पशुजन्य उत्पादन वृद्धिमा बायोटेक्नोलोजी
डा. रेवतीमान श्रेष्ठ
मानिसको पूर्ण स्वास्थ्य तथा आर्थिक सम्पन्नताका लागि दूध, दही, घ्यू, अण्डा, मासु, चीज, बटर (नौनी घ्यू), पनीर तथा ऊनजस्ता पशुजन्य उत्पादनहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । बिहानै झिसमिसेमा विभिन्न दुग्ध उत्पादक कम्पनीहरूले भिन्नभिन्न ब्राण्डको नाममा बजारमा ल्याएको दूध घर दैलोमा नपुगे न बच्चाले दूध पाउँछ न त हाम्रो चियामा सेतो रङ मिसिन्छ । केही वर्षअगाडि विभिन्न पत्रपत्रिका तथा टेलिभिजनका कार्यक्रमहरूमा समयमा दूध नपाउँदा गृहिणीले झेल्नुपरेको दु:खेसोहरू पढ्न र सुन्न पाइन्थ्यो । प्लाष्टिकको पोकामा बन्द भएर घरदैलोसम्म वितरण हुने गाई/भैंसीको दूध उत्पादनमा भनौं अथवा अण्डा र मासु प्राप्तिका लागि पालिने गाई, भैंसी, बाख्रा, कुखुरा आदि तिनको प्रतिएकाइ उत्पादन बढी पाउन अथवा लिनका लागि बायोटेक्नोलोजीको केकस्तो प्रयोग हुँदै गइरहेको छ, कस्तो सम्भावना विद्यमान छ, त्यसका बारेमा यहाँ सामान्य छलफल गर्ने प्रयास गरिएको छ ।
जमीनको क्षेत्रफल सीमित छ, त्यो बढाउन सकिने स्थिति छैन । जनसङ्ख्याको बढ्दो चापलाई प्रभावकारी नियन्त्रण पनि गर्न सकिएको छैन । एक्काइसौं शताब्दीको सभ्य समाजका सम्पन्न भद्रभलाद्मीहरूलाई पौष्टिक र स्वादिष्ट पशुजन्य पदार्थको भरपुर उपलब्धता कसरी गराइरहने ? आर्थिक उन्नति तथा प्रतिपरिवार आयस्रोत बढ्दो छ । यसैगरी पशुजन्य पौष्टिक पदार्थको माग र खपत पनि बढ्दो छ । यसै समस्यालाई विश्वभरका वैज्ञानिकहरूले चुनौतीका रूपमा लिएका छन् । र, प्रतिएकाइ पशुपक्षीबाट बढीभन्दा बढी उत्पादन गर्ने शोधकार्यमा प्रतिस्पर्धात्मक ढङ्गले सक्रियताको साथ अघि बढाइरहेका छन् ।
हाम्रो देशमा पशुजन्य उत्पादनको राष्ट्रिय महत्त्व र राष्ट्रको गार्हस्थ्य उत्पादनमा त्यसको योगदान कति महत्त्वपूर्ण हुन्छ भनी जिम्मेवार निकायबाट गम्भीरतासाथ लिएको पाइँदैन । दीर्घकालीन कृषि विकास योजना २०५५ तर्जुमा गरिँदा पशुपालनको क्षेत्रबाट कुुल गार्हस्थ्य कृषि उत्पादनमा ३१ प्रतिशत योगदान रहेको र आगामी २० वर्षमा यसको योगदान ४५ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । यसबाट पशुपालन क्षेत्रले राष्ट्रिय आय वृद्धिमा ज्यादै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्ट हुन आएको छ ।
केही वर्षअगाडि दक्षिण अफ्रीकामा संसारमा नै सबैभन्दा बढी दूध दिने गाई रहेको खबर पत्रिकामा पढ्न पाइयो । पहिले यस्तो रेकर्ड प्रतिदिन १ सय ९ लिटर दूध दिने गाईले बनाएको थियो । हाल आएर १ सय ११ लिटर दूध दिने गाईले त्यो रेकर्ड तोडेको छ । यो खबरले संसारभरि प्राथमिकता पायो । १ सय ९ वा १ सय ११ जति दूध दिए पनि हाम्रा लागि गाई कामधेनु हुन् । तर, गाईले यति धेरै दूध दिनुमा बायोटेक्नोलोजीको प्रयोग जिम्मेवार छ ।
