नेपाल गुणस्तरले सुनचाँदीको शुद्धता परीक्षण गर्ने
नेपाल गुणस्तर तथा नापतौल विभागले सुनचाँदीका विभिन्न सामग्रीको शुद्धता परीक्षण गर्ने भएको छ । विभागले नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा शुद्धता परीक्षण गर्न लागेको प्रवक्ता कृष्ण हुमागाईंले बताए । परीक्षणबाट सुनचाँदीका सामग्रीहरूको स्वरूपलाई परिवर्तन नगरी त्यसमा मिसावट गरिएका रसायनको मात्रालाई पत्ता लगाउन सकिन्छ ।
विभागले गर्ने शुद्धता परीक्षणलाई अन्तरराष्ट्रिय प्रयोगशालाबाट मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको बताएको छ । शुद्धता परीक्षणले सुनचाँदीजन्य सामग्रीको निर्यातमा भोग्दै आएको समस्यालाई समाधान गर्न सकिने उनको विश्वास छ । यो हरेक प्रकारका सामग्रीमा हुने केमिकल तथा माइक्रो बायोलोजिकलको सम्पूर्ण परीक्षण गर्न सकिने बृहत् प्रयोगशाला भएको सम्बद्ध अधिकारीहरू बताउँछन् ।
प्रयोगशालाबाट खाद्यान्न, पानी, तेलहन र दुग्धजन्य पदार्थ, पीठोजन्य खाद्यान्न, चिनी, मसला, चाउचाउलगायत प्याकेट खाना र पेयपदार्थको पनि परीक्षण गर्न सकिन्छ । अहिले पनि विभागबाट सिमेण्ट, पेण्ट्स, तार, पाइपलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण भइरहेको छ । त्यस्तै छाला तथा छालाजन्य सामान, उलनजन्य सामान, टेक्सटायल, साबुन तथा डिटरजेण्टको पनि परीक्षण गर्दै आएको छ । पेट्रोलियम पदार्थ, ब्लेचिङ पाउडर, सोडियम हाइड्रोकोलोराइड, स्टीलजन्य पदार्थ, टूथपेष्ट, सोडियम हाइड्रोअक्साइड, सोडा, एसिडसँगै टेलिफोन, उच्च क्षमताका ब्याट्रीलगायत विद्युतीय सामानको समेत परीक्षण गरिने विभागका अधिकारीहरू बताउँछन् ।
विभागबाट परीक्षण हुने सामग्रीमा कुन वस्तुको मिसावटको मात्रा कति छ भनेर छुट्ट्याइनुका साथै वस्तुलाई श्रेणीमा विभाजन गरी प्रमाणित गरिने हुमागाईंले बताए । विभाग काठमाडौंको बालाजुमा छ ।
यसले नेपाल गुणस्तर चि≈न (एनएस) प्राप्त कम्पनीको नियमित रूपमा अनुगमन गर्छ । गुणस्तर चि≈न प्राप्त कम्पनीले सामानमा गुणस्तर कायम गरे÷नगरेकाबारेमा छड्के जाँच गर्ने हुमागाईं बताउँछन् । अनुगमनलाई निरन्तरता दिए पनि एनएसका बारेमा विभागले जानकारीमूलक कार्यक्रम ल्याउन सकेको छैन ।
उपभोक्तालक्षित प्रचारप्रसार कार्यक्रम आवश्यक भएको स्वयम् विभागका अधिकारीहरू बताउँछन् । प्रचारप्रसार गर्न रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यबाट जानकारी दिनुपर्ने उनले बताए । हाल काठमाडौं, विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी र जनकपुरमा क्षेत्रीय र अञ्चल गरी
विभाग मातहतका आठओटा कार्र्यालय रहेका छन् ।