शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कमजोर कर्जा जोखिम व्यवस्थापन
नीलम तिम्सिना
बैङ्किङ क्षेत्रका विभिन्न जोखिममध्ये कर्जा जोखिमलाई अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील मानिन्छ । किनकि बैङ्कमा उत्पन्न हुने अन्य जोखिमहरू पनि कर्जा जोखिमसँग कुनै न कुनै रूपमा सम्बन्धित छन् । जस्तै, कर्जा जोखिमकै कारण तरलता जोखिम, ख्याति जोखिमलगायत अन्य जोखिम उत्पन्न हुन्छन् । अर्को कुरा, बैङ्कको सम्पत्ति भनेकै मुख्य रूपमा कर्जा लगानी हो र मुनाफाको प्रमुख स्रोत भनेको पनि कर्जा लगानी नै हो । तसथ, कर्जाको गुणस्तर राम्रो हुनु बैङ्किङ क्षेत्रको दीर्घ अस्तित्व र लाभका लागि अति जरुरी छ । यसका लागि कर्जामा निहित जोखिमको समुचित व्यवस्थापनमा बैङ्कहरूले ध्यान दिनैपर्ने हुन्छ ।

कर्जा जोखिम कसरी उत्पन्न हुन्छ त ? सामान्य रूपमा भन्ने हो भने जब कर्जा नउठ्ने सम्भावना हुन्छ, तब यो जोखिम उत्पन्न हुन्छ । कर्जा दिँदाको समयमा नै कर्जा जोखिम शुरू भइसकेको हुन्छ । जब ऋणीले बैङ्कसँग भएको सम्झौताअनुसार सावाँ फिर्ता गर्न वा ब्याज भुक्तानी गर्न अनिच्छुक/असमर्थ हुन्छ, तब कर्जा जोखिम गम्भीर हुन्छ । तसथ, ऋण दिँदाकै बखतदेखि नै ऋण नउठ्ने जोखिम पनि सँगै गाँसिएर आएको हुन्छ । त्यसैले त असल कर्जाका लागि पनि कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

 कर्जा जोखिम गम्भीर रूपमा प्रकट हुने धेरै कारण छन् । परियोजनाको समुचित विश्लेषण हुन नसकी हचुवाको भरमा कर्जा प्रवाह हुनु, स्वार्थवश हतारहतारमा कर्जा प्रवाह हुनु, सञ्चालक, संस्थापक र कार्यकारी प्रमुखलाई अप्रत्यक्ष रूपमा कर्जा प्रवाह हुनुले यो जोखिमलाई उच्च बनाउँछ । संस्थागत सुशासन कमजोर हुनु, कमजोर धितो मूल्याङ्कन, कर्जा सदुपयोगिता अनुगमनको अभाव, कर्जा असुलीमा प्रक्रियागत झमेला र कमजोर कानूनी प्रावधानले यसलाई उच्च बनाएको हुन्छ । सरकारी नीतिगत अस्थिरता, प्रतिकूल समष्टिगत आर्थिक परिसूचकहरू, नियामक निकायको निर्देशनको अवज्ञाजस्ता कारणले कर्जा निष्त्रिmय भई जोखिम उत्पन्न हुने कुरा त आफ्नै ठाउँमा छ  । यसका अतिरिक्त कर्जा जोखिमप्रति बोर्ड र उच्च व्यवस्थापन संवेदनशील नहुने, उच्च मुनाफाको लक्ष्य लिई उच्च व्यवस्थापक नियुक्त गरिने, सो उच्च व्यवस्थापकले सो महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न जथाभावी ढङ्गले अनुत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नु, कर्जा प्रशासन प्रभावकारी नहनु, कर्जा नियन्त्रणमा सञ्चालक समितिको भूमिका न्यून रहनुजस्ता कारणहरूले कर्जा जोखिमलाई बढाउन मलजल गरिरहेका हुन्छन् । कर्जा जोखिमलाई पूर्णरूपमा निर्मूल गर्न त सकिँदैन तर यसलाई व्यवस्थित गर्न भने निश्चय नै सकिन्छ । कर्जाजोखिम व्यवस्थापनले नयाँ कर्जा सृजना, पुराना कर्जाको विस्तार, कर्जा प्रशासन, कर्जा जोखिम अनुगमन र नियन्त्रण, आन्तरिक कर्जा जोखिम मूल्याङ्कन प्रणाली, स्ट्रेस टेष्टिङ र समस्याग्रस्त ऋणको व्यवस्थापन एवम् प्रभावकारी व्यवस्थापन सूचना प्रणालीलाई समेट्दछ । सामान्यत: कर्जा जोखिम व्यवस्थापन भन्नाले निष्क्रिय कर्जाको पर्याप्त व्यवस्थापन गर्नु मात्र हो कि भन्ने पनि भान पर्नसक्छ । तर, कर्जालाई निष्क्रिय हुन नदिनु सबैभन्दा राम्रो कर्जा जोखिम व्यवस्थापनको उपाय हो ।

