यहाँ छ सुधारको आवश्यकता
रविन्द्र भट्टराई
तेस्रो त्रैमासको अन्त्यसँगै कम्पनीका वित्तीय विवरणले राष्ट्रिय दैनिक पत्रिकाका पाना भरिन थालिसकेका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ अनुसार कम्पनीले त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र धितोपत्र बोर्डले तोकेबमोजिमको ढाँचामा वित्तीय विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था छ । यसमा कम्पनीको वित्तीय विवरण (नाफा नोक्सान विवरण, वासलात) केही वित्तीय अनुपातहरू पर्छन् । यसका अतिरिक्त विवरण प्रकाशन गर्दा कम्पनीले व्यवस्थापकीय विश्लेषण, कानूनी कारबाहीसम्बन्धी विवरण, सङ्गठित संस्थाको शेयर कारोबारसम्बन्धी विश्लेषण, समस्या तथा चुनौती, संस्थागत सुशासन, सत्यतथ्य सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण पनि विवरणमा उल्लेख गर्नुपर्ने हुन्छ । यी प्रकाशित विवरण नियामकका लागि जति महत्त्वपूर्ण हुन्छ, त्योभन्दा बढी लगानीकर्ताका लागि हुन्छ । कम्पनीमा वित्तीय अनुशासन बढ्दै गएको तथा आर्थिक वर्षसमाप्ति नजिकिँदै गएको अवस्थामा लगानीकर्ताका लागि यी विवरण झनै महत्त्वपूर्ण हुन्छन् ।
शेयरका दुई महत्त्वपूर्ण विश्लेषणमध्ये आधारभूत विश्लेषणको आधारका रूपमा यी विवरणलाई लिइन्छ । तर, विवरण प्रकाशन गरेर कानूनी औपचारिकता पूरा गर्ने कतिपय कम्पनीको प्रवृत्ति र विवरणमा दिइएका सूचकाङ्कमा भएका कमजोरीले सर्वसाधारणमा अन्योल सृजना गरेको देखिन्छ । कम्पनीले प्रकाशन गर्ने यस्ता विवरणमा थुप्रै कमजोरी देखिन्छन् । तीमध्ये केही हुन्: १) प्रायः कम्पनीले त्रैमासिक वित्तीय विवरण (नाफा नोक्सान विवरण र वासलात) र बोर्डले तोकेको थप विवरण फरकफरक पत्रिकामा फरकफरक भाषा (नेपाली र अङ्ग्रेजी)मा प्रकाशन गरेको पाइन्छ । फरक भाषाको प्रयोगले कहिलेकाहीँ विवरण प्रकाशनको तरीका गाईजात्रा जस्तै बनेको हुन्छ । एउटै विषयवस्तु फरक भाषामा प्रकाशन गर्दा सरोकारवालामा अन्योल सृजना हुने देखिन्छ । साथै त्यसमा प्रयोग गरिएका अस्पष्ट वा दोहोरो अर्थ दिने शब्दका कारण वित्तीय विवरण प्रकाशनको स्तरीयता नहुने देखिन्छ २) वित्तीय विवरण तुलनात्मक भए पनि वित्तीय अनुपातजस्तो प्रतिशेयर आम्दानी, मूल्य(आम्दानी अनुपात अघिल्लो अवधिको नदिईकन अन्तिम त्रैमासको मात्र उल्लेख गरिएको हुन्छ । विवरण प्रकाशन गर्दा तुलनात्मक हुनुपर्छ । अनि मात्र पहिले र अहिले बीचको तुलनाबाट कम्पनीको स्थितिमा भएको परिवर्तनको मूल्याङ्कन गर्न सकिन्छ । ३) यसैगरी वित्तीय अनुपात जस्तै( प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपातको मापन एकाइमा कम्पनीमा अन्योल भएको प्रकाशित विवरणबाट प्रस्ट हुन्छ । उदाहरणका लागि मूल्य आम्दानी (पीइ) अनुपातको