शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सर्वोत्तम लगानीः कम लागत धेरै सामाजिक लाभ
व्योर्न लोम्बर्ग
कलकत्ताको पूर्वी किनारमा बस्ने २५ वर्षिया दुल्लु बीबी चार सन्तानकी आमा हुन् । उनी आफ्ना दुइ बिरामी छोराको उपचार्रखर्च कसरी जुटाउने भन्ने चिन्तामा छिन् । उनका पति दिनको ८०/९० भारू कमाउँछन् । परिवारले खाने गरेको खानामा बच्चाहरूलाई हुर्कन अत्यावश्यक सूक्ष्मपोषक (माइक्रोन्युटि्रएन्ट) को अभाव छ । दुल्लुका ३ र १ वर्षका दुइ छोरा कमजोर, ज्वरो पीडित, पाचनप्रणली बिग्रेका र रुन्चे छन् । उनीहरू कुपोषणग्रस्त भएकाले चाँडै बिरामी पर्छन् । १ सय ५० देखि २ सय भारू ओखतीमै खर्च हुन्छ । त्यसैले पोषिलो खाना खाने सुझाव दिँदा दुल्लु प्रश्न गर्छिन्- 'म के खाने र बच्चालाई के खुवाउने ?’

दुल्लुको कथा पनि त्यति नै हृदयविदारक छ जति मुटु चर्काउने परिस्थिति विकासशील देशका दुल्लुजस्ता ३ अर्ब मानिसको छ । उनीहरूको खानामा भिटामिन 'ए’ र जिङ्कजस्ता अत्यावश्यक सूक्ष्मपोषकको कमी छ । साथै, उनीहरू झाडापखालाजस्ता सामान्य रोगबाट पनि चाँडै आक्रान्त हुन्छन्  । विकासशील देशमा प्रत्येक वर्ष झण्डै २० लाख केटाकेटीको झाडापखालाबाट मात्रै मृत्यु हुने गरेको छ ।

सूक्ष्मपोषकको कमी हुने अवस्थालाई 'लुकेको भोक’ पनि भन्ने गरिन्छ । त्यस्तो व्याख्या एकदमै उपयुक्त पनि छ, किनभने विकसित देशमा त्यसबारे खासै चर्चा हुँदैन । यसका लागि सहयोग जुटाउन महत्त्वपूर्ण हुने सञ्चारमाध्यम र सेलिब्रेटीहरू पनि यस्तो विषयमा खासै चासो दिँदैनन् । फलस्वरूप यस्तो क्षेत्रमा सहयोग पुर्याउन आवश्यक रकम जम्मा हुँदैन ।

यसको अर्को एउटा महत्त्वपूर्ण पाटो पनि छ । प्रत्येक वर्षथुप्रै व्यक्ति तथा संस्थाले सहायता र विकासका लागि भनेर अर्बौं डलरको अनुदान दिन्छन् । र, त्यो खर्च पनि हुन्छ । यस्तो उदारता व्यापक देखिए पनि अझै विश्वका सबै ठूला समस्या हल गर्न आवश्यक पर्ने पर्याप्त स्रोतको अभाव छ । मानवीय ऐक्यबद्धताको ठूलाठूला दाबी गरिने अहिलेको समयमा थोरै स्रोतले धेरै काम हुनुपर्ने अति विपन्न क्षेत्रमा अतिरिक्त स्रोत उपलब्ध गराउनु एक नैतिक दायित्व भएको छ । यस्तो सामाजिक कार्यमा सरकार तथा मानवतावादीहरूले दिने ठूला बजेटले मात्र होइन, हामीले दिने गरेको चन्दाको सानो रकमले पनि महत्त्वपूर्ण योगदान गर्न सक्छ ।

कोपनहेगन कन्सेन्सस सेण्टरले २००८ मा विश्वप्रख्यात अर्थशास्त्रीहरूलाई हाम्रो यो पृथ्वीग्रहलाई मद्दत पुर्याउने 'लगानी’ पहिचान गर्न भनेको थियो । पाँच जना नोबेल पुरस्कार विजेतासमेत रहेको विशेषज्ञ टोलीले ७५ अर्ब डलर खर्च हुने अनुमान गरिएका  ३० ओटा परियोजनाको तुलनात्मक अध्ययन गरेको थियो । तीनमा कुपोषण घटाउने, वायुप्रदूषण कम गर्ने, शैक्षिक अवसर फराकिलो पार्ने, विश्वव्यापी तापमान वृद्धिदर घटाउने, द्वन्द्व रोