व्यापारिक नाम र व्यापार चिन्हमा भ्रम
जनक भण्डारी
नेपालमा राज्यले खुलाबजार अर्थनीति अँगालेपछि अर्थात् २०४७ सालपछि व्यापारका क्षेत्रमा निजीक्षेत्रको प्रवेश ठूलो सङ्ख्यामा भयो । तर, यति लामो अवधिसम्म पनि केही ठूला औद्योगिक घरानाबाहेक उद्योग-व्यवसाय सञ्चालनमा निजीक्षेत्रका तर्फबाट संस्थागत लगानी हुन सकेको छैन । यस क्षेत्रमा प्रवेश गरेका साना उद्योगीहरूमा वास्तवमा व्यापार प्रवर्द्धनसम्बधी ज्ञानको अभाव देखिन्छ । खासगरी प्रशस्त पूँजीको अभावले उद्योग-व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक कर्मचारी पाल्न सक्ने क्षमता उनीहरूमा देखिँदैन । कतिपयसँग भए पनि अत्यधिक नाफा प्रेरित मानसिकताका कारण यसतर्फसोच्न सकेको देखिँदैन । यसले गर्दा व्यापार विस्तारका लागि आफ्नो उत्पादनको ब्राण्डिङ अनिवार्य हुन्छ भन्ने पनि उनीहरूले महसूस गर्न सकेका छैनन् ।
सामान्यतया नेपालको व्यापार तथा सेवा क्षेत्रमा हात हालेका अधिकांशले कम्पनी वा उद्योग (व्यापारिक नाम)बाटै आफ्ना उत्पादनको वितरण तथा सेवा प्रदान गरिरहेको स्थिति छ । उनीहरूको सामान्य बुझाइ व्यापारिक नाम दर्ता भइसकेपछि स्वत: आफ्नो उत्पादन तथा सेवाको ब्राण्डिङ हुन्छ भन्ने छ । यो बुझाइ ज्यादै सङ्कुचित छ । किनभने व्यापारिक नाम र व्यापार चिन्ह बिलकुल फरक कुरा हुन् । एउटै कम्पनी वा उद्योगले विभिन्न फरक फरक नाममा सयौं उत्पादन तथा सेवा प्रदान गर्न सक्छ । त्यस अवस्थामा व्यापारिक नाम दर्ता हुँदैमा आफ्नो उत्पादनमा प्रयोग गरिएको नाम वा व्यापार चिन्ह (ट्रेडमार्क) स्वत: संरक्षण हुन्छ भन्नु भ्रम हो । व्यापारिक नाममा नै वस्तु तथा सेवा विक्री गर्ने सोच भए तत्काल ट्रेडमार्क लिन आवश्यक हुन्छ । यद्यपि, विश्वप्रसिद्ध केही कम्पनीको नाम र ट्रेडमार्क एउटै पनि छन् । सामसुङ, सोनी, क्यानन, टोयोटा, निशानलगायतले कम्पनीका नामबाट आफ्ना उत्पादनको ब्राण्डिङ गरेका छन् । कम्पनी र ट्रेडमार्कको नाम दुरुस्त भए एउटै विज्ञापनले दुवैको प्रवर्द्धन हुने हुनाले पनि यसप्रतिको मोह सामान्यभन्दा बढी भएको हुन सक्छ ।
नेपालमा एउटै नामका कम्पनीको सङ्ख्या सयौं भइसकेको स्थिति छ । कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्याङ्कअनुसार मुलुकभरमा करीब ८५ हजार कम्पनी दर्ता भइसकेका छन् । जिल्लाजिल्लामा दर्ता हुने घरेलु तथा साना उद्योगको वास्तविक तथ्याङ्क लिन कठिन छ । मझौला तथा ठूला उद्योगको सङ्ख्या पनि साढे चार हजारको हाराहारीमा छ । यस्ता कम्पनी तथा उद्योगको नाम पनि दैनिक प्रयोगमा आउने प्रचलित अर्थात् जनजिब्रोमा झुण्डिएका शब्दबाटै राख्ने गरिएको छ । यस्तो अवस्थामा सहजै अनुमान लगाउन सकिन्छ- एउटै नाम भएका कम्पनी वा उद्योग कति होलान् ? यसरी दर्ता भएर सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीले आफ्नै नामको कम्तीमा पनि एउटा ट्रेडमार्क बनाएका छन् । तर, ती सबैले ट्रेडमार्क दर्ता भने गराएका छैनन् । यसले गर्दा अहिले