शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ग्रामीण विद्युतीकरणका सीमा
मालाभिका जैन बम्बावाले
संसारमा अहिले पनि साढे १ अर्ब मानिस विद्युत् सुविधाबाट वञ्चित छन् । त्यसमध्ये आधाभन्दा बढी एशिया प्रशान्त क्षेत्रका छन् । आजको युगमा विद्युत् सुविधाविना कुनै पनि आयमूलक क्रियाकलाप सञ्चालन गर्न असम्भवजस्तै छ । यो निकै दुःखपूर्ण तथ्य हो । विद्युत् प्रसारण लाइनभन्दा बाहिर रहेका मानिसहरूसम्म विद्युत् सुविधा पुर्‍याउन नवीकरणीय ऊर्जा प्रविधि (आरईटी) को अतुलनीय योगदान रहेको छ ।

एक्काइसौं शताब्दीका लागि नवीकरणीय ऊर्जा नीति सञ्जाल (आरईएन २१) ले संसारभरिका करोडौं ग्रामीण परिवारले नवीकरणीय ऊर्जाको सुविधा उपभोग गरिरहेको अनुमान गरेको छ । तर, त्यो विशाल समुद्रको तुलनामा एक थोपा पानीजस्तै हो । किन ती परिवारहरूसम्म विद्युत् प्रसारण लाइन पुर्‍याउन सकिएन भन्ने प्रश्नचाहिँ मुख्य हो । सर्वप्रथम त्यस्ता परिवार अति विकट स्थानमा छन्, जहाँ प्रसारण लाइनको विस्तार गर्न निकै महँगो पर्न जान्छ । यसकारण, ती ठाउँमा विद्युत् प्रसारण लाइनलाई बन्देज लगाएसरहको स्थिति छ । त्यसैगरी, सरकारसँग ती स्थानमा प्रसारण लाइन विस्तार गर्ने साधन र इच्छाशक्ति भए पनि त्यसको लागत गरीब गाउँलेहरूबाट उठाउन सम्भव देखिँदैन । किनकि त्यस्ता स्थानमा अनुदानमा विद्युत् विक्री गर्नुपर्ने हुनाले त्यसबाट प्राप्त हुने आम्दानी न्यून हुन्छ । कहिलेकाहीँ ती सबै व्यवधानलाई पन्छाएपछि मात्रै प्रसारण लाइन विस्तारको औचित्य पुष्टि हुन्छ । तर, गाउँ र परिवारहरू अति विकट स्थानमा रहेको अवस्थामा ती स्थानमा विस्तार गरिने प्रसारण लाइनको आर्थिक रूपमा औचित्य पुष्टि गर्न भने कदापि सकिँदैन ।

फलस्वरूप ती परिवार ताप र उज्यालोका लागि दाउरा, तेल र मैनजस्ता परम्परागत इन्धनमा भर पर्ने गर्छन् । तर, त्यस्ता परम्परागत स्रोतहरूले घरभित्र पूरा आकारमा हेर्नुहोस्प्रदूषण बढाइरहेका  छन् भने समयसमयमा आगलागीजस्ता भयावह समस्याका कारक पनि बनेका छन् । त्यस्ता प्रदूषणसम्बन्धी समस्याले महिला तथा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको र त्यसका कारणले सरकारको जनस्वास्थ्य खर्च बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । त्यसैगरी, इन्धनका परम्परागत स्रोतहरू सोचेजस्तो सुलभ र सस्ता छैनन्, बरु ग्रामीण परिवारहरू आफ्नो कुल आयको ठूलो हिस्सा त्यस्ता इन्धनमा खर्च गर्न बाध्य भएका छन् ।

विकट ग्रामीण इलाकामा विद्युतीकरणका लागि प्रसारण लाइनबाहिरका नवीकरणीय ऊर्जा प्रविधि सम्भाव्य विकल्प भइरहेका छन् । त्यस्ता विकल्पहरूमा घरायसी सोलार प्यानल, लघु जलविद्युत् आयोजना, घरको छानामा टर्वाइन जडान गरेर निकालिने विद्युत् र डिजल जेनेरेटर तथा स्थानीयस्तरमा उत्पादित नवीकरणीय ऊर्जा वितरण गर्ने गाउँस्तरका साना प्रसारण लाइन प्रमुख हुन् । घरायसी सोलर प्यानलले उत्पादन गरेको विद्युत्लाई ब्याट्री र भार नियन्त्रकको सहायताले बत्ती बाल्न, रेडियो बजाउन तथा टेलिभिजन हेर्नसमेत प्रयोग गर्न सकिन्छ । विश्व बैङ्कको अध्ययनअनुसार २० वाटको एउटा घरायसी सोलार प्यानलले ग्रामीण परिवारले प्रयोग गर्ने १५ लिटर मट्टीतेलको खपत कम गराउँछ । एउटा २० वाटको सोलार प्यानल जडान गर्न लगभग २ सय अमेरिकी डलर लाग्ने गर्छ, जुन वार्षिक २ हजार डलर वा त्योभन्दा पनि कम कमाउने परिवारका लागि ठूलै रकम हो । त्यसकारण कतिपय मानिसले गरीब ग्रामीण परिवारका लागि त्यति महँगो प्रविधि उपयुक्त नहुने बताउँदै आएका छन् । यद्यपि मासिक किस्ताबन्दीमा तिर्नेगरी जडान गर्ने हो भने त्यस्ता प्यानलको लागत सजिलै व्यवस्थापन गर्न सकिनुका साथै परम्परागत ऊर्जाभन्दा सस्तो पनि पर्छ । किनकि २० वाटको प्यानलको लागतलाई दश वर्ष मासिक किस्तामा विभाजन गर्दा प्रतिमहिना १ दशमलव ६ अमेरिकी डलर मात्रै पर्न आउँछ । त्यसैगरी परम्परागत ऊर्जाको तुलनामा नवीकरणीय ऊर्जाबाट बढी उज्यालो, सुरक्षित र धूँवारहित घरायसी वातावरण र रेडियो तथा टेलिभिजनको माध्यमबाट बाहिरी संसारसँग साक्षात्कारसमेत हुन सकिन्छ ।

