गतसाता सुनको मूल्य प्रतितोला ३ हजार ३ सयले घट्यो
पुस २, काठमाडौं । लामो समयदेखि लगातार उकालो लागेर अहिलेसम्मकै उच्च तहमा पुगेको सुनको मूल्य गतहप्ता भने केही सुस्ताएको छ । हप्ताको पहिलो दिन आइतवार प्रतितोला रू. ५५ हजार २ सयमा कारोबार भएको सुन शुक्रवारसम्म रू. ३ हजार ३ सय ४७ ले कमी आएर रू. ५१ हजार ८ सय ५२ मा आएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि सुन सस्तो भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘गतसाता बाय बजारमा सुनको मूल्यमा दैनिक २० देखि २५ डलरले गिरावट आएपछि त्यसको प्रभाव नेपाल बजारमा पनि परेको हो,’ शाक्यले भने । अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार नेपाली बजारमा सुनको मूल्यमा धेरै नै कमी आउनु पर्ने हो तर भारतीय रुपैयाँको तुलनामा डलर बलियो भएका कारण सुनको मूल्य चाहेजति घट्न सकेको छैन । अन्य दिनमा रू. २ सय ५० देखि ५ सयको हाराहारीमा घट्दै आएको सुनको मूल्य बुधवारको तुलनामा बिहीवार भने एकैदिनमा रू. १ हजार ५ सय ९७ ले कमी आएको छ । सङ्घका अनुसार सो दिन प्रतितोला सुन रू. ५२ हजार ८ सय ५० मा कारोबार भएको थियो । हप्ताको अन्तिम दिन शुक्रवार पनि करीब रू. १ हजारले कमी आएको सङ्घले जानकारी दिएको छ । सुनजस्तै चाँदीको मूल्यमा पनि हप्ताभरिमा रू. ५९ ले कमी आएको छ । हप्ताको शुरूको दिन आइतवार रू. १ हजार ८४ मा किनबेच भएको प्रतितोला चाँदी अन्तिम दिन शुक्रवार रू. १ हजार २५ मा झरेको छ । चाँदीको मूल्य मङ्गलवार र बुधवार स्थिर रहे पनि अन्य दिन भने घट्ने क्रममा रहेको छ ।