शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

घटिरहेको शेयर बजार अवसर पनि हो
रवीन्द्र भट्टराई

विषय एउटै छ, दिनहुँ घटिरहेको शेयर बजार । प्रश्न हजारपटक दोहोरिइरहेका हुन्छन्, कोही सकारात्मक सोचका साथ सोध्छन्, कोही नकारात्मक । शेयरबजार कहिलेसम्म र्झछ ? के शेयरबजार अब कहिलै बढ्दैन ? शेयर कहिलेबाट बढ्छ - किन घटिरहेको छ शेयरबजार ? अहिले शेयर किन्दा के हुन्छ ? साथीभाइ, मिडिया, लगानीकर्ता अनि शुभचिन्तक आदिबाट आउने यस्ता अनगिन्ती  प्रश्नको सामना दिनहुँजसो गर्नु परिरहेको हुन्छ ।

२०६५ भदौ अन्त्यमा नेप्से परिसूचक ९७६ दशमलब शून्य १ थियो । २०६७ भदौ अन्त्यमा नेप्से परिसूचक ४०४ दशमलव ४३ मा झर्‍यो । २ वर्षको अवधिमा नेप्से परिसूचक ५९ प्रतिशतले घटयो । नेप्सेको उच्चतम बिन्दु ११७५ दशमलव ३८ लाई आधार मानेर कुल कमीलाई हेर्ने हो भने गत सातासम्ममा नेप्से ६७ प्रतिशतले घटिसकेको छ । यसैगरी कुल बजार पूँजीकरण ५ खर्ब रुपैयाँबाट ३० प्रतिशतले घटी साढे ३ खर्बमा झरेको छ । प्रश्न फेरि उठ्नसक्छ- के यो कमी स्वाभाविक छ त ? कतिपय यसलाई स्वाभाविक कमी बताइरहेका छन् भने कतिपय अस्वाभाविक । र, कतिपयले त बजार ध्वस्त (क्रयाश) भयो भन्ने पनि गरेका छन् ।
 
बजारको घट्दो क्रम कति स्वाभाविक वा अस्वाभाविक भन्ने सवालको जवाफ खोज्न बजारलाई प्रभाव पार्ने तत्वहरूको विश्लेशणले गर्नुपर्छ । तर, विनाकारण अप्रत्यासित रूपमा औसत कमीभन्दा बढी अङ्कले एकै दिन वा केही समयभित्र बजार परिसूचक घटेमा त्यस्तो कमीलाई 'क्रयास'को संज्ञा दिइन्छ । तर, बजारको घट्दो क्रमलाई हेर्दा यस अवधिमा त्यस्ता परिदृश्यहरू देखिएका छैनन् ।

२०६५ भदौमा नेप्सेमा सूचीकृत धितोपत्रको सङ्ख्या ४८ करोड ६५ लाख कित्ता थियो । २०६७ भदौमा यो सङ्ख्या करीब ७८ प्रतिशतले बढेर ८६ करोड १२ लाख कित्ता पुगेको छ । अर्थशास्त्रको सिद्धान्तअनुसार कुनै पनि वस्तुको आपूर्ति बढ्दा माग सोहीअनुसार बढ्न सकेन भने त्यसको मूल्य घट्नु स्वाभाविक हो । यस अवधिमा आपूर्ति ७८ प्रतिशतले बढेको छ, नेप्से ६७ प्रतिशतले घटेको छ । आपूर्ति अझै बढिरहेको छ ।

यस अवधिमा देशको राजनीतिक-आर्थिक अवस्था तथा बजारको घट्दो प्रवृत्तिका कारण दोस्रो बजारमा लगानी भित्रन सकेन । यसका साथै नेपाल राष्ट्रबैङ्कको शेयर धितोकर्जा तथा संस्थापक शेयर बिक्रीसम्बन्धी नीति पनि शेयरको मागलाई नकारात्मक प्रभाव पार्ने महत्वपूर्ण तत्व बन्नपुगे । नेपाल स्टक एक्सचेञ्जले शेयरको कारोबार उपत्यकाबाहिरबाट पनि शुरू गर्‍यो । तर, झञ्झटिलो कागजीप्रक्रिया, पर्याप्त लगानीकर्ता शिक्षाको अभाव तथा निरन्तर घटिरहेको अवस्थामा गरिएको शुरुआतका कारण यसले बजारमा शेयरको माग बढाउन सकेन ।