कम्पनीहरू स्वयम् समस्यामा पर्न थालेको तथा सर्वसाधारण झुक्किन थालेको समाचार सञ्चारमाध्यममा आउन थालेका छन् । केही दिनअघि एक राष्ट्रिय दैनिकले मुख्य समाचार प्रकाशित गरी यस विषयको उठान गरेको छ । समाचारमा उठान गरिएकै एउटा प्रसङ्ग- सिध्दार्थ डेभलपमेण्ट बैङ्क र सिध्दार्थ बैङ्क दुवै उस्तै सेवा दिने र ट्रेडमार्कको अन्तरराष्ट्रिय वर्गीकरणअनुसार एउटै वर्गमा पर्ने संस्था हुन् । अर्थात् यी दुईमध्ये कुनै एकले मात्र सिध्दार्थ नामक ट्रेडमार्कको प्रयोग गर्न पाउँछन् ।
यो समस्या खासगरी उत्पादनमूलकमा भन्दा सेवामूलक उद्योगमा विकराल रूपमा देखापरेको अनुमान लागाउन सकिन्छ । किनभने सेवामूलक उद्योगले आफ्नै नामलाई ब्रण्डिङ गर्न जोड दिएका हुन्छन् । यसले गर्दा एउटै वर्गभित्र पर्ने अर्थात् उस्तै प्रकृतिको सेवा प्रदान गर्ने एकै नाम भएका संस्था ठूलो समस्यामा पर्ने देखिन्छ । यसका लागि सिध्दार्थ डेभलपमेण्ट बैङ्क र सिध्दार्थ बैङ्कको उदाहरण पर्याप्त छ । तर, उत्पादनमूलक उद्योगलाई यो समस्याले त्यति ठूलो असर नगर्न सक्छ । किनभने यस्ता उद्योगले सयौं वस्तु उत्पादन गरी त्यतिकै सङ्ख्यामा फरकफरक ब्राण्डिङ गर्न सक्ने वास्तविक तथ्यलाई नकार्न सकिँदैन । उनीहरूलाई आफ्नो उद्योगको नाम केवल विज्ञापन तथा व्यापार व्यवस्थापनका क्षेत्रमा मात्र गर्नुपर्ने हुन्छ । उत्पादित वस्तुमा कम्पनीकै नाम प्रयोग नगरी अन्य नाम प्रयोग गरेर पनि बजारमा राम्रो पकड कायम गर्न सकिन्छ ।
ट्रेडमार्क विशुद्ध बौद्धिक सम्पत्ति हो । व्यापारिक नाम ट्रेडमार्कको स्वामित्व संरक्षण गर्ने अभिभावक हो । व्यापार-व्यवसायमा व्यापारिक नाम र पारिवारिक पृष्ठभूमिले केही असर गरे पनि समग्रमा उपभोक्ताले उत्पादनको नामलाई बढी जोड दिन्छन् । सेवा तथा वस्तु खरीद गर्ने सर्वसाधारण उपभोक्ताले कम्पनी वा धनीको नाम नभई ट्रेडमार्क मात्र ख्याल गरेका हुन्छन् । जस्तो कि एउटा चाउचाउ किन्ने ग्राहकले 'एशियन थाई फुड्सको रमपम' नभनी ट्रेडमार्क मात्र अर्थात् 'रमपम' चाउचाउ दिनुस् न भन्छ । अधिकांश ग्राहकलाई रमपम चाउचाउ कुन कम्पनी वा कुन व्यापारिक समूहको हो भन्ने पनि थाहा हुँदैन । तर, सो चाउचाउको स्वाद र ट्रेडमार्कका बारेमा ऊ प्रस्ट जानकार हुन्छ । यस अर्थमा साना वा ठूला सबै उद्योगी-व्यवसायीले आफ्नो भ्रम चिर्न आवश्यक छ ।
नेपालमा बौद्धिक सम्पत्ति (खासगरी यस लेखमा बौद्धिक सम्पत्ति भनी ट्रेडमार्कलाई विशेष जोड दिइएको छ) संरक्षणको इतिहास धेरै पुरानो छ । विसं १९९३ बाट राज्य यस्तो सम्पत्तिको संरक्षणका लागि अग्रसर भएको देखिन्छ । सिङ्गो राज्यमै लिखित कानूनका नाममा मुलुकी ऐनमात्र भएको तत्कालीन समयमा कम्पनी तथा बौद्धिक सम्पत्तिको संरक्षणका लागि छुट्टै कानून बनेको थियो । तत्कालीन समयमा बौद्धिक सम्पत्ति भनी किटान नगरिए पनि यस्ता सम्पत्तिको संरक्षणका लागि कदम चालिएको भने अवश्य हो । यस हिसाबमा हामीले यो क्षेत्रमा ठूलो प्रगति गरिसक्नुपर्ने हो । तर, यो ७५ वर्षको अवधिमा पनि हामीले खास कुनै ठूलो उपलब्धि हासिल गर्न सकेका छैनौं । अझै पनि बामे सदै गरेको अवस्थामा नै सीमित छौं । यस अवधिमा हाम्रोमा न त औद्योगिक वातावरणको नै विकास हुन सकेको छ न त व्यापारिक चेतनाको । विकास भएको छ त खालि अर्काको नक्कल गर्ने बानीको ।
