एउटा सङ्कटले नटरेको विश्वको आर्थिक जोखिम
माइकल स्पेन्स
विश्व अर्थतन्त्रको अहिलेको सबैभन्दा उल्लेख्य विशेषता भनेको यसका सामु आइपरेका बृहत् अर्थतन्त्रात्मक जोखिमको व्यापकता र तिनको अन्तरसम्बन्ध हो । विश्व आर्थिक सङ्कटपछिको समयले छुट्टाछुट्टै गतिमा अघि बढेरहेका अर्थतन्त्रहरूको निर्माण गरेको छ । विकसित अर्थतन्त्रहरू जर्मनीको प्रमुख अपवादलाई छोडेर न्यून आर्थिक वृद्धि र उच्च बेरोजगारीसँग संघर्ष गरिरहेका छन् । ब्राजिल, चीन, भारत, इण्डोनेशिया र रूसजस्ता उदीयमान बजार अर्थतन्त्रहरूले आफ्नो आर्थिक वृद्धिलाई आर्थिक सङ्कटअगाडिकै अवस्थामा ल्याइपुर्याएका छन् ।
आर्थिक वृद्धिको गतिको यस्तो विविधता ती मुलुकको सार्वजनिक वित्त व्यवस्थापनमा प्रतिविम्बित भएको छ । उदीयमान अर्थतन्त्रहरूको ऋण र जीडीपी (कुल गार्हस्थ्य उत्पादन)बीचको अनुपात ४० प्रतिशतभन्दा तलतिर झर्ने क्रममा छ । जबकि, विकसित अर्थतन्त्रहरूमा यो अनुपात औसतमा शतप्रतिशतभन्दा पनि बढ्ने क्रममै छ । यूरोप र अमेरिका दुवैले आफ्ना वित्तीय अवस्थालाई स्थायित्व दिन विश्वसनीय मध्यकालीन योजना प्रस्तुत गर्न सकेका छैनन् ।
यूरो र डलरको विनिमयदरमा देखिएको उतारचढावका कारण आन्ध्र महासागरको कुन किनार (यूरोप वा अमेरिका)मा बढी जोखिम छ भन्ने अझै अनिश्चित छ । यूरोपमा यही अनिश्चितताका कारणले बढी गम्भीर ऋणसङ्कटमा परेका मुलुकहरूको साख मूल्याङ्कन (क्रेडिट रेटिङ) ओरालो लाग्ने क्रममा छ । यसको धक्का पटकपटक यूरो मुद्रालाई परेको छ । यसले अरू यस्तै धक्काहरू सहनुपर्ने हुन सक्छ ।
अमेरिकाको एउटा विश्वसनीय रेटिङ कम्पनी 'मुडीज'ले भर्खरै सार्वजनिक गरेको एक चेतावनीमा त्यस देशको ऋणसङ्कट समाधान नहुने देखाएको छ । अमेरिकी कङ्ग्रेसले ऋण प्रवाहको सीमा बढाउन सक्ने सम्भावनालाई मुडीजले सङ्केत गरेको छ । तथापि कङ्ग्रेसमा लगातारका घाटा बजेटबारे पक्षविपक्षमा तीव्र बहस हुनेछ । अहिलेसम्म ऋणसीमा तोक्ने र घाटा कम गर्ने कुनै विश्वसनीय कार्ययोजना कङ्ग्रेसको बहसमा पनि आउन सकेको छैन ।
अमेरिकाको आर्थिक वृद्धि सामान्य रहेको छ र त्यो वृद्धि मुख्यगरी व्यापार क्षेत्रबाट आएको छ । त्यसमाथि पनि उदीयमान अर्थतन्त्रमा माग भएका वस्तुहरूको व्यापार गरिरहेका क्षेत्रहरूले मात्र यस्तो वृद्धि अनुभूत गर्न पाएका छन् । विगत दुई दशकको अवधिमा व्यापारबाहेकका क्षेत्रले अमेरिकाका प्राय: सबै नयाँ रोजगारीका अवसरहरू सृजना गरेका थिए । तर, अहिले यो क्षेत्र स्थिर अथवा वृद्धिहीन अवस्था खेपिरहेको छ । यसको कारण आन्तरिक मागमा कमी आएको छ र सरकारी बजेट गम्भीर रूपले खुम्चिएको छ । परिणामत: बेरोजगारी दिगो समस्याका रूपमा देखा परेको छ । व्यापार क्षेत्र प्रतिस्पर्धाका दृष्टिले आर्थिक वृद्धि र रोजगारीमा देखिएको कमीलाई सम्बोधन गर्नसक्ने गरी पर्याप्त विस्तार भएको छैन ।
