''नेपालको आर्थिक विकासमा डा. पन्तको योगदान'' - नित्यराज पाण्डे
डा. यादवप्रसाद पन्तले अर्थशास्त्रको विशेष अध्ययनबाट शिक्षाक्षेत्र हुदै आर्थिक क्षेत्रमा प्रवेशे गरे । पछिल्ला दिनमा बैङ्किङ क्षेत्रमा लाग्दै गए । आफ्नो अध्ययन र अनुभवका आधारमा धेरै पुस्तक तथा लेखहरू जनसमक्ष राखे । उनले सार्क क्षेत्र र अन्य समृद्धशाली देशको आर्थिक अवस्थाबारे पनि निकै अनुभव हासिल गरेका थिए । एशियाली क्षेत्रका प्रबुद्ध अर्थशास्त्रीबीच उनको नाम आउँछ । सार्क सङ्गठनबारे उनको विशेष दखल रहेको उनका रचनाहरूबाट बुझिन्छ । उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत काम गरेका थिए । उनले ठाउँठाउँमा आर्थिक तथा सामाजिक सहायतामार्फत व्यक्ति, समाज र निर्माण कार्यमा योगदान पुर्याएका थिए ।
डा. पन्तको पुर्ख्यौली थलो पाल्पा जिल्ला हो । पन्तको घरवास भएको थलो पाल्पा जिल्लाको चिरिपानी गाविसको बूढीकोट हो । पन्तका बाजे ताराप्रसाद सुब्बा पदबाट विभूषित भएका हुन् । यिनले पाल्हीमाझ खण्ड (अहिलेको रूपन्देही र परासी क्षेत्र) मा प्रशस्त जमीन जोडेका थिए । अर्घाखाँचीका हरिहर गौतम बर्दिया जिल्लामा प्रसिद्ध थिए भने ताराप्रसाद पनि यस क्षेत्रमा प्रसिद्ध थिए । बुद्धि र कामबाट प्रसिद्ध भएका ताराप्रसादका पाँच छोराहरू थिए- विष्णुप्रसाद, दुर्गाप्रसाद, पीताम्बरप्रसाद, रोहिणीप्रसाद र यज्ञप्रसाद । विष्णुप्रसादका एक छोरा डा. यादवप्रसाद हुन् । विष्णुप्रसाद धर्मकर्ममा रुचि राख्ने र पूजाकोठामा चतुर्भुज नारायणको विराटमूर्ति राखी आराधना गर्ने व्यक्ति थिए । उनी निकै समय काशीमा समेत बसी धर्मकर्ममा लागेका थिए ।
डा. यादवप्रसाद पन्त (१९८२ मङ्सिर २-२०६४ कात्तिक २८) विष्णुप्रसाद र भीष्मकुमारीको कोखबाट काठमाडौँ कालिकास्थानमा जन्मेका हुन् । भीष्मकुमारीका पिता दैवज्ञराम जोशी र माता योगकुमारी कर्मशील व्यक्ति हुन् । श्री ३ महाराज जङ्गबहादुरले कर्मचारीको विवरण तथ्याङ्क राख्न कम्याण्डिङ किताबखाना स्थापना गरेका थिए । दैवज्ञराम त्यसका प्रमुख भएका थिए । उनका छोरा अर्थात् डा. पन्तका मामा हरेराम पनि किताबी सुब्बा भएका थिए । योगकुमारी विद्वान् हरिदत्त पन्तकी छोरी हुन् । हरिदत्तका ३ छोरामध्ये माहिला विद्वान् व्याकरणाचार्य बोधराज पन्त हुन् । सिद्धान्तकौमुदीजस्तो गहन ग्रन्थको पुस्तकै नहेरी रोचकतासाथ विद्यार्थीलाई पढाउँथे । डा. पन्तमा मातृकुलको विद्वत्ता र कर्मण्यताको प्रभाव परेको देखिन्छ । डा. पन्त ६ वर्ष हुँदाखेरि नै मातृवियोग परेको हुदा मावली र बाबुबाट हेर चाह भएको थियो ।
