सीईओ र सञ्चालक समिति
नीलम तिम्सिना
निक्षेपकर्ताको निक्षेप सङ्कलन गरी त्यसको संरक्षण गर्ने कार्यमा संलग्न बैङ्क/वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समिति (बोर्ड)को भूमिका अत्यन्त चुनौतीपूर्ण हुन्छ । संस्थापकहरूको सीमित पूँजीबाट स्थापना भई निक्षेपकर्ताको अर्बौंको निक्षेप सङ्कलन गर्ने बैङ्किङ व्यवसाय मुनाफा कमाउने उद्देश्यले सञ्चालित हुने भएकाले यसमा जोखिम उच्च हुन्छ । निक्षेप परिचालनदेखि कर्जा प्रवाह र अन्य बैङ्किङ कारोबारमा निहित प्रत्येक जोखिमलाई विश्लेषण र व्यवस्थापन गर्दै, संस्थाको पूँजी पर्याप्तता, सम्पत्तिको असल गुणस्तर, सुदृढ व्यवस्थापन, उच्च र दिगो मुनाफा, पर्याप्त तरलता कायम गर्नमा बैङ्क/वित्तीय संस्थामा यी दुवै पक्षको समन्वयात्मक भूमिका रहनुपर्दछ । तथापि केही यस्ता कार्यहरू छन्, जसलाई यी दुइ पक्षहरूका बीचमा स्पष्ट विभाजन गरेरै मात्र संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ ।
प्रमुख कार्यकारी अधिकृतको भूमिका
पहिलो, सीईओको भूमिका संस्थाको मानव संसाधन व्यवस्थापन गर्नमा रहन्छ । एउटा प्रभावकारी सीईओले संस्थामा प्रतिभावान्, लगनशील, कर्मचारीलाई कसरी आकर्षित गर्ने तिनीहरूलाई संस्थामा कसरी टिकाइराख्ने र कसरी उनीहरूको मनोबल उच्च राखी कर्मचारीहरूबाट अधिकतम उत्पादकत्व लिने भन्ने विषयलाई राम्रोसँग बुझेको हुनुपर्दछ । यसका साथै बोर्डबाट स्वीकृत कर्मचारी विनियमावली, नीति र प्रक्रियाहरू एवम् विद्यमान प्रचलित ऐन, नियमअनुसार कर्मचारी व्यवस्थापन गर्नमा निपुण हुनुपर्दछ ।
दोस्रो, संस्थाको लक्ष्य, उद्देश्य, रणनीति, उत्तरदायित्व, समयसीमाको पहिचान तथा ती उद्देश्यहरू हासिल गर्नका लागि आवश्यक स्रोत र साधनको पहिचान प्रभावकारी रूपमा गर्नु सीईओको अर्को मुख्य भूमिकामा पर्दछ । संस्थाको उत्पादन (कर्जा प्रडक्ट), त्यसको गुणस्तर, बजारीकरण, व्यवसाय प्रवर्द्धन, कर्जाको गुणस्तर प्रवर्द्धन, अन्य बैङ्किङ सेवाहरूको विस्तार, निक्षेप सङ्कलन आदि सम्बन्धमा दूरदर्शी र विवेकशील ढङ्गले योजना तर्जुमा गर्नमा पनि सीईओकै भूमिका हुन्छ । यसरी संस्थाका विभिन्न पक्षहरूको योजना बनाई त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेपछि त्यसबाट प्राप्त परिणाम योजनाअनुरूप छन् कि छैनन् भनी मूल्याङ्कन गर्नु र यदि छैनन् भने प्रणाली, प्रक्रिया र संरचनामा सुधार गर्नु पनि उसको दायित्व हो ।
तेस्रो, वार्षिक बजेट तयार गरी बोर्डमा स्वीकृतिका लागि पेश गर्नु र सोही बजेटको सीमाभित्र रहेर संस्थाको साधन व्यवस्थापन गर्नु पनि सीईओको कार्य हो । यसक्रममा उत्पन्न हुने जोखिमहरूको नियमित रूपमा विश्लेषण, व्यवस्थापन र ती जोखिम न्यूनीकरणका लागि आवश्यक उपायहरूको अवलम्बन पनि उसले गर्नुपर्दछ ।
