यूरोपबारेको अकल्पनीय चिन्तन
जर्ज सोरोस
जब असम्भव नै सम्भव देखियो तब समस्या समाधानका लागि अकल्पनीय कुराबारे चिन्तन गर्नु आवश्यक भएको छ । तसथ, यूरोपको ऋणसङ्कट समाधान गर्नका लागि अब यूरोजोन मुलुकहरूलाई ग्रीस, पोर्चुगल र सम्भवत: आयरल्याण्डले ऋण बुझाउने प्रतिबद्धताको मिति उल्लङ्घन हुनेछ भन्ने अनुमान लगाउनुपर्छ । र, त्यसका लागि तयार रहनुपर्छ ।
यस्तो अवस्थामा सम्पूर्ण यूरोजोन क्षेत्रका आर्थिक गतिविधि अवनतितर्फ लाग्नबाट जोगाउन कदमहरू चालिनुपर्छ । पहिलो, बैङ्कमा रहेको निक्षेप सुरक्षित गर्नुपर्छ । यदि ऋण तिर्ने भाका नाघेका कारणले ग्रीसका बैङ्कमा निक्षेप गरिएको यूरो निकम्मा भयो भने इटालीका बैङ्कहरूमा निक्षेप गरिएको यूरो पनि जर्मन अथवा नेदरल्याण्डका बैङ्कहरूमा राखिएको निक्षेपभन्दा कम महत्त्वको हुन जान्छ । यो क्रम अरू बजेटघाटामा चलेका मुलुकका बैङ्कहरूसम्म
फैलन सक्छ ।
अझ महत्त्वपूर्ण पक्ष के छ भने, यसरी ऋण तिर्न नसक्ने मुलुकका केही बैङ्कहरूलाई पनि सम्पूर्ण आर्थिक प्रणाली नै तहसनहस हुन नदिन सञ्चालनकै अवस्थामा राख्नुपर्ने बाध्यता छ । त्यस्तै, यूरोपको बैङ्किङ प्रणालीलाई पुन: पूँजीकरण गर्नुपर्छ र राष्ट्रियस्तरको सुपरिवेक्षीय अवधारणाबाट बिल्कुलै छुट्टै यूरोपस्तरीय सुपरिवेक्षणमा राख्नुपर्छ । सारमा, यूरोजोन क्षेत्रका अरू बजेटघाटामा चलेका मुलुकले बेचेका ऋणपत्रहरूमा यो सङ्कट नसर्ने गरी सुरक्षित गरिनुपर्छ । र, पछिल्ला यी दुई आवश्यकता अहिले नै ऋण तिर्न नसक्ने अवस्थामा नपुगिसकेका मुलुकका लागि पनि प्रयोगयोग्य छन् ।
यी सबै काम गर्न पैसा चाहिन्छ । तर, हालै यूरोजोन क्षेत्रका राष्ट्रिय नेताहरूले गरेका विद्यमान सम्झौतामा यस्तो पैसाको व्यवस्था कतै गरिएको छैन । यसथ, यो सम्झौतामा उल्लेख नभएको पक्ष (पैसा)को सृजना गर्नुको अर्को विकल्प छैन । यसका लागि एउटा यूरोपीय कोष निर्माण गरिनुपर्छ, जसलाई कर लगाउने र ठूलो रकम ऋण लिने अधिकार प्राप्त होस् । यसका लागि नयाँ सम्झौता आवश्यक पर्छ । पहिलेको यूरोपियन फाइनान्सियल स्टेब्लिटीलाई यस्तो नयाँ सम्झौताबाट पूर्ण क्रियाशील कोषमा रूपान्तरण गर्नु आवश्यक छ ।
यसका लागि खास मुलुकहरूको धारणामा व्यापक परिवर्तन हुनु आवश्यक छ, खासगरी, जर्मनीको । जर्मन नागरिकहरूमा अहिले पनि यूरो मुद्रालाई समर्थन गर्ने कि नगर्ने भन्ने विकल्प बाँकी छ भन्ने धारणा छ । यो गम्भीर गल्ती हो । यूरो मुद्रा अस्तित्वमा छ । संसारको वित्तीय प्रणालीका सम्पत्ति र दायित्वहरू यो साझा मुद्रामा आधारित रहेर अत्यन्त धेरै छयासमिस भएका छन् । यदि यूरो धराशयी भयो भने यसले जर्मन अधिकारीहरूको अथवा अन्य कुनै यस्तो मुलुकको, नियन्त्रण क्षमताभन्दा ठूलो समस्या सृजना हुन्छ । जर्मन नागरिकहरूलाई यो तीतो सत्य महसूस गर्न जति लामो समय लाग्छ, उनीहरूले र बाँकी विश्वले पनि त्यति नै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
अहिलेको मूल प्रश्न भनेको यो तर्कमा जर्मन सर्वसाधारणहरूको चित्त बुझाउन सकिन्छ कि सकिँदैन भन्ने नै हो । जर्मन चान्सलर एङ्गेला मर्केल आफ्ना सत्तासाझेदारहरूलाई यो कुरा मनाउन सफल नहुन सक्छिन् । तर, उनी यूरोलाई बचाउने पक्षमा बहुमत बनाउन प्रतिपक्षहरूसँग सहयोग लिन सक्छिन् । कम्तीमा यूरो मुद्रालाई बचाउन यो नयाँ बहुमतको समीकरण बन्न सक्छ । यूरो मुद्राको सङ्कटलाई टार्न सकिन् भने उनी आउँदो चुनावबाट थोरै