बाबु विष्णु बनारसमा बसेको हुँदा डा. पन्तलाई त्यहीं लगी पढाइएको हो । अर्थशास्त्रमा निपुण डा. पन्त अर्थ मन्त्रालय र बैङ्किङ क्षेत्रमा काम गर्दा उनका सानिमा डालकुमारी पन्तका छोराहरू डा. पुष्करनाथ पन्त र डा. ठाकुरनाथ पन्तको निकै भरथेग गरेका थिए । डा. पन्त आथिर्क सल्लाहकार हुदा पुष्करनाथ सहायक आर्थिक सल्लाहकार भए । अर्थ मन्त्रालयमा यादव सचिव हुदा उनी सहसचिव भई निकै काम गरेका थिए । यसैगरी यादव 'बैङ्क अफ काठमाण्डू' मा संस्थापक हुदा डा. ठाकुरनाथ पन्त कार्यकारी अधिकृत भएर बैङ्कको क्षमता बढाउने काममा ठूलो टेवा दिएका थिए । ब्रह्मनिष्ठ र कर्तव्यनिष्ठ सरदार रुद्रराज पाण्डेकी १२ वर्षकी जेठी छोरी रमादेवीसँग २००० साल जेठ २८ गते डा. पन्तको विवाह भएको थिए । उनी पत्नीको प्रेरणासमेतबाट आध्यात्मिक सामाजिक कार्य र सन्तसेवामा पनि लागेको देखिन्छ । कालिकास्थानमा निरन्तर भजनकीर्तन भइरन्थ्यो । रुद्रराजको घर प्युखामा समेत भजनकीर्तन हुन्थ्यो । उनी ध्यानमग्न भई भगवद्भक्तिमा लाग्थे ।
डा. पन्तको योगदान जनसमक्ष ल्याउन 'डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान' गठन भई कार्य शुरू भइसकेको छ । त्यस संस्थाबाट २०६७ साल वैशाखमा 'डा. यादवप्रसाद पन्त स्मृतिग्रन्थ' तयार गरी राष्ट्रपति डा. रामवरण यादवबाट २०६७ साउन १२ गते लोकार्पित भइसकेको छ । डा. पन्तको सम्झना र श्रद्धाञ्जलि भएको यो राम्रो ग्रन्थ हो । यसमा उनलाई चिनेजानेका विभिन्न व्यक्तिहरूको लेखबाट उनले गरेका कार्यहरू र उनबाट परेको प्रभावबारे उल्लेख छ । उनका बहुमुखी आयामका विभिन्न विषयहरू यसमा सङ्ग्रहीत छन् । ग्रन्थमा डा. पन्तले लेखेका पुस्तकहरूको विवरणसमेत प्रकाशित भएको छ । डा. पन्तको 'टे्रड एण्ड कोअपरेशन इन साउथ एशिया' भित्र भएका केही कुराहरू यहाँ लेख्न प्रयत्न गरिएको छ । यो पुस्तक विकास पब्लिशिङ हाउस प्रालि ५७६ मस्जिद रोड जङ्गपुर नयाँदिल्लीबाट प्रकाशित भएको हो ।
सन् १९८५ डिसेम्बर ५ मा नेपालका राजा वीरेन्द्रसहित सात राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको विशेष सक्रियतामा सार्क क्षेत्रका जनताको शान्ति, प्रगति, उन्नति तथा विकासका निमित्त दक्षिण एशियाली क्षेत्रीय सङ्गठन -सार्क स्थापना भएको थियो । यसको केन्द्रीय सचिवालय त्रिदेवीमार्ग काठमाडौँमा छ । यसमा भारत र पाकिस्तान दुइ ठूला राष्ट्र छन् भने नेपाल, भूटान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स साना राष्ट्र छन् । पछि यसमा अफगानिस्तान पनि थपिएको छ । उन्नति र विकास चाहने यी सात मन्दगतिको विकास, निम्न मात्रामा घरेलु बचत, पूजी सञ्चय र राष्ट्रिय उत्पादन