्ञापन उद्योगले पनि सक्छ ।

सबै मानिस बढी तलबका लागि मात्र विज्ञापन वा कुनै आफ्नो रोजाइको क्षेत्रमा काम गर्न आउँदैनन् । उनीहरु नयाँ चुनौती सामना गर्न चाहन्छन्, काम सिक्ने मौकाको खोजीमा रहन्छन् र सधैं आफ्नो दक्षता अभिवृद्धि गर्ने चाहना राख्छन् ।

अहिले पनि विज्ञापनको महङ्खव बुझेर यी नयाँ आयामहरुलाई व्यवसायको हिस्सा बनाउन चाहने एजेन्सीहरु विस्तारै भए पनि बढी नै रहेका छन् । देश शान्ति प्रक्रियामा अगाडि बढ्नुको विकल्प देखिँदैन । त्यसैले आगामी दिनमा विज्ञापन एजेन्सीको माग बढ्ने र यो व्यवसायले प्रगति गर्ने कुरामा सन्देह छैन । यसका लागि समग्रमा नेपाली विज्ञापन एजेन्सीहरु तयार रहनुपर्छ ।

Admin 2011-03-08