समुदायमा आधारित फ्रेञ्चाइज बैङ्किङ
भानु कँडेल, एफसीए
'बैङ्क एउटा त्यस्तो संस्था हो, जसबाट तपाईंले कर्जा तब पाउनुहुन्छ ? जतिबेला तपाईंलाई त्यो चाहिँदैन भन्ने प्रमाणित गर्न सक्नुहुन्छ' भन्ने बब होपको भनाइ हाम्रो वर्तमान सन्दर्भमा ठयाक्कै मिल्छ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई श्रेणीका हिसाबले चार भाग (क, ख, ग र घ) मा वर्गीकरण गरिएको छ । तर, कामको प्रकृति हेर्दा तिनीहरूबीच त्यति भिन्नता महसूस गर्न सकिन्न । वास्तविक रूपमा जसलाई कर्जा चाहिएको छ, त्यस वर्गमा बैङ्कहरू पुग्न सकेका छैनन् । या पुगेर पनि कर्जा दिन चाहँदैनन् । अहिले बैङ्कहरूले सीमित व्यापारिक घराना र केही व्यवसायीलाई मात्र कर्जा प्रवाह गरिरहेको अवस्था छ । यो अवस्थाले बब होपको भनाइ पुष्टि गर्दछ । द्वन्द्वको अवस्थामा बैङ्कका शाखा बन्द गर्ने र दुर्गममा शाखा खोले पनि कर्जा प्रवाह नगरी निक्षेप सङ्कलन मात्र गर्ने अभ्यास छ । यसरी मार्क ट्वेनले भनेजस्तै बैङ्कहरू सुखद् मौसमका मात्र साथी बनेका छन् ।
देशको दुई तिहाइभन्दा बढी जनसङ्ख्या बैङ्किङ नेटवर्कभन्दा बाहिर छ । यस्तो हुँदाहुँदै पनि नयाँ बैङ्क तथा वित्तीय संस्था खोल्न करीबकरीब बन्द गरिएको अवस्था छ । शाखा विस्तार पनि पहिलाजस्तो सहज छैन । बैङ्क, वित्तीय संस्था धेरै भएर यस्तो भएको भन्ने तर्क गरिन्छ । तर, बैङ्क तथा वित्तीय संस्था धेरै भएको होइन, शहरकेन्द्रित भएका हुन् । शान्ति सुरक्षा एवम् विकासका पूर्वाधारको अभावका कारण पनि बैङ्क वित्तीय संस्थाहरू सदरमुकाम वा शहरी क्षेत्रमा केन्द्रित हुनुपर्ने अवस्था आएको हो । गाउँगाउँमा शाखा खोल्दा त्यहाँका कर्मचारी एवम् सञ्चालन खर्च धान्न गाह्रो हुने अवस्था छ । त्यसरी दुर्गम क्षेत्रमा शाखा खोल्ने धेरैजसो बैङ्कले त्यहाँबाट केवल निक्षेप सङ्कलनमा मात्र बढी ध्यान दिइएको पाइन्छ । उनीहरूका यस्ता कार्यले बैङ्कहरूप्रति त्यस क्षेत्रका बासिन्दाहरूको व्यापक असन्तुष्टि छ । यसो हुँदा त्यस क्षेत्रमा अपेक्षित आर्थिक विकास पनि भइरहेको छैन ।
गाउँगाउँमा स्थलगत अध्ययन गर्दा स्थानीय जनतामा शहर वा राजधानीबाट आएका बैङ्कहरूप्रतिको अपनत्व भाव नहुने गरेको पाइयो । बैङ्कहरूमा स्थानीय जनताको स्वामित्व भयो भने त्यसले अपनत्वको भाव जगाउँछ । गाउँमा नयाँ शाखा खोल्दा त्यहाँका जनताले त्यस बैङ्कमा शेयर हाल्न खोजिरहेका हुन्छन् । नेपालको वतर्मान कानूनी संरचनाअन्तर्गत त्यसो गर्नका लागि निश्चित समय हुन्छ, जुन सीमित हुन्छ । हरेक ठाउँमा शाखा खोल्दा त्यहाँका स्थानीय जनतालाई त्यस बैङ्कको शेयरहोल्डर बनाउन वर्तमान कानूनी व्यवस्थाअन्तर्गत सम्भव छैन । तर, त्यसरी स्थानीय जनतालाई बैङ्कको शेयरहोल्डर बनाउनु आवश्यक छ ।
