नेपाली पश्मिनाका सम्भावना र प्रयासहरू
-मण्डुबाबु अधिकारी
पश्मिना नेपालको एक मौलिक उत्पादन हो । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली र शेर्पाहरूले शुरूशुरूमा स्वप्रयोजनका लागि र पछिल्ला समयमा क्रमशः वस्तु विनिमय एवम् व्यावसायिक प्रयोजनका लागि यसको उत्पादन गर्दै आएको पाइन्छ । पश्मिना च्याङ्ग्राको भित्री भुवाबाट बनाइन्छ । नेपालको सन्दर्भमा भुवाको औसत डायमिटर १४ माइक्रोन हुने भएकाले विश्वबजारमा तुलनात्मक रूपमा नेपालको पश्मिना वजनहीन, नरम एवम् मुलायम र न्यानोपनका लागि प्रसिद्ध छ ।
विदेशी पर्यटकको आगमनसँगै नेपाली पश्मिनाका लागि वैदेशिक व्यापारको ढोका खुलेको भए पनि विसं २०४८ सालपछि नै यसले व्यापक चर्चा पाउन थालेको हो । नेपालको वैदेशिक व्यापारको इतिहास हेर्दा पश्मिनाले २०२६ सालदेखि नै क्रमशः व्यावसायिक रूप लिन थालेको देखिन्छ । अन्तरराष्ट्रिय बजारमा यसको प्रवर्द्धनमा बेलायती महारानी एलिजावेथ र 'न्यूजविक' पत्रिकाको विशेष देन छ । महारानी एलिजावेथबाट एक औपचारिक समारोहमा पश्मिनाको सल ओढी सहभागी हुनु र त्यसलाई विश्वविख्यात पत्रिका 'न्यूजविक'ले प्रमुखताका साथ समाचार प्रकाशित गरिदिनु नेपाली पश्मिनाको बजार प्रवर्द्घन गर्ने एक प्रमुख माध्यम बन्यो ।
यसैगरी विश्वप्रसिद्ध फेशन पत्रिका 'भोग'मा पश्मिना लगाएर मोडलिङ गरिएका फोटोहरू छापिएपछि विश्वबजारमा नेपाली पश्मिनाले उच्च सम्मान प्राप्त गर्न सफल भयो । यसरी चर्चाको शिखरमा पुगेको नेपाली पश्मिना अहिले विश्वका ८० भन्दा बढी राष्ट्रमा निकासी हुन्छ । नेपाली पश्मिना विश्वबजारमा डायमण्ड फाइबर, सफ्ट गड, किङ अफ फाइबर, लक्जरियस प्रडक्टका रूपमा चिनिने गरिन्छ । यस उत्पादनले विश्वका प्रमुख राष्ट्रहरूमा नेपाली सीप, शैली एवम् प्रविधिको पहिचान दिन सफल भएको छ ।
कच्चा पदार्थ
पश्मिनाको कच्चा पदार्थ करीब ९० प्रतिशत भन्दा बढी चीनबाट आयात हुँदै आएको छ । नेपालमा प्रोसेसिङ प्लाण्टको अभावका कारण हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राको भुवालाई सङ्कलन गरी धागो बनाउन सकिएको छैन । हातैबाट धागो निकाली पश्मिना बनाउने प्रक्रिया सीमित मात्रामा हुँदै आए पनि उत्पादन लागत, समय आदिका कारण यसले व्यापकता पाउन सकिरहेको छैन ।
बजार
मूलतः पश्मिनाको बजारक्षेत्र भनेको विदेशी राष्ट्रहरू नै हुन् । जाडो क्षेत्रमा बसोबास गर्ने, सुदृढ आर्थिक अवस्था तथा उच्च आयस्रोत भएका समुदाय नै पश्मिनाको वास्तविक बजारक्षेत्रहरू हुन् । क्षेत्रगत दृष्टिले नेपाली पश्मिनाको प्रमुख बजारका रूपमा इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, डेनमार्क, बेल्जियम, नर्वे, स्विट्जरल्याण्ड, नेदरल्याण्ड, स्विडेनका अतिरिक्त अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, रूस, अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि राष्ट्र रहेका छन् ।