जोखिम व्यवस्थापन गर्ने सम्पूर्ण एवम् अन्तिम जिम्मेवार निकाय सञ्चालक समिति हो । त्यसैले सञ्चालक समितिले कर्जा रणनीति स्वीकृत गर्ने र सो रणनीतिलाई समयसापेक्ष रूपमा पुनरवलोकन गर्नुपर्दछ । कर्जा नीति र रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण उच्च व्यवस्थापनले मिलाएको हुनुपर्दछ । कर्जा विभाग र ट्रेजरी विभागका प्रतितिधिहरू रहेको कर्जा जोखिम व्यवस्थापन समितिको व्यवस्था गर्नु उपयुक्त हुन्छ । सञ्चालक समितिले स्वीकृत गरेको कर्जा सीमाभित्र रहेर कर्जा प्रवाह गरिनुपर्दछ । कर्जा प्रस्ताव, कर्जा सम्झौता, साधन व्यवस्थापन, कर्जा पुनरवलोकन विधि, जोखिम अधिकेन्द्रीकरण, जोखिम अनुगमन, जोखिम मूल्याङ्कन, कर्जाको मूल्य निर्धारण, नोक्सानी व्यवस्था, नियम/कानून पालनाको स्थिति आदिको बारेमा उच्च व्यवस्थापनले बोर्डलाई नियमित रूपमा जानकारी गराउनुपर्दछ ।

नयाँ कर्जा प्रवाह गर्दा वा पुराना कर्जा विस्तार गर्दा ऋणीको साख मूल्याङ्कन गरिएको हुनुपर्छ । मुलुकको समष्टिगत आर्थिक परिसूचकको विश्लेषण, उद्योग/ कम्पनी विशेषको विश्लेषणका लागि पनि पर्याप्त ध्यान दिनुपर्छ । कर्जाको उद्देश्य, कर्जाको भुक्तानीका आधारहरू, ऋणीको भुक्तानी क्षमता, आयका अन्य स्रोतहरूको विश्लेषण, भुक्तानी रेकर्ड, कर्जा सम्झौताका शर्तहरू, ऋणीको भावी सम्भावित नगद प्रवाहको स्थायित्व, धितोको पर्याप्तता, तरलता र कानूनी ग्राह्यता आदिको विश्लेषण गरी अधिकारप्राप्त तहबाट स्वीकृत गराउनुपर्दछ । कर्जा जुन प्रयोजनका लागि दिइएको हो, सोही प्रयोजनमा सदुपयोग भएको छ भन्ने कुरा निश्चित गर्नुपर्दछ । एकआपसको सम्बन्ध भएका, एउटै समूहका ग्राहक, वित्तीय स्वार्थ भएका कम्पनी, सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, मुख्य शेयरहोर्ल्र्डस र सहायक कम्पनीहरूलाई कर्जा प्रवाह गरिँदा नियमनकारी निर्देशन र आचारसंहिताको अनिवार्य रूपले पालना गर्नु आवश्यक छ ।