चौथो, संस्था प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक साधनको पहिचान, साधन सङ्कलनका स्रोतहरूको पहिचान, सम्भावित लगानीकर्ताहरूको पहिचान, स्रोतवालाहरूसँग सम्पर्क स्थापना गर्ने रणनीतिको अवलम्बन, प्रस्तावको तयारी, आवश्यक कागजी प्रक्रिया र स्रोत व्यवस्थापन अभिलेखजस्ता व्यवस्था सीईओले गर्नुपर्दछ ।
पाँचौं, बैङ्कको बोर्ड र कर्मचारीबीच सेतु निर्माण गर्नु प्रमुख कार्यकारी अधिकृतको अर्को मुख्य भूमिका हो । कर्मचारीहरूलाई व्यवस्थित गर्ने काम बोर्डको होइन, सीईओको हो । तर्सथ, बोर्डले कहिल्यै पनि कर्मचारीहरूलाई सीधै आदेश दिएर सीईओको अधिकारलाई न्यून आँकलन गर्नु हुँदैन ।
छैटौं, सीईओले निरन्तर रूपमा संस्था, यसको लक्ष्य, कार्यक्रम, यसका उत्पादन र बैङ्किङ सेवाहरूको बारेमा र्सवसाधारण र अन्य सम्बन्धित सरोकारवालाहरूसामु सबल र सकारात्मक रूपमा प्रस्तुत गर्नुपर्दछ ।
सातौं, संस्थाको लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न असल आचरणका न्यूनतम मापदण्डहरू निर्धारण गर्नु, पालना गर्नु, सुपरिवेक्षक संस्थाका निर्देशनहरू र प्रचलित ऐन नियमको पालना गर्नु, संस्थाको विकासमा प्रतिबद्ध हुनु, प्रभावकारिता अभिवृद्धिमा तल्लीन रहनु सीईओको दायित्व हो ।
आठौं, संस्थाको दूरदृष्टि र लक्ष्यका बारे संस्थाभित्रका कर्मचारीहरूलाई जानकारी गराउनु, उनीहरूलाई सोको प्राप्तिमा उत्साहित गर्नु, मनोबल बढाउनु र समग्रमा संस्थाभित्र उपयुक्त र प्रभावकारी कार्यवातावरण विकास गर्नु सीईओको काम हो ।
नवौं, सीईओले बैङ्क सञ्चालन सम्बन्धमा गर्नुपर्ने महत्त्वपूर्ण जस्तै, कर्जा स्वीकृति, शाखा विस्तारसम्बन्धी निणर्यहरू गर्नका लागि बोर्डको बैठकमा प्रस्ट र तार्किक सिफारिशसहित एजेण्डा प्रस्तुत गर्नुपर्दछ । बोर्डले 'रबर स्टयाम्प'जस्तो भएर सीईओको सबै सल्लाह/सिफारिशलाई स्वीकृत गर्दैन । तर, पर्याप्त पारिश्रमिक दिई राखिएको सीईओले पक्कै पनि संस्थाको हित हुने एजेण्डा नै प्रस्तुत गरेको हुन्छ भन्ने विश्वासमा बोर्डले निर्णय गर्ने गर्दछ ।
सञ्चालक समितिको भूमिका
बैङ्कका लागि उत्कृष्ट प्रमुख कार्यकारी नियुक्त गर्नु बोर्डको सबभन्दा पहिलो र महत्त्वपूर्ण कार्य हो । बैङ्किङसम्बन्धी पर्याप्त व्यावसायिक अनुभवयुक्त, दैनिक कार्यसम्पादनमा आन्तरिक नियन्त्रण कायम गर्ने/गराउने क्षमतायुक्त, बैङ्किङ/वित्तीय व्यवसायको उच्च तहमा कार्य गरेको र आफ्नो भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई सीईओमा नियुक्त गर्नुपर्दछ । प्रमुख कार्यकारीको उपयुक्त पारिश्रमिक निर्धारण गर्नु बोर्डको अर्को महत्त्वपूर्ण कार्य हो । बोर्डले प्रस्ताव गरेको पारिश्रमिक बैङ्कका लागि उपयुक्त सीईओ आकषिर्त गर्न पर्याप्त हुनुपर्दछ । तर, धेरै पनि हुनु हुँदैन, जुन बैङ्कको व्यावसायिक योजना, मुनाफास्थिति, कार्य सञ्चालन, कारोबार र क्षमताभन्दा बाहिर होस् । यस्तो पारिश्रमिक निर्धारण गर्दा सीईओले गर्ने कार्य एवम् निर्णयहरूको अल्पकालीन तथा दीर्घकालीन प्रभाव विश्लेषण गर्नु उपयुक्त हुन्छ । कतिपय बैङ्कहरूमा स्थापना कालमा नै सीईओ र उच्च अधिकृतहरूको 'अधिक पारिश्रमिक'का विषयमा विवाद भएको पाइन्छ । सीईओको पारिश्रमिक निर्धारण गर्ने भूमिका बोर्डकै हो । सीईओलाई उसको आफ्नै पारिश्रमिक तय गर्ने भूमिका प्रदान गरिनु हुँदैन ।