भएका देशहरू हुन् । भारत र पाकिस्तानबीच पटकपटक द्वन्द्व र अविश्वासले आर्थिक गतिमा प्रभाव परिरहेको छ । नेपाल र भूटान सामुद्रिक बाटो नभएका भूरिवेष्टित मुलुक हुन् । श्रीलङ्का र माल्दिभ्स समुद्रवेष्टित मुलुक हुन् तापनि त्यहाँ जलस्रोतको राम्रो विकास भएको छैन । पारवहनको समस्या छ । औद्यैगिक क र आथिर्क विकास गर्दै गएको भारतबाट यो क्षेत्र प्रभावित भएको कुरा सार्क सम्मेलनमा कुरा उठेको हो ।
यस पुस्तकमा नेपालको अर्थव्यवस्थाका विषयमा विस्तारपूर्वक लेखिएको छ । २००७ सालदेखि मात्रै नेपाल आर्थिक विकासमा संलग्न भएर धेरै पञ्चवर्षीय योजना र त्रिवर्षीय योजना पूरा गरे पनि गरीबी हटाउन सकेको छैन । सरकारले वार्षिक आयबाट धेरै रकम दुर्गम पहाडी क्षेत्रमा खाद्यान्न पुर्याउन खर्च गरे पनि त्यहाँका सर्वसाधारण जनताको भोकमरीको समस्या हटाउन सकेको छैन । भूपरिवेष्टित मुलुक हुदा यातायात, पारवहन, निर्यात-आयात व्यापारमा परिरहेको अवरोध आदिबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । नेपालमा उत्पादन वृद्धि हुन सकेको छैन । यसो हुदा स्वदेशी बजारमा आफ्ना वस्तुहरू यथेष्ट मात्रामा छैनन् र निर्यात हुने वस्तुहरू पनि कम मात्रामा छन् ।
त्यस कारण निर्यात पनि बढ्न सकेको छैन । संयुक्त राष्ट्रसङ्घबाट पेरिस सम्मेलनपछि जापान र संयुक्त राज्य अमेरिकाले कम विकसित देशहरूलाई आर्थिक सहायता वृद्धि गरेका छन् । तर, विभिन्न बाधाका कारणले नेपालले उन्नति गर्न सकेको छैन । र्सार्क देशको कुल गार्हस्थ उत्पादन, व्यापार, जनसङ्ख्या वृद्धिको तालिका राखेर विषय स्पष्ट पारिएको छ । सातै सार्क देशहरूको कृषि, उद्योग, व्यापार, आयात-निर्यात, शिक्षा, भौगोलिक अवस्थासमेत उल्लेख गरेर डा. पन्तले दक्षिण एशियाली देशको अर्थजगत्मा परेको प्रभावका बारेमा गहन विश्लेषण गरेका छन् । यसबाट यस विषयमा डा. पन्तको विशेष अध्ययन देखिन्छ । यस क्षेत्रका देशले एकआपसमा मैत्री भावना राखी पारस्परिक सहयोग गर्नुपर्ने मान्यता पन्तको रहेको छ । दक्षिण एशियाली साझा बजारतर्फ उनको ध्यान खिचिएको छ । देशको आर्थिक र प्राकुतिक अवस्था विचार गरी विकास गर्नुपर्ने पन्तको सुझाव रहेको छ । देशको जनशक्ति योजनाबद्ध तरीकाबाट परिचालन गरी अन्तरराष्ट्रिय संस्थाबाट प्राप्त सहयोग र वैदेशिक सहायताको कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
उनका पसीनाबाट यस धरतीका फूलहरू मलिलो पार्न निकै प्रयत्न भएको छ । उनमा आर्थिक क्षेत्रका विषयमा गहिरो ज्ञान थियो । विभिन्न देशमा भ्रमण गरी आफूले देखेका अनुभवलाई उनले जनसमक्ष राखी ठूलो गुन लगाएका छन् ।