यसको ठीक विपरीत, उदीयमान अर्थतन्त्रहरूको तीव्र आर्थिक वृद्धि र द्रुत शहरीकरणले विश्वव्यापी निवेशलाई बढाइरहेका छन् । यो तथ्य म्याकिन्सी ग्लोबल इन्षिटच्युटको भर्खरैको एक अध्ययनले स्थापित गरेको छ । यसको सम्भाव्य परिणामस्वरूप पूँजीको लागत आउने केही वर्षरूमा ह्वात्तै बढ्नेछ । यसले अहिलेसम्म अर्थतन्त्रलाई लगानी टेवा (लिभरेज) पुर्याइरहेका पक्षहरूमा दबाब पार्नेछ । न्यून ब्याजदरको वातावरणमा अभ्यस्त भएका सरकारले (जो यस्तो टेवा पुर्याउने एउटा पक्ष हो) परिस्थितिमा आएको परिवर्तनलाई याद गर्न नभ्याउँदै सङ्कट आइपर्न सक्छ । निरन्तर रूपमा चालू खाताको घाटामा आधारित आर्थिक संरचना सञ्चालन गरिरहेका मुलुकहरूले बाह्य पूँजी आकर्षित गर्न थप लागत बेहोर्नुपर्छ । यसले उनीहरूलाई टेवा दिने क्षमताको सीमान्तमा पुर्याउनेछ । त्यो बिन्दुमा, उनीहरूको उत्पादकत्व र व्यापार क्षेत्रको प्रतिस्पर्धी क्षमताभित्र रहेका कमजोर पक्ष उजागर हुनेछन् ।
त्यतिखेर अर्थतन्त्रका विविध पक्षबीच समायोजनको आवश्यकता हुनेछ । एउटा विकल्प आन्तरिक वचतबाट लगानीको स्तर बढाएर उत्पादकत्व र प्रतिस्पर्धी क्षमता बढाउने हुन सक्छ । अर्को विकल्पमा, विनिमयदरका कारण सृजना हुने पुन: सन्तुलनमार्फत वास्तविक आम्दानी स्थिर रहन दिन सक्छ । अथवा, अहिले यूरो जोन मुलुकहरूले आफ्नो मुलुकको छुट्टै मुद्रा नहुनका कारणले खेपेको जस्तो आन्तरिक मूल्य सङ्कुचनको स्थिति तेस्रो परिस्थिति वा विकल्प हुनसक्छ ।
विश्व आर्थिक सङ्कटअघि धेरैओटा यस्ता संरचनागत समस्याहरूमा दृष्टि पुगेको थिएन । यसले गर्दा बजार र नीतिनिर्माताहरूले यी समस्यालाई सम्बोधन गर्न ढिलो भयो । अमेरिकामा ऋणले निर्माण गरेका 'एसेट बबल’मा आधारित आन्तरिक उपभोगमा अवास्तविक वृद्धि भयो । यसले रोजगारी र आर्थिक वृद्धिलाई टेवा दियो, तथापि चालूखातामा त्यसले चिन्ताजनक असर पार्यो । धेरैजसो यूरोपेली मुलुकहरूमा कम ब्याजदरको लगानी प्रोत्साहित गरेर घट्दो उत्पादकत्वका कारण सृजित असन्तुलनलाई व्यवस्थित गर्ने प्रयास सरकारहरूले गरे ।
यी सबै दृष्टान्तहरूमा वित्तीय सन्तुलनसम्बन्धी मूल्याङ्कनबारेका पूर्वानुमान गलत थिए । किनभने ती अहिलेकै आर्थिक वृद्धिको मार्गमा स्थायित्व र दिगोपन ल्याउने परिकल्पनामा आधारित थिए । यो अनुमानमा वास्तविक आर्थिक वृद्धि र ब्याजदरको परिस्थिति स्थायी कुरा हो भन्ने मान्यता राखिएको थियो । यसले गर्दा विकसित अर्थतन्त्रहरूमा वित्तीय प्रतिचक्रीय क्षमता (काउण्टर साइक्लिकालिटी) व्यापक रूपले असफल भयो । किनकि घाटबजेट घट्दो आन्तरिक मागलाई सम्बोधन गर्ने कुरामा मात्र सीमित नभएर एउटा दीर्घरोगका रूपमा स्थापित भयो ।
