शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पर्यटन वर्षमा सम्भावना र अप्ठयाराहरू
प्राडा. रुद्रप्रसाद उपाध्याय
नेपालका तुलनात्मक लाभका केही सीमित क्षेत्रहरूमध्ये पर्यटन एउटा प्रमुख क्षेत्र हो । नेपालको पर्यटन प्रकृति र संस्कृतिमा आधारित छ । त्यसकारण पनि संस्कृति र प्रकृतिको जुन मात्रामा संरक्षण गर्न सकिन्छ, त्यही मात्रामा पर्यटनको पनि विकास हुन्छ ।

दोस्रो ऐतिहासिक जनआन्दोलनको सफलतापछि समृद्ध, न्यायमा आधारित, समावेशी नयाँ नेपाल निर्माण गर्ने उद्देश्य राखिएको छ । नयाँ नेपाल निर्माण हुनका लागि अरू धेरै कुराका साथमा रोजगारीका अवसर सृजना हुनु जरुरी छ । यसका लागि पर्यटन, त्यसमा पनि ग्रामीण पर्यटन ज्यादै उपयोगी बन्न सक्छ । नेपालसँग सीमित साधनस्रोत छ । त्यसैले विकासका लागि जहाँ हाम्रो सबलता छ, त्यहाँ केन्द्रित हुनुको विकल्प छैन । पर्यटन नेपालको आर्थिक नक्सा परिवर्तन गर्न क्षमता राख्ने एउटा प्रमुख क्षेत्र हो । यसको विकासविना आर्थिक विकास असम्भव छ । अहिले नेपाली अर्थतन्त्रका दुइओटा मुख्य चुनौती छन् । जीविकोपार्जनमुखी ग्रामीण कृषिमा ठूलो जनशक्ति अल्झेको छ । त्यो जनशक्तिलाई रोजगारीको विकल्पको खाँचो छ । कृषिक्षेत्रमै पनि त्यो जनशक्तिको पूर्ण उपयोग गर्न सकिएको छैन । अहिले नेपालका अर्थशास्त्रीहरूबीच एउटा बहस चलेको छ । नेपाली अर्थतन्त्रको बलियो आधार कृषिलाई बनाउने वा पर्यटनलाई ।

नेपाल विश्वबजार प्रणालीको एउटा अंश भइसकेको अवस्थामा त्यहाँ आफ्नो स्थान कसरी सुनिश्चित गर्ने र यसबाट मुलुकले कसरी फाइदा लिने भन्ने चुनौती छ । यी चुनौतीहरूलाई पर्यटनक्षेत्रको विकासबाट समाधान गर्न सकिन्छ । यसका लागि राष्ट्रिय एजेण्डा निर्माण गरिनुपर्छ । पर्यटन विकासका लागि दलहरूको सामूहिक प्रतिबद्धताको खाँचो छ । अहिलेको अवस्थामा कृषिबाट नेपालले आशातीत आर्थिक विकास गर्न गाह्रो छ । यसका धेरै कारणहरू छन् । नेपालमा १७ प्रतिशत मात्रै खेतीयोग्य जमिन छ । त्यसमा पनि निकै कम जग्गामा सिँचाइलगायतको सुविधा छ । पर्यटनलाई आधार बनाएर नेपालको आर्थिक विकास गर्न सकिन्छ, यसका लागि पर्यटनका नयाँ गन्तव्य पहिचान गर्न आवश्यक छ । बढ्दो बेरोजगारीलाई हटाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्छ । समतामूलक आर्थिक विकासका लागि पर्यटनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

पछिल्लो समय पहाड र तर्राईबाट राजधानी आई स्थायी रूपमा बस्ने क्रम बढेको छ । त्यसलाई रोक्नका लागि पनि ग्रामीण पर्यटनको विकास गर्नु जरुरी छ । यसका लागि गाउँगाउँमा होमष्टेको अवधारणा लागू गर्न सकिन्छ । विस्तारै यसको अभ्यास पनि हुन थालेको छ । पर्यटकीय रूपले आकर्षक मानिएका स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ, तनहुँको बन्दीपुर, काभ्रेको पात्लेखेत, कास्कीको घान्द्रुक यसका केही उदाहरण हुन् । त्यहाँका जनता आफै अग्रसर भएर समुदायमा आधारित होमष्टे सञ्चालन गरिरहेका छन् । विशेषगरी होमष्टे सञ्चालनबाट ग्रामीण महिलाले लाभ लिन सक्छन् । यसले पर्यटन विकासमा ठूलो सहयोग पुर्याउन सक्छ । तराईमा पनि पर्यटनको त्यत्तिकै सम्भावना छ । तराईमा पर्यटकका लागि मिथिला संस्कृति र कला छ । तर, यसको राम्ररी प्रवर्द्धन हुन सकेको छैन । हजारौं ताल तलैयाहरू तराइमै छन् । विभिन्न जातजाती भाषाभाषीहरू छन् । महत्त्वपूर्ण अन्य धेरै धार्मिक क्षेत्रहरू पनि तराईमा छन् । यस्ता क्षेत्रमा स्थानीय जनतालाई जागरुक बनाई तिनको सहभागितामा पर्यटन प्रवर्द्धन गर्न सके पछाडि परेका समुदायको जीवनस्तर उकास्न सहयोग पुग्नेछ । पर्यटन विकासका लागि सगरमाथा र लुम्बिनीको प्रचारप्रसार  नै पनि मनग्य छ, जसबाट नेपालले  खर्बांै रुपैयाँ कमाउन सक्छ ।

