सुनको मूल्य बिहीवार पनि स्थिर
माघ ५, काठमाडौं (अस) । विगत तीन दिनयता आन्तरिक बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो अवधिमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य केही बढे पनि नेपालमा आन्तरिक कारणले स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बिहीवार अन्तरराष्ट्रिय बजारको मूल्यमा नेपालमा सुन आपूर्ति गरिएको छैन । सोहीअनुसार आपूर्ति गरेको भए प्रतितोला करीब रू. ५ सयका दरले सुनको मूल्यमा कमी आउनु पथ्र्यो,’ उनले भने । विगत केही दिनयता अमेरिकी डलरको तुलनामा भारतीय रुपयाँ बलियो बन्दै गएको छ । भारतीय रुपयाँ बलियो भएपछि डलरको तुलनामा नेपाली रुपैयाँ पनि बलियो देखिएको हो । बिहीवार पनि आन्तरिक बजारमा सुन प्रतितोला रू. ५३ हजारमा कारोबार भयो । सङ्घका अनुसार गत मङ्गलवार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनजस्तै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । गत मङ्गलवार चाँदी प्रतितोला रू. १ हजार १५ मा कारोबार भएकोमा बिहीवार पनि सोही मूल्यमा कारोबार भएको सङ्घले जानकारी दिएको छ ।