२०६६ दशैंबाट बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्यासँगै बढेको ब्याजदरले शेयर बजार थप प्रभावित बन्न पुगेको छ । ब्याजदर बढ्ने र शेयरबजार घट्ने दरको कुनै गणितीय मापदण्ड नभए पनि ब्याजदर र शेयरबजारको सम्बन्ध भने उल्टो हुन्छ । ब्याजदर बढेमा शेयरबजार घट्छ भने ब्याजदर घटेमा शेयरबजार बढ्छ । विकसित देशहरूमा शेयरबजारको अस्वाभाविक घटबढलाई नियन्त्रण गर्न ब्याजदरलाई प्रयोग गरिन्छ । २०६५ भदौबाट २०६७ भदौसम्ममा वाणिज्य बैङ्कले एकवर्षको मुद्दती खातामा प्रदान गर्ने औसत ब्याजदर ६५ प्रतिशतले बढेको छ (यो अवधिमा बजार ६७ प्रतिशतले घटेको छ) । उदाहरणका लागि नेपाल राष्ट्रबैङ्कको २०६५ भदौको ब्याजदरको तथ्याङ्कअनुसार एकवर्षको मुद्दती खातामा तत्कालीन वाणिज्य बैङ्कमध्ये सबैभन्दा कम ब्याजदर (२ दशमलब ५ प्रतिशत) स्ट्यार्ण्र्डड चार्र्टर्ड बैङ्कले दिँदै आएको थियो । उसले त्यो ब्याजदर २०६७ भदौसम्ममा करीब पाँच गुणाबराबरले बर्ढाई १० दशमलव २५ प्रतिशत पुर्‍याएको छ । यसैगरी, बैङ्कहरूले दिँदै आएको कतिपय ऋणको ब्याजदर शतप्रतिशतबराबरले बढेको छ । २०६५ भदौमा ८-९ प्रतिशत ब्याजमा ओभरड्राफ्ट कर्जा प्रदान गर्दै आएका बैङ्कले २०६७ भदौमा ब्याजदर बढाएर १८ प्रतिशतसम्म पुर्‍याएका छन् । बचतमा बढेको ब्याजदरले लगानीकर्ता पैसा झिकेर बढी जोखिमको क्षेत्रमा लगानी बढाउन तयार छैनन् । त्यस्तै बढ्दो राजनीतिक अनिश्चितता, ब्रि्रँदो आर्थिक अवस्था र घट्दो बजारमा महँगो ब्याजमा ऋण लिएर लगानी गरी जोखिम मोल्न पनि लगानीकर्ता तत्पर देखिँदैनन् । यसका अतिरिक्त शेयरबजारमा आएको निरन्तरको कमीले शेयर धितोकर्जा लिएका तथा घरजग्गाको कारोबार गर्ने लगानीकर्ताले ब्याज र साँवा भुक्तानीलाई व्यवस्थित गर्नुपर्ने तथा निरन्तर आइरहेका हकप्रद शेयरका लागि भएको आम्दानीलाई उपयोग गर्नुपर्ने बध्यता छ । यस्तो अवस्थाका कारण पनि दोस्रो बजारमा लगानी भित्रन सकेको छैन । हाल देखिएको औसत २ करोडको दैनिक कारोबारमा पनि बढीभन्दा बढी कारोबार म्याचिङ भएकाले बजारमा तरलता न्यून रहेको छ ।

बजार निरन्तर घट्नु र यति धेरै कमी देखिनुमा लगानीकर्ताको लगानी रणनीतिले पनि भूमिका निर्वाह गरिरहेको छ । यसअघि लगानीकर्ताले कम्पनीको कार्यसम्पादनभन्दा पनि हकप्रद, बोनस अनुपात र  बजारको प्रवृत्तिलाई लगानीको प्रमुख आधार बनाउने गर्थे । कार्यसम्पादन जस्तोसुकै भए पनि चार गुणा हकप्रद शेयर जारी गर्ने कम्पनीको मूल्य पनि सोही अनुपातले बढ्थ्यो । तर, हकप्रद जारी गरिसकेपछि घट्ने प्रतिशेयर आम्दानी तथा लाभांश र शेयरको बढ्दो आपूर्तिका कारण मूल्यमा पर्ने नकारात्मक प्रभावका बारेमा लगानीकर्ताले मूल्याङ्कन नगरेकाले पनि बजारमा यति धेरै कमी देखिएको हो । कम्पनीले पूजी वृद्धिको अनुपातमा नाफा वृद्धि नगर्ने हुनाले लगानी गर्नुअघि पूजी तथा लगानीमा प्रतिफल हेरिनुपर्छ ।

