नेपालको खानी विकासमा जातीय आयाम
डा. प्रेम शर्मा
नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुक हो । भौगर्भिक, जैविक एवम् प्राकृतिक सम्पदाले भोलिको नेपाल समृद्ध र सम्पन्न छ । तर, मानव संसाधन, प्राविधिक क्षमता एवम् शीपमूलक शिक्षा र ज्ञानको अभावले हालसम्म पछि परिरहेको छ । झण्डै ४०-५० वर्षपहिले आर्थिक रूपमा नेपालको हाराहारीमा रहेका मुलुकहरू- दक्षिण कोरिया, मलेशिया, थाइल्याण्ड, भारत, श्रीलङ्का, पाकिस्तान आज धेरै अगाडि बढिसकेका छन् । हाम्रो सरकारको राजनीतिक प्रणाली र अशिक्षित एवम् पिछडिएको मानसिकताले हामी दिनानुदिन पछि परिरहेका छौं ।
आजभन्दा झण्डै १ सय वर्षपहिले हामी आफ्नै देशका धातुजन्य खानी, नून र पशुपालनका उत्पादनले आत्मनिर्भर थियौं । तर, आज ती दैनिक उपभोग्य वस्तुहरू विदेशबाट आयात गर्नु परिरहेको छ । हामीले हाम्रो खानीसम्बन्धी शीपलाई परिष्कृत गर्दै लैजानुको सट्टा आयातलाई प्रोत्साहन गरेकाले यस्तो अवस्था आएको हो । खानी उत्खननमा संलग्न विभिन्न जातिहरूको पेशाको संरक्षण र संवर्द्धन गर्न सकेको भए नेपालको खानी विकास आज निकै उन्नत
भइसकेको हुन्थ्यो ।
पश्चिम नेपालको विशेषगरी धवलागिरिमा छन्त्याल, कामी, आफ्रे, मगर तथा थकाली जातिहरू खानीसँग सम्बन्धित थिए । तीमध्ये फलाम, तामा, शिशा खानीहरूमा कार्यरत छन्त्याल जाति र उनीहरूको योगदान निकै थियो । तर, अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।
हुन त नेपालमा ठाउँ विशेष र मानवबस्तीअनुसार विभिन्न जातजातिहरू आआफ्नो आवश्यकताअनुसार विभिन्न खानी धातु उत्पादन गर्ने मालिक तथा ज्यालादारीका रूपमा संलग्न भएको भेटिन्छन् । धवलागिरी अञ्चलका म्याग्दी, गुल्मी, पर्वत र बाग्लुङ क्षेत्रका दलित (कामी, आफ्रे, विक), मगर र थकाली जातजातिहरू यही काम गरी एकअर्काबीच घनिष्ट र अन्तरनिर्भर रहेका भेटिन्छन् । खासगरी म्याग्दी र बाग्लुङमा जहाँ छन्त्याल जातिको बसोवास छ, ती ठाउँको नाममा 'खानी वा 'बाङ' अवश्य जोडिएको हुन्छ । जस्तै : म्याग्दीका कुइनेखानी, सङ्गलेखानी, मल्काबाङखानी, गुर्जाखानी, मच्छयामखानी, थाडाखानी/पाखापानी, छापखानी/ओखरबोट र बागलुङ जिल्लाका- लामेला, तमान, खुङ्खानी, नर्जाखानी, बोङ्खानी, लेखानी, पाण्डवखानी, राङखानी, शिशाखानी, घैयाखानी, दमेक आदि । पर्वतको फलामखानी, भोगसिङखानीलगायतका ठाउँमा विशेषगरी यी जातिको बसाइ र विगतका खानीहरूसँग प्रत्यक्ष सम्बन्ध रहेको भेटिन्छ । विगतमा छन्त्याल, थकाली र दलित जातिबीचको सम्बन्धबाट खानीको विकास भएको देखिन्छ । खानीको प्राविधिक, लगानीकर्ता तथा बजार व्यवस्थापक र खानीको उत्पादन धातुलाई प्रशोधन गर्ने काममा यी समुदायहरू प्रत्यक्ष संलग्न रहेको प्रमाण हाल पनि बाग्लुङ र म्याग्दीका खानी, उल्लेखित बस्ती र गाउँहरूमा भेटिन्छन् ।