चिनियाँ अर्थतन्त्रको आकार र यसको ब्राजिल, भारत, दक्षिण कोरिया, जापान र जर्मनीमा समेत रहेको स्थापित निर्यात बजारको महत्त्वका कारण यो मुलुकको आर्थिक वृद्धि उदीयमान बजार अर्थतन्त्रहरूका लागि निर्णायक छ । तर, मुद्रास्फीतिले चीनलाई दोहोरो खतारामा राखेको छ । यसले आर्थिक वृद्धिलाई जोखिममा त पार्छ नै, आन्तरिक स्थायित्वलाई पनि खल्बल्याउन सक्दछ । त्यहाँ श्रमबजारमा प्रवेश गर्ने धेरै युवाहरूका लागि आवास किन्नु, आर्थिक क्षमताबाहिरको कुरा भइसकेको छ । सामान्य मूल्य र सम्पत्तिको मूल्यलाई आर्थिक वृद्धिमा असर नपुर्याउने गरी नियन्त्रणमा राख्नु सूक्ष्म सन्तुलन आवश्यक हुने कार्य हो ।
अमेरिकामा जस्तै चीनमा पनि आयमा विद्यमान असन्तुलनले आर्थिक वृद्धिलाई सीमित पार्ने चुनौती यथावत् छ । चीन र अमेरिका दुवैमा रोजगार दिने क्षेत्रहरूलाई सुसञ्चालित वा पुन: सञ्चालित गर्न आवश्यक छ । राजनीतिक उतारचढाव र सामाजिक अस्थिरता नियन्त्रण गर्न यो अपरिहार्य छ । बृहत् मात्राको संरक्षणवाद मात्रै यसको परिणाम हुन सक्दैन । कम्तीमा अहिलेका लागि यस्तो संरक्षणवाद सम्भव छैन । तर, दीर्घकालमा यदि रोजगारी र वितरणका समस्याहरूलाई उपयुक्त ढङ्गले सम्बोधन गरिएन भने यस्तो परिस्थितिमा परिवर्तन आउन सक्छ । अथवा, संरक्षणवाद पुन: ब्यूँतन सक्छ ।
एशियाको हकमा खाद्यवस्तुहरूको बढ्दो मूल्य चिन्ताको विषय हो । यस्तो मूल्यवृद्धि बजार उदारीकरणका कारण पनि भएको छ । एशियामा मध्यपूर्व, दक्षिण अमेरिका र अमेरिकाजस्ता क्षेत्रका तुलनामा सापेक्षत: साधनस्रोतहरू कम भएका कारण पनि जोखिम बढी छ । ऊर्जा सुरक्षा अर्को प्रमुख जोखिम हो । मध्यपूर्वमा हालै देखिएको जनउभारको अनिश्चित परिणामले यस्तो उर्जासङ्कट थप हुने देखाउँछ ।
उदीयमान बजार अर्थतन्त्रहरू विश्वका उज्ज्वल आशा हुन् । विकसित अर्थतन्त्रहरूमा लम्बिँदो पुन:सन्तुलनाका अभ्यासहरू र सुस्त वृद्धि देखिए पनि उदीयमान अर्थतन्त्रहरूको वृद्धि दिगो हुने देखिन्छ । तथापि, जोखिमहरू टाउकोमाथिको घट्टझैं छन् । यूरोप र अमेरिकामा आउने कुनै पनि ठूलो अवनतिले यी उदाउँदा अर्थतन्त्रलाई पनि उल्लेख्य रूपले असर पार्नेछ । उनीहरूको आर्थिक वृद्धिले आफ्नो आर्थिक वृद्धिलाई धान्न सक्नेगरी माग सृजना गर्न सक्ला तर त्यो मागको मात्रा विकसित अर्थतन्त्रहरूको माग घटेर सृजना हुने ठूलो खाडललाई पुर्नसक्ने स्तरको भने हुने छैन । बजारले यस्ता व्यापक जोखिमहरूको संयुक्त प्रभावलाई कम गर्न जोखिम खण्डीकरणको नीति लिन सक्छ । तर, अहिलेका जोखिमहरूको व्यापकता र तिनको अन्तरसम्बन्धलाई हेरेर ढुक्क हुन सक्ने परिस्थिति छैन । तथापि, सबै मुलुकहरूको त्यस्ता जोखिमलाई तत्काल घटाउने कुरामा दृढ चासो छ । आशा गरौं, यी जोखिमबारेको सजकताले राष्ट्रिय नीति निर्माणमा तदारुकता थप्नेछ । र, जी-२० र अन्य अन्तरराष्ट्रिय सङ्घसंस्थाहरूलाई नीति समन्वयमा सुधार ल्याउन सहयोग पुग्नेछ ।
अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता माइकल स्पेन्स न्यूयोर्क विश्वविद्यालयअन्तर्गतको स्टन स्कूल अफ बिजिनेसका अर्थशास्त्रका प्राध्यापक हुन् । कपीराइट : प्रोजेक्ट सिण्डिकेट ।
Admin 2011-06-23