'क्यालेन्डर'बाट वित्तीय साक्षरता
रविन्द्र भट्टराई
नेपाल जीवनस्तर सर्वेक्षण २०१० ले ६ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ६० दशमलव ९ प्रतिशत साक्षर रहेको उल्लेख गरेको छ । यो प्रतिशत अघिल्लो सर्वेक्षण सन् २००३/०४ मा ५० दशमलव ६ थियो । तर, कुल जनसङ्ख्याको कति प्रतिशत जनसङ्ख्या वित्तीय रूपमा साक्षर छ भन्ने बारेमा अहिलेसम्म कुनै सर्वेक्षण गरिएको छैन । सोही सर्वेक्षणले नेपाली जनतामा वित्तीय सेवाको पहुँचमा विस्तार भएको पनि उल्लेख छ । पहुँच विस्तार हुनु राम्रो भए पनि कमजोर साक्षरताले जोखिम बढाउने काम गर्छ । वित्तीय साक्षरताको सर्वेक्षण नभए पनि नेपालीको वित्तीय साक्षरताको स्तर कमजोर रहेकामा भने शङ्का गर्ने कुनै ठाउँ छैन । केही महीनाअघि नेपाल राष्ट्र बैङ्कका गभर्नरले बैङ्कका सञ्चालकलाई अध्ययन गर्न सुझाव दिएका थिए । यसै विषयमा बैङ्किङ ट्रेनिङ दिने एक संस्थाले केही दिनअघि मात्र सञ्चालकलाई एकदिने तालीम पनि दियो । कमजोर बैङ्किङ ज्ञान भएका सञ्चालकको सङ्ख्या बढ्दै गएकामा गभर्नरको चिन्ता थियो । यसमा सत्यता छ । सञ्चालक हुन चाहिने योग्यताका विषयमा कानूनमा कमजोरी भएकै कारण यस्तो अवस्था आएको हो । संसद्मा छलफलमा रहेको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनमा यो विषयमा संशोधन गरिन जरुरी छ ।
यसैगरी धितोपत्र बोर्डका अध्यक्षले यस्तै अर्को अभिव्यक्ति दिए । लगानीकर्तामा शेयरबजारसम्बन्धी ज्ञानको कमीका कारण बजारमा लगानीकर्ताले सही शेयर छुट्टयाउन सकेका छैनन् । यो कुरामा पनि त्यतिकै सत्यता छ । बोर्डले यो कम्पनीको शेयर किन भन्न कानूनी रूपमा मिल्दैन तर यस्तो वित्तीय सूचाङ्क भएका कम्पनीमा जोखिम कम हुन्छ भन्नसक्छ । समस्या फेरि त्यहीँ छ । लगानीकर्ताले त्यस्ता कम्पनीको छनोट गर्न सक्ने हैसियत राख्छ कि राख्दैन भन्ने । लगानीकर्ताको कमजोर वित्तीय शिक्षाको स्तरले गर्दा अत्यन्तै कम लगानीकर्तामा यसरी छनोट गर्न सक्ने सम्भावना रहन्छ । वित्तीय सूचना प्रवाहले मात्र लगानीकर्ताले कम्पनीको वास्तविकता थाहा पाउने हुँदैन । यसको अर्थ बुझ्न जरुरी छ । यो बुझ्न सक्ने सङ्ख्यालाई बढाउदै लगेमा राष्ट्र बैङ्क र बोर्डको टाउको दुखाइमा केही कम हुन्थ्यो भने लगानीकर्ता अर्थात् निक्षेपकर्ता पनि केही सुरक्षित हुने थिए । पूँजीबजार विकासको पाँचवर्षको गुरुयोजनामा पनि लगानीकर्ता शिक्षामा जोड दिइनुपर्ने सुझाव दिइएको छ । गुरु योजनामा पाठयक्रम आधारित शिक्षाभन्दा पनि अन्य माध्यम जस्तो- विज्ञापन, वेबसाइटको प्रयोगमा जोड दिइएको देखिन्छ ।