प्रमुख कार्यकारीको कार्यसम्पादन-मूल्याङ्कन प्रक्रिया, समय, पद्धति निर्धारण गर्नु बोर्डको दायित्व हो । संस्थाको समग्र उद्देश्य र सीईओको कार्यविवरणका आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्नु र पारिश्रमिकको पुनरवलोकन गर्नु बोर्डको दायित्वभित्र पर्न आउँछ ।
यसका अतिरिक्त संस्था सञ्चालनका लागि सीईओले पेश गरेका बजेट, नीति, कार्यक्रमहरू स्वीकृत गर्नु, समयसमयमा बैठक बस्नु, जोखिम व्यवस्थापनसम्बन्धमा छलफल गर्नु, आन्तरिक र बाह्य लेखापरीक्षण गराउनु, महत्त्वपूर्ण विषयहरूमा निर्णय लिनु, नीतिहरूको पुनरवलोकन गर्नु, संस्थाको वित्तीय अवस्थाको सम्पूर्ण जिम्मेवारी लिनु, न्यूनतम स्वीकारयोग्य आचरण पालना गर्नु बोर्डको मुख्य दायित्व हो । यस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बोर्डका सदस्यहरू कम्तीमा पनि स्नातकस्तरको शैक्षिक योग्यता र बैङ्किङसम्बन्धी सङ्गठित क्षेत्रको पर्याप्त अनुभव भएको हुनुपर्दछ ।
उल्लिखित भूमिकाहरू नै सम्पूर्ण होइनन् । यो त एउटा खाका मात्र हो । सम्बन्धित संस्थाले यस विषयमा अझै विस्तृत र स्पष्ट रूपमा व्यवस्था गरेको हुन सक्छ । तर, भूमिका प्रस्ट भएन भनेचाहिँ तनाव, कार्य रोकावट र लापरबाही उत्पन्न भई संस्था कुहिराको काग बन्दछ र निक्षेपकर्ताको निक्षेप धरापमा पर्दछ ।
बैङ्कको वित्तीय स्वास्थ्य कायम राख्न र जोखिम व्यवस्थापन गर्न सञ्चालक समिति जिम्मेवार हुन्छ, यसमा सीईओको भूमिका हुँदैन भन्ने तर्कहरू यदाकदा सुन्नमा आउँछन् । तर, बैङ्कको प्रत्येक कार्यमा जोखिम हुने भएकाले सीईओलगायत बैङ्कका सबै कर्मचारीहरू जोखिम व्यवस्थापनमा उत्तरदायी हुन्छन् । बोर्डले बहन गर्ने भनेको मुख्य जोखिम सीईओको नियुक्ति नै हो । यसबाहेकका कर्जा प्रवाह, निक्षेप सङ्कलन, कार्य सञ्चालन, व्यवसाय प्रवर्द्धन, कर्मचारी व्यवस्थापनजन्य जोखिमलगायत समग्र जोखिम व्यवस्थापनमा सीईओको भूमिका हुन्छ । यसैवापत सीईओलाई आकर्षक पारिश्रमिक दिने गरिन्छ । समग्रमा जोखिम व्यवस्थापनको भूमिका न त सञ्चालक समितिको मात्र हो, न त केवल व्यवस्थापनको मात्र । दुवैको समन्वय र प्रयासमा सम्पन्न गर्नुपर्ने महायज्ञ हो यो । बैङ्क सञ्चालन गर्दा आउने प्रत्येकस्तरको जोखिम सीईओले लिनुपर्दछ भने जोखिम व्यवस्थापनको अन्तिम जिम्मेवारी सञ्चालक समितिले लिनुपर्दछ ।
लेखक नेपाल राष्ट्र बैङ्कसँग सम्बद्ध छिन् । प्रस्तुत विचार लेखकका निजी हुन् ।
Admin 2011-02-18