शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्रतिफलयुक्त घट्दो शेयरबजार
गोपालकृष्ण आचार्य
सकारात्मक तवरबाट बजार बढिरहेको शेयरबजारको प्रतीकात्मक स्वरूप 'बुल' (साँढे) र एकाएक घटिरहेको बजारको प्रतीकात्मक स्वरूप 'बियर' (भालु) हुन् । यी दुवै प्रवृत्तिका बजारमा साँच्चै कसरी पैसा कमाउन सकिन्छ भन्ने सम्बन्धमा अधिकांश लगानीकर्ता स्पष्ट देखिँदैनन् । धेरैजसो लगानीकर्ता बढेको बजारबाट मात्र कमाउन सकिन्छ भन्ने दृष्टिकोण राख्दछन् । तर, वास्तविकता त्यस्तो होइन । बजार बढ्दा होस् वा घट्दा, दुवै अवस्थाबाट लगानीकर्ताले नाफा कमाउन सक्दछ ।

बढ्दो बजारबाट प्रतिफल प्राप्त गर्न बरु केही समय लाग्ला तर घट्दो बजारबाट त्यस्तो प्रतिफल तुरुन्तै प्राप्त गर्न सकिन्छ । अहिलेको नेपालको घट्दो शेयरबजारमा लगानी गरेर तत्कालै नाफा कमाई रातारात धनी हुन त नसकिएला । तर, घट्दो शेयरबजारबाट नाफा कमाउने थुप्रै उपाय हुन्छन् । अति विकसित भइसकेको बजारमा 'सर्ट सेलिङ', 'पुट अप्शन' जस्ता विविध धितोपत्र औजारहरूको प्रयोग निर्वाध भएको हुन्छ । पूर्ण कम्प्युटरकृत बजार जहाँ धितोपत्र दलालको सहायताबाट ग्राहक आफैले आफ्नो माग तथा पूर्तिको कारोबार गर्न सक्छन्, त्यहाँ घट्दो बजारबाट लाभ लिन सकिने प्रशस्त अवसर प्राप्त हुन्छन् । तर, नेपालमा ०६४ सालबाट मात्रै 'ओपन क्राई आउट सिष्टम' प्रतिस्थापित भई धितोपत्र दलालहरूले सीमित विण्डोज ब्राउजरबाट ग्राहकहरूको कारोबार गर्न शुरुआत गरेका हुन् । शेयरबजार विकासका लागि अत्यन्तै महत्त्वपूर्ण पूर्वाधार मानिने सीडीएस सिष्टम लागू हुनका लागि आवश्यक पूर्वाधार तयारी एवम् सफ्टवेयर विकासको कार्य अन्तिम चरणमा पुगेको छ । यो कार्य सम्पन्न भएपछि मार्केट अटोमेशनको आधा कार्य हुने विश्वास गरिन्छ ।

बजार पूर्वाधारको अभावमा सर्ट सेलिङको अवधारणालाई तुरुन्तै लगानीकर्तामुखी बनाउन त सकिँदैन तर सोही अवधारणाका आधारमा लगानीकर्ताहरूले नेपाली शेयरबजारको वर्तमान अवस्थाबाट समेत नाफा कमाउन सक्ने भने देखिन्छ । घट्दो बजारमा आफूसँग भएको शेयरलाई कुनै निश्चित मूल्यमा बजारमा विक्री गरी घटेको मूल्यमा पुन: उत्ति नै शेयर खरीद गर्ने हो भने लगानीकर्ताले यसबाट तुरुन्तै नाफा कमाउन सक्दछ । आफूसँग भएको १ सय कित्ता शेयर आजको बजारमूल्य मानौं रू. २ सयमा विक्री गरी भोलि नै उक्त शेयरबजार झन् घटेको मूल्य मानौं रू. १ सय ८० मा खरीद गर्ने हो भने आजको भोलि सो लगानीकर्ताले रू. २ हजार कमाउन सक्दछ । यतिबेला ऊसँग पहिला भएको शेयर पनि कम हुँदैन । यसैले बजार बढ्दा मात्रै होइन, लगातार घटिरहेको शेयरबजारबाट पनि नाफा कमाउन सकिन्छ ।

अब प्रश्न उठ्न सक्छ, त्यसो भए शेयरबजारमा कहिल्यै घाटा हुदैन त ? बजार घट्दा पनि बढ्दा पनि सधैं कमाउन सकिन्छ ? तर होइन, शेयरबजारबाट सधैं नाफा कमाउन सकिन्छ भन्ने छैन । यो बजारमा पनि घाटा खान सकिन्छ । शेयरबजार पनि आफ्नै सिद्धान्तमा चलेको हुन्छ, अर्थशास्त्रको माग र पूर्तिको नियम यो बजारमा पनि लागू हुन्छ । बजारमा पूर्तिको तुलनामा माग बढी हुँदा बजारमूल्य बढ्छ भने माग घटयो भने बजारमूल्य पनि घट्न थाल्छ । मागको तुलनामा बजारमा बढी पूर्ति भयो भने यसले बजारमूल्य घटाइदिन्छ । नेपाली शेयरबजारमा तुलनात्मक रूपमा शेयरको पूर्ति बढी भएर पनि बजार घटिरहेको छ । उच्च प्रतिफल र सबल वित्तीय अवस्थाका कम्पनीहरूको शेयरमूल्य अहिले पनि सर्वसाधारण लगानीकर्ताहरूको लगानीस्तरभन्दा निकै माथि छ ।

