ग्रामीण विकासमा सामूहिक गाईपालन
ज्ञानेन्द्रलाल प्रधान
ग्रामीण जीवनस्तरलाई उकास्न विभिन्न क्षेत्रबाट अनगिन्ती प्रयत्न भए । अहिले पनि भइरहेका छन् र भविष्यमा पनि हुनेछन् । शहरमा जस्तै गाउँमा पनि उचित शिक्षा, स्वास्थ्य, यातायातलगायतका सबैखाले सेवासुविधा उपलब्ध हुनुपर्दछ भन्ने विचारहरू मौलाए । यी र यस्ता सेवा प्रदान गरी ग्रामीण जनताको जीवनस्तर उकास्न धेरै सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाहरू क्रियाशील छन् । विभिन्न व्यावसायिक उद्योग प्रतिष्ठानहरूले पनि सामाजिक सेवाको क्षेत्रमा योगदान गरेका छन् । ग्रामीण स्वास्थ्य, शिक्षा, यातायात, जातीयविभेद उन्मूलनलगायतका क्षेत्रमा करोडौं रकमका योजना परियोजनाहरू सञ्चालित छन् । लाखौं जनशक्ति परिचालित छ । तर पनि, ग्रामीण जनताको आर्थिक विपन्नता हटेको छैन । ग्रामीण जनतामा रहेको अशिक्षा, अभाव र असमानता अझ पनि कायमै छ ।
नेपालमा च्याउ उम्रेसरी राष्ट्रिय/अन्तरराष्ट्रिय गैरसरकारी सामाजिक संस्थाहरू खुलेका छन् । सबै सामाजिक सङ्घसंस्थाको उद्देश्य भनेको नेपाली जनतालाई गुणस्तरीय जीवनयापनका लागि योग्य बनाउनु नै हो । कसैले शिक्षा विकासका लागि विद्यालय खोलेका छन् । विद्यालयलाई शैक्षिक सामग्री तथा पूर्वाधार जसरी सकिन्छ, सहयोग गरेका छन् । कसैले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य संस्था सञ्चालन गरेका छन् । कसैले एम्बुलेन्स प्रदान गरेका छन् । यसैगरी बाटोघाटो, पुलपुलेसा/नहर निर्माण, जनचेतना जागरण, जातीय विभेद उन्मूलनलगायत क्षेत्रमा केही न केही योगदान दिए र दिइरहेका छन् । तर, ती सबै दीर्घकालीन र उत्पादनमूलक नभई वितरणमुखी बन्न पुगे । त्यसैको परिणति आज पनि ग्रामीण जनताको आर्थिकस्तर उक्सिन सकेको छैन ।
सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा यी र यस्तै किसिमका समाज सेवाका धेरै कामहरू पनि हामीले गर्यौं । नवलपरासीको पिठौलीमा विद्यालय स्थापना, प्राविधिक शिक्षालयका लागि १० लाखको कोष स्थापना, रोटरी आमा समूह, कुमारी-वृद्धाश्रम निर्माण, टेलिफोन सेवा सञ्चालन, ग्रामीण विद्युतीकरण, भजनगृहको स्थापना, सुकुम्बासीहरूका लागि शान्ति आश्रम निर्माणलगायतका काम गर्यौं । यसबाट गाउँमा एक किसिमको पूर्वाधार त खडा भयो, तर आर्थिक उन्नति भने हुन सकेन । यी र यस्ता विषयको अध्ययन गरी विगतबाट पाठ सिक्दै ग्रामीण जनताको आर्थिक जीवनस्तर उकास्न सर्वप्रथम नियमित आर्थिक आम्दानीको स्रोत पहिल्याउनु आवश्यक रहेको निष्कर्षनिकाल्यौं । नेपालका अधिकांश जनता कृषिक्षेत्रमा आश्रति छन् । देशको अर्थतन्त्रको कडी भनेकै कृषिक्षेत्र भएकाले पनि कृषिक्षेत्रबाटै दीर्घकालीन आर्थिक विकासका स्रोतहरू पहिल्याउन सक्नुपर्दछ भन्ने हामीले विचार गर्यौं ।
