अनिकालको भय
जोमो क्वामे सुन्दरम्
आजको विश्वमा पनि मानिसहरू भोकै रहन्छन् भने त्यस पछाडिको कारण विरलै मात्र खाद्यवस्तुको हुन्छ । किनभने हाल विश्वमा उत्पादन भइरहेको खाद्यान्नले सबैलाई प्रशस्त खान पुग्छ । मुख्य समस्या के हो भने आफूलाई आवश्यक खाद्यान्न खरीद गर्न नसक्नेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । हालको चर्को मूल्यवृद्धि अघि पनि विश्वका १ अर्ब जनसङ्ख्या लामो समयदेखि भोको जीवन र अन्य २ अर्ब मानिस कुपोषणग्रस्त जीवन बाँचिरहेका थिए । यसरी, त्यतिखेर पनि झण्डै ३ अर्ब मानिस (अर्थात् विश्वका झण्डै आधा जनसङ्ख्या) ले खाद्य असुरक्षा भोगिरहेकै थिए ।
संयुक्त राष्ट्रसङ्घीय निकायले १९९० देखि अभिलेख राख्न थालेदेखि अन्तरराष्ट्रिय बजारमा खाद्यवस्तुको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । खाद्यवस्तुमा भएको हालको मूल्यवृद्धिले विकासशील देशका थप ४ करोड ४० लाख मानिसलाई गरीबीमा धकेलेको विश्व वैङ्कको अनुमान छ ।
खाने तेललगायत मकै, गहुँ, भटमास र चामलजस्ता आधारभूत खाद्यबालीको मूल्य बढ्नाले सबैको नै जीवनस्तर खस्किनुका साथै गरीब परिवारहरूमाथि त वज्रपात नै भएको छ । मध्यमवर्गीय जनता खाद्यपदार्थ खरीद गर्दा चनाखो हुन थालेका छन् भने गरीबीको रेखाभन्दा अलिकता मात्र माथि रहेकाहरू गरीबीको रेखामुनि पुगेका छन् ।
१९६० देखि १९८० को दशकसम्म हरित क्रान्ति र खाद्यसुरक्षा अभियानबाट खाद्यवस्तुको उत्पादनमा ठूलो वृद्धि भएको थियो । ठूलो सरकारी प्रयास र गैरनाफामूलक अन्तरराष्ट्रिय सहयोगबाट त्यस्तो सफलता हासिल भएको थियो । तर, १९८० को दशकदेखि खाद्यान्नको उत्पादन बढाउने प्रयासमा सुस्ती आएपछि जोखिम निम्तिएको कृषि विशेषज्ञहरूको चेतावनी छ ।
खाद्यवस्तुको आपूर्ति घट्दै गइरहेको छ भने मागचाँहि लगातार बढिरहेको छ । जनसङ्ख्या वृद्धिका साथै पशुपालनका लागि खाद्यवस्तुको बढ्दो प्रयोगले समेत त्यस्तो अवस्था आएको हो । विकासशील देशहरूमा कृषिक्षेत्रको विकासका लागि दिइने सरकारी सहायतमा तीव्र कमी आएकाले समस्या झनै बल्झिएको छ । १९८० पछि कृषिक्षेत्रमा दिइने सहायतामा आधाभन्दा पनि बढीले कमी आइसकेको छ । विश्व बैङ्कले दिँदै आएको कृषिऋण १९८० को ७ अर्ब ७० करोड डलरबाट २००४ मा २ अर्ब डलरमा झारेपछि त्यस्तो अवस्था आएको हो ।
सबैजसो विकासशील देशमा कृषिक्षेत्रमा दिइने सहायतामा कटौती गरिएकाले त्यस क्षेत्रमा आवश्यक अनुसन्धान र विकास गतिविधि घटेका छन् । सार्वजनिक कृषि अनुसन्धान संस्था सबैले मिलेर अनुसन्धानमा जति खर्च गर्ने गरेका छन् त्योभन्दा बढी निजीक्षेत्रमा रहेका कृषि व्यवसायीले गर्ने गरेका छन् ।
विकासशील देशका सरकारहरूले खाद्यवस्तुको विक्रीवितरण, भण्डारण र ढुवानी तथा कृषिऋण दिने काम छोडेका छन् र किसानहरूलाई दिँदै आएको अनुदान पनि बन्द गरेका छन् । उता, धनी देशहरूले भने आफ्नाकिसानहरूलाई अनुदान र संरक्षण जारी नै राखेका छन् । त्यसबाट विकासशील देशको खाद्य उत्पादनमा स्वाभाविक रूपले कमी आएको छ ।
