बिजनेश स्कूलको सान्दर्भिकीकरण
मदन लम्साल
केही वर्षयता नेपालमा पनि बिजनेश म्यानेजमेण्टको पढाइलाई महत्व दिन थालिएको छ । त्यसैले देशमा धेरै नयाँ बिजनेश स्कूलहरु खुलिरहेका छन् । अब केही दिनमै बिजनेश स्कूलहरुले एमबीएको नयाँ भर्नाको आह्वान गर्ने तयारी पनि गरिरहेका छन् । नाम चलेका केही बिजनेश कलेज जस्तैः कुसोम, एस, एपेक्स, ह्वाइट हाउस, एलए, केसीएम, सायम आदिमा त सम्बन्धित युनिभर्सिटीले तोकेको सीट सङ्ख्याभन्दा १०-२० गुणा बढी विद्यार्थीको निवेदन पर्ने गरेको छ । यसको अर्थ नेपालमा तुलनात्मक रुपमा बिजनेश स्कूलहरुले बढी राम्रो पढाउने गरेका हुन् त? उनीहरुले देशमा उद्यमशीलता, नवप्रवतन (इन्नोभेशन) र व्यवसायमा नेतृत्व क्षमताको विकासमा खुब योगदान दिइरहेका छन् त? यी सोचनीय प्रश्न हुन् ।
नेपाली उद्योग व्यवसायमा अहिले भइरहेको कार्य संस्कृति (वर्क कल्चर), बिजनेश स्कूलहरुले उतपादन गरेका विद्यार्थीहरुको उपयोग र उनीहरुको नेतृत्व क्षमता, आदि हेर्दा त्यस्तो देखिँदैन । प्रायः सबै बिजनेश स्कूलहरुको एक र अन्तिम ध्याउन्न भनेको मुनाफा कमाउनु मात्रै देखिन्छ । त्यस्तै ९५ प्रतिशत विद्यार्थीहरुको जीवनको एक मात्र लक्ष्य बैङ्क वा एनजीओमा गएर जागीर खाने मात्र छ । बजारको वा रोजगारदाताको आवश्यकता के हो भन्ने कुरासँग न त बिजनेश स्कूलहरुलाई न त तीनका विद्यार्थी र अभिभावकहरुलाई नै चासो भएको देखिन्छ । कर्पोरेट क्षेत्रको व्यवस्थित विकासका लागि यो दुःखद पक्ष हो ।
बिजनेश स्कूलहरुलाई तब मात्र सफल छन् भनेर मान्न सकिन्छ जब उनीहरुले उत्पादन गरेका विद्यार्थीहरुले बैङ्कको मात्र नभई समग्र कर्पोरेट नेपालको जनशक्ति आवश्यकतालाई धेरै हदसम्म पूरा गर्न सक्नेछन् । त्यसका लागि बिजनेश स्कूलहरुले नयाँ आइडियाहरु ल्याउने, विभिन्न हाइपोथेसिसमा छलफल गराउने र नेपाली उद्योगका केसस्टडी गरेर तिनीहरुका सम्भावना र चुनौतीका विषयमा छलफल चलाउनेतर्फ तुरुन्त कदम चाल्न सक्नुपर्छ । विदेशी उद्योगका केस स्टडीको कुरा गरेर र टेक्स्टबुक पढाएर जाँचमा पास गराउने खालको घोकन्ते विद्याले मात्र द्कालीन रुपमा न त्यसले कर्पोरेट नेपाललाई कहीँ पुर्याउनेछ न त बिजनेश स्कूल र विद्यार्थीहरुलाई ।
अहिले शुरुशुरुको अवस्था भएकाले कलेजहरुले पनि राम्रै विद्यार्थी पाइरहेका छन् । बैङ्क तथा वित्तीय संस्थाको पनि विस्तार भइरहेकाले उनीहरुलाई चाहिने जनशक्ति बिजनेश स्कूलहरुबाट लिइरहेका छन् । अवस्था सधैँ त्यस्तो रहने छैन । एक त अब बैङ्कहरुको अहिलेकै गतिमा विस्तार हुन सक्ने परिस्थिति छैन । राष्ट्र बैङ्कले अहिले नै नयाँ बैङ्क खोल्नका लागि अनुमतिपत्र दिन रोकेको छ । भएका बैङ्कहरुले पनि धेरै शाखाहरु खोलिसकेको स्थिति छ । अन्य क्षेत्रमा पनि राजनीतिक अन्यौलका कारण धेरै जनशक्तिको माग ह्वात्तै बढ्ने स्थिति देखिँदैन । नेपाली बिजनेश स्कूलले आफ्ना उत्पादन 'विदेश निर्यात'का लागि मात्र तयार गरिरहेको हो भने त्यसमा भन्नु केही छैन । अहिले पनि नेपाली बिजनेश स्कूलका उत्पादनको ठूलो हिस्सा विदेशतिरै गइरहेको वा जान खोज्ने देखिन्छ । यदि त्यसो हो भने त्यस्ता बिजनेश स्कूलले शिक्षामार्फत सेवा गरेको भनेर गर्व गर्न छाड्नुपर्दछ ।
बिजनेश स्कूलहरुको अबको लक्ष्य भनेको नवप्रवर्तन, नेतृत्वको विकास र देशमै रोजगारी र स्वरोजगारी सृजना गर्ने किसिमको हुनुपर्दछ । यस्ता स्कूलबाट उत्पादित जनशक्ति नेपाली कम्पनीहरुका लागि दूरदृष्टि, उद्देश्य र लक्ष्यको निर्माण गर्न र व्यवस्थापकहरुको भूमिकालाई नयाँ तरीकाले सोच्न लगाउन सक्षम हुनुपर्दछ । यसले गर्दा देशमा उद्यमशीलता विकासका लागि सकारात्मक प्रभाव पार्न सक्छ । बिजनेश स्कूलहरुले विश्व व्यापारीकरणलाई अझ गम्भीर रुपमा हेर्न सिकाउनुपर्छ । यसको प्रक्रिया, प्रभाव र हाम्रो जस्तो अर्थतन्त्रका लागि यसले सृजना गर्ने सम्भावना र चुनौती आदि विषयमा आलोचनात्मक विश्लेषणको क्षमता विद्यार्थीहरुमा विकसित गराउनुपर्छ । जीएम (जेनेटिकल्ली मोडिफाइड) फुड, मकैको घोगा र धानमा दाना नलागेको कुराहरु पनि बिजनेशका विद्यार्थीहरुको कक्षामा अब छलफल र चिन्तनको विषय बन्नुपर्दछ । खुला बजार अर्थतन्त्र, पिरामिड शैलीको बिजनेश, युनिटी लाइफका गतिविधिहरु आदि जस्ता विषय पनि बिजनेश स्कूलभित्र चलाउनुपर्ने बहसहरु हुन् ।
'नेपाली हामी रहौंला काहाँ नेपालै नरहे' भन्ने राष्ट्रकविको गीतजस्तै कर्पोरेट नेपाल नै राम्रोसँग नबने यिनीहरुका लागि नेतृत्व तयार गर्नुपर्ने बिजनेश स्कुलहरु मात्र दिइर्घ्कालीन रुपमा कसरी राम्रोसँग चल्न सक्लान् र?