शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुनचाँदी बुलिश, तेल बियरिश

अङ्ग्रेजी नयाँ वर्ष २०१२ को शुरुआतसँगै उकालो लागेको अन्तरराष्ट्रिय वस्तुबजार गत साता पनि बुलिश नै र≈यो । केही साता पहिलादेखि लगातार बलियो बनेर थप उचाइ कायम गर्दै गएको अमेरिकी डलरको भाउमा आएको सुस्तता र इरानको तनावका कारण कच्चा तेलबाहेक अधिकांश वस्तुको मूल्य बढेको हो । साथै, इरानको तनाब चर्किंदै गएमा विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमानमा अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरू सुरक्षित लगानी मानिने बहुमूल्य धातुतिर आकर्षित भएका हुन सक्छन् । इरानको आणविक कार्यक्रमका सन्दर्भमा इरान र विश्वका प्रमुख ६ विकसित राष्ट्रको वार्ताबाट पनि अहिलेको तनाव कम गर्न नसकेमा अन्तरराष्ट्रिय वस्तुबजार थप बुलिश बन्ने अनुमान विज्ञहरूले गरेका छन् ।


सुनचाँदी


अघिल्लो सातादेखि बढेको सुनको मूल्यले गत साता पनि बुलिश यालीलाई निरन्तरता दियो । गत साताभरिमा सुन प्रतिऔंस करीब १ प्रतिशत महँगो भयो । यूरोजोनको ऋणसङ्कटका कारण यूरोपियन बैङ्कहरूले अमेरिकी डलरको सञ्चिति बढाउन थालेकाले गत साता डलरसहित सुनको मूल्यमा ठूलो उतारचढाव देखियो । हप्ताको शुरूका तीन दिन निरन्तर बुलिश बनेको सुन बिहीवार र शुक्रवार भने प्रतिऔंस करीब २५ डलर घटेको थियो । गत मङ्गलवार प्रकाशित चीनको टे«ड ब्यालेन्सको प्रतिवेदनमा पछिल्लो १ महीनामा १ सय २ टन सुन हङकङबाट आयात गरेको देखिएकाले सुनको मूल्यमा बुलिशपना देखिएको हो । अर्कोतर्फ अमेरिकामा चौथो चौमासिक प्रतिवेदन सार्वजनिक हँदै छ ।

त्यसमा पनि सुनसम्बन्धी प्रतिवेदनहरू धेरै राम्रो आउने सङ्केत देखिन्छ र आइरहेका पनि छन् । साथै, सुनको एशियली माग पुनः बढ्ने देखिएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ केही वृद्धि भएको छ । यसका अतिरिक्त जनवरी २३ मा चीनको नयाँ वर्ष परेकाले चीनमा सुनको आयात बढ्ने सम्भावना देखिन्छ । यसरी हेर्दा सुनको मूल्यमा अझ वृद्धि हुने सङ्केत देखिन्छ । सन् २०१२ को जवनरीका १२ दिनको अध्ययन गर्दा अमेरिकामा सिक्का बनाउनमात्रै ८५ हजार ५ सय औंस सुन खपत हुने देखिन्छ । यसलाई आधार मान्ने हो भने सन् २००९ को डिसेम्बरमा सबैभन्दा बढी भएको अमेरिकी सिक्काको कारोबारलाई पनि हालको कारोबारले उछिन्ने देखिन्छ । आगामी सोमवार अमेरिकामा ‘मार्टर लुथर्किङ डे’ परेकाले वस्तुबजारमा गत साता ठूलो उतारचढाव आएको मानिएको छ । साथै, चीनका थप आर्थिक प्रतिवेदन सार्वजनिक हुँदै छन् । तसर्थ, यी प्रतिवेदनलाई आधार बनाई कारोबार गर्नु उचित देखिन्छ । यस साता सुनमा कारोबार गर्दा प्रतिऔंस १ हजार ६ सय २० अमेरिकी डलरको तहमा खरीद गरी १ हजार ६ सय ७० तिर नाफा सुरक्षित गर्न सकिन्छ । त्यसका लागि १ हजार ५ सय ९५ डलरको तहमा स्टपलस भने राख्नु उचित मानिन्छ ।


कच्चा तेल

विश्वबजारमा देखिएको भूराजनीतिक तनावका कारण तेलको मूल्यमा वर्षको शुरूदेखि नै चाप पारेको छ । घातक हतियार विकासका लागि आणविक कार्यक्रम सञ्चालन गरेको आरोपमा अमेरिकाले इरानबाट तेल आपूर्ति बन्द गरेकाले कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको हो । त्यसैगरी, जापान र दक्षिण कोरियाले पनि इरानबाट ल्याउने तेलमा कटौती गर्ने निर्णय गरेसँगै तेलको मूल्यमा थप उतारचढाव आउने सम्भावना बढेको छ । इरानसँगको तनावसँगै यूरोपियन राष्ट्रहरू ग्रीस, इटाली र स्पेनले वैकल्पिक माध्यमबाट तेलको आयात गर्ने भएका छन् । यूरोपियन कमिशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यी तीन राष्ट्रले गतवर्षमात्र करीब ६८ दशमलव ५ प्रतिशत तेल इरानबाट आयात गरेका थिए । यो समाचार बिहीवार सार्वजनिक भएपश्चात् विश्वबजारमा तेलको विक्रीमा वृद्धि देखिएको थियो । हप्ताका शुरूका दिन सोमवार र मङ्गलवार बुलिश भए पनि बाँकी तीन दिनमा तेलको मूल्यमा ठूलो गिरावट आएको थियो ।

गत साता कच्चा तेलको मूल्य प्रतिब्यारेल २ दशमलव ८२ प्रतिशत ओरालो लाग्यो । आगामी दिनमा पनि यसमा ठूलो उतारचढाव आउने सम्भावना देखिन्छ । विभिन्न ऊर्जासम्बन्धी एजेन्सीले यो वर्ष २०१२ मा कच्चा तेलको मूल्य औसतमा १ सय अमेरिकी डलर प्रतिब्यारेल रहने अनुमान सार्वजनिक गरिरहेका छन् । ती अनुमानअनुसार सन् २०१३ मा तेलको औसत मूल्य १ सय ६ अमेरिकी डलर प्रतिब्यारेल हुने देखिन्छ । साथै, सन् २०१२ मा तेलको माग १ दशमलव ४४ प्रतिशतले बढी ८९ दशमलव ३८ एमएमबी हुने अनुमान गरिएको छ । तसर्थ, सन् २०१२ मा तेलको मूल्यमा वृद्धि धेरै नदेखिने भए पनि सन् २०१३ मा यसको मूल्यमा ठूलै वृद्धि देख्न सकिन्छ । तसर्थ, तेललाई प्रतिब्यारेल १ सय १ डलरभन्दा माथि विक्री गरी ९६ डलरमा नाफा सुरक्षित गर्न सकिन्छ । त्यसका लागि १ सय ४ डलरमा स्टपलस राख्नु उपयुक्त देखिन्छ ।