विश्व बैङ्क र विश्व व्यापार सङ्गठनले अझै पनि कृषि व्यवसायको उदारीकरण नै सर्वश्रेष्ठ मध्यकालीन समाधान हो भन्नेमा जोड दिँदै आएका छन् । १९८० को दशकदेखि नै सरकारहरूले खाद्यवस्तु आयात गर्न आवश्यक विदेशी मुद्राको जोहो गर्न निर्यात प्रवर्द्धन गर्ने दबाब बढेको छ । फलस्वरूप, धेरैजसो गरीब देशहरू आफ्नै देशमा उत्पादन गर्नुको साटो अन्तरराष्ट्रिय बजारबाट सस्तो चामल र गहुँ किन्न थालेका छन् । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर रहेका कतिपय देशहरू अहिले ठूलो मात्रामा खाद्यान्न आयात गरिरहेका छन् । यसबाट खाद्यान्नको मूल्य झनै चर्किनेछ र परिणामस्वरूप विश्वभरिका गरीब जनताले झनै बढी दुःख पाउँछन् ।
खाद्यसङ्कटलाई अन्य कुराले पनि प्रभाव पारेको छ । हरितगृह ग्यास उत्सर्जनबाट उत्पन्न जलवायु परिवर्तनले खानेपानी आपूर्तिको समस्यालाई झनै बल्झाएको छ । त्यसका साथै, जलवायु परिवर्तनले मरुभूमीकरणमा तीव्रता ल्याउनुका साथै पानीमाथिको दबाब बढेको छ, परिणामस्वरूप मौसम अनियमित हुनुका साथै प्राकृतिक प्रकोप पनि बढ्दै गएको छ । वनजङ्गलको विनाश, बढ्दो जनसाङ्ख्यिक दबाब, शहरीकरण, भूक्षय, माछा मार्ने कार्यमा तीव्रताले खाद्यसङ्कट झनै बढाएको छ । त्यसका साथै कृषि मार्केटिङ, कृषि सामग्री, कृषि उपजको प्रशोधनका साथै खेतीपातीमाथि समेत विदेशी अतिक्रमणले खाद्यसङ्कटलाई झनै बढाएको छ ।
तेलको बढ्दो मूल्यले पनि खाद्यवस्तुको मूल्यवृद्धि गराइरहेको छ । व्यावसायिक कृषिमा मेशिनरीको प्रयोग हुन्छ र त्यसमा तेलको प्रयोग हुन्छ । साथै ढुवानीमा पनि तेल चाहिन्छ । मलखाद तथा कीटनाशकलाई आवश्यक पर्ने कृषि रसायनको उत्पादनका लागि पनि पेट्रोलियम, तेल र ग्यास प्रयोग गरिन्छ ।
त्यसका साथै खाद्यान्नहरू जैविक इन्धन उत्पादनका लागि पनि प्रयोग गरिन्छ, जसबाट मानवीय खपतका लागि आवश्यक खाद्यान्नको अभाव हुन जान्छ । धनी देशहरूले जैविक इन्धनको उत्पादनका लागि प्रचुर मात्रामा अनुदान तथा अन्य सहयोग उपलब्ध गराउँछन् । जबकि, त्यस्ता जैविक इन्धन उत्पादनका लागि प्रोत्साहन गर्ने गरीब देशहरूले आफ्नाकृषकलाई एकदमै कममात्र सुविधा दिएका छन् ।
निश्चय पनि, कतिपय जैविक इन्धन अरूभन्दा निकै सुलभ र ऊर्जाकुशल हुन्छन् । भिन्नाभिन्नै जैविक इन्धनका आआफ्नै अवसर लागत (अपर्च्र्युनिटी कष्ट) हुन्छन् । जस्तो कि, चिनीको मूल्यमा खासै वृद्धि भएको छैन । त्यसैले जैविक इन्धनबारेको बहसलाई अझै विश्लेषणात्मक बनाउनु आवश्यक छ ।
सट्टेबाजी र जमाखोरीले पनि खाद्यवस्तुको मूल्यवृद्धि गराइरहेको छ । सेक्युरिटाइजेशनको बढ्दो प्रचलन, सजिलो अनलाइन व्यापार र वित्तीय बजारको क्षेत्रमा हालैका वर्षहरूमा भएको विकासले सट्टेबाजी गर्ने खालका लगानी खासगरी कमोडिटी फ्युचर्स र अप्सन्सको बजारलाई प्रवर्द्धन गरिरहेका छन् ।
२००७ को अन्तिमतिर वित्तीय सङ्कट गहिरिँदै र विस्तार हुँदै जाँदा सट्टेबाजहरूले वस्तु बजारमा लगानी गर्न थालेका हुन् । अन्य मुद्राको तुलनामा डलरको मूल्य घटनाले समेत त्यस्तो प्रवृत्ति निम्त्याएको छ । वास्तवमा, वस्तुको मूल्यमा क्रमिक मूल्यवृद्धिको दीर्घकालीन प्रवृत्तिले भन्दा पनि माथि उल्लिखित कारणहरूले चर्को वृद्धि गराइरहेका छन् ।
त्यसथ, हाल विश्वभरिका धेरै मानिसले झेलिरहेको समस्या भनेको खाद्यान्नको अभाव नभई खाद्य सुरक्षा हो । तर, खाद्यान्नको मूल्य बढ्नाले भोको वा कुपोषित हुनुपरेको मान्छेलाई यो भिन्नताको कुनै अर्थ छैन ।
जोमो क्वामे सुन्दरम संयुक्त राष्ट्रसङ्घको आर्थिक विकास कार्यक्रमका सहायक महासचिव हुन् ।
Admin 2011-05-22