आयरल्याण्डले आइसल्याण्डबाट नसिकेको पाठ
जेम्स साफ्ट
अन्तरराष्ट्रिय विकास साझेदारहरूलाई मन नपरे पनि आइसल्याण्डले आर्थिक सङ्कटबाट पार पाउन अवलम्बन गरेको नीति अति नै प्रभावकारी र सफल सावित भएको छ । हैसियतभन्दा ठूलो ऋण व्यवस्थापन गर्न नसकेकोमा गाली र खप्की खाएको आइसल्याण्डको अर्थतन्त्रमा पछिल्लो त्रैमासमा १ दशमलव २ प्रतिशत विस्तार भएको छ । यो वृद्धि पछिल्ला २ वर्षयताकै सबैभन्दा उच्च हो । अत्यधिक ऋणका कारण सङ्कटमा फसेको बैङ्कलाई उद्धार नगरेर डुब्न दिएको कारणबाट यो वृद्धि भएको मानिएको छ ।
आइसल्याण्डको यो घटना आयरल्याण्डको भन्दा विल्कुलै भिन्न छ । आयरल्याण्डले यूरोजोनको खस्कँदो र निष्प्रभावी अर्थतन्त्र भएको सदस्यको परिचय बनाएको छ । यसको अर्थतन्त्र दिनानुदिन अधोगतिमा छ । यो समस्या अझै गहिरिने विश्लेषकहरूको भनाइ छ । यसबाट पार पाउन आयरल्याण्डले सरकारी खर्च कटौतीको नीति अवलम्बन गरिरहेको छ ।
यसको ठीक विपरीत आइसल्याण्ड २००८ मा एउटा बृहत् 'हेज फण्ड’सँग सम्बन्धित कारणले सिर्जित आर्थिक सङ्कट बेहोर्न बाध्य भएको एउटा सानो
यूरोपियन देश हो । त्यो सङ्कटको सामना गर्न र आफ्ना छिमेकी तथा प्रतिस्पर्धी देशहरूको माझमा आफूलाई सफल सावित गर्न आइसल्याण्डले दूरदृष्टिसहितको आर्थिक पुनरुत्थान योजना ल्यायो । त्यसअर्न्तगत उसले आफ्नो मुद्रालाई अन्य मुद्राको तुलनामा कमजोर हुन छाडिदियो, पूँजी परिचालनमा कडाई गर्यो र असफल भएका आफ्ना प्रमुख तीन अन्तरराष्ट्रियस्तरका बैङ्कहरूको ऋणमोचन गर्न मानेन ।
अहिले अन्तरराष्ट्रिय मुद्रा कोष तथा अन्य बहुपक्षीय संस्थाहरू तथा बेलायत र नेदरल्याण्डस् सहभागी भएको 'आइसेस’ बैङ्कको ऋण मोचन गर्ने प्याकेजमा सहमति भएको छ । तर, आइसल्याण्डको नेतृत्व, त्यसमा पनि अहिलेको नेतृत्वले बैङ्कलाई ऋण दिनेहरूलाई नै बैङ्क डुब्दाको दुःखको अनुभव गर्न दिने एउटा विवेकशील टुङ्गोमा पुग्यो । त्यो कदम अहिले सही सावित भएको छ ।
'हामीले बैङ्कहरूलाई डुब्न दियौँ । डुब्न लागेका निजी बैङ्कहरूमा थप पैसा लगानी गरेर तिनीहरूलाई अझै गैरजिम्मेवार बन्न सहयोग गरेनौँ, किनकि राज्यले उनीहरूको गैरजिम्मेवारपनको जिम्मा लिनुहुदैन । हामीले लिएको फरक रणनीति त्यही हो’ आइसल्याण्डका राष्ट्रपति ओलाफर ग्रिम्सनले गत महीना भनेका थिए । आफ्नो बैङ्किङ प्रणालीलाई जोगाइराख्न आइसल्याण्डले पाएको सफलताले युरोपियन युनियनका अधिकारीहरूलाई गिज्याएको उनले बताएका छन् ।
'सरकारी ऋणपत्रका लगानी कर्ता (बोण्डहोल्डर)हरूले सरकारले उनीहरूको लगानीको सुरक्षा गरिदिन्छ भन्ने विश्वास गर्नु हुन्न’ आइसल्याण्डको केन्द्रीय बैङ्कका गभर्नर मार गुडमुण्ड्सनले हालै भनेका छन् । उनका अनुसार उनीहरू आफ्ना लगानीप्रति सधैँ आफै सचेत रहनुपर्छ । आयरल्याण्डले बैङ्कहरूको सबै दायित्व जिम्मा लिन गरेको निर्णय अदूरदर्शी र अपरिपक्व भएको उनको बुझाइ छ । त्यसैको फलस्वरूप अहिले आइरिसहरूले सोचेको भन्दा खराब अवस्था आएको र त्यहाँको सरकारलाई बैङ्कहरूको खराब ऋण मोचन गर्न निकै धौधौ परेको मारको विश्लेषण छ ।