पशुजन्य उत्पादन वृद्धिमा वैज्ञानिकहरूले विभिन्न प्रकारका बायोटेक्नोलोजीको प्रयोग बुद्धिमत्तापूर्वक गर्दै आएका छन् । हाम्रो देशमा पनि अन्य मुलुकहरूमा जस्तै उपयोगी तथा प्रभावकारी सार्वित भएका प्रविधिहरू भित्रिई प्रयोगमा आइरहेका छन् । भलै ती बाह्य सहयोगबाट नै आएका किन नहुन् ? उदाहरणका निमित्त उन्नत नश्लका बढी उत्पादन दिने जनावर पैदा गर्न कृत्रिम गर्भाधान (एआई) गराइँदै आएको छ । कुखुराको बढी फूल उत्पादन दिने (लेयरस) र मासुका लागि पालिने (ब्रोइलर्स) जातको विकास पनि यसै प्रविधिबाट गरिएको छ । हाम्रो स्थानीय जातका गाई, भैंसीबाट प्राप्त हुने दूध, मासु ज्यादै न्यून भएबाट त्यसको गुणात्मक सुधार गर्न पशुसेवा विभागले कृत्रिम गर्भाधान प्रविधिलाई सम्भव भएसम्म शहरबजार, गाउँघर सबै ठाउँका कृषकको घरदैलोमा पुर्याउने प्रयास गर्दै आएको छ । यस प्रकारको क्रियाकलापलाई प्रभावकारी बनाउँदै अधिक सङ्ख्यामा गाईभैंसीको वंश सुधारमार्फत उत्पादन वृद्धि गराउने कार्य भइरहेको छ । पशु सेवा विभागवाट 'दुधालु गाई/भैंसी वंश सुधर कार्यक्रम' अगाडि बढाइएको छ । यसरी उन्नत नश्लको बढी उत्पादन दिने गाई, भैंसी कृषकको गोठमा नै जन्मिने व्यवस्था गर्ने प्रविधि बायोटेक्नोलोजीको सफल प्रयोग हो । संसारमा यस प्रकारको प्रविधिको विकास ज्यादै अगाडि छ । तर, हामी ज्यादै पछि परिसकेका छौं । विकसित मुलुकले बायोटेक्नोलोजीलाई व्यापक रूपमा उपयोग गरेर कृषि र पशु उत्पादन, स्वास्थ्य, रोग निदान आदि क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेका छन् । एशियाका विकसित तथा द्रुत गतिमा विकास हुँदै गरेका मुलुकहरू जापान, कोरिया, चीन, भारत, थाइल्याण्डलगायतका मुलुकहरूले यस क्षेत्रको विकासका लागि राष्ट्रियस्तरमा लगानी गरेर विभिन्न अनुसन्धान केन्द्र, विश्वविद्यालयहरू
स्थापना गरिसकेका छन् ।
राष्ट्रिय पशुजन्य उत्पादनमा वृद्धि गर्न बढी क्षमतायुक्त पैतृक गुण भएका उन्नत नश्लका जनावरहरू प्रशस्त मात्रामा हुुनु ज्यादै आवश्यक छ । हाम्रा स्थानीय गाई/भैंसी उत्पादनको हिसाबमा कमसलखाले भए पनि स्थानीय हावापानी, दाना, चरन तथा व्यवस्थापनमा राम्रोसँग खपिसकेका हुन्छन् । त्यसैले यिनको पालनपोषण तथा गोठ व्यवस्थापन सजिलो हुन्छ । त्यसैले विकसित मुलुकहरूले धेरै लगानी गरी निकै समय लगाएर विकास गरेका बायोटेक्नेलोजी प्रविधिहरू हामीले निशङ्कोच भित्र्याउनुपर्दछ । र, हाम्रा स्थानीय कम उत्पादनशील जनावरहरूबाट उच्च गुणस्तरका सन्तान उत्पादन गरी बढी फाइदा लिन सक्नुपर्छ ।
