सुन कारोबार ठप्प
माघ २५, काठमाडौं । सरकारले सुनचाँदीको भन्सार महशुल बढाएको भोलिपल्ट बुधवार बजारमा सुन खरीद–विक्री भएन । सुन आयात नभएका कारण कारोबार पनि ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘मङ्गलवारको तुलनामा बुधवार रू. १ हजारले सुनको मूल्य बढ्यो, त्यसले पनि किनबेचमा असर पारेको हो,’ उनले भने ।

मङ्गलवार रू. ५३ हजार ५ सयमा कारोबार भएको प्रतितोला सुन बुधवार रू. ५४ हजार ५ सय तोकिएको थियो । अन्तरराष्ट्रिय बजार र भन्सार महशुलका कारण सुन महँगिएको शाक्यले बताए । मङ्गलवार मन्त्रिपरिषद्को बैठकले प्रतिदशग्राम सुनको भन्सार महशुल रू. १ हजारबाट बढाएर रू. १ हजार ५ सय पु¥याएको छ भने प्रतिकिलो चाँदीको भन्सार दर रू. ४ हजार ६ सय कायम गरेको छ । यसअघि प्रतिकिलो चाँदीको भन्सार महशुल रू. २ हजार ४ सय थियो ।