कसैले देखाएको दया र आरक्षण सीमित समयका लागि मात्र हुने रहेछ । त्यसैले दीर्घकालीन आर्थिक विकासका लागि ग्रामीण जनतालाई नै आत्मनिर्भर बनाउनुपर्ने भन्ने लाग्यो । ग्रामीण जनताको आर्थिक विकासका लागि विनाजोखिम दैनिक आय कुन कृषिकार्यबाट हुन्छ त भन्ने विषयमा अध्ययन गर्न हाइड्रो सलुसन्स समूह क्रियाशील भयो । केही महीनाको अध्ययन/विश्लेषणपछि सामूहिक गाईपालन नै ग्रामीण आर्थिक विकासको सहायक हुन सक्ने निष्कर्ष समूहले निकाल्यो ।
नेपालका अधिकांश कृषकहरूले गाईपालन गर्ने भए पनि राम्रो मुनाफा भने लिन सकेका छैनन् । विश्वमा नै गाई-भैंसीजस्ता ठूला जनावर पाल्नेमा नेपाल अग्रस्थानमा पर्छ । प्रत्येक दुई जना नेपालीको भागमा एउटा ठूलो जनावर पर्न आउँछ । तर पनि, ग्रामीण कृषकको आर्थिक अवस्था सुध्रिन सकेको छैन । स्थानीय जातका गाई पालिनु, स्थानीय तहमा दूध विक्री नहुनु, बजारको पहुँच व्यक्तिगत क्षमताभन्दा बाहिर रहनु परम्परागत गाईपालनबाट लाभ लिन नसक्नुका कारणहरू हुन् ।
सामूहिक गाईपालन गर्दा एउटा समूहमा २ सयसम्म उन्नत जातका गाई पाल्न सकिन्छ । उन्नत जातका गाईपालन नगरेसम्म दूध उत्पादन बढाउन सकिँदैन । यसका लागि ठूलो पूँजीको आवश्यकता पर्दछ । उन्नत जातका गाईलाई बजारमा हाल ४५ देखि ८० हजार रुपैयाँसम्म पर्छ । बैङ्किङ क्षेत्रबाट प्राप्त हुन सक्ने सस्तो ब्याजदरको कर्जा यो क्षेत्रमा प्रयोग गर्न सकिन्छ । सानो सङ्ख्यामा उन्नत गाईपालन ज्यादा खर्चिलो पर्न जान्छ । विकसित र वैज्ञानिक ढङ्गले बनाइएको गोठमा भेटेरिनरी डाक्टरको सेवा चौबीसै घण्टा उपलब्ध हुने वातावरण बनाएर मात्र सामूहिक गाईपालन गर्नु उचित हुन्छ । यसरी गरिएको गाईपालनबाट मलको थप उपलब्धताले कृषि उत्पादनमा वृद्धि हुनुका साथै पर्याप्त दूध उत्पादनबाट दैनिक ग्रामीण पारिवारिक आयमा वृद्धि हुन जान्छ । हाल दूध उत्पादन पर्याप्त हुन नसकेका कारण भारतबाट दूध तथा दुग्धजन्य उत्पादन आयात भइरहेको छ । उन्नत जातको गाई पाल्दा एउटा गाईले दूध उत्पादनबाट मासिक १५ हजार रुपैयाँसम्मको खुद आम्दानी दिन सक्छ ।
