शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

छिटो निर्णयका लागि प्रविधि
कुनै कम्पनीमा विभिन्न निर्णयहरु उच्च व्यवस्थापन अर्थात् प्रमुख कार्यकारीबाट हुन्छ कि अन्य तहबाट हुन्छ भन्ने कुरा सो कम्पनीले सूचनाप्रविधिलाई कसरी प्रयोग गरिरहेको छ भन्नेबाट थाहा हुन्छ । जस्तै, कुनै कम्पनीले कम्प्युटर, इमेल र मोबाइल एसएमएसलाई मात्रै सूचनाप्रविधि मानेर काम गरिरहेको छ भने त्यहाँ धेरै जसो निर्णय तल्लो तहबाट नभएर माथिबाटै हुनेगर्छ । इमेल र एसएमएसमा मात्र आधारित हुँदा तल्ला तहका कर्मचारीले सूचनाचाहिँ माथि पठाउने तर सकेसम्म आफैँ निर्णय नगर्ने प्रवृत्ति बन्दै जान्छ । तर यदि  कम्पनीले पहिले सूचनाप्रविधि रणनीति तयार गरेर सोही अनुसारको सफ्टवेयर प्रयोग गरिरहेको छ भने उसका निर्णयहरु कम्पनीको तल्लो तहबाटै सहजै भैरहेका हुन्छन् । किनकी यस्तो निर्णय प्रक्रिया बढी तथ्याङ्कमा आधारित हुन सक्छ । त्यसैले कम्पनीका लागि सूचनाप्रविधि रणनीति बनाउने भनेको केबल उम्दा प्रविधिमा लगानी गर्ने होइन । राम्रा कम्प्युटर र उपकरण भियभयाउँदैमा र त्यो चलाउन राम्रा प्राविधिज्ञ राख्दैमा कम्पनीको उत्पादकत्व बढ्दैन ।

केही वर्षअघि सरकारी बैङ्कहरु नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले आ-आफ्ना थुप्रै शाखामा कम्प्युटर राखे (अहिले उनीहरुका सबै शाखामा कम्प्युटर पुगिसक्यो होला) । यसो गर्दा बैङ्क उच्च प्रविधि सम्पन्न बन्छ र कर्मचारीको उत्पादकत्व बढ्छ एवम् तथ्याङ्कहरुसमयमै केन्द्रमा पुगेर समयमै वासलात तयार गर्न सकिन्छ भन्ने सोचाई लिएर त्यसो गरिएको थियो । तर यी बैङ्कहरुले कम्प्युटर चलाउन छुट्टै कर्मचारी भर्ना गर्न सकेनन् किनभने दुवै बैङ्कमा कर्मचारी संख्या त्यतिखेरै आवश्यकभन्दा बढी थियो । त्यसले गर्दा धेरै समय ती कम्प्युटरहरु ती शाखा कार्यालयका सजावटका सामानका रूपमा मात्र रहिरहे । त्यसपछि कर्मचारीलाई बैङ्कले कम्प्युटर चलाउने तालिम दिन थाल्यो । तर, पनि निजीक्षेत्रका वाणिज्य बैङ्कहरुका तुलनामा यी सरकारी बैङ्कहरुले सूचनाप्रविधिबाट लामो समयसम्म त्यति फाइदा लिन सकेनन् । औंलामा गन्न सकिने केही उत्पादन मुलक र सेवा कम्पनी छाडेर बाँकी सबैभन्दा नेपालका निजीक्षेत्रका वाणिज्य बैङ्कहरुको उत्पादकत्व र आर्थिक प्रगति राम्रो छ । यसो हुनुमा एउटा प्रमुख कारण के हो भने उनीहरुले बैङ्कमा पहिल्यै सूचनाप्रविधि रणनीति तयार गरेर त्यसमा ठूलो लगानी गरी त्यसको समुचित उपयोग पनि गरे । अहिले सूचनाप्रविधि प्रयोग नगर्ने बैङ्क कल्पनै गर्न सकिँदैन ।

नेपाली सफ्टवेयर पुमोरी होस् या विदेशी सफ्टवेयर स्विफ्ट वा फ्लेक्सक्युव, तीमध्ये कुनै न कुनै त हरेक बैङ्कले प्रयोग गरिरहेकै हुन्छ । यस्ता सफ्टवेयरका लागि उनीहरुले १ लाख डलरदेखि ५ लाख डलरसम्म खर्च गरेका पनि छन् । तर कतिपय बैङ्कले भने सूचना प्रविधि रणनीति नै बनाएर काम गरिरहेका छन् । केहिले त आफ्ना कतिपय प्रडक्टहरु नै सूचनाप्रविधिमुखी बनाएका छन् । यसले गर्दा बजारमा अरू बैङ्कको तुलनामा उनीहरुले छुट्टै पहिचान बनाउन सफल पनि भएका छन् । अहिले प्रायः बैङ्कले मोबाइल र इण्टरनेटमा आधारीत थुप्रै बैङ्किङ सेवा उपलब्ध गराउन शुरू गरिसकेका छन् ।

त्यस्तो प्रचलनको शुरूआतमा नेतृत्व गरेको श्रेय भने लक्ष्मि बैङ्कलाई जान्छ । आफ्नो कम्पनीमा प्रविधि भियभयाएर मात्र पुग्दैन । त्यो भन्दा पहिले सूचना रणनीति तयार हुनुपर्छ । त्यसपछि संस्थाको संरचना पनि त्यहीअनुसार बनाउनुपर्छ । अनि कम्पनीलाई चाहिने किसिमको सफ्टवेर (जस्तै ईआरपी-इण्टरप्राइज रिसोर्स प्लानिङ) बनाएर प्रयोग गर्न सकिन्छ । अनि सो संरचनाअनुसार आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ जसले यी प्रविधिको प्रयोग कम्पनीको लक्ष्य अनुसारको स्थिति उत्पन्न गर्न सकुन् । नत्रभने आफूसँग भएको स्रोतको सही उपयोग हुन सक्तैन । उदाहरणका लागि हिजोआज सबैको हातमा मोबाइल हुन्छ तर मोबाइलभित्र रहेका कतिपय सुविधाहरुको विषयमा थाहा हुँदैन । अनि त्यस्ता व्यक्तिहरु आफ्ना गर्नुपर्ने कामको नोट मोबाइलमा राख्न सक्तैनन् र डायरीमा लेख्ने वा आफ्नो सेक्रेटरीलाई सम्झाउने-भन्ने गर्छन् । यो स्रोतको अपव्यय हो ।

परम्परागत रूपमा प्रविधिलाई एउटा उपकरणको रूपमा मात्र लिइने गर्दथ्यो र कतिपयले अहिले पनि त्यही रूपमा प्रयोग गरिरहेका छन् । तर अब योजनाबद्ध रणनीतिक सूचनाप्रविधिको जमाना आएको छ । यस्तो प्रविधि एउटा अत्यन्त ठूलो उपयोगिता भनेको यसले निर्णय गर्ने प्रक्रियामा ल्याउने विकेन्द्रीकरण हो । अर्थात् कम्पनीको हरेक विभागको तल्लो तहसम्म पनि सूचनाको पहुँच हुन्छ र त्यसले धेरै निर्णयहरु त्यही स्तरबाट समयमा टुङग्याउन सक्छ । त्यसैले जसले सूचनाप्रविधि रणनीतिको मर्म र यसको उपयोगीतालाई बुझेर त्यसैअनुरूप रणनीति बनाएर काम गरिरहेका छन् उनीहरु पक्कै प्रतिस्पर्धामा खरो उत्रनेछन् ।