शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अनुकूलता वा मृत्यु
माइकेल स्पेन्स
उदीयमान बजारहरूमा आन्तरिक आर्थिक बल, नीति, र बदलिँदो विश्व अर्थतन्त्रको संयुक्त प्रभावले तीव्र तथा दूरगामी परिवर्तन ल्याइरहेका छन् । आर्थिक संरचनाहरूको रूपान्तरण अत्यन्त छिटो भइरहेको छ । त्यसलाई अनुभव नगर्नु भनेको झण्डै असम्भव छ । यद्यपि, त्यस्ता परिवर्तनका जटिलता भने यदाकदा बुझ्नै नसकिने खालका पनि हुन्छन् ।   

यस्तो तरल वातावरणमा बारम्बार त्रुटी भई नै रहन्छन् । सबैभन्दा नोक्सानजनक भनेको आर्थिक वृद्धिको एउटै रणनीतिको सफलतामाथि लामो समयसम्म निर्भर रहनु हो । उदाहरणका लागि तुलनात्मक लाभलाई सहयोग गर्ने खालका नीतिमा यस्तो निर्भरता धेरै लामो हुने गरेको पाइन्छ । अर्थतन्त्रको व्यापारयोग्य क्षेत्रमा तुलनात्मक लाभ परिवर्तन भइरहन्छ, फलस्वरूप संरचनागत परिवर्तन हुन्छ र 'रचनात्मक विनाश' पनि भइरहेको हुन्छ । पहिलेका गरीब मानिएका देशहरू हाल 'मध्यम आम्दानीको सङ्क्रमण’बाट गुज्रिरहेका छन् । उनीहरूले यस्ता परिवर्तनलाई आत्मसात गर्नुको साटो अवरोध गर्छन् । तर त्यसो गर्दा वृद्धि ठयाक्कै नरोकिएता पनि सुस्तिन भने अवश्य पुग्छ ।  

यस्ता परिवर्तनलाई घरेलु र बाह्य निजीक्षेत्रले डोर्याएको हुन्छ तापनि सरकारी नीति र सार्वजनिक क्षेत्रको लगानी प्रवृत्तिले यसमा आवश्यक सहयोगी र परिपूरक भूमिका खेलेको हुन्छ । यी क्षेत्रले पनि आफूलाई समयानूकुल बनाउनुपर्छ । प्रमुख उदीयमान अर्थतन्त्रहरूको लागि वृहत् आर्थिक र मौद्रिक स्थिरताजस्ता नीतिगत संरचना सबैभन्दा उपयुक्त देखिएका छन् । तर त्यसका साथै आगामी सूक्ष्म र वृहत् आर्थिक संरचनागत परिवर्तनको भविष्योन्मुख (यद्यपि, आन्तरिक रूपले अपूर्ण)  सिंहावलोकन र तिनलाई टेवा दिने उपायहरूमा आधारित नीति पनि आवश्यक हुन्छ ।

त्यसो भए, ठूला र विकसित देशले कस्तो नीति अख्तियार गर्दा उपयुक्त होला त ? ऐतिहासिक कारणहरूले गर्दा विकसित देशको नीतिगत मानसिकता कम लचिलो र कम समयानूकुल छ । संरचनागत परिवर्तनलाई दीर्घकालीन नीति अवधारणाको महत्वपूर्ण अङ्गको रूपमा नभई  मूलत: निजीक्षेत्रको विषय मानिएको छ । दोस्रो विश्वयुद्धपश्चात् र अहिलेभन्दा केही अघिसम्म पनि विकसित अर्थतन्त्रहरूले विश्वव्यापी अर्थतन्त्रमा प्रभुत्त्व कायम गरेका थिए । ती विकसित देशमाथि उदीयमान देशहरूको प्रभाव तुलनात्मक रूपले सानो नै थियो, र तिनले अझै पनि विश्वव्यापी अर्थतन्त्रमा भइरहेको तीव्र संरचनागत परिवर्तनअनुरूप आफूलाई ढाल्न बाँकी नै छ ।  