मात्र डराए पुग्छ ।
सम्भावित ऋण तिर्ने भाका नाघ्ने कारणले नै यी तीनओटा मुलुकलाई यूरोजोनबाट बाहिर पार्नुपर्छ भन्ने आवश्यकता छैन । बरु यसको विपरीत क्रमबद्ध रूपले यूरोजोन मुलुकहरू र अन्तरराष्ट्रिय मुद्राकोषको सहयोगले ऋण तिर्ने अवस्थासम्म पुग्ने कुराले ग्रीस र पोर्चुगललाई नयाँ नीतिहरू छनोट गर्ने अवसर दिन्छ । अझै यसले सरुवा प्रकृतिको सङ्कटचक्रलाई अन्त्य गर्दछ । वास्तवमा अहिले यस्तो सङ्कट यूरोजोनका ऋणसङ्कटमा परेका धेरैओटा देशलाई पर्ने देखिन्छ । किनभने, ती देशमा अवलम्बन गरिएका मितव्ययिताका कदमले आर्थिक वृद्धिका सम्भावनाहरूलाई कमजोर बनाएको छ । लगानीकर्ताहरूलाई खेप्नै नसकिने उच्च ब्याजदरमा व्यवसाय गर्नुपर्ने अवस्था छ । यसले ती देशका सरकारहरूलाई खर्च कटौती गर्ने थप दबाब पर्न जान्छ ।
यूरोजोनका मुलुकहरूलाई छोडिदिँदा अरू गम्भीर सङ्कटमा परेका मुलुकलाई आफ्नो प्रतिस्पर्धी क्षमता पुन: वृद्धि गर्न सजिलो पर्छ । तर, यदि आवश्यक त्याग गर्न तयार भए भने उनीहरू पनि यूरोजोनभित्रै रहन सक्छन् । यूरोपियन फाइनान्सियल स्टेब्लिटी फेसिलिटीले उनीहरूको मुलुकभित्रको बैङ्क निक्षेपलाई सुरक्षित गर्नेछ र अन्तरराष्ट्रिय मुद्राकोषले तिनीहरूको बैङ्किङ प्रणालीलाई पुन: पूँजीकरण गर्न सघाउनेछ । यसले ती देशलाई अहिलेको सङ्कटबाट उम्किन मद्दत गर्नेछ । जसरी हेर्दा पनि यी मुलुकलाई धराशयी भएर सिङ्गो विश्व बैङ्किङ प्रणालीलाई आफूसँगै सङ्कटग्रस्त बनाउने कुरा यूरोपियन युनियनको हितमा छैन ।
यूरोपियन युनियनका सदस्य राष्ट्रहरू, ती पनि जो यूरोजोनभित्र छैनन्, सबैले यूरो मुद्रालाई बचाउन एउटा नयाँ सम्झौताको आवश्यकता छ भन्ने कुरा बुझ्नैपर्छ । यसका कारणहरू स्पष्ट छन् । त्यसैले यस्तो सम्झौतामा के कुरा समावेश गर्ने भन्ने कुराको छलफल तत्कालै शुरू गर्नु आवश्यक छ । किनभने, यूरोपका नेताहरू चाँडै कुनै सम्झौतामा पुग्न तीव्र दबाबमा छन्, तापनि छलफल र मोलतोलबाट निष्कर्षमा पुग्ने आफैमा एउटा लामो प्रक्रिया हो । एउटा सिद्धान्तमा सहमति भएपछि भने यूरोपियन काउन्सिलले यूरोपीय केन्द्रीय बैङ्कलाई ती सम्झौताको उल्लङ्घन र दण्ड जरीवानाबारे कारबाही गर्ने अधिकार दिन सक्छ । यस्तो अधिकार खासगरी बैङ्कहरू सङ्कटग्रस्त हुनबाट बचाउने कुरामा पहिले नै सजग गराउन दिन सकिन्छ ।
यूरोजोन क्षेत्रको ऋणसङ्कट समाधानको दृश्य क्षितिजमा देखिनु नै वित्तीय बजारहरूका लागि ठूलो राहतको स्रोत हुनेछ । यस्तो हुँदा पनि नयाँ सम्झौताका प्रावधानहरू जर्मनीले नै इच्छा गरेबमोजिम हुने पक्काजस्तै भएकाले गम्भीर प्रकृतिको आर्थिक सुस्ती झण्डै निश्चितजस्तै भएको छ । यसले जर्मनीको धारणामा थप परिवर्तन ल्याउन मद्दत गर्नुपर्छ । यस्तो परिवर्तनले प्रतिचक्रीय नीतिहरू लिने कुरालाई क्रमश: छूट दिनुपर्छ । त्यसपछि मात्रै यूरोजोनको बहुदा क्षेत्रमा आर्थिक वृद्धि पुन: शुरू हुन सक्छ ।
लेखक सोरोस फण्ड म्यानेजमेण्टका अध्यक्ष हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११
Admin 2011-09-18