सर्वसाधारणलाई वित्तीय ज्ञान दिने थुप्रै माध्यम हुन सक्छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, इण्टरनेट, पुस्तक, तालीम, नाटक, फिल्म, गीत आदि । यी माध्यमका आआफ्नै विषेशता छन् । अनि, त्यसमा सर्वसाधारणको पहुँचको पनि कुरा हुन्छ । यस्तो अवस्थामा लगानीकर्ता अर्थात् निक्षेपकर्तालाई कम्पनीको छनोटका बारेमा आधारभूत शिक्षा प्रदान गर्न साझा अथावा बढी उपयोगी माध्यममा जान सकिन्छ । त्यस्तो माध्यम हो, पात्रो अर्थात् अङ्ग्रेजीमा 'क्यालेण्डर' । प्रत्येक नयाँ वर्षँगै हरेक नेपालीका घरमा नयाँ पात्रो भित्रन्छ । पछिल्लो समयमा भित्ते पात्रोको प्रयोग बढ्दै गएको छ । कतिपय पात्रो व्यावसायिक उद्देश्यबाट छापिएका देखिन्छन् भने कतिपयले व्यापार प्रवर्द्धन र निरन्तरतामा जोड दिएको पाइन्छ ।
पात्रो मिति, वार, धार्मिक कार्यक्रम तथा बिदाका दिन पहिचानका लागि बढी प्रयोग हुने गर्छ । यसका अतिरिक्त कतिपय कम्पनीले आफ्ना वार्षिक कार्यक्रमलाई पनि यसमा समेटेका हुन्छन् । प्राय: कम्पनीका प्रवर्द्धनात्मक सामग्री र देवीदेवताका फोटाले भरिएका यी भित्तेपात्रोमा केही नयाँ शैक्षिक गतिविधि थप गर्न सकिन्छ । जुन कम्पनी वा संस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने माध्यम पनि बन्न सक्छ । पात्रोमा सर्वसाधारणलाई बाँड्नुपर्ने न्यूनतम ज्ञान समावेश गर्न सकिन्छ । उदाहरणका लागि बैङ्कले छाप्ने पात्रोमा न्यूनतम बैङ्किङ ज्ञान जस्तो- खाता खोल्दा ध्यान दिनुपर्ने कुरा, बैङ्कका फाइदा, जोखिम, बचतका फाइदा, नयाँ बैङ्किङ प्रविधि र प्रयोग आदि । सर्वसाधारणलाई बैङ्कप्रतिको विश्वास बढाउन निक्षेप-बीमाका कुरा पनि यसमा राख्न सकिन्छ । बैङ्क सञ्चालन प्रक्रिया, नियमन निकाय र तीनको सम्पर्क, कानूनी व्यवस्था पनि यसका महत्त्वपूर्ण अङ्ग हुन सक्छन् । त्यसैगरी निक्षेप राख्न बैङ्कको छनोट गर्ने तरीका र तिनको वित्तीय स्वास्थ्य जाँच गर्ने आधारहरू ।
पात्रोकै माध्यमबाट शेयरबजार तथा बीमासम्बन्धी न्यूनतम शिक्षा पनि बाँड्न सकिन्छ, जसमा शेयरबजारमा लगानी गर्दाका न्यूनतम प्रक्रिया, शेयर छनोट गर्ने तरीका, कम्पनीका प्रतिवेदन पढ्ने तरीका, संस्थागत सुशासनदेखि शेयरबजारका नयाँ प्रविधि र विकासका कुरा समेट्न सकिन्छ । यतिमात्र नभई पात्रोमा महीनाअनुसार सूचना समेट्न सकिन्छ । जस्तो कात्तिक, माघ, वैशाख तथा साउनलाई कम्पनीको त्रैमासिक प्रतिवेदन आउने महीनाका रूपमा चित्रित गर्ने । साउनदेखि पुस साधारणसभाको मौसमका रूपमा चित्रित