नेपाली सञ्चारमाध्यम र सीएसआर
बलराम चापागाईं
पछिल्लो समयमा सूचना नै शक्ति हो भन्ने मान्यता स्थापित भएको छ । एक्काइसौं शताब्दीमा आएर सञ्चारमाध्यमहरू पहिलेभन्दा अझ शक्तिशाली बन्दै गएका छन् । तर, यो शक्ति देश, समाज र समग्र विश्वको शान्ति, समृद्धि र स्थायित्वका लागि हुनु जरुरी छ । सवसाधारणदेखि नीतिनिर्माण तहसम्मका व्यक्तिको विषयवस्तुसम्बन्धी बुझाइ र सोहीअनुरूपको निर्णयएवम् व्यवहार निर्माण गर्न सञ्चारमाध्यमको अहम् भूमिका हुन्छ । त्यसैले राजनीतिज्ञ, व्यापारी र सवसाधारणले व्यावसायिक-सामाजिक उत्तरदायित्वका सम्बन्धमा के-कति बुझ्न सक्छन् र कस्तो निर्णयएवम् व्यवहार गर्दछन् भन्ने कुरालाई धेरै हदसम्म सञ्चारमाध्यमको सूचना प्रवाहले असर गर्दछ ।
सञ्चारमाध्यमले व्यावसायिक आचरणका सम्बन्धमा सूचना प्रवाह गर्दछन् । तर, चाखलाग्दो पक्ष के छ भने, यो आफैमा एक व्यवसाय पनि हो । त्यसैले व्यावसायिक-सामाजिक उत्तरदायित्वको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका अतुलनीय छ । विख्यात पत्रकार जोसेफ पुलिट्जरले १ सय वर्षअगावै भनेका थिए, 'सञ्चारमाध्यम एवम् पत्रकारहरू सधैं उन्नति र सुधारका लागि लड्नुपर्छ । अन्याय र भ्रष्टाचारलाई कहिल्यै क्षमा गर्नु हुँदैन । गरीबप्रति सधैं सहानुभूति राख्नुपर्छ । सधैं जनहितमा समर्पित हुनुपर्छ । खाली समाचार छापेर मात्र सन्तुष्टि लिनु हुँदैन- स्वतन्त्र र निडर भएर खराब कुराहरूमाथि आक्रमण गरिरहनुपर्दछ ।’ पुलिट्जरका विचारले पनि सञ्चारमाध्यमको उत्तरदायित्वका विषयमा प्रकाश पार्छन्, । यी विचार अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
सञ्चारमाध्यमको सामाजिक उत्तरदायित्वका सम्बन्धमा कुरा गर्दा सम्बन्धित सवालहरूलाई तीन भागमा वर्गीकृत गरेर हेर्नुपर्ने हुन्छ । पहिलो- सञ्चारमाध्यमको सामाजिक उत्तरदायित्वसम्बन्धी पृथक् सवाल । दोस्रो- अन्य क्षेत्र र सञ्चारमाध्यमका साझा सवाल, जसमा सञ्चारमाध्यमको विशेष भूमिका हुन्छ । र, तेस्रो- सञ्चारमाध्यमलगायत सबै क्षेत्रका साझा सवाल ।
पारदर्शी एवम् उत्तरदायी सम्पादकीय नीति, अभिव्यक्ति स्वतन्त्रताको रक्षा, निष्पक्ष र सन्तुलित विषयवस्तु सञ्चारमाध्यममा सामाजिक उत्तरदायित्वसम्बन्धी पृथक् सवालहरू हुन् । सूचनाको अधिकार र व्यक्तिगत गोपनीयताको अधिकारबीचको सन्तुलन यससम्बन्धी अर्को सवाल हो । सृजनशीलताको कदर, अल्पसङ्ख्यक एवम् पिछडिएका वर्गको समावेशीकरण, उत्तरदायी विज्ञापन नीति, सूचना पहुँचको सरलीकरण आदि यसभित्र पर्दछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने कतिपय विषयवस्तुमा विनाआधार वा प्रमाण समाचार सम्प्रेषण भएको समेत पाइन्छ । खासगरी राजनीतिक सङ्कटको समयमा सूचनाको माग निश्चय नै बढी हुन्छ । यस्तो अवस्थामा छिटो समाचार सम्प्रेषण गरी लोकप्रिय हुने अभिलाषामा उचित आधार वा प्रमाणविना यसको दूरगामी प्रभावलाई बेवास्ता गर्ने गरेको पाइन्छ । यसका अतिरिक्त नेपाली