एउटा सानो उदारहण लिउँ : भर्खरै जुलाई ८ मा प्रस्तुत अमेरिकाको रोजगार प्रतिवेदनले दु:खद अवस्थाको चित्रण गरेको छ । धेरैले जस्तै राष्ट्रपति ओबामाले पनि ऋणको सीमा र बजेट घाटा कटौतीले व्यापारिक लगानी वृद्धि र रोजगारबारे रहेको अनिश्चितता समाधान हुने अपेक्षा गरेका छन् । अर्को शब्दमा भन्ने हो भने अमेरिकाको वित्तीय समस्याले के सङ्केत गर्छ भने त्यहाँको आर्थिक पुनर्बहाली निकै कमजोर रहेको छ । चलिरहेको वित्तीय समस्याको सम्बन्धमा सम्झौता गरिसकेपछि सरकारले पछि हटेर समावेशी वृद्धिको प्रवृत्तिलाई पुनर्बहाली गर्न आवश्यक संरचनागत परिवर्तनको नेतृत्व निजीक्षेत्रलाई  हस्तान्तरण गर्नुपर्छ ।

निश्पक्षताका साथ भन्ने हो भने यस्तो दृष्टिकोणका केही अपवाद पनि छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकामा सरकारी, व्यावसायिक र प्राज्ञिक क्षेत्रको गठबन्धनले गतिशील अर्थतन्त्रका लागि आवश्यक मानवीय पूँजी र प्रविधिगत आधार तयार गर्यो । त्यसलाई स्पुत्निक युगपछिको समयमा वैज्ञानिक तथा प्राविधिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धताले झनै मलजल गर्न पुग्यो । जर्मनीमा २००० पश्चात्का सुधारहरूले अर्थतन्त्रको उत्पादकत्व, लचिलोपना र प्रतिस्पर्धात्मकतालाई पुनर्निर्धारण गरेका थिए । जर्मनीको वर्तमान आर्थिक शक्ति र जोखिम बहन क्षमताका लागि ती सुधारले महत्त्वपूर्ण भूमिका खेलेको प्रमाणित भएको छ ।

यस्ता उदाहरण रहँदारहँदै पनि अमेरिकाको कमजोर पुनर्बहाली, कमजोर कुल गार्हस्थ उत्पादनवृद्धि, र रोजगारमा अत्यन्त न्यून सुधारप्रति आर्थिक र वित्तीय टिप्पणीकारहरू चकित देखिन्छन् । वास्तवमा, २००८ को सङ्कटपछि आर्थिक वृद्धिको पूर्वानुमानलाई धेरैपटक तल झारिसकिएको छ ।

त्यसका साथै, राजनीतिक आख्यान पनि समानान्तर रूपले नै चलिरहेको छ । अमेरिकी काङ्ग्रेसको संयुक्त आर्थिक समितिले हालै प्रस्तुत गरेको एक अध्ययन प्रतिवेदनले वर्तमान पुनर्बहालीको तुलनात्मक कमजोरीलाई उजागर गरेको छ । वास्तवमा, वर्तमान अवस्थाको र दोस्रो विश्वयुद्धपछिका अन्य अमेरिकी पुनर्बहालीबीचमा यति भिन्नता छ कि वर्तमान सन्दर्भमा 'पुनर्बहाली’ भन्ने शब्द नै उपयुक्त छैन । तैपनि, अमेरिकी नेताहरूले अर्थतन्त्रको 'चक्रीय’ स्वभावलाई स्वीकार गर्दै कमजोर पुनर्बहालीको अनुमान गरेका छन्, जसका लागि उनीहरू सङ्कटपछिको नीतिगत असफलतालाई दोष दिने गर्छन् ।