एकाइ गुणामा हुन्छ । तर, कम्पनीले प्रकाशन गरेका प्रतिवेदनमा यो अनुपात रुपैयाँ, प्रतिशतजस्ता एकाइमा उल्लेख गरिएको हुन्छ । यस्ता एकाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुनु जरुरी छ । ४) यसैगरी हकप्रद, बोनस तथा थप शेयरका कारण कम्पनीको प्रतिशेयर आम्दानी तथा इक्विटी प्रतिफलमा ठूलो असर पर्न जान्छ । तर, विवरणमा यसको प्रभावका बारेमा कहीँकतै उल्लेख गरिएको हुँदैन । यो समस्या समाधानका लागि निष्कासनअघि र पछिको प्रतिशेयर आम्दानीको प्रकाशन गरिएमा लगानीकर्तालाई अप्रत्यासित रूपमा घटेको प्रतिशेयर आम्दानी तथा इक्विटीमा प्रतिफलको वास्तविकता थाहा पाउन र शेयरको मूल्याङ्कन गर्न सजिलो हुने देखिन्छ । ५) प्रकाशित विवरणमा कम्पनीविरुद्धका मुद्दामामिलाको कुरा मात्र उल्लेख गरिएको हुन्छ । तर, यस अवधिमा कम्पनीलाई नियामक निकायबाट गरिएका कारबाहीको कहीँकतै उल्लेख गरिएको हुँदैन । अहिलेको विवरण ढाँचामा थप गर्नुपर्ने यो अर्को प्रमुख विषय हो । यो समावेश गरिएमा लगानीकर्तालाई व्यवस्थापनको कमजोरी तथा सुशासन थाहा पाउन थप सजिलो हुन्छ ।
सुधार गर्नुपर्ने विषय यति मात्र छैनन् । कम्पनीको सञ्चालक समितिले लाभांश बाँड्ने निर्णय गरेको भोलिपल्ट नै पत्रिकामा सूचना जारी गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न जरुरी छ । हाल स्टयाण्डर्ड चार्टर्ड, नबिल बैङ्कलगायत केही कम्पनीले सूचना जारी गरी सञ्चालक समितिको निर्णयसार्वजनिक गर्दै आए तापनि अधिकांश कम्पनीले प्रकाशन गरेको पाइँदैन । यो नहुँदा कतिपय पत्रपत्रिकामा एउटै सूचना फरकफरक समाचार बनेर आउने गरेकाले लगानीकर्तामा अन्योलमा पर्ने क्रम बढेको छ । उदाहरणका लागि एउटै सूचनामा कतिपयले नगद लाभांश, बोनस शेयर तथा कतिपयले हकप्रद शेयर भनी उल्लेख गरेको पाइन्छ ।
सूचीकृत कम्पनीले लाभांश तथा हकप्रद शेयरसम्बन्धमा भएका निर्णयनेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराउने गरेका छन् । तर, कतिपय सूचना समयमा नपुगी कारोबार शुरू भएको धेरै समयपछि तथा कतिपय कारोबार समाप्त भइसकेपछि सार्वजनिक हुने गरेका उदाहरण प्रशस्तै छन् । यस्ता गतिविधिका कारण शेयरको मूल्यमा महत्त्वपूर्ण भूमिका निर्वार्ह गर्ने सूचनाका कारण आन्तरिक कारोबारले व्यापकता पाउने गरेको छ ।
यसैगरी साधारणसभाको सूचनामा थप सुधार आवश्यक देखिन्छ । सञ्चालक समितिले कस्तो लाभांश कति प्रतिशत दिने भनी निर्णय गरिसकेको हुन्छ । तर, साधारणसभाको सूचनामा यो स्पष्ट उल्लेख नगरी सञ्चालक समितिले निर्णयगरेबमोजिम लाभांश पारित गर्ने मात्र भनी उल्लेख गरिएको हुन्छ । यसबाट कम्पनीले सूचना प्रवाहमा कन्जुस्याइँ गरेको स्पष्ट हुन्छ । यस विषयमा धितोपत्र बोर्डको ध्यान जान जरुरी छ । सूचना प्रवाह गर्दा यस्ता महत्त्वपूर्ण सूचना स्पष्ट रूपमा प्रकाशन गर्ने कानूनी व्यवस्था गरिनु आवश्यक छ ।