एउटा उदाहरण हेरौं- चलचित्र क्षेत्रको विश्वप्रसिद्ध अवार्ड 'ओस्कार'को लोगोसहित मदिराजन्य उत्पादनमा प्रयोग गर्नका लागि एक नेपाली मदिरा कम्पनीले ट्रेडमार्क दर्ता माग गर्यो । उद्योग विभागले दर्ता प्रक्रिया पनि अघि बढायो । भलै एकेडेमी अफ मोशन पिक्चर एण्ड साइन्सेजको उच्च सचेतताका कारण सो कम्पनीले ट्रेडमार्क दर्ता गरी लैजान भने पाएन । यस्ता थुप्रै उदाहरण भेटिन्छन्- विश्व प्रसिद्ध तर नेपालमा दर्ता हुन बाँकी ट्रेडमार्क नेपाली स्थानीय कम्पनीको नाममा दर्ता भएका । अर्कातिर नेपालमै फिल्मसम्बन्धी अध्ययन अध्यापन गराउन कम्पनी रजिष्ट्रारको कार्यालयमा ओस्कार इण्टरनेशनल कलेज दर्ता भएको छ । भोलि एकेडेमी अफ मोशन पिक्चर एण्ड साइन्सेजले ओस्कार इण्टरनेशनल कलेजविरुद्ध मुद्दा दर्ता गराएमा कलेजको नाम नै फेर्नुपर्ने बाध्यता हुन्छ । यसबाट कलेजले नामका लागि गरेको लगानी खेर जान्छ, बदनामी पनि हुन्छ ।
यसरी घरभित्र र बाहिर दुवैतिरको प्रवृत्ति केलाउँदा नेपालका उद्योगी-व्यवसायीहरू स्वच्छ प्रतिस्पर्धाभन्दा अर्काको ख्यातिबाट क्षणिक लाभ लिने मानसिकताले ग्रसित देखिन्छन् । अर्कातर्फसरकारी कर्मचारीमा स्पष्ट कानूनी ज्ञान तथा व्यावसायिकताको अभाव देखिन्छ । उनीहरू कुन कामलाई कसरी अघि बढाउने भन्नेमै अन्योलमा छन् । व्यापार चिह्नसम्बन्धी उचित ज्ञान तथा तालीमको अभावमा सेवाग्राहीले चाहेको जानकारी प्रस्ट रूपमा बुझाउन पनि सक्दैनन् । यसले गर्दा व्यवसायीले पनि व्यापारिक नाम र ट्रेडमार्कबीचको भ्रम पालेरै बस्न बाध्य हुनुपरेको छ । यद्यपि, व्यवसायीले अर्कालाई जिम्मेवार ठानेर काम गर्दा व्यवसायको दिगो आधार बन्न सक्दैन । आफ्नो भविष्यको सुरक्षा अर्काले कदापि गरिदिँदैन । भविष्य निर्माणका लागि वर्तमानमा आधार आफैले बसाउने हो । त्यसैले उद्योगी-व्यवसायीले तत्कालका लागि क्षणिक नाफा नहेरेर दीर्घकालीन कार्ययोजना बनाई काम गर्नु आवश्यक देखिन्छ ।
एउटा कुनै नामको कम्पनी दर्ता भइसेकपछि सोही नामको अर्को कम्पनी दर्ता नगरिदिने हो भने मात्र पनि अहिले देखिएको यो समस्या स्वत: हल हुन्छ । राज्यका जिम्मेवार निकायले नै व्यवसायीमा देखिएको भ्रम चिर्न र वर्तमानको समस्या समाधानका लागि आवश्यक पहल कदमी लिनुपर्छ । यदि त्यसो गर्न नसक्ने र सरकारी कर्मचारीमा व्यावसायिकताको विकास हुन नसक्ने हो भने त्यसको परिणाम घातक हुन्छ । साना लगानीकर्ताहरू विचल्लीमा पर्छन् । र, स्वच्छ प्रतिस्पर्धाको अभावमा लगानीकर्ता नै पलायन हुनुपर्ने बाध्यता सृजना हुन सक्छ । यसतर्फ राज्यको सम्बन्धित निकायका अधिकारीको समयमै ध्यान जान आवश्यक छ ।
लेखक अधिवक्ता हुन् ।
Admin 2011-07-17