बजारको सामान्य सिद्धान्तमा पनि एकैपटक सबैले नाफा कमाउन सक्दैनन् । शेयरबजारमा पनि एउटा लगानीकर्ताले गुमाउँछ र त अर्कोले कमाउन सक्दछ । बजार भनेकै कसैले गुमाउने र कसैले कमाउने स्थल हो, सबैले एकैचोटि कमाउने वा गुमाउने गर्दैनन् । बजार बढेको अवस्थामा महँगोमा किनेको शेयरबजार घटेको बेला सस्तोमा विक्री गर्न पर्यो भने सबैले एकैचोटि गुमाउँछन् । दुईओटा कारणले लगानीकर्ताहरूले नोक्सानी बेहोर्नुपर्छ । एक, आफ्नो लगानीमाथि कुनै सोचविचारै नगरी लगानीकर्ताले जथाभावी लगानी गरेको छ भने यसबाट उसले नाफा कमाउन सक्दैन । अर्को, महँगो दरमा किनेको शेयर कारणवश सस्तोमा बेच्नुपर्यो भने यस्तो कारोबार नाफा कमाउने कुरै आएन । तर, लगानीकर्ताले दोस्रो अवस्थामा कमाउने कुनै ध्येय नै राखेको हुँदैन । बरु उक्त कारोबारबाट आफ्नो सङ्कट समाधान गर्न मद्दत पुगेको महसूस गर्दछ । यसैले, शेयरबजारमा गरेको लगानीले निश्चित नाफा कमाउने ग्यारेण्टी त गर्न सकिँदैन तर सुझबुझपूर्ण तरीकाले अलिकति दीर्घकालीन सोच राखेर गरेको लगानी सामान्यतया र्व्यर्थ भने हुँदैन ।

यसैले बजार घटयो भन्दै लगानी नै नगर्ने गर्नु बुद्धिमानी होइन । बजार घटेर निकै तल पुगेको छ भने त जति धेरै कारोबार गर्नसक्यो, त्यति नै कमाइ गर्न सकिन्छ । तर, यसको अर्थ बजार घटेको बेलामा मात्र लगानी गरेर कमाउने भन्ने होइन कि बजार बढ्दा त यसै कमाउन सकिन्छ । लगानीसम्बन्धी अत्यन्तै न्यून ज्ञान भएका लगानीकर्ताले पनि बजार बढ्दा त यसै कमाउन सक्छन् । बढ्दो बजार प्रवृत्तिमा अझै बजार बढ्छ भन्ने अपेक्षामा माग बढिरहेको बेलामा न्यून मूल्यमा किनेको शेयर बढी मूल्यमा विक्री गरेर नाफा कमाउने त सर्वसाधारणको बुझाइ नै हो ।

लगानीकर्ताले एउटा धु्रवसत्य कुरा भने कहिल्यै बिसन हुँदैन । त्यो के हो भने शेयरको बजार भाउको आधारमा पोर्टफोलियो निर्माण गरी देखिने नाफालाई आफ्नो नाफा भनेर मात्रै बस्नु हुँदैन । शेयरमा गरेको लगानीबाट प्राप्त प्रतिफल जब लगानीकर्ताको हात पर्दछ, त्यो मात्रै नाफा हो । पोर्टफोलियोमा मात्र देखिने नाफा वास्तविक नाफा होइन, त्यो त लगानीकर्ताले बजारमा गरेको लगानीको बजारीकरण मूल्यको फरक मात्र हो । बजार भाउ घटयो भने लगानीकर्ताको उक्त नाफा पनि घट्दछ ।

अर्को कुरा बजार घटिरहँदा लगानीकर्ताले 'ब्लू चिप' शेयरमा भन्दा कमसल शेयरमा लगानी गर्ने हो भने पनि नाफा कमाउन सकिन्छ । बजार घटेर अत्यन्त न्यून बिन्दुमा पुगेको अवस्थामा कमसल शेयरमा लगानी गर्ने हो भने बजार बढ्दा 'ब्लू चिप' शेयरको मूल्य पनि बढ्छ । तर, त्यस्ता शेयरको मूल्य अधिक अनुपातले बढेको हुन्छ । बजार घट्दा पनि ब्लू चिप शेयरको मूल्य अत्यधिक हुने भएकाले त्यसमा सर्वसाधारणको पहुँच नै पुग्दैन । पहुँच पुगेर लगानी गरिहाले पनि बजारमूल्य दोब्बर हुन जति समय लाग्छ, कमसल शेयरको मूल्य दोब्बर हुन त्यसभन्दा कम समय लाग्दछ । तर, यो अवस्थामा त्यस्ता कमसल शेयरको कत्तिको कारोबार हुन्छ, विचार पुर्याउनुपर्छ । यसको अर्थ बजारमा ब्लू चिप शेयर नकिन्नु र कमसल शेयर मात्रै किन्नु भन्ने किमार्थ होइन । कमसल शेयर खरीद गर्दा आवश्यक पर्दा उक्त शेयरबजारमा विक्री गर्न नसकिने जोखिम पनि उत्तिकै हुन्छ । यसतर्फलगानीकर्ता सधैं चनाखो हुनुपर्छ ।

यसैले, शेयरबजारलाई सकेसम्म प्रतिफलयुक्त बनाउनुपर्छ, चाहे बजार बढेको होस् वा घटिरहेको । बजार बढ्दा मात्रै होइन कि, बजार घट्दासमेत आफूले गरेको लगानीबाट नाफा कमाउन सक्नुपर्छ । बढेको बजारमा बुल तथा घटेको बजारमा बियरले पनि नाफा कमाउन सक्दछ । नेपाली शेयरबजारमा पनि सर्वसाधारण लगानीकर्ताहरूबीच बजार घट्ने वा बढ्ने दुवै अवस्थामा नाफा कमाउन सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी छ ।

लेखक नेपाल धितोपत्र बोर्डका अधिकृत हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।

Admin 2011-06-22