नवीकरणीय ऊर्जा प्रविधिबाट सजिलै देख्न सकिने लाभ प्राप्त गर्न सकिन्छ । तसर्थ, गरीब तथा विकासोन्मुख देशका सरकारले दशकौंदेखि बहुपक्षीय दातृ सङ्गठन, द्विपक्षीय दाता वा गैरसरकारी संस्थाको सहयोगमा यस्ता प्रसारण लाइनबाहिरका नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्दै आएका छन् । त्यस्ता परियोजनाको लागत उठाउन लामो समय लाग्ने तथा पर्याप्त बजार र ऋण सुविधाको अभावमा निजीक्षेत्र यो प्रविधिमा लगानी गर्न इच्छुक देखिएका थिएनन् । तर, अहिले यस्ता परियोजनाहरूको प्रकृति विस्तारै परिवर्तन भएको छ । विकासशील मुलुकहरूमा परम्परागत वैदेशिक सहायता प्रारूपको न्यून प्रभाव र उदीयमान निजीक्षेत्रका कारण आधारभूत आर्थिक अवधारणामा पुनर्विचार गर्न बाध्य बनाएको छ । फलस्वरूप, परियोजनाहरू बजारकेन्द्रित हुँदै गएका छन, दाताहरूको भूमिका विस्तारै स्वदेशी नियामक निकाय र प्राविधिक संस्थाहरूले लिन थालेका छन् र बजार विकासका लागि निजीक्षेत्रको क्षमता तथा भूमिका विस्तारका कार्यक्रमहरू र्सार्वजनिक हुन थालेका छन् ।

यही प्रारूप अवलम्बन गरेर चीनमा विश्व बैङ्कले निर्धारण गरेको प्रख्यात 'सुनौलो सूर्य' मापदण्डअनुरूपको सोलार प्यानल प्रवर्द्धन कार्यक्रम सफल भएको हो । त्यस कार्यक्रमले प्राविधिक संस्थाको सशक्तीकरणलाई अत्यधिक महइभ्व दिएको थियो । चीनमा फोटो-भोल्टिक सोलार प्यानलको उत्पादन आकाशिनुको श्रेय त्यही परियोजनालाई दिने गरिन्छ । यसकै   कारण चीन, जर्मनी र अमेरिकालाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो फोटो- भोल्टिक उत्पादक बन्न सफल भएको हो । प्रसारण लाइनविना नै नवीकरणीय   ऊर्जा प्रविधिको प्रयोगबाट ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्ने थुपै्र तरीका छन् । सरकारले परिवारस्तरीय प्रविधि वा गाउँस्तरीय सूक्ष्म प्रसारण लाइनको छनोट गर्न सक्छ । दाताबाट सहयोग लिएर वा अन्य तरीकाबाट लगानी व्यवस्थापन गर्न सक्छ । त्यसैगरी निजीक्षेत्रलाई प्रोत्साहन गर्न अनुदान वा भइरहेका उपकरणको मर्मतसम्भार गर्न सहायता उपलब्ध गराउन सक्छ । अथवा, उसले उपकरणहरू उपभोक्ता ऋणमार्फत लिजमा दिन सक्छ वा खुला बजारमा विक्री गर्न पनि सक्छ ।

नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट ग्रामीण विद्युतीकरण गर्ने थुपै्र उपाय पत्ता लागिसकेका छन् । तर, त्यस्ता प्रविधिको प्रयोग ठूलो परिमाणमा गरेर प्रसारण लाइन नपुगेका स्थानमा विद्युतीकरण गर्नु मुख्य कुरा हो । भारतमा मात्रै प्रत्येक तीन जनामा एक जना विद्युत् सुविधाबाट विमुख छन् । यदि समुदायहरूलाई एक्लिनबाट जोगाउने हो र समावेशी दिगो आर्थिक विकास गर्ने हो भने यस्तै आधारभूत विषयबाट शुरू गर्नुपर्ने हुन्छ ।

लेखक ली क्यूवान यू स्कूल अफ पब्लिक पोलिसी, सिङ्गापुरमा 'सेण्टर अन एशिया एण्ड ग्लोबलाइजेसन'की अनुसन्धानकर्ता हुन् । यो लेख प्रोजेक्ट सिण्डिकेटबाट अनुवाद गरिएको हो ।