सामूहिक गाईपालनका लागि ग्रामीण स्थानीय कृषकहरूको समूह गठन गर्नुपर्दछ । प्रत्येक परिवारको आर्थिक हैसियत फरकफरक हुने हुँदा उनीहरूले गर्नसक्ने लगानी सामुदायिक कम्पनीमार्फत गर्न सकिन्छ । यसो गर्दा उनीहरूले निश्चित सङ्ख्याका गाईमा लगानी गर्छन् । गाई पाल्दा विभिन्न रोग लाग्ने र विपत्ति पनि अर्इपर्न सक्दछ । यसबाट घाटा नपरोस् भन्नका लागि पशुबीमा गर्न सकिन्छ । गाउँ नजिकको सामुदायिक वनलाई समेत गाईपालनमा लगानी गर्न लगाई स्थानीय वनको घाँस उपयोग गर्न सकिन्छ । त्यसरी नै स्थानीय कृषकलाई डाले घाँसखेती गर्न लगाई गाईको मलसँग साट्न सकिन्छ । गाईका लागि चाहिने दानाका लागि दाना कम्पनीलाई पनि सामूहिक गाईपालनमा शेयर लगानी गर्न प्रेरित गर्न सकिन्छ ।
यसरी सामूहिक गाईपालन गर्दा आर्थिक उन्नतिबाहेक पनि धेरै किसिमका फाइदा हासिल गर्न सकिन्छ । गाईपालनबाट उत्पादित गोबरलाई गोबर ग्यास प्लाण्टमा प्रयोग गरी सो ग्यासबाट गाउँघरमा खाना पकाउन सकिन्छ । यसबाट खाना पकाउने दाउराका लागि नजिकको वनजङ्गलमा आश्रति हुने परिपाटीको अन्त्य हुन्छ । र, वनजङ्गलमाथिको निर्भरतालाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ । पर्यावरण जोगाउन सकिन्छ । खाना पकाउँदा हुने कठिनाइ, धूलो धूवाँ आदिबाट बचेर स्वास्थ्य लाभ पनि लिन सकिन्छ । दाउरा लिन जङ्गल पुग्नुपर्ने झन्झट र कठिनाइबाट मुक्ति पाउन सकिन्छ । गोबर ग्यासमा प्रयोगपछिको नाइट्रोजनयुक्त मल गाईमा लगानी गरिएको शेयर सङ्ख्याको आधारमा बाँडेर आआफ्नो खेतबारीमा प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । उत्पादित दूध दुग्धप्रशोधन कम्पनीको सहभागितामा विक्री गरी प्राप्त आम्दानीले पुन: गाईको सङ्ख्या थप्न वा कृषकलाई लाभका रूपमा पनि फिर्ता गर्न सकिन्छ । यसरी समूहमा गाई पाल्दा केही युवालाई प्रशिक्षित गरी उनीहरूलाई रोजगारी दिन र गाईपालनसम्बन्धी प्रशिक्षण सञ्चालन गरी शीप विकास गरी रोजगारीको अवसर सृजना गर्न सकिन्छ ।
नेपालको कृषिक्षेत्रमा आशातीत प्रगति हुन सकेन । राज्यकै उचित लगानी र वैज्ञानिक योजनाको अभावमा यसक्षेत्रबाट सम्भावित फाइदा पनि लिन सकिएन । यस्तो परि्रेक्षमा निजीक्षत्रबाटै भए पनि सामूहिक गाईपालनको प्रयास भए अति नै उपयुक्त हुने देखिन्छ । सामूहिक गाईपालनबाट ग्रामीण भेकका विपन्न कृषकहरूलाई तत्काल दैनिक आम्दानी भई आर्थिक उन्नतिमा सहयोग पुग्ने त छँदै छ, यसबाट रोजगारीका लागि विदेशिने युवाले पनि प्रेरणा प्राप्त गरी विदेशिनुभन्दा गाउँमै बसेर आर्थिक उन्नतिको बाटो अँगाल्न सक्दछन् । यसबाट प्रत्यक्ष-परोक्षरूपमा गाउँमा हरित क्रान्ति, ऊर्जा क्रान्ति, कृषि क्रान्ति हुँदै समग्र देश नै आर्थिक क्रान्तिको बाटोमा जाने सुनिश्चित छ ।
लेखक हाइड्रो सलुसन्सका कार्यकारी अध्यक्ष हुन् ।
Admin 2011-05-20