अहिले हामी पर्यटन वर्ष२०११ मनाइरहेका छौं । यो वर्षदेशमा १० लाख पर्यटक भित्र्याउने उद्घोष गरिएको छ । सार्क मुलुकका पर्यटन मन्त्रीहरूका अतिरिक्त नेपालका विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागितामा पर्यटन वर्षको भव्य शुभारम्भ भएको छ । उद्घाटनका लागि मात्रै एक करोड रुपैयाँ खर्च भएको बताइएको छ । यो एउटा राष्ट्रिय अभियान नै बन्न पुगेको छ । नेपालको पर्यटन विकासका निम्ति यो महत्त्वपूर्ण अवसर पनि हो । यसको मुख्य उद्देश्य १० लाख पर्यटक नेपाल भित्र्याउनुका साथै नयाँ पर्यटकीय क्षेत्रको पहिचान र आन्तरिक पर्यटनको विकास गर्ने हो । १० लाख पर्यटक भित्र्याउने लक्ष्य आफैमा निकै चुनौतीपूर्ण  छ । किनकि, नेपालको पर्यटन  काठमाडौं केन्द्रित छ । पर्यटकलाई खान बस्न सुविधा दिन सक्ने तारे होटलहरू काठमाडौंमा केन्द्रित छन् । मुश्किलले एक दुइ राम्रा होटलहरू मात्रै राजधानीबाहिर छन् । उपत्यकाबाहिर हजारौं पर्यटकीय गन्तव्यस्थल रहेका छन् । तर, त्यहाँको भौतिक पूर्वाधार निकै कमजोर छ । भौतिक पूर्वाधारको कमि भयो भन्दै पर्यटकलाई काठमाडौंमा केन्द्रित गरियो भने पर्यटन वर्षो लक्ष्यमा पुग्न असम्भव छ ।

गन्तव्यस्थलमा बाटोघाटो, विमानस्थल, जलयात्रा आदिको सुविधा पर्याप्त मात्रमा विकास हुन सकेको छैन । नेपालमा आउने पर्यटकले केमा अधिक रुचि राख्ने गरेका छन्, त्यसमा ध्यान पुगेको देखिँदैन । अहिले सरकारी ध्वजाबाहक नेपाल वायुसेवासँग दुइओटा मात्रै ठूला विमान छन् र ती पनि राम्ररी चल्न सक्ने अवस्थामा छैनन् । यो अवस्थामा कसरी नेपाली विमानले विदेशी पर्यटकलाई नेपाल ल्याउन सक्ला ? बरु, दुइ दर्जनभन्दा बढी विदेशी विमान कम्पनीहरूले नेपाल आउने यात्रुलाई ओसारेका छन् । आफ्नो विमानसेवा बलियो नहुँदा १० लाख पर्यटक आएका खण्डमा पनि अधिकांश फाइदा विदेशतिरै जाने स्पष्ट छ । यसबारेमा हामीले बेलैमा सोच्न सकेनौं । नेपालको राजनीतिक र अन्य कारणले पनि पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको छ । राजनीतिक खिचातानी र अस्थिरताले गर्दा नै विमान खरीद गर्न सकिएन । यूरोपियन पर्यटकका ६५ प्रतिशत रकम हवाईसेवामा खर्च हुने गरेको छ । यो वर्षको पर्यटन प्रवर्द्धनका लागि सरकारले निकासा गरेको २२ करोड रुपैयाँको ६० प्रतिशत भारतमा र ४० प्रतिशत अन्य देशमा प्रवर्द्धनमा खर्च भएको बताइएको छ । यो रकम विदेशमा प्रचारका लागि खर्च गर्नुभन्दा पर्यटनको पूर्वाधारको विकासमा खर्च गरिनु उचित हुन्थ्यो । पर्यटक नेपाल आएपछि विनाझन्झट घुमफिर गर्न पाउनुपर्छ । राजधानीबाट नौबीसे पुग्न नै घण्टौं लाग्ने अवस्था छ । राजधानीमा सडक जाम छ । देशमा बन्द हडतालको संस्कार कायमै छ । असुरक्षाको त्रास यथावत् छ । प्रचार मात्रै गरेर यसको आवश्यक पूर्वाधारमा ध्यान दिन सकिएन भने नकारात्मक असर पर्न सक्छ । पर्यटन मन्त्रालयमा पर्यटनसम्बन्धी ज्ञान नभएका व्यक्तिहरूको बाहुल्य छ । राजनीतिक नियुक्तिका कारण पनि यस्तो अवस्था आएको हो । केही पर्यटन व्यवसायीले प्रशासनका मान्छेलाई आफूअनुकूल चलाइरहेका छन् । नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन गर्ने निकाय हुनुपर्ने थियो । तर, यो विभिन्न कारणले गर्दा २०-२५ जना मिलेर खोलेको क्लबजस्तो भएको छ । यसकारण नेपाली पर्यटनको ६० वर्षको इतिहासमा विदेशी पाहुनाको गन्तव्य काठमाडौं, पोखरा-अन्नपूर्ण , चितवन र सगरमाथामा सीमित भएको छ, जसले गर्दा राष्ट्रिय पर्यटनको समुचित विकास हुन सकेको छैन ।
(लेखक त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख हुन् ।)