फ्रेञ्चाइज बैङ्किङ
सामुदायिक बैङ्क भनेको स्थानीय व्यक्तिहरूको स्वामित्वमा स्थानीय व्यक्तिहरू नै कर्मचारी हुने गरी सञ्चालित बैङ्क हो । यस किसिमको बैङ्कले प्राविधिक सहयोग (फ्रेञ्चाइज) भने ठूलो बैङ्कबाट लिएको हुन्छ । यस किसिमको बैङ्कमा लगानीसम्बन्धी निर्णयस्थानीय व्यक्तिले नै गर्छन् । स्थानीयलाई त्यहाँको लगानीसम्बन्धी आवश्यकताको यथार्थ जानकारी हुन्छ । साथै, ग्राहक पहिचान पनि राम्ररी हुन्छ । यसो हुँदा जोखिम न्यूनीकरण हुन जान्छ । अमेरिका, यूरोप तथा अष्ट्रेलियामा फ्रेञ्चाइज बैङ्किङ प्रचलनमा रहेको छ । अष्ट्रेलियामा 'बेण्डिगो बैङ्क' यस किसिमको सेवा शुरू गर्ने अग्रणी बैङ्क हो ।
बैङ्कमा स्थानीय समुदायको अपनत्व विकास गर्न दिइनुपर्ने शेयरको स्वामित्व सम्बन्धमा कुनै काम हुन सकेको छैन । स्थानीय बजारको उचित ज्ञानको अभावमा लगानी गर्न कठिन भइरहेको छ । उच्च सञ्चालन खर्चका कारण गाउँगाउँमा शाखा खोल्ने काम असजिलो भइरहेको छ । यस्तो अवस्थामा समुदायमा अधारित फ्रेञ्चाइज बैङ्किङ अत्यन्तै सान्दर्भिक हुन जान्छ ।
फ्रेञ्चाइजमा आधारित सामुदायिक बैङ्कको सबल पक्ष भनेको स्थानीय जनतासँगको बलियो सम्बन्ध हो । सामुदायिक बैङ्किङ प्रणाली दुर्गम क्षेत्र र गाउँगाउँमा शाखा पुर्याउने अचूक माध्यम हुन सक्छ । यस किसिमको बैङ्क स्थापनाका लागि स्थानीय व्यक्तिहरू मिलेर एउटा समूह बनाउँछन् । त्यस समूहले व्यावसायिक योजनासहित शाखा स्थापनाका लागि कुनै बैङ्कमा सम्पर्क गर्छ, जसलाई प्यारेण्ट बैङ्क भनिन्छ । सम्भाव्यता एवम् अन्य शर्तहरूको अध्ययनपछि प्यारेण्ट बैङ्कले एउटा शाखा स्थापनाका लागि आवश्यक सम्पूर्ण कुराहरू उपलब्ध गराउँछ । उदाहरणका लागि बैङ्कको नाम, लाइसेन्स, प्रविधि, तालीमलगायत प्यारेण्ट बैङ्कले उपलब्ध गराउँछ । यस्तो बैङ्कमा कर्मचारीहरू पनि स्थानीय नै राखिन्छ, जसले स्थानीय बजारलाई राम्ररी बुझेका हुन्छन् । पूँजी, सञ्चालन समिति, कर्मचारी आदि सबै स्थानीय हुन्छन् । तर, प्रविधि, कार्यशैली एवम् सेवा ठूलो बैङ्कले दिने खालको हुने हुँदा कम जोखिम र न्यून खर्चमा गाउँगाउँमा शाखा विस्तार गर्न सकिन्छ । यसो हुँदा द्वन्द्वको अवस्थामा पनि बैङ्कका शाखाहरू विस्थापित नभई काम गर्न सक्ने अवस्थामा रहन्छ । यस्तो बैङ्क स्थानीय व्यक्तिहरूद्वारा सञ्चालन हुने हुँदा त्यस क्षेत्रको विकासमा यसले योगदान पुर्याउन सक्छ । लगानी पनि कम जोखिमपूर्ण हुन्छ । अहिलेको जस्तो एक ठाउँको निक्षेप अर्को ठाउँमा लगानी हुने समस्या हुँदैन । त्यस क्षेत्रको निक्षेप त्यसै क्षेत्रमा नै लगानी गरिने हुँदा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग भई सो क्षेत्रको विकास हुन जान्छ ।
फाइदा
