सहकारी दर्ता नीतिमा स्पष्टता
डा. विश्वमोहन आचार्य
पछिल्लो समय नेपालमा सहकारीका सम्बन्धमा विभिन्न किसिमका चर्चा परिचर्चा, गुनासा, लेखरचना, भाषण, मन्तव्य, वक्तव्य आदि हुने गरेका छन् । सहकारीमा विभिन्न किसिमका विकृति भित्रिएका तथा सहकारी आन्दोलन गलत दिशातिर जान लागेको भनेर धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर, मूल्य, मान्यता र सिद्धान्तअनुरूप चलेका र चल्ने सहकारीको विपक्षमा कोही पनि छैनन् । सहकारी आफैमा स्वच्छ, सुन्दर, हितकारी र फलदायी हुन्छ । तर, सहकारी अमूर्त अवधारणा हो । त्यसैले सहकारीका नाममा सञ्चालक र सदस्यहरूले केकस्ता क्रियाकलापहरू गर्छन्, त्यसैका आधारमा सहकारीको मूल्याङ्कन गर्नुपर्छ ।
समाजका सबै मानिसहरूले एक्लै आफ्ना समस्या समाधान, शीप प्रवर्द्धन, उद्यमशीलता अभिवृद्धि र पूँजी परिचालन गर्न सक्दैनन् । यस्तो अवस्थामा समान आयस्तर, ज्ञान, पूँजी, उद्देश्य र आकाङ्क्षा भएका व्यक्तिहरू मिली सहकार्यका आधारमा स्थानीय स्रोतसाधन, शीप र पूँजीको अधिकतम परिचालन गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्नु सहकारीको मुख्य उद्देश्य हो । तर, नेपालमा दुइथरिका सहकारीहरू प्रचलनमा छन्, जुन विश्वमा अन्त कतै पनि छैनन् । एक प्रकारका सहकारीहरू विश्वव्यापी मान्यता र सिद्धान्तअनुरूप सदस्यहरूमा आधारित छन् । अर्काथरि भने लगानीमा आधारित सहकारी छन् ।
सदस्यमा आधारित सहकारीहरू न्यून वा सीमान्त आय वर्ग भएका व्यक्ति, कृषक, कालीगढ, मजदूर, कर्मचारीहरू र लघुउद्यमीहरूबाट स्थापित र परिचालित छन् । लगानीमा आधारित सहकारीहरूमा पूँजीपति वर्ग, वर्तमान र पूर्वउपल्लोस्तरका प्रशासक, बैङ्कर, शिक्षक, प्राध्यापक, राजनीतिकर्मी र टाठाबाठाहरूको बाहुल्यता र नियन्त्रण भएको देखिन्छ ।
सदस्यमा आधारित सहकारीको सामुदायिक विकास, ग्रामीण विकास र समग्रमा राष्ट्रिय विकासमा ठूलो टेवा र योगदान रहन्छ । लगानीका आधारमा स्थापित सहकारीमार्फत केही सीमित व्यक्ति (लगानीकर्ता)लाई मात्र टेवा पुग्दछ । त्यसले गर्दा सेवाको नाममा ससाना बचतकर्ता, उत्पादकहरूबाट बचत सङ्कलन र उत्पादन खरीद गरी उनीहरू (लगानीकर्ता) झन्झन् मोटाउँदै गएको देखिन्छ ।
यस्ता छद्म, अवास्तविक र सीमित व्यक्तिहरू (सहकारीको आवश्यकता नभएका) सम्मिलित सहकारीका कारण संस्था सहकारी वा कम्पनी के हो छुट्टयाउन गाह्रो छैन । सहकारीमा कम्तीमा एक शेयर लिनैपर्ने कानूनी प्रावधानले मात्र शेयर लिनुपरेको हो । अन्यथा अन्य सहकारीहरूबाहेक बचत तथा ऋण सहकारीमा शेयरको खासै महत्त्व छैन । किनभने बचत तथा ऋण सहकारीमा सहकारीका सदस्यहरूले नियमित बचत गर्ने र सङ्कलित बचतबाट विशेषतः आयमूलक काममा आफ्ना सदस्यहरूलाई लगानी गर्नुपर्ने देखिन्छ । तर, अन्य सहकारीमा सहकारी स्वयम्ले व्यवसायमा लगानी गर्नुपर्ने हुँदा शेयरको महत्त्व छ ।
हालका केही वर्षहरूमा सहकारीमा 'सदस्य' नभनी 'शेयर सदस्य', 'शेयर धनी', 'अंशियार' र यसभन्दा विचित्र किसिमले 'सभासद्' शब्दसमेत प्रयोग गरेको देखिन्छ । यसबाट कतै सहकारीलाई कम्पनी वा राजनीतिक सङ्गठनका रूपमा हेरिएको त छैन भन्ने शङ्का उब्जिएको छ । यसतर्फ पनि सबैको ध्यान जानु उत्तिकै जरुरी छ ।