सञ्चारमाध्यमहरूले सन्तुलित सामाजिक-आर्थिक विकासका मुद्दाहरूलाई पाखा लगाई राजनीति, अपराध, द्वन्द्व र विवादास्पद कुराहरूलाई बढी महत्त्व दिने गरेका छन् । यो सामाजिक उत्तरदायित्वका हिसाबले नेपाली सञ्चारमाध्यमको अर्को कमजोर पक्ष हो । तर, पछिल्लो समयमा केही सञ्चारमाध्यमहरूले सामाजिक-आर्थिक मुद्दाहरूलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गरिरहेका छन् । यसलाई सराहनीय कदम मान्नुपर्दछ ।
सबै सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, लिङ्ग, जाति, संस्कृति आदिको उचित प्रतिनिधित्व हुनसकेको देखिँदैन । सञ्चारजगत्लाई नियमन गर्ने वा विज्ञापन प्रदान गर्ने विषयमा प्रभाव राख्ने सीमित राजनीतिज्ञ र ठूला व्यापारीहरूको आवाजलाई मात्रै सञ्चारमाध्यमले बढी महत्त्वका साथ समेट्ने गरेका छन् । सबैभन्दा विडम्बनाको कुरा त उत्तरदायी विज्ञापन नीतिमा हालसम्म धेरैको उचित ध्यान पुग्नसकेको छैन । चुनौतीपूर्ण भए पनि उपयुक्त विज्ञापन नीति कुनै पनि सञ्चारमाध्यमका लागि नभई नहुने विषय हो । नेपाली सञ्चारमाध्यमले स्वास्थ एवम् समाजिक पक्षमा खलल पुर्याउने खालका विज्ञापनहरूलाई क्रमश: कम गर्दै लानसके त्यो साँचो अर्थमा समाजप्रतिको उत्तरदायी व्यवहार ठहरिनेछ ।
सञ्चारमाध्यमको विशेष भूमिका रहेका तर अन्य क्षेत्रसँग पनि सम्बन्धित साझा सामाजिक उत्तरदायित्वका सवालहरू पनि महत्त्वपूर्ण छन् । दिगो विकास एवम् उत्तरदायित्वपूर्ण व्यावसायिक-सामाजिक अभ्यासको प्रवर्द्धन, मानवअधिकारको रक्षा, साक्षरता एवम् शिक्षाको विकास, कानूनको पालना, स्वास्थ एवम् सुरक्षामा उचित ध्यान, प्रतिलिपि अधिकारको रक्षा, पारदर्शी स्वामित्व आदि यस्ता सवालहरू हुन् । संस्थागत सामाजिक उत्तरदायित्वको यो पक्षमा भने नेपाली सञ्चारमाध्यमको अवस्था केही सन्तोषजनक देखिन्छ । खासगरी हालका केही वर्षयता विभिन्न संस्थासँगको सहकार्यमा वा आफ्नै किसिमले पनि दिगो विकास एवम् व्यावसायिक सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने खालका सामग्रीहरूलाई नेपाली सञ्चारमाध्यमले समेट्ने गरेका छन् । यस कार्यमा पत्रपत्रिका, रेडियो, टेलिभिजन सबै क्षेत्रको महत्त्वपूर्ण योगदान छ । यससम्बन्धी अन्य केही पक्षहरूमा भने नेपाली सञ्चारमाध्यमको ध्यान अझै पुग्नसकेको छैन ।
सञ्चारलगायत सबै व्यवसायका साझा सामाजिक उत्तरदायित्वका सवालहरू पनि यस सन्दर्भमा महत्त्वपूर्ण हुन आउँछन् । कानूनको पालना मात्र भन्दा माथि उठी व्यावसायिक हितसँगसँगै विविध सरोकारवालाहरूको अपेक्षाहरूलाई सन्तुलित रूपमा सम्बोधन गर्ने कुराहरू यसभित्र पर्दछन् । यी सवालले खासगरी आर्थिक, सामाजिक र वातावरणीय पक्षहरूलाई समेट्छन् । जस्तो कि- कर्मचारीको समुचित विकास, उपयोग र पारिश्रमिक, संस्थागत सुशासन, ग्राहकको सन्तुष्टि एवम् वातावरणीय व्यवस्थापन आदि यसअन्तर्गतका मुख्य सवालहरू हुन् । नेपालको सन्दर्भमा प्राय: सबैजसो व्यावसायिक जगत्ले