'इम्ब्रियो ट्रान्सफर टेक्नोलोजी'बाट कृत्रिम गर्भाधान गराउने हो भने नेपालमा निकै फाइदा लिन सक्ने सम्भावना छ । यस प्रविधिबाट धेरै दूध दिने जातका गाई/भैंसी छनोट गरी धेरै डिम्ब एकपटकमा उत्पादन गर्न सकिन्छ । कृत्रिम गर्भाधान प्रविधिवाट ८-१० ओटा भ्रुण राम्रो खालको गाई-भैंसीबाट प्राप्त गरी सुरक्षित रूपमा विनाअपरेशन सङ्कलन गर्न सकिन्छ । उक्त उन्नत नश्लका जनावरका भ्रुण हाम्रा स्थानीय गाईभैंसीले 'सहवास' खोजेको समयमा गर्भाशयमा सफलता साथ राखी बढी उत्पादन क्षमतायुक्त पैत्रिक गुण भएका बाछी/पाडी आफ्नो गोठमा नै जन्माउन सकिन्छ । नेपालमा यसको सीमित प्रारम्भिक प्रयोग शुरू भएको छ । तर, भारतको नेशनल डेरी रिसच इन्षिटच्युट, कर्नालले यसको व्यापक र सफल प्रयोग गर्दै आएको छ ।
यस्ता उत्पादन वृद्धिका साथै मानिस तथा पशुपक्षीहरूमा रोग निदान कार्य र खोप तथा औषधि विकास गर्ने कुरामा पनि बायोटेक्नोलोजी अथवा जेनेटिक इञ्जिनीयरिङ ज्यादै उर्वर क्षेत्रका रूपमा विकसित हुँदै छ । मानिसको निमित्त आवश्यक पर्ने हर्मोनको जीन बङ्गुरमा मलिक्युलर बायोलोजी प्रविधिबाट हाली त्यसको दूधबाट उक्त हर्मोन प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ । जनावरका लागि उपयोग हुने खोप, काउलीको पातमा विकसित गर्ने कार्य शोधका रूपमा सफल भइसकेका छन् । अझै अगाडि गएर इम्ब्रियो क्लोनिङ प्रविधिबाट दुरुस्त आमाजस्तै बच्चा डोली नामक भेडाको विकासले बेलायतमा मात्र नभई पूरै संसारमा व्यापक उत्सुकता उब्जाएको छ ।
अत: राष्ट्रले यस्ता अत्याधुनिक प्रविधिहरू देशमा भित्र्याउन र विश्वविद्यालयहरू तथा अनुसन्धान केन्द्रहरूमा थप कार्यक्रम राखी अनुसन्धानको पहल गर्नुपर्ने देखिन्छ । तुलनात्मक रूपमा कम लगानी र समयमा नै हाम्रोजस्तो देशले विकसित मुलुकसँगै यस प्रविधिको क्षेत्रमा काम गर्न सक्छ । साथै, उनीहरूसँग प्रतिस्पर्धा गरी विदेशी बजारमा आफूलाई प्रवेश गराउन सक्ने प्रचुर सम्भावना छ । तसथ, यस क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्छ । नेपालका विश्वविद्यालयहरूमा यसबारे अध्ययन-अनुसन्धानका अवसर बढाई हाम्रा युवाहरूलाई अन्तरराष्ट्रिय बजारमा बढी प्रतिस्पर्धी बनाउँदै वैज्ञानिक क्षेत्रमा योगदान दिन सक्ने बनाउन सरकारले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ ।
लेखक सामुदायिक पशु विकास आयोजनाका प्रोजेक्ट मेनेजर हुन् ।