भारूको मूल्य अहिलेसम्मै न्यून
मङ्सिर २७, नयाँ दिल्ली (भारत) । केही महीनायता लगातार घटिरहेको भारूको मूल्य मङ्गलवार अहिलेसम्मकै सबैभन्दा न्यून विन्दुमा झरेको छ । भारतीय मुद्राबजारमा मङ्गलवार अघिल्लो दिनभन्दा भारू ३५ पैसाले घट्दै अमेरिकी डलरविरुद्ध ५३ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

सोमवारको कारोबारमा पनि भारूको मूल्य ८१ पैसाले कम भएको थियो । यो समेत भारतीय मुद्राको मूल्य डलरविरुद्ध सन् २०११ को शुरूदेखि १४ प्रतिशतले घटेको छ । अन्तरराष्ट्रिय आर्थिक परिदृश्य अनिश्चित भइरहँदा भारतमा लगानी गरेका विदेशी कम्पनीहरूले अमेरिकी डलर देशबाहिर लैजान थालेपछि भारूको मूल्य घटिरहेको विश्वास गरिन्छ । साथै यूरोप र अमेरिकामा जारी आर्थिक सङ्कटका कारण निर्यात घट्नु पनि भारूको मूल्य कमजोर हुनुको अर्को कारण भएको बताइन्छ । साथै पछिल्लो केही महीनायता आन्तरिक मागसमेत प्रभावित हुनुले मुद्राबजारमा नकारात्मक प्रभाव पर्दै गएको विश्लेषकहरूले आशङ्का गरेका छन् । निरन्तर कमजोर भइरहेको मुद्राका कारण भारतमा मुद्रास्फीतिदर दुई अङ्कनजिक पुगेको छ । यसैबीच भारूको घटिरहेको मूल्यलाई नियन्त्रणमा राख्न भारतीय केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)ले शुक्रवारसम्म मौद्रिक नीतिमा महइभ्वपूर्ण परिवर्तनको घोषणा गर्ने बुझिएको छ । एएफपी÷रासस