कर्जा जोखिम व्यवस्थापनको अर्को महत्त्वपूर्ण पहल हो- प्रभावकारी कर्जा प्रशासन । कर्जा कारोबारलाई प्रभावकारी, विश्वसनीय, सुचारु र सक्रिय राख्नका लागि सक्षम कर्जा प्रशासनले 'ब्याक अफिस'को काम गर्दछ । एउटा प्रभावकारी कर्जा प्रशासन एकाईले कर्जासम्बन्धी कागजी प्रक्रियाहरू सम्पन्न गर्ने, कर्जाको रकम प्रवाह गर्ने, कर्जा अनुगमन गर्ने, कर्जाको पुन: भुक्तानी प्राप्त गर्ने, कर्जा फाइल अद्यावधिक गर्ने, धितो र अन्य सुरक्षणको कागजात तयार गर्ने, सुरक्षित राख्नेजस्ता कार्यहरू गर्नुपर्दछ । एकपटक कर्जा प्रवाह गरिसकेपछि सो कर्जा चुक्ता नहुन्जेल कर्जा कारोबारलाई अद्यावधिक गर्ने कार्य कर्जा प्रशासनले गर्नुपर्दछ । सुरक्षणसम्बन्धी कागजातहरूलाई अग्निप्रतिरोधक सेफमा राख्ने, ती कागजात यताउता लैजाँदा रजिष्टर कायम गर्ने, बीमासम्बन्धी कागजातहरू अद्यावधिक गर्ने र ती कागजातको नियमित रूपमा अनुगमन गर्नुपर्दछ ।

 कर्जाको गुणस्तर दैनिक रूपमा अनुगमन गर्ने र गुणस्तर खस्किएमा, उपयुक्त उपचारात्मक उपायहरू अपनाउने, कर्जा जोखिम कम गर्ने अर्को उपाय हो । यसका लागि उपयुक्त प्रणालीको विकास गरिनुपर्दछ । यसले संस्था र ऋणीको सम्झौताअनुसार ऋणको सावाँ र ब्याज तिरिएको छ वा छैन ? कर्जाका लागि नोक्सानी व्यवस्था पर्याप्त गरिएको छ वा छैन ? समग्र कर्जा जोखिम व्यवस्थापनले तय गरेको सीमा र नियमनकारी निकायको निर्देशनभित्र छ वा छैन भन्ने कुराको यकिन गर्न सकोस् । त्यस्तै, कर्जा जोखिम अनुगमन र नियन्त्रण कर्जा जोखिम व्यवस्थापनको अर्को पक्ष हो । यसअन्तर्गत कर्जा अनुगमन गर्ने जिम्मेवार व्यक्तिको भूमिका र दायित्व निर्धारण, कर्जा मूल्याङ्कन, कर्जा सदुपयोगिता निरीक्षणको प्रवृत्ति, धितोको नियमित निरीक्षण, परियोजना भ्रमणको प्रवृत्ति, कर्जा गुणस्तर खस्किएको छ वा छैन भन्ने पहिचान, ऋणीको वर्तमान वित्तीय अवस्था, कर्जा 'कम्प्लायन्स' आदि कुराहरूको निरन्तर निरीक्षण, अनुगमन गरी सुधारात्मक उपायहरू अवलम्बन गर्ने गरिन्छ । समस्याग्रस्त कर्जाहरूको असुलीमा तदारुकता ल्याउन प्रयास गरिन्छ ।  प्रभावकारी कर्जा जोखिम अनुगमन र नियन्त्रणले बैङ्क कर्जालाई सदैव सक्रिय राख्दै निष्क्रिय कर्जा अनुपात घटाउने, तरलता समस्या समाधान गर्ने, लाभदायकता अभिवृद्धि गर्ने, बैङ्किङ विश्वसनीयता हासिल गरी निक्षेप आकर्षित गर्न सहयोग गर्ने, बैङ्कको वासलात वास्तविक रूपमा सुन्दर देखाउनमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।