हाल नेपालमा २० हजारभन्दा बढी सहकारी संस्था दर्ता भएका छन् । यति छोटो समयमा यति धेरै संस्थाहरू दर्ता हुनु अचम्मलाग्दो विषय हो । किनभने नेपालजस्तै अन्य मुलुकहरूमा सहकारी दर्ता प्रक्रिया यति धेरै सरल छैन । अन्य मुलुकमा सामान्यतया सदस्यहरूको भेलाको निर्णय पुस्तिका, विनियमजस्ता कागजातहरूका आधारमा मात्र सहकारी दर्ता गरिँदैन । त्यसमा प्रस्ताव गरिएका सदस्यहरू सहकारीको विनियममा उल्लेख गरिएका उद्देश्य र कार्यअनुरूपको पेशामा संलग्न छन् कि छैनन् ? त्यो हेरेर सम्भाव्यताका आधारमा सहकारीको दर्ता गरिन्छ ।
सहकारी (विशेषतः शहरबजारमा स्थापित) जसका लागि हुनुपर्ने हो, उसका लागि नभई हुनेखानेको हातमा पुगेको र विकृति-विसङ्गति पनि देखिएको गुनासाहरू नेतृत्ववर्गबाटै गर्ने गरिएको छ । तर, व्यवहारमा तिनै स्वपदधारी व्यक्तिहरू त्यस्तै प्रकारका सहकारीको निमन्त्रणामा धक फुकाएर जान्छन्, सहयोगको याचना गर्दछन् । सहकारीको मूल्यमान्यता र सिद्धान्तविपरीत काम गर्नेहरूलाई निरुत्साहित गर्नुपर्नेमा प्रोत्साहित गर्छन् । यसबाट पनि छद्म सहकारीहरूले संरक्षण प्राप्त गर्दै आएका छन् ।
चाहे पुरुषबाट सञ्चालित सहकारी हुन् वा महिलाबाट वा महिला-पुरुष दुवैबाट- महत्त्वाकाङ्क्षा सबैमा बढेको छ । सहकारीमा सेवाका लागि होइन, नेतृत्व, अवसर र व्यक्तिगत फाइदाका लागि लाग्नेहरूको वर्चस्व कायम भएको छ । सही र छद्म सहकारी छुट्टयाउन कठिन छैन । संस्थाको प्रचारप्रसार गर्ने, विभिन्न पत्रपत्रिकामा विज्ञापन दिई आफूले गर्ने सेवाको प्रचारप्रसार गर्ने (उत्पादक सहकारीबाट उत्पादित वस्तुहरूको विज्ञापनजस्ता अपवादबाहेक), यति शेयर खरीद गरे यति तोला सुनको सिक्का वा अन्य सामान दिने आदिआदि गर्नेहरू वास्तविक रूपमा छद्म सहकारी हुन् ।
सहकारी सदस्यकेन्द्रित बन्द-व्यवसाय भएको हुँदा आफ्ना सदस्यहरूको आवश्यकता र चाहनामा आधारित भएर व्यवसाय गर्नुपर्छ । सहकारीले सेवाका लागि तडकभडक गरिरहनु पर्दैन । तर, सहकारीले गरेका क्रियाकलापहरूबारे समयसमयमा आफ्ना सदस्यहरूलाई जानकारी दिनुपर्दछ ।
नेपालको परिप्रेक्ष्यमा के पनि देखिएको छ भने, खेतीपाती नगर्ने र गाईवस्तु नपाल्ने कृषि सहकारीको नेतृत्वमा छन् । सहकारीको नेतृत्व तहमा छुट्टै इलम भएका र गैरउद्यमीको बाहुल्यता रहेको छ । यो समस्या अहिलेलाई थोरै मात्रामा देखिएको हुन सक्छ । तर, यही सिलसिला रहिरहने हो भने कालान्तरमा यो अझै बढ्ने र समस्या विकराल हुने निश्चित छ ।
नेपालमा सहकारीको सही विकासका लागि सम्बन्धित सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्दछ । ऐन-कानूनमा भएका कमीकमजोरीलाई समयमै सच्च्याउनुपर्छ । त्यसका लागि ऐननियम संशोधन गर्नुपर्ने भए त्यो पनि गर्नुपर्छ । नियमन, मूल्याङ्कन अनुगमन, दण्डजरीवानाको व्यवस्था प्रभावकारी हुनुपर्छ । देशले सहकारीका सम्बन्धमा स्पष्ट नीति बनाउनुपर्छ । सहकारीको दर्ता प्रक्रियामा नै कडाइ गरी अन्य मुलुकमा जस्तै सही व्यक्ति मात्र सहकारीको सदस्य बन्न पाउनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गराउनुपर्छ । यस कार्यमा सम्बन्धित निकायहरू हातेमालो गरी अघि बढ्न सकेमा निश्चय नै सहकारीको नकारात्मक पक्षप्रति औंला ठडयाउनुपर्ने अवस्था आउँदैन ।
लेखक राष्ट्रिय सहकारी बोर्डका सदस्यसचिव हुन् ।
Admin 2011-02-21