गर्दै लगानीकर्तालाई सूचना सङ्कलन र साधारणसभामा भाग लिन प्रोत्साहित गर्ने । अमेरिकामा अप्रिललाई वित्तीय साक्षरता महीनाका रूपमा चित्रित गरी कानून निर्माण गरिएको छ । नेपालमा पनि नयाँ वर्षशुरू हुनु १ महीनाअघि र शुरू भएको महीना गरेर चैत-वैशाखलाई वित्तीय साक्षरता महीनाका रूपमा राख्न सकिन्छ । यसैगरी पात्रोमा नियमन निकायका टेलिफोन नम्बर, वेबसाइट, सूचनाका स्रोत तथा शेयरबजारका शब्दावली पनि राख्न सकिन्छ । लगानीकर्ताले किताबमा भन्दा अनौपचारिक माध्यमबाट प्रस्तुत विषयमा बढी जिज्ञासा र चासो राख्ने भएकाले यसरी प्रदान गरिएको वित्तीय शिक्षा बढी प्रभावकारी हुन सक्छ । बीमा कम्पनीले पनि यसको उपयोगिता बढाउन सक्छन्, जसमा बीमाको महत्त्व, फाइदा, कथा, कविता, प्रक्रिया, बीमा गर्ने मौसम आदि उल्लेख गर्न सक्छन् ।
पहिलो चरणमा यो अभियानलाई शहरी क्षेत्रमा केन्द्रित गर्न सकिन्छ । एक घर एक पात्रो वा एक परिवार एक पात्रोको योजनाअनुरूप यो अभियान सञ्चालन गर्न सकिन्छ । यी पात्रो घरघरमा पुर्याउन स्कूल तथा कलेजका विद्यार्थीको प्रयोग गर्न पनि सकिन्छ ।
वित्तीय साक्षरताका लागि बजेटमा सरकारले कुनै पनि रकम छुट्टयाएको छैन । यसले सरकार सर्वसाधारणलाई सुरक्षित तथा दीर्घकालीन नाफामूलक लगानीमा प्रोत्साहन गर्न तत्पर नरहेको सङ्केत गर्छ । यो कुराको पुष्टि नेपाल जीवनस्तर सर्वेक्षण २०१० ले पनि देखाएको छ । विप्रेषणको ७८ दशमलव ९ प्रतिशत रकम उपभोगमा खर्च हुन्छ भने पूँजी निर्माणमा २ दशमलव ४ प्रतिशत मात्र खर्च हुन्छ । सरकार जनतालाई आँप किनेर खान मात्र सिकाइरहेको छ तर आँपको रुख रोपेर त्यसबाट प्राप्त हुने दीर्घकालीन प्रतिफलका बारेमा सिकाउने कुरामा लगानी गर्न तत्पर छैन भन्ने यहाँबाट पनि पुष्टि हुन्छ । यस्तै, सरकारले जारी गरेको वैदेशिक रोजगार ऋणपत्रको असफलताका पछाडि पनि यिनै कारण रहेका छन् ।
यो अभियानमा धितोपत्र बोर्ड, राष्ट्र बैङ्क र बीमा समितिको संयुक्त पहल भएमा तीनै क्षेत्रलाई समेटेर साक्षरता कार्यक्रम अगाडि बढाउन सकिन्छ । यसको सफल कार्यान्वयनका लागि सरकारले शिक्षा मन्त्रालयअन्तर्गत वित्तीय साक्षरता विभागको गठन गर्नसक्छ । त्यस विभागले वित्तीय साक्षरताका सामग्रीको निर्माण, उत्पादन, वितरण, स्रोत सङ्कलन, सम्बन्धित निकायबीचको समन्वय गर्ने तथा रणनीति तयार गर्ने काम गर्छ । यसरी काम गरिएमा अनावश्यक खर्च कटौती, कम्पनी वा नियमन निकायबीचका काम नदोहोरिनेलगायत कामको प्रभावकारिता पनि बढ्न जान्छ ।
लेखक शेयर विश्लेषक हुन् ।
Admin 2011-08-25