सरोकारवालाहरूको आवश्यकतालाई सन्तुलित रूपमा सम्बोधन गर्ने र व्यावसायिक दिगोपनमा ध्यान दिने विषयलाई कम महत्त्व दिएका छन् । बरु उनीहरूले च्यारिटीमा योगदान गर्ने वा प्राकृतिक विपत्तिमा सहयोग गर्ने वा 'मिडिया पब्लिसीटी'का लागि खेलकुद एवम् अन्य कार्यक्रम प्रायोजन गर्ने कार्यलाई व्यावसायिक सामाजिक उत्तरदायित्वका रूपमा बुझेका छन् । यो धारणामा परिवर्तन हुनु जरुरी छ । व्यावसायिक सामाजिक उत्तरदायित्वलाई नाफापछि गरिने दानका रूपमा बुझ्नु हुँदैन । हरेक व्यावसायिक क्रियाकलापमा सामाजिक, आर्थिक र वातावरणीय भलाइका पक्षहरूलाई मनन गरी सम्पादन गरिने दिगो व्यावसायिक अभ्यास वा मोडेलका रूपमा यसलाई बुझ्न जरुरी छ ।
सामान्यतया सञ्चारमाध्यम भन्नाले पत्रपत्रिका, टीभी, रेडियो, चलचित्र आदि बुझ्ने गरिन्छ । तर, हालका वर्षरूमा सूचनाप्रविधिको विकाससँगै इमेल, इण्टरनेट पनि आमसञ्चारका माध्यमका रूपमा विकास भएका छन् । इण्टरनेटमा आधारित सच इञ्जिनहरू (कि गूगल, विकीपेडिया आदि), ब्लगहरू तथा सामाजिक सञ्जालहरू (फेसबूक, ट्वीटर)जस्ता नयाँ सञ्चारमाध्यमको पनि तीव्र विकास भएको छ । सन् १९९६ मा विश्वमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या ६ करोडको हाराहारीमा थियो । हाल यो सङ्ख्या २ अर्ब नाघिसकेको छ । यस्ता सञ्चारमाध्यमले थोरै मात्र पनि गैरजिम्मेवार काम गरे भने त्यसको असर निकै ठूलो हुने इण्टरनेट प्रयोगकर्ताको सङ्ख्याले प्रमाणित गर्छ । त्यसैले इण्टरनेटमा आधारित आमसञ्चारका साइटहरूले अश्लील र विकृति फैलाउने खालका समाचार एवम् तस्वीरहरू प्रकाशन गर्नु हुँदैन । सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई आवश्यकताभन्दा बढी व्यक्तिगत सूचना अपलोड नगर्न सचेत गराउने, व्यक्तिगत सूचनाको गोपनीयताको प्रत्याभूति गर्ने आदि गर्नु जरुरी छ ।
निचोडमा नेपाली सञ्चारजगत्ले बीबीसी, 'गार्डियन न्यूजपेपर्स ’ वा अन्य कुनै उत्तरदायी सञ्चारमाध्यमको सफलताको कथा सुन्ने मात्र होइन, उनीहरूले आफ्ना व्यावसायिक अभ्यासहरूमा समेत उक्त कुराहरूलाई समुचित रूपले समायोजन गर्नुपर्छ । यसो गर्दा आफूसँगै देश र नेपाली जनतालाई शान्ति र समृद्धितर्फ डोर्याउन सकिन्छ । भनिन्छ- सुसूचित नागरिकविना प्रजातन्त्र सम्भव छैन । गुणस्तरीय एवम् उत्तरदायी सञ्चारमाध्यमविना सुसूचित नागरिकको निर्माण पनि सम्भव छैन । त्यसैले नेपाली सञ्चारमाध्यमले के भयो भने कुराको मात्र रिपोर्टिङ गर्ने होइन, अब के हुन्छ भन्ने कुरामा समेत नेपाली राजनीतिज्ञ, नीतिनिर्माता, व्यावसायिक जगत् र सवसाधारणलाई पथप्रदर्शन गर्नु आवश्यक छ । यसो गर्दा उनीहरूले आफ्नो व्यावसायिक-सामाजिक उत्तरदायित्वलाई राम्रोसँग निर्वाह गरेको हुनेछ र यही बाटोबाट नै सञ्चारमाध्यमहरू अग्रगामी परिवर्तनको संवाहक बन्न सक्नेछन् ।
लेखक राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)का वरिष्ठ प्रशिक्षक एवम् सल्लाहकार हुन् ।
Admin 2011-03-18