सुन तोलाको झण्डै एक हजार महँगो
माघ २१, काठमाडौं ।
गतसाता सुनको मूल्य तोलामा करीब रू. १ हजारले बढेको छ ।साताको पहिलो दिन आइतवार प्रतितोला रू. ५३ हजार ५ सय २ मा कारोबार भएको सुन शुक्रवारसम्म रू. १ हजारले बढेर रू. ५४ हजार ५ सय पुगेको नेपालसुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘गतसाता बाय बजारमा सुनको मूल्य दैनिक बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो,’ शाक्यले भने । सोमवार आइतवारको तुलनामा रू. ४ सयले बढेको प्रतितोला सुनको मूल्य तेस्रो र चौथो दिन पनि स्थिर रयो ।उक्त मूल्यमा बिहीवार रू. ५ सयले बढेर रू. ५४ हजार ५ सय कायम भएको थियो । शुक्रवार पनि सो मूल्य स्थिर रहेको जनकारी दिइएको छ । हप्ताभरिमा सुनको मूल्यमा रू. १ हजारले उतारचढाव आए पनि हप्तामा तीनपटक मात्र सुनको मूल्य परिवर्तन भएको छ ।चाँदीको मूल्यमा पनि गतसाता खासै परिवर्तन आएन । साताको शुरूको दिन आइतवार रू. १ हजार ८५ मा किनबेच भएको प्रतितोला चाँदी अन्तिम दिन शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको बताइएको छ । हप्तामा तीन दिन प्रतितोला चाँदी रू. ५ ले बढेको छ ।