हिजो आज ती छन्त्यालबस्तीहरूमा थकाली जाति त कमै भेटिन्छन् । तर, विक र छन्त्याल जातिहरू खेती किसानी गरेर बसिरहेका छन् । थकालीहरू बढी बाठा र व्यापारिक स्वभाव भएका कारण खानीको काम छाडेर अन्यत्र लागे । २००७ सालपश्चात् छन्त्याल र कामीहरू अलपत्र परे र तिनै खानी वरिपरि बसोवास गर्नथाले ।
छन्त्यालहरूको भाषा गुरुङहरूसँग बढी मेल खाने हुन्छ । स्वभाव र आनीबानी भने मगरसँग मिल्छ । तर, यिनीहरूको आफ्नै भाषा, प्राकृतिक धर्म छ । यिनीहरूको १३ थर र सामाजिक प्रणाली थकालीसँग मिल्छ । मामा, फुपू, चेलाचेली बिहे गुरुङसँग मिल्छ । तर, मगरहरूसँग आपसमा सोलिडोली (बिहे) गर्ने गरेको उनीहरू बताउँछन् । उनीहरूको परम्परागत पेशा र ज्ञानका कारण खानीका प्राकृतिक इञ्जिनीयर (मुसा)का रूपमा लिन सकिन्छ । तर, आज विज्ञान र प्रविधिले आम क्षेत्रमा परिवर्तन ल्याएका कारण उनीहरूको परम्परागत खानी पेशा र औजारहरूले साथ दिएन । नयाँ राज्यको शासन प्रणाली, नयाँ रोजगार प्रणाली आदिले विगतमा सञ्चालित ती खानीहरूको खासै अर्थ रहेन । सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्यामा छन्त्यालहरू शून्य दशमलव शून्यढ ३५ प्रतिशत मात्रै छन् ।
छन्त्यालका पुर्खाहरूले आफूहरूलाई आवश्यक पर्ने भाँडावर्तन प्राय: फलाम र तामाबाट बनाउँथे । खानी र खनाइमा प्रयोग हुने औजार स्थानीय खानीबाटै निकालिएको धातुबाट बनेको हुन्थ्यो । मच्छिम खानीका बूढापाकाका अनुसार उनीहरूको टाउकोमा विशेष खालको उज्यालो निस्कने झुसको टोपी लगाएर खानीभित्र छिर्थे । स्थानीय रूपमा पाउने कच्चापदार्थलाई सङ्कलन र प्रशोधनबाट त्यो टोपी तयार हुन्थ्यो । खानीबाट निकालिएको धाउलाई स्थानीय स्तरमै पगालेर धातु उत्पादन गरिन्थ्यो ।
२०३४/३५ सालसम्म पनि बाग्लुङ लुकुरवनमा केही छन्त्याल तथा कामीहरूले स्थानीय खानीमा काम गरेर जीविकोपार्जन गरिरहेका थिए । तर, राणा सरकार र त्यसपछिका सरकारहरूले खानी बन्द गर्ने उर्दी जारी गरेपछि उनीहरूको पेशा सङ्कटमा पर्दै गएको थियो । केही छन्त्याल र कामीहरूले आफ्नो आवश्यकताअनुसार लुकीछिपी खानीबाट धातु निकाल्ने गरेको कुरा स्थानीय बासिन्दा बताउँछन् ।