त्यसो भन्नु राजनीतिक रूपले सजिलो होला तर वास्तवमा चक्रीय पुनर्बहालीले मात्र नभई तीव्र रूपले परिवर्तन भइरहेको विश्वव्यापी अर्थतन्त्रसँग संरचनागत अनुकूलता स्थापित गर्नेतर्फ भइरहेको ढिलाइले पनि यस्तो भएको हो । उदीयमान देशहरूको आर्थिक वृद्धिका साथै बदलिँदो तुलनात्मक लाभ र शक्तिशाली प्रविधिगत प्रभावसँगको संरचनागत अनुकूलताको अभावले पनि यस्तो भएको हो । यस्ता परिवर्तनको सटीक पूर्वानुमान गर्न गाह्रो अवश्य पनि छ, तर तिनलाई कम महत्वका रूपमा आँक्न भने मिल्दैन ।  

निश्चय पनि २००८ को अधोगमनमा चक्रीय प्रवृत्ति जिम्मेवार रहेको कसैले पनि अस्वीकार गर्न सक्दैन । तर, त्यसका साथै कम्तीमा पनि विगत १५ वर्षदेखिका संरचनागत असन्तुलन पनि जिम्मेवार छन् । वास्तवमा, अमेरिकी अर्थतन्त्रको मुटुमै रहेका त्यस्ता असन्तुलनले नै अर्थतन्त्रलाई फेरि स्वाभाविक चक्रीय प्रक्रियातर्फजानबाट रोकिरहेको छ ।    

आलोचकहरूले सोध्न सक्छन् : यदि यस्ता संरचनागत असन्तुलनले नै वर्तमान कुल गार्हस्थ उत्पादन र रोजगारवृद्धिमा बाधा पुर्याएका हुन् भने सङ्कट अघि ती किन देखापरेनन् त ? त्यसको उत्तर हुन्छ : ती अवश्य पनि देखा परेका थिए, तर वृद्धि र रोजगार तथ्याङ्कमा होइन अन्यत्र देखापरेका थिए । अन्य त्यस्ता सङ्केतलाई या त देख्तै देखिएन, बेवास्ता गरियो अथवा महत्त्वपूर्ण ठानिएनन् ।    

केही त्यस्ता सङ्केत यस प्रकार छन् : अति खपत र अपुग बचत, सम्पत्तिको फोका र उच्चऋण, लगातार र बढदो चालू खाता घाटा (जसले आम्दानी र उत्पादनभन्दा खपत र लगानी बढेको देखाउँछ) तथा अर्थतन्त्रको व्यापारयोग्य क्षेत्रमा गएको २० वर्षमा नगण्य खुद रोजगारवृद्धि । आर्थिक वृद्धिको एकमात्र प्रभावकारी इञ्जिन कुल घरेलु मागमा कमी भइरहेको बेला वस्तु र सेवाको बाह्य व्यापारमात्रै रोजगारको इञ्जिन बन्न सक्दैन ।   

यी सबै सङ्केतहरूलाई बेवास्ता गर्नाले नै सङ्कटपूर्वको समयमा दिगो वृद्धि र रोजगारको भ्रम सृजना भएको थियो । यसबाट नै किन सङ्कटका कारणभन्दा पनि सङ्कटलाई नै दोष दिइँदैछ भन्ने पनि स्पष्ट हुन्छ । जबकि, सङ्कटले त अन्तर्निहित असन्तुलनहरूलाई उजागर गर्दै केहीलाई फुकाउन पनि सजिलो बनाएको थियो ।

हालसालै पिम्कोका प्रमुख कार्यकारी अधिकृत मोहमद अल-एरियनले अमेरिकाले वर्तमान अवस्थाको सम्बोधनका लागि वित्तीय स्थिरता योजना समावेश गर्नुपर्छ भन्दै यस्तो 'वृहत् मोलमोलाई’तर्फसङ्केत गरेका थिए । तर, त्यसका साथै वृद्धि र रोजगारलाई आवश्यक दीर्घकालीन संरचनागत अनुकूलताको गैर-चक्रीय स्वभाव झल्किने नीतिगत संरचनातर्फपनि ध्यान जानु आवश्यक छ ।

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता माइकल स्पेन्स न्यू योर्क विश्वविद्यालयको स्टन स्कूल अफ बिजनेशका अर्थशास्त्रका प्राध्यापक हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डीकेट २०११

Admin 2011-07-24