हुन त अहिले पनि आइसल्याण्डको बजेट घाटा कुल राष्ट्रिय आयको ६ दशमलव ३ प्रतिशत छ, तर यो छिट्टै नै परिपूर्ति भएर बजेट बचत हुने सम्भावना बढिरहेको छ । जबकि बैङ्कहरूलाई ऋण मोचन गर्न लागेको खर्चसमेत हिसाब गर्ने हो भने अहिले आइसल्याण्डको बजेट घाटा कुल राष्ट्रिय आयको ३२ प्रतिशत छ । त्यसैगरी अहिले आइसल्याण्डको बेरोजगारी दर झण्डै एक चौथाइले घटेर ७ दशमलव ३ प्रतिशतमा झरेको छ । उता आयरल्याण्डको बेरोजगारी दर भने अहिले पनि १४ प्रतिशतभन्दा धेरै छ ।
महाथिरको शिक्षा
यो घटनाले मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर महोम्मदको कदमलाई स्मरण गराउँछ । सन् १९९८ मा महाथिरले अन्तरराष्ट्रिय मुद्रा कोषले सुझाएका उपायहरू अस्वीकार गरेका थिए । आफ्नो मुद्रालाई अमेरिकी डलरसँग स्थिर विनिमयदरमा कायम गरेका थिए । उनले पूजी प्रवाहमा व्यापक नियन्त्रण गरे । उनले अन्तरराष्ट्रियजगत्मा ठूलो विरोध खेप्नुपर्यो । तर, यसको सकारात्मक असर मलेसियाको अर्थतन्त्रमा पर्यो । महाथिरले घमण्डपूर्ण रूपमा मलेसियालाई अन्तरराष्ट्रिय पूजी प्राप्त गर्नबाट रोक लगाएको आरोप लगाउनेहरू पनि अहिले त्यतिबेला उनले चालेको कदम अति नै प्रभावकारी भएको स्वीकार गर्छन् ।
महाथिरको नीतिको कारण रोकिएको विदेशी पूजी परिपूर्ति गरेर पनि मलेसियाले अहिले उसका एशियन छिमेकी मुलुकहरूको तुलनामा बढी नै पूजी सञ्चय गरिरहेको छ । यसबाट उसका छिमेकीहरूले अत्यधिक रूपमा हुने अन्तरराष्ट्रिय पूजी प्रवाहबाट जोगिन मलेसियाले अवलम्बन गरेको नीतिबाट पाठ सिकेका छन् । यसैको फलस्वरूप उनीहरू पछिल्लो विश्वव्यापी आर्थिक मन्दीबाट समेत जोगिन सफल भएका छन् । महाथिर अन्तरराष्ट्रिय सल्लाह सुझावको विपरीत कार्य गर्ने एक निडर नेता थिए । त्यस्तै गरी अहिलेको आइसल्याण्डको दृढता पनि आर्थिक प्रजातन्त्रकै एक नमूना बनेको छ । गत मार्चमा भएको मतदानमा ९३ प्रतिशत मतदाताले 'आइसेस' बैङ्कको ३ अर्ब ९ करोड यूरो तिर्ने सम्बन्धमा बेलायत र नेदरल्याण्डसँगको सम्झौताको विपक्षमा मतदान गरेका थिए । आइसल्याण्डका पूर्वप्रधानमन्त्री गेयर हार्डेको पालामा भएको आर्थिक सङ्कटका लागि उनलाई दोषी मानेर कानूनी कारबाहीका लागि पठाइएको घटना पनि आफैमा अद्वितीय हो ।
आइसल्याण्ड अन्तरराष्ट्रिय सहकार्यविना नै आफ्नो समस्या सुल्झाउन सफल भएको कुरा पक्कै हो । किनकि यसको अर्थतन्त्र तुलनात्मक रूपमा सानो र बाहिरी विश्वबाट भिन्न छ । तर, आइरिस बैङ्कहरूले विश्वको बैङ्किङ प्रणालीमा अर्को सङ्कट निम्त्याउने खतरा अझ विद्यमान छ । यदि त्यसो भएमा आइसल्याण्ड आफ्नो कुल गार्हस्थ्य उत्पादनको ३० देखि ५० प्रतिशतबराबरको मूल्य चुकाउन बाध्य हुने छ ।
तर, यसको अर्थ बैङ्कहरू पूर्ण रूपमा टाट पल्टिएको र उनीहरूको लगानी पानीमा गएको भनेर बाहना गर्ने कुरा बुद्धिमानीपूर्ण होइन । स्वाभाविक रूपमा बढ्दै गएका आर्थिक क्रियाकलाप र घट्दै गएको बेरोजगारीले पनि त्यस्तो नहुने सङ्केत गर्छ । त्यसका लागि ऋणदाता र ऋणीहरूले आफ्नो बचाउ गर्नका लागि अप्रिय अवस्था आउनुभन्दा पहिले नै ऋण व्यवस्थापन गरिसक्नु पर्छ । तथापि यो आइसल्याण्डको हठको विजय हो । यो उसको आर्थिक पुनरुत्थानसँग मात्र सम्बन्धित नभएर आयरल्याण्ड र ग्रिस अथवा अमेरिकाले बेहोरेजस्तो भयावह आर्थिक सङ्कटको मारबाट जोगिनुसँग पनि सम्बन्धित छ ।
लेखक रोयर्टसका स्तम्भकार हुन् ।