विसं २०५६-५८ मा नेपालबाट करीब रू. १० अर्बको हाराहारीमा पश्मिना निकासी भएको थियो । अहिले यो करीब रू. २ अर्बमा सीमित भएको छ । पश्मिनाको निकासी स्थिति केही वर्षयता क्रमशः सुधारात्मक देखिए पनि तुलनात्मक रूपमा यसलाई सन्तोषजनक मान्न सकिन्न । बजार पूर्णतः प्रतिस्पर्धात्मक छ । चीन, भारत, इटाली आदिका उत्पादनसँग नेपाली उत्पादनले कडा प्रतिस्पर्धा गर्नुपरेको छ । चिनियाँ उत्पादनले विश्वबजारको ६० प्रतिशतभन्दा बढी अंश ओगटेको छ । यसबाट पनि प्रस्टै हुन्छ, नेपाली पश्मिनाको वैदेशिक बजार त्यति बृहत् छैन । तापनि नेपाली पश्मिनाले स्थापना गरेको छवि र विश्व समुदायको सद्भाव र सहानुभूतिलाई दृष्टिगत गर्दा यसको बजार सम्भावना अझै राम्रो छ । अहिले काठमाडौं उपत्यकामा मात्र करीब १ हजारको हाराहारीमा पश्मिना उद्योग सञ्चालनमा छन् ।
उत्पादन र गुणस्तर
शुरूमा हातैले चर्खाबाट धागो काती पश्मिनाका विभिन्न उत्पादन बनाउने गरिन्थ्यो । यसरी तयारी हुने उत्पादन बाक्ला, भद्दा हुनुका साथै डिजाइनयुक्त र विभिन्न रङ तथा आकारमा हुने गर्दैनथे । तर, पछिल्ला समयमा खासगरी चीनमा कम्प्युटराइज्ड यन्त्रहरूको माध्यमबाट एकैनासका कम माइक्रोनका धागोहरू उत्पादन हुन थालेपछि यसको उत्पादनमा पर्याप्त मात्रामा विविधीकरण हुन थाल्यो । शुरूमा खास्टो मात्र उत्पादन हुने गरेकोमा अहिले सल, स्टोल, मफलर, स्वेटर, ब्ल्याङ्केटलगायतका वस्तुहरू उत्पादन हुने गरेका छन् ।
शुरूका वर्षहरूभन्दा अहिले पश्मिनाका वस्तुहरूको गुणस्तरमा पर्याप्त सुधार आएको छ । गुणस्तरीय उत्पादनको नाममा पश्मिनाको वास्तविक पहिचानलाई नै चुनौती दिने गरी विभिन्न वस्तुहरूको मिसावटयुक्त वस्तुहरू उत्पादन गरी पश्मिनाको नाममा विक्रीवितरण हुने गरेकाले अहिले पश्मिनाको बजारलाई नराम्ररी असर पुर्याएको छ ।
उत्पादनका लागि नेपालमा सीपयुक्त श्रमशक्तिको अभाव छ । सीपयुक्त कामदारहरू अझै पनि छिमेकी देशहरूबाट उच्च पारिश्रमिक दिएर ल्याउनुपर्ने बाध्यता छ । अर्धदक्ष एवम् अदक्ष कामदार गरी अहिलेको अवस्थामा पनि करीब २५ हजारले यस क्षेत्रमा रोजगारी पाएका छन् ।
सङ्घका प्रयासहरू
नेपाल पश्मिना उद्योग सङ्घ यस क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता विकास एवम् यसको वैदेशिक बजार विस्तारका लागि सामूहिक व्यापार चि≈नको कार्यान्वयन गर्न जुटिरहेको छ । साथै सङ्घले पश्मिनाका मुख्य बजारहरू युरोपेली सङ्घअन्तर्गतका राष्ट्रहरू, अमेरिका, क्यानडा,जापान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, अस्ट्रेलिया, न्युजिल्याण्ड आदि राष्ट्रमा सामूहिक व्यापार चिह्न दर्ता गरिसकेको छ र बाँकी केही प्रमुख राष्ट्रहरू रूस, ब्राजिल, यूएई, दक्षिण अफ्रिका, ताइवान, चीन, भारत आदि राष्ट्रहरूमा दर्ता प्रक्रिया चलिरहेको छ । यसबाट पश्मिनाका उत्पादनहरूमा निर्धारित गुणस्तर कायम हुने विश्वास लिइएको छ । र, नेपाली पश्मिनालाई विश्वबजारमा 'च्याङ्ग्रा पश्मिना'को नाममा ब्राण्डिङ गर्ने कार्य अगाडि बढिरहेको छ ।