आज चेतनाको विकासले थकाली समुदायले आफ्नो परम्परागत पेशामा आमूल परिवर्तन गरेको छ । थकालीहरू व्यावसायिक रूपमा सफल भई राजधानी तथा विदेशमा समेत ख्याति कमाइरहेका छन् । उनीहरूले सुविधासम्पन्न र उच्चस्तरको विलासी जीवन बिताइरहेका छन् । तर, ती छन्त्याल र कामीहरू, जो कुनै बेला आफ्नो समाज तथा राज्यलाई खानी खन्ने इञ्जिनीयरका रूपमा थिए, पहाडका विकट बस्तीहरूमा अलपत्र र जीवन निर्वाहका लागि संघर्षरत छन् । खासगरी दलितहरू त झन् अरू जातजातिको तुलनामा धेरै पछि परिसकेका छन् । बाग्लुङ जिल्लाको पश्चिम क्षेत्रका दलितहरूको जीवनपद्धति र आर्थिक स्थितिका बारेमा थप अनुसन्धानकै आवश्यकता छ । तर, उनीहरूको जीवनस्तरमा पनि क्रमश: परिवर्तनहरू देखिँदै जान थालेका छन् । छुवाछूत प्रथा अन्त्य गर्ने नयाँ मुलुकी ऐनको निर्माण तथा बहुदलीय व्यवस्थाले ल्याएको चेतनाका कारण पनि उनीहरूको जीवनस्तर सुध्रिँदै जान थालेको हो । दशवर्ष माओवादी युद्धका कारण ती क्षेत्रका दलितहरू पनि विदेश पलायन हुन बाध्य भए । यसले पनि दलित समुदायमा क्रमश: परिवर्तनका किरणहरू देखापर्न थालेका छन् । हाल बुर्तिबाङ बजारका निजी तथा आवासीय विद्यालयहरूमा पढ्ने दलित विद्यार्थीको सङ्ख्या निकै बढ्नुले पनि यसलाई पुष्टि गर्छ । हाल बुर्तिबाङ बजारमा घडेरी किन्ने प्रतिस्पर्धामा दलितहरू अगाडि रहनुले पनि यसलाई पुष्टि गर्दछ । त्यसैले ठूलो सङ्ख्यामा रहेको दलित जातिको चेतनामा क्रमश: सकरात्मक परिवर्तन आउनु खुशीको सन्देश हो ।
तर, देशमा दिगो शान्ति स्थापना होला, एउटा शान्तिपूर्ण राजनीतिक व्यवस्थाको थालनी होला र आम नेपाली जनजीवन विकसित र समृद्ध बन्न सक्ला भन्ने चाहना चाहनामै सीमित छ । यसो हुँदा देशमा उपलब्ध स्रोतसाधनको संरक्षण र अधिकतम उपयोगतर्फ राज्यको ध्यान जान सकेको छैन । निजीक्षेत्रले पनि खानीमा लगानी गर्न उत्साह देखाएको छैन । यसबाट देशको प्राकृतिक स्रोतसाधनको प्रयोगबाट हामी आत्मनिर्भर हुने र विदेशीको भर पर्नु नपर्ने दिन कहिले आउला ? यो प्रश्नमै सीमित छ । छन्त्याल र दलितहरूले विगतमा आफ्ना पुर्खाले अपनाएको पेशामा पुन: घाम लाग्छ कि भन्ने अपेक्षा गरेका छन् । लघु जलविद्युत्का कारण गाउँघरमा झलमल बिजुलीबत्ती बलेको छ । डोजरले गह्रापाखा भत्काएर गाडी नगुड्ने नै भए पनि बाटो बनाइदिएको छ । गाउँपिच्छे प्राथमिक तथा माध्यमिक विद्यालयहरूको सुविधा पुगेको छ । रेडियो तथा टेलिफोन-मोबाइलका कारण सञ्चारको विकास तीव्र भएको छ । यसलाई अझ सञ्चारको उग्र अतिक्रमण नै भन्न सकिन्छ । यसले ग्रामीण क्षेत्रमा परम्परागत रूपमा खानीमा संलग्न मानिसहरूको मस्तिष्कमा धेरै खुलदुली ल्याएको छ । उल्लिखित डेढ दर्जन खानीसँग नाम जोडिएका छन्त्याल र अन्य जातिहरू पुन: आफ्नो पुर्खाको पेशामा आधुनिकता र विकास आउँछ कि भन्ने सपना देखिरहेका छन् । सम्भवत: यो चासो सपना नभई कुनै दिन विपना बनिदिएमा राम्रो हुने थियो । आशा एवम् विश्वास गरौं- ती छन्त्याल र दलितबस्तीहरूमा सूर्योदय होस् ।
लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् ।
Admin 2011-09-26