सामुदायिक बैङ्क स्थानीय समुदायमा आधारित हुने हुँदा त्यहाँका आवश्यकता र व्यक्तिहरूका बारेमा बढी जानकारी हुन्छ । सवसाधारणको बैङ्कमाथि अपनत्वको भाव हुन्छ । सवसाधरण व्यक्तिहरूको बैङ्कमा पहुँच सहज हुन जान्छ । लगानीसम्बन्धी निर्णर्य स्थानीय रूपमा हुने हुँदा त्यसमा शीघ्रता आउँछ । ऋणीको पहिचान राम्ररी हुने हुँदा कर्जा जोखिम कम हुन जान्छ । प्रविधि भने उच्चस्तरीय हुने हुँदा सञ्चालन जोखिम पनि कम हुन जान्छ ।
सामुदायिक बैङ्कले स्थानीय व्यक्ति तथा व्यवसायको वित्तीय आवश्यकतालाई केन्द्रबिन्दुमा राख्छ । स्थानीय निक्षेपलाई सोही क्षेत्रको व्यवसाय विस्तारमा लगानी गरिने हुँदा स्थानीय समुदायको विकास छिटो हुन्छ । ठूला बैङ्कका उच्चपदस्थ कर्मचारीहरू राजधानी वा सदरमुकाममा बस्ने हुँदा स्थानीय आवश्यकताको ज्ञानबाट टाढा हुन सक्छन् । तर, सामुदायिक बैङ्कमा कर्मचारीहरू सबै स्थानीय हुने हुँदा उनीहरूलाई स्थानीय आवश्यकताको बढी ज्ञान हुन्छ । कर्जा प्रस्तावको विश्लेषण गर्दा प्रस्तावित ऋणीको व्यक्तिगत चरित्र, पारिवारिक पृष्ठभूमिसमेत विचार गरिने हुँदा लगानी बढी सुरक्षित हुन जान्छ । सामुदायिक बैङ्क आफैमा सानो व्यवसाय भएकाले यिनीहरूलाई साना व्यवसायीको आवश्यकता बढी बोध हुन्छ । अर्कोतिर ठूला बैङ्कहरूले ठूला व्यवसायलाई मात्र बढी ध्यान दिन्छन् ।
बेफाइदा
सामुदायिक बैङ्क सानो स्तरमा सञ्चालन हुने हुँदा लगानीको आकार पनि सानै हुन्छ । त्यसो हुँदा ठूला रकमको परियोजनामा लगानी गर्न रकम अभाव हुन जान्छ । प्यारेण्ट बैङ्कबाट फ्रेञ्चाइज लिइए पनि ठूलो बैङ्कले प्रदान गर्नेजस्तो सेवामा विविधता भने नहुन सक्छ ।
उपसंहार
फ्रेञ्चाइजमा आधारित सामुदायिक बैङ्क देशको कुनाकुनासम्म बैङ्किङ सुविधा पुर्याउने उत्तम माध्यम हुन सक्छ । त्यसो त स्थानीय रूपमा निक्षेप तथा कर्जा सहकारी संस्थाहरू खोलिए पनि तिनीहरू बैङ्कको विकल्प हुन सक्दैनन् । बैङ्क, वित्तीय संस्थाहरू पनि नाफामूलक व्यवसाय भएकाले देशको शान्ति सुरक्षाको अवस्था र विकासका पूर्वाधारको अभावमा गाउँगाउँसम्म पुग्न सक्ने देखिँदैन । त्यसका लागि समुदायमा आधारित फ्रेञ्चाइज बैङ्किङ विकट क्षेत्रको वित्तीय आवश्यकतालाई पूरा गर्ने आशलाग्दो माध्यम हुन सक्छ । लघुवित्त विकास बैङ्कहरू केही दुर्गम क्षेत्रमा सञ्चालित छन् । तर, उच्चस्तरीय प्रविधि र सेवाको विविधतामा कमी छ । फ्रेञ्चाइजमा आधारित सामुदायिक बैङ्किङको अवधारणालाई लागू गर्न नेपालको वर्तमान कानूनी संरचनामा धेरै परिवर्तनको आवश्यकता पर्दछ । यस विषयमा नेपाल राष्ट्र बैङ्कलगायत सम्पूर्ण सरोकारवालाहरूले विचार पुर्याउने हो कि ?
लेखक राइजिङ डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत हुन् ।
Admin 2011-03-20