यसैगरी गुणस्तरीय धागो स्वदेशमै आवश्यक मात्रामा उपलब्ध नहुँदासम्मको अवस्थामा सङ्घले गुणस्तरीय धागो आयात गर्न एक संयन्त्रको विकास गरिसकेको छ । विभिन्न सङ्घसंस्थाहरूसँगको सहकार्यमा नेपालको हिमाली क्षेत्रमा व्यावसायिक रूपमा च्याङ्ग्रापालनका लागि सम्बन्धित क्षेत्रका किसानलाई प्रोत्साहित गर्ने र उत्पादित कच्चा पदार्थको प्रशोधनका लागि सहकारी संस्थाको अवधारणामा एक प्लाण्ट स्थापना गर्ने कार्य अघि बढेको छ । यसबाट कच्चा पदार्थमा परनिर्भरता क्रमशः कम हुँदै जाने विश्वास छ ।
उद्यमी, व्यवसायी एवम् श्रमशक्तिको व्यावसायिक क्षमता विकास एवम् दक्ष कामदार उत्पादनका लागि सङ्घले विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गर्ने कार्यक्रम अघि बढाएको छ । यसका लागि अन्तरराष्ट्रियस्तरका सङ्घसंस्थाहरूबाट सकारात्मक जवाफहरू प्राप्त भइसकेका छन् । वैदेशिक बजारको मागअनुसार पश्मिनाका उत्पादनहरूमा विविधीकरण एवम् वस्तु विकासका लागि पनि सङ्घले आफ्नो ध्यान केन्द्रित गरेको छ ।
लेखक नेपाल पश्मिना उद्योग सङ्घका प्रमुख कार्यकारी हुन् ।
पश्मिना उद्योगका चुनौतीहरूः
> आवश्यक कच्चापदार्थ -धागो अनियन्त्रित ढङ्गबाट न्यून गुणस्तरको आयात हुनु । यसरी आयातित वस्तुहरूको गुणस्तर परीक्षण गर्नुपर्ने बाध्यात्मक व्यवस्था नहुनु ।
> विभिन्न धागो जस्तै- भिस्कोष, पोलीयार्न आदिको अत्यधिक मिसावटबाट निर्मित उत्पादनहरू पश्मिनाको नाममा निर्विवाद निकासी हुँदै आउनु र पश्मिनाकै नाममा वैदेशिक बजारमा विक्रीवितरण हुनु ।
> पश्मिनालाई आधिकारिक रूपमा परिभाषित नगरिनु । नेपाल सरकारबाट कच्चा पदार्थको शुद्धता ९७ दशमलव ५ प्रतिशत र फाइबर डायमिटरको हिसाबले १७ दशमलव ५ माइक्रोन निर्धारण गरिए पनि सोअनुसार नियन्त्रण गर्ने निकाय नहुनु र भएको निकायले पनि प्रभावकारी रूपबाट त्यसको पालना नगर्नु ।
> पश्मिना धागोसँगै मिसाइने प्राकृतिक धागो सिल्कको निश्चित मापदण्ड नतोकिनु ।
> बजारको मागअनुसार पश्मिनाबाट विविध वस्तुको उत्पादन हुन नसक्नु र वैदेशिक बजारको मागबारे जानकारी दिने संयन्त्र, सोसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने निकाय नहुनु अर्थात् वैदेशिक बजारमा पहुँच नहुनु ।
> उद्यमी, व्यवसायी एवम् श्रमशक्तिमा व्यावसायिक क्षमताको कमी हुनु र क्षमता विकासका लागि सहयोगी सङ्घसंस्थाको अभाव हुनु ।
> विभिन्न देशका अन्तरराष्ट्रियस्तरका ठूलाठूला उद्योग व्यवसायसँग नेपाली पश्मिना व्यवसायले कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक स्थिति हुनु ।
> नेपाली पश्मिनाका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार नहुनु ।
> पश्मिनाको बजार क्षेत्रको विकास तथा प्रवर्द्घन एवम् नयाँ बजार क्षेत्रहरूको पहिचानका लागि प्रभावकारी कार्यक्रम नहुनु र त्यसका लागि स्थापित सङ्घसंस्थाहरूमा पनि पर्याप्त प्रयास नहुनु ।
> पश्मिनाको परनिर्भरता हटाउने विविध उपाय च्याङ्ग्रापालन, प्रोसेसिङ प्लाण्टको स्थापनाजस्ता पक्षहरूको सम्भावना पर्याप्त मात्रामा भएर पनि सोका लागि आवश्यक पहलकदमी सरकारबाट नहुनु ।