नेपाली बैङ्क-वित्तीय संस्थाहरूमा उपरोक्त तत्त्वहरूमा सैद्धान्तिक रूपमा ध्यान दिइने भनिएको हुन्छ । तर, केहीलाई छोडेर धेरैजसोमा व्यावहारिक रूपमा कार्यान्वयन प्रभावकारी रूपमा भएको पाइँदैन । कतिपय कुरा नियामक /सुपरिवेक्षकको कडा निर्देशनपश्चात् मात्र पालना गरेको पनि देखिन्छ । नयाँ कर्जा प्रवाह गर्दा नै परियोजना विश्लेषण, धितो मूल्याङ्कन र कर्जाको उद्देश्य पहिचानमा त्रुटि देखिन्छ । कर्जा सदुपयोगिता निरीक्षण, अनुगमन, धितोको बजारमूल्यअनुसार समायोजन, स्टक, रिसिभेबल्सको समयावधिअनुसारको प्रतिवेदन, ऋणीको अद्यावधिक वित्तीय विवरण लिनेजस्ता व्यवस्थाहरू प्रभावकारी देखिँदैनन् । कर्जा सदुपयोगिता अनुगमनको त कुरै छोडौं, कतिपय बैङ्क वित्तीय संस्थाले ऋणी वा उसको संस्थाको सहीछाप भएको खाली लेटरप्याड नै आफूसँग राखी आवश्यकताअनुसार स्टक निरीक्षण गरेको विवरण पेश गर्ने गरेको पनि देखिन्छ । ऋणीले एउटा प्रयोजनका लागि लिएको ऋण अर्कै प्रयोजनमा लगाइएको पनि पाइन्छ । 'कन्सोर्टियम' कर्जामा सहभागी बैङ्कहरूले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गरेको देखिँदैन । कर्जा प्रशासन पनि सशक्त र प्रभावकारी भएको मान्न सकिने अवस्था छैन । कर्जा फाइलहरू व्यवस्थित नहुने, निरन्तरको कर्मचारी सरुवाले गर्दा कर्जा फाइलको बारेमा पर्याप्त जानकारी नै नहुने अवस्था पनि देखिन्छ । कर्जाको गुणस्तर अनुगमन, नियन्त्रण र सुधारात्मक उपायहरूको अवलम्बनतर्फपनि सशक्तता देखिँदैन ।  ऋणी जस्तोसुकै भए पनि यथासम्भव उसको बचाउ गर्ने परम्परा नै बनेको छ । पार नलाग्ने भएपछि मात्र खराब वर्गमा वर्गीकरण गर्ने, कर्जा नोक्सानी व्यवस्था, कालो सूची र असुलीतर्फलाग्ने गरेको देखिन्छ । कर्जा प्रवाह गर्दाको अवस्थादेखि नै सावधानी अपनाउने हो भने यो जोखिम सहजै व्यवस्थापन गर्न सकिन्छ ।

कर्जा जोखिम व्यवस्थापनका उपरोक्त उपायहरू झट्ट हेर्दा अति सामान्य लागे तापनि यिनमा नै कर्जा सफलताको रहस्य लुकेको छ । संस्थागत सुशासनलाई आधार बनाएर उपरोक्त तत्त्वहरूमा सावधानीपूर्वक अघि बढ्दै कर्जा व्यवस्थापन गर्ने हो भने कर्जामा निहित जोखिम निश्चय नै कम भएर जान्छ । यसले बैङ्कहरूको निष्क्रिय कर्जा अनुपातलाई वास्तवमै कम बनाउनमा मद्दत पुर्याउँछ । अर्कातिर कर्जा नोक्सानी व्यवस्थामा धेरै रकम छुट्टयाउनु पनि पर्दैन । यसले तरलता स्थिति पनि बलियो हुन्छ भने मुनाफा र पूँजीमा पनि सकारात्मक प्रभाव पर्दछ । सबै वित्तीय परिसूचक राम्रो देखिएपछि निक्षेप स्वत: आकर्षित हुन्छ ।
लेखक नेपाल राष्ट्र बैङ्ककी निर्देशक हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।

12Next »Last »