प्रतिफल हेरेर लगानी गर्ने हो भने अहिले पनि बजारमा लगानीयोग्य कम्पनी थुप्रै छन् । एक महीनाभित्र ३० प्रतिशत नगद लाभांश प्रदान गर्ने कम्पनीको बजार मूल्य २ सय ५० को हाराहारीमा छ । यो लाभांश उक्त बजार मूल्यमा एक महीनामा १२ प्रतिशतबराबरको प्रतिफल हो । यो प्रतिफललाई बाँकी बनाउने हो भने यो झण्डै १ सय ४४ प्रतिशतबराबर हुन आउँछ । घट्दो बजारमा पनि लगानीका थुप्रै अवसर हुन्छन् । कतिपय कम्पनीको मूल्य बढिरहेको हुन्छ भने कतिपयको तत्कालको मूल्यमा कम्पनीले दिने प्रतिफल उच्च हुन्छ । तर, यसको विश्लेषण गरिनु आवश्यक छ । तर, बजारमा यो हुन सकिरहेको छैन, जसले गर्दा राम्रा-नराम्रा सबै कम्पनीको मूल्य घटी बजार असन्तुलित बनेको छ ।

बजार घट्नु चुनौती मात्र नभई अवसर पनि हो भन्ने बुझ्न जरुरी छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो बजार एक अवसर हो । १ वर्षअगाडि ८ सय रुपैयाँ मूल्य भएको शेयर अहिले ३ सय रुपैयाँमा झरेको छ । यो मूल्यलाई हेर्ने हो भने नयाँ लगानीकर्ताले ५ सय रुपैयाँ बचाउन सफल भएको छ, जसलाई एक प्रकारको कमाइका रूपमा लिन सकिन्छ । अर्कातर्फ८ सय रुपैयाँमा शेयर किन्दा १० प्रतिशत मूल्य घट्दा ८० रुपैयाँको जोखिम लिनुपथ्र्यो भने सोही शेयर ३ सयमा किन्दा मात्र ३० रुपैयाँको जोखिम लिए पुग्छ । हालको बजारमा मूल्य गिरावटबाट उत्पन्न हुने जोखिम घट्दै गइरहेको छ ।
 
त्यसैगरी अहिलेको बजारमूल्यमा लगानीकर्ताले थोरै रकममा बढी कित्ता शेयर किन्न सक्छन् । उदाहरणका लागि १ वर्षघि ८ सय रुपैयाँका दरले १ लाख रुपैयाँमा कामिशनबाहेक १ सय २५ कित्ता शेयर किन्न सकिन्थ्यो भने ३ सय रुपैयाँमा ३ सय ३३ कित्ता शेयर किन्न सकिन्छ । जसले गर्दा कम्पनीमा आफ्नो स्वमित्वको मात्रा बढाउन सकिन्छ । त्यसैले कम्पनीमा आफ्नो नियन्त्रण कायम गर्न खोज्ने व्यक्ति, संस्था तथा जोखिम कम लिन चाहने लगानीकर्ताका लागि अहिलेको बजार ठूलो अवसर पनि हो । तर, यो अवसरको उपयोग गर्न चाहने लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था र भविष्यको सम्भावनालाई भने विश्लेषण गर्न आवश्यक हुन्छ ।

शेयरबजारले अहिलेको दिशा परिवर्तन गर्न राजनीतिक स्थिरता, आर्थिकवृद्धिसँगै ब्याजदर घट्नु आवश्यक छ । ब्याजदर घट्नका लागि तरलताको सङ्कट समाधान हुनुपर्छ । त्यस्तै, सरकारले संस्थागत लगानीकर्तालाई यो बजारतर्फ आकर्षित  गर्न करछूटका आकर्षक प्रस्ताव ल्याउनुपर्छ । त्यसैगरी नेपाल राष्ट्रबैङ्कले शेयर धितोकर्जाको नवीकरणलाई केही सरल बनाउन सक्छ । तर, तत्काल यी कुनै पनि कुराको सम्भावना देखिँदैन ।
लेखक शेयर विश्लेषक हुन् ।