सूचना स्पष्ट हुनुका साथै बढी भन्दा बढी सरोकारवालासम्म पुग्नुपर्ने अहिलेको आवश्यकता हो । लगानीकर्तामा वित्तीय शिक्षाको कमी भएको आवाज आइरहेको अवस्थामा नियामक निकायले यसमा जोड दिन जरुरी भइसकेको छ । यसमा बीमा समितिको एउटा पहल उदाहरणीय छ । समितिले आफू मातहतका कम्पनीलाई अनिवार्य रूपमा वेबसाइट निर्माण गर्न निर्देशन जारी गरेको छ । निर्देशनमा वेबसाइटमा हुनुपर्ने न्यूनतम विषयवस्तु समेत समेटेको छ । र, यहीअनुसार कम्पनीले वेबसाइट निर्माण गरेका पनि छन् ।
बीमा समितिले गरेको त्यस व्यवस्थालाई धितोपत्र बोर्ड र राष्ट्र बैङ्कले पनि अनुसरण गर्नुपर्ने देखिन्छ । यसमा धितोपत्र बोर्डले शेयर निष्कासन अनुमति दिएका कम्पनीले अनिवार्य रूपमा वेबसाइट निर्माण गर्नुपर्ने र त्यसमा लगानीकर्तालाई सूचित गर्ने न्यूनतम सूचना जस्तै- सञ्चालकसम्बन्धी जानकारी, कम्पनीको कार्यक्रम पात्रो, वित्तीय विवरण, विगतका वर्षको वित्तीय अनुपात जस्तै- प्रतिशेयर आम्दानी, मूल्य-आम्दानी अनुपात, नेटवर्थ, लाभांश, कम्पनीविरुद्धका कानूनी कारबाही आदि राख्नैपर्ने निर्देशन जारी गर्न सक्छ । यसैगरी राष्ट्र बैङ्कले हरेक बैङ्क तथा वित्तीय संस्थाले वेबसाइट निर्माण गरी बैङ्किङ जिज्ञासा (नेपाली र अङ्ग्रेजी दुवैमा), सञ्चालकको परिचय तथा वित्तीय विवरण राख्नैपर्ने निर्देशन जारी गर्न सक्छ । यसो गरिएमा अहिलेको सूचना तथा प्रविधिको युगमा बढी भन्दा बढी सरोकारवालाले जानकारी प्राप्त गर्नसक्ने देखिन्छ । प्रायः बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीले शेयर निष्कासन गरेकाले यस्तो निर्देशिका राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र बीमा समितिले एकीकृत रूपमा जारी गर्न पनि सक्छन्, जसबाट निर्देशन बाझिने तथा कम्पनीमा अन्योल बढ्ने हुँदैन ।
एकीकृत रूपमा कम्पनीका वित्तीय सूचना तथा शेयरबजारसम्बन्धी तथ्याङ्क प्रदान गर्न धितोपत्र बोर्डको पछिल्लो पहल सराहनीय छ । तर, लगानीकर्ताले बोर्डको वेबसाइटभन्दा बढी नेपाल स्टक एक्सचेञ्जको वेबसाइट भ्रमण गर्ने हुनाले स्टक एक्सचेञ्जले आफ्नो वेबसाइटमा अत्यधिक सूचना प्रवाह गराउनुपर्ने अहिलेको आवश्यकता हो । यसका लागि नेप्सेलाई आर्थिक अभाव हुँदैन । सूचनाको कमी छैन । मात्र सोचको अभाव छ । भारतीय सहयोगमा केन्द्रीय निक्षेप प्रणालीको विकास गरिरहेको नेप्सेलाई यसका लागि भारतको बम्बे स्टक एक्सचेञ्जको वेबसाइटको उदाहरण नै पर्याप्त हुन्छ ।
लेखक शेयर विश्लेषक तथा सेक्युरिटिज रिसच सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस)का अध्यक्ष हुन् ।
Admin 2011-05-17