पर्यावरण विनाशः बाली असफलताको कारण
कुलचन्द्र अर्याल
सुदूरपश्चिमका विभिन्न चार विदेशी संस्थाले बाँडेको 'उन्नत बीउ' लगाएका किसानको खेतमा धानको दाना लागेन । अघिल्लो वर्ष बारा र पर्सामा 'उन्नत जात'को मकै लगाएका किसानको मकैमा गेडा नलागेपछि उनीहरूले आन्दोलन नै गर्नुपरेको थिया । सरकारले त्यस सम्बन्धमा छानविन टोली गठन गरेर मकैमा दाना नलाग्नुको कारणबारे स्पष्ट पार्दै भन्यो, 'मकैको भाले नपुंसक परेछ , त्यसैले दाना लागेन ।' पूर्वका मकैपीडित किसानले अझै पनि राहत र क्षतिपूर्ति नपाएको गुनासो गरिरहेका छन् । सुदूरपश्चिमका धानपीडित किसानहरू अहिले पनि अलमलमा छन् । तर्राईका लागि सिफारिस गरिएको धानको बीउ पहाडी जिल्लामा लगाइएकाले नफलेको कृषिविज्ञहरूले बताएका छन् । विज्ञहरूले उन्नत जातको भन्दै परीक्षणविना विभिन्न जिल्लामा बाँडिएको गहुको बीउ पनि थारो हुनसक्ने र नफल्ने चेतावनी दिइरहेका छन् ।
दोब्बर फल्ने भन्दै विदेशी संस्थाले वितरण गरेको बीउ रोपेका किसान अहिले एक गेडो पनि धान नफलेपछि भोकमरीको त्रासमा छन् । तर्राईका लागि सिफारिस भएको धान पहाडका किसानलाई किन वितरण गरियो ? धान त्यस क्षेत्रमा फल्छ कि फल्दैन भन्ने परीक्षण नगरीकन किसानलाई किन दिइयो ? यो प्रश्न अहिले टड्कारो रूपमा उठेको छ । गलत बीउ दिने दोषीलाई कारबाही र किसानलाई भोकमरीबाट बचाउन राहत र क्षतिपूर्ति दिने काम तत्काल गर्नुपर्ने हो । तर, त्यसो हुन सकेको छैन ।
पोहोरको मकैको घटना र अहिलेको धानको घटनाले खाद्यसुरक्षामा एउटा प्रश्न खडा गरिदिएका छन् । यसले परम्परागत खेतीप्रणाली र स्थानीय बीउहरूले बढी उत्पादन नदिएको भन्दै उन्नत जातका भनिएका बीउहरू रोप्नतर्फ आकर्षित गराइएका किसानहरू भोकमरीमा फस्दै गएका छन् । जसले देशमा झनै ठूलो खाद्यसङ्कट उत्पन्न हुने खतरा बढाएको छ ।
व्यापारनिर्देशित कृषि उद्योगका कारण प्रकृतिको विनाश हुँदै खाद्य उत्पादनमा कमी आइरहेको छ । त्यसका कारण खाद्यान्नको गुणस्तरमा पनि नकारात्मक असर पर्दै गएको छ । अहिलेको बजारमुखी कृषि उत्पादनले भोकमरी बढाउँदै लगेको विज्ञहरूको भनाइ छ । पछिल्ला ५० वर्षमा विश्वमा खाद्यान्न उत्पादनमा ५० प्रतिशतले वृद्धि भयो । तर, मानवीय आवश्यकता पूर्तिका लागि खाद्यान्नको उत्पादन वृद्धि गर्न ६० प्रतिशत पर्यावरणीय क्षति पुगेको, जैविक विविधताको विलोपन बढेको र ठूलो आनुवंशिक क्षय भएको विज्ञहरूको भनाइ छ । अहिले विश्वमा गहुँ, मकै, धान र आलुले मानिसमा कूल क्यालोरी खपतको आधाभन्दा बढी हिस्सा ओगट्छन् । त्यस्तै, झण्डै एक दर्जन जीवहरूले मानिसलाई आवश्यक पर्ने प्रोटिनको ९० प्रतिशतभन्दा बढी आवश्यकता पूर्ति गर्ने गरेका छन् । झण्डै ७ हजार प्रजातिका वनस्पति तथा हजारौँ प्रजातिका जीव मानिसको खानाका रूपमा प्रयोग हुँदै आएका छन् । तर, वातावरणीय विनाशका कारण कृषिबालीका ३ चौथाइ अनुवंशहरू हामीले गुमाइसकेका छौँ ।
खाद्यान्नको माग बढ्दै जाँदा किसानहरू परम्परागत बीउ तथा खेती प्रणालीबाट विमुख हुँदै नगदे बाली तथा 'नयाँ सम्बर्द्धित' बीउको खेतीतर्फ आकर्षित हुँदा कैयौँ रैथाने बालीका अनुवंशहरू हराइसकेका छन् । परम्परागत जातका बीउहरू वा बालीहरू लोप हुँदै जाँदा किसानहरूको परम्परागत खेतीप्रणाली, ज्ञान र सीप पनि हराउँदै गएका छन् । यो खाद्यसुरक्षाको क्षेत्रमा देखिएको सबैभन्दा ठूलो चुनौती हो । किनकि जलवायु परिवर्तनसँग कृषिलाई अनुकूलित गराउन त्यस्ता परम्परागत ज्ञान, सीप तथा खेतीप्रणालीहरू उपयोगी सिद्ध हुन्छन् । विश्वका विभिन्न ठाउँमा गरिएका अनुसन्धानले जैविक विविधता जति धेरै हुन्छ, खाद्यान्नको उत्पादन पनि त्यति बढ्ने देखाएको छ । पर्यावरणचक्रको सन्तुलनका लागि विभिन्न प्राणी र वनस्पतिबीचको सनातन चक्रको सन्तुलन
आवश्यक छ, जुन खाद्यान्न उत्पादनमा पनि लागू हुन्छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोषले हालै सार्वजनिक गरेको विश्व जनसंख्या प्रतिवेदनले सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब १५ करोड पुग्नेछ । त्यति बेलासम्म पृथ्वीको उपलब्ध ५० प्रतिशत जमिन खेतिबालीका लागि प्रयोग भइसक्नेछ । यसरी तीव्र रूपमा वृद्धि भएको जनसंख्याको मुखमा माड लगाउन खाद्यान्नको उत्पादनमा त्यतिबेलासम्म १ सय १० प्रतिशतले वृद्धि गर्नुपर्नेछ । अवश्य पनि पर्यावरणको सुरक्षाभन्दा मानिसको जीवनरक्षाको सवाल बढी प्राथमिकतामा पर्छ । त्यसैले खाद्यान्नको उत्पादन बढाउन अझै नवीन प्रविधि तथा प्रणालीको अवलम्बन हुनेछ, जसका कारण परम्परागत ज्ञान, सीप तथा खेती प्रणाली र रैथाने बीउहरू लोप हुनेछन् । तथ्याङ्कअनुसार विश्वको गरिबीको रेखामुनि रहेका १ अर्बभन्दा बढी मानिसमध्ये ७० प्रतिशत मानिस खाद्यान्नका लागि प्राकृतिक वातावरणमा निर्भर छन् । तर, अहिले जुन दरमा प्राकृतिक वातावरणको विनाश हुदैछ , त्यसले प्रकृतिमा आश्रति मानिसहरूलाई झनै सङ्कटमा धकेल्ने पक्का छ ।
परागसेचन गर्ने किराहरूको संख्या घट्दै गएकाले विश्वमा तरकारीको उत्पादन घटेको र त्यसले कुपोषणको खतरा बढाएको केही समयअघि गरिएको अध्ययनले देखाएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनकाअनुसार विश्वमा खाद्यान्नको मुख्य स्रोत रहेका १ सय वटा खाद्यान्न बालीमध्ये ७१ प्रजातिका बाली परागसेचनका लागि मौरीमा निर्भर हुन्छन् । यसको अर्थ मौरी हरायो भने ती बालीमा फल लाग्ने छैन । यिनले कूल खाद्यान्नबालीको ९० प्रतिशत हिस्सा ओगट्छ्न् । राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जैविक विविधताको क्षयीकरण सार्वजनिक सरोकारको विषय रहेको र परागसेचन गराउने किराहरूको संख्या घट्दै जाँदा वनस्पतिको उत्पादकत्वमा असर पुगेकाले खाद्य असुरक्षाको खतरा बढेको बताएको छ ।
खाद्यान्नको उपलब्धता वा त्यसमा मानिसको पहुच नै खाद्यसुरक्षा हो । कुनै पनि परिवारमा खाद्यान्नको अभाव छैन, भोकमा बाँच्नुपरेको छैन र भविष्यमा पनि भोकमरीको डर छैन भने त्यस परिवारलाई खाद्यसुरक्षित परिवार भनिन्छ । विश्व खाद्य संगठनकाअनुसार अहिले विश्वका ८५ करोडभन्दा बढी मानिस चरम खाद्यसङ्कटको अवस्थामा छन् । झण्डै २ अर्ब मानिसलाई खानका लागि पर्याप्त खाद्यान्न उपलब्ध छैन । विश्वमा अहिले पनि वर्षेनि झण्डै १ करोड मानिसको भोकमरीका कारण ज्यान जाने गरेको छ । त्यसमध्ये ६० लाख बालबालिका छन् । यसअनुसार विश्वमा हरेक दिन भोकमरीबाट १७ हजार बालबालिकाको ज्यान जाने गरेको छ । विश्वका ६० प्रतिशत कुपोषित मानिस एशियामा बस्छन् । यस्ता डरलाग्दा तथ्याङ्कलाई पृष्ठभूमिमा राखेर जनसङ्ख्या वृद्धि तथा खाद्यान्न उत्पादनको विद्यमान अवस्थालाई दाजेर हेर्ने हो भने भविष्यको तस्वीर झनै भयानक देखिन्छ ।
आधुनिकीकरणसँगै कृषिप्रणालीमा भइरहेको परिवर्तन र बढी उत्पादन दिने बीउको विकासमा ध्यानकेन्द्रित भएको छ । यसबाट वर्णशङ्कर बीउ तथा बालीहरू स्थानीय तथा रैथाने बीउहरूमाथि हाबी हुँदै गएका छन् । बालीनालीका अनुवंशको अत्यधिक परिवर्तन वा समायोजन गरिनाले अनुवंश प्रदूषण भई भविष्यमा खाद्यान्न उत्पादन ठप्प हुने खतरा पैदा हुन थालेको छ । अनुवंशको चोरी वा 'बायोपाइरेसी' निम्नवर्गीय किसान तथा गरीब देशहरूका लागि ठूलो खतरा बन्नथालेको छ । यसले स्थानीय बालीका जात लोप हुने, किसानहरू बीउमाथिको अधिकारबाट बञ्चित हुदै जाने र बहुराष्ट्रिय वा विदेशी कम्पनीले खाद्यान्न वा बीउमाथि स्वामित्व कायम गर्ने अवस्था सिर्जना हुदै गएको छ ।
खाद्यान्नको उत्पादन बढाउन हरितक्रान्ति तथा 'जेनेटिकल्ली मोडिफाइड फुड'को उत्पादनको सवाल निकै चर्चाको विषय बन्ने गरेको छ । बढ्दो जनसंख्यालाई पर्याप्त खाद्यान्न पुर्याउन कृषिमा आधुनिकीकरण, वैज्ञानिक पद्धतिको विकास, उत्पादनशील बालीनालीका अनुवंशहरूको विकास तथा घरपालुवा जनावरको नश्ल सुधारजस्ता क्रियाकलाप आवश्यक छन् । तर, कृषिमा आधुनिकीकरणको मुद्दासँगै पर्यावरण तथा जैविक विविधता संरक्षणको सवाललाई पनि भुल्नुहुँदैन । दिगो कृषिबाट खाद्य सुरक्षाको प्रत्याभूतिका लागि पर्यावरणको सुरक्षा आवश्यक शर्त हो ।
लेखक पर्यावरणविद् हुन् ।