कम्पनी ब्राण्डिङको महत्त्व
ब्राण्डिङ वा रिब्राण्डिङ कुनै उत्पादनको मात्र हुँदैन, त्यो कम्पनीको पनि हुन्छ । कम्पनी शुरू हुँदा वा कुनै उत्पादन लञ्च हुँदा मात्र यसको ब्राण्डिङ गर्ने वा ब्राण्डिङका लागि खर्च छुट्टयाउने कुराले मात्र अपेक्षित व्यावसायिक लाभ दिँदैन । कम्पनीको ब्राण्डिङ पनि कुनै उत्पादनको ब्राण्डिङजत्तिकै नियमित र महत्वपूर्ण प्रक्रिया हो ।
नेपालको सन्दर्भमा धेरै कम्पनीले बजारमा बिक्री गर्ने उत्पादनहरूको ब्राण्डिङमा ध्यान दिए पनि प्रायःले कम्पनी ब्राण्डिङमा कम ध्यान दिएको देखिन्छ । हजारौंलाई रोजगारी दिने र अर्बौं रुपियाँको व्यवसाय हुने थुप्रै सफल नेपाली व्यावसायिक घरानाहरू पनि आफ्ना कम्पनीका उत्पादनको ब्राण्डिङमा थुप्रै खर्च गर्छन् । तर, आफ्नो कम्पनीको नाम पछाडि ग्रुप वा समूह राख्ने र वार्षिक उत्सव मनाउनेबाहेक आफ्ना समूह वा कम्पनीलाई एउटा कर्पोरेट ब्राण्डका रूपमा स्थापित गर्नमा त्यत्ति ध्यान दिँदैनन् ।
कम्पनीको ब्राण्डिङ गर्ने केही घरानाहरू, उदाहरणका लागि चौधरी ग्रूपले आफ्नो समूहको कम्पनीअन्तर्गतका हरेक उत्पादनको विज्ञापनमा 'सीजी ग्रूप, 'टचिङ लाइफ एभ्रिडे’ भनेर टयागलाइन राख्ने गरेको छ । त्यस्तै गोल्छा अर्गनाइजेशनले पनि आफ्ना खाद्यान्न र स्टील कम्पनीको उत्पादनका विज्ञापनहरूमा 'हुलास भए अरू किन खोज्ने’ भनेर भन्ने गरेको छ । तर, कर्पोरेट वा कम्पनी ब्राण्डिङका लागि त्यति गरेर मात्र पुग्दैन ।
त्यस्तै बैङ्कहरूमा सिध्दार्थ , किष्ट र डीसीबीएलले आफ्नो पुरानो लोगो परिवर्तन गरेर नयाँ लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैङ्क र नबिल बैङ्कले पनि केही वर्षअगाडि आफ्नो लोगो परिवर्तन गरे । तर, नेपाली कम्पनीहरूले यदाकदा आफ्ना कम्पनीका लोगो परिवर्तन गर्नेबाहेक समग्र कम्पनीको रिब्राण्डिङ गरेको जानकारी र्सार्वजनिक भएको छैन । केवल लोगो परिवर्तन गर्दैमा रिब्राण्डिङ हुँदैन ।
प्रभावकारी बजारीकरण तब शुरू हुन्छ जब कम्पनीले प्रभावकारी ब्राण्डिङ रणनीतिअनुसार काम गरिरहेको हुन्छ । नेपालमा भर्खरै स्पाइस नेपालले मेरो मोबाइललाई जसरी मोबाइल ब्राण्डलाई मात्र नभई कम्पनीको नामसमेत रातारात रिब्राण्डिङ गरेर एनसेलमा परिवर्तन गर्यो त्यो सम्पूर्ण प्रक्रियाबाट धेरैले धेरै कुरा सिक्न सक्छन् ।
विश्वका प्रसिद्ध र सफल कम्पनीहरूले आफ्नो कम्पनीको वा उत्पादनको ब्राण्डिङ गर्दा यी महत्त्वपूर्ण कुरामा ध्यान दिएको पाइन्छ ।
·कम्पनीको भिजन र मिशन स्टेटमेण्ट र कम्पनीका मूल्य र मान्यताहरू यथार्थपरक र सुस्पष्ट बनाउने । भिजन भनेको कम्पनीले आफूलाई कस्तो स्वरूपमा उभ्याउन चाहेको हो, त्यसको दूरदृष्टि वा लक्ष्य हो । त्यो लक्ष्यसम्म पुग्न अवलम्बन गरिने चरणबद्ध उद्देश्यको सूची हो । र, कोरभ्यालु अर्थात् कम्पनीको मूल्यमान्यता के के छन्, यसको आधारभूत विश्वास र कम्पनीले के के गर्ने, के नगर्ने आदि जस्ता प्रतिबद्धतालाई यी दुइ 'स्टेटमेण्ट’ले समेट्नुपर्छ ।
·कम्पनीका यी मिशन, भिजन र मूल्यमान्यताहरूका मर्म र भावना कम्पनीको सबै कर्मचारीहरूलाई पनि बुझाउनु र सोही अनुसार व्यवहार गर्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ । त्यो आफ्नो अफिसको अपरेटरले फोन उठाएर कुरा गर्दा होस् या बजारमा जाने कर्मचारीको बोली व्यवहारदेखि अफिसबाहिर जाने चिट्ठीपत्र, इमेललगायत सबै कुरामा लागू हुन्छ ।
·कम्पनीको भिजुअल इण्टरफेस अर्को महत्त्वपूर्ण पक्ष हो । कम्पनीको वा समूहको सबैले सम्झन सक्ने लोगो त्यसको एउटा कम्पनेण्ट हो । आफ्ना हरेक उत्पादनमा र सार्वजनिक रूपमा जाने हरेक चिट्ठी, प्रचारप्रसार सामग्री, विज्ञापनलगायतका सबै स्थानमा यसको प्रयोग हुन्छ । यसमा लोगोको रङ, आकार आदि सबै कुरामा एकरूपता हुनु आवश्यक हुन्छ । यो कुरामा नेपालका सरकारी संस्थान र सरकारी बैङ्कहरूले त्यति ध्यान नपुर्याएको देखिन्छ । त्यहाँका एउटा अधिकृतले बोक्ने भिजिटिङ कार्डको लोगोको आकार र रङ आदि अर्कोसँग धेरै फरक पाइन्छ ।
·आफ्नो कम्पनीको एउटा कुनै यस्तो मुख्य सन्देश झल्किने (टयागलाइन वा पञ्चलाइन) हुन्छ जसले आफ्नो कम्पनीको वा ब्राण्डको विषयमा धेरै कुरा सञ्चार गरिरहेको हुन्छ । टयागलाइन पनि सम्झन सकिने, अर्थपूर्ण , छोटो र आफ्नो कम्पनीको विषयमा व्याख्या गर्न सक्ने किसिमको भएको हुनुपर्छ । जस्तै फोर्ड मोटरको पञ्चलाइन 'मेक एभ्रिडे एक्साइटिङ’ रहेको छ ।
·आफ्नो कम्पनीको लक्षित समूह र बजारमा आफूले कुन ठाउँ सुरक्षित गर्न चाहेको हो, त्यो पनि स्पष्ट हुनुपर्छ । त्यसका लागि आफ्ना सम्भावित ग्राहक को-को हुन् ?, तिनीहरूको उमेर समूह, लिङ्ग, शिक्षा, भौगोलिक क्षेत्र, आम्दानी, खरीद गर्ने आनीबानी, पेसा आदिजस्ता कुरा पहिल्यै अध्ययन गरेर त्यसै अनुसार आफ्नो कम्पनीको समग्र रणनीति बनाउनुपर्छ ।
यस्तो रिब्राण्डिङ केही वर्षको अन्तरालमा गरिरहनुपर्दछ । यी अभ्यासहरूले समग्र कम्पनी र त्यसका उत्पादन, तिनको गुणस्तर र विशेषताहरूबारे मानिसहरूमा एउटा छुट्टै छाप छोड्छ । यी अभ्यासहरूले कम्पनी र त्यसका उत्पादनको साख दीर्घकालसम्म अक्षुण्ण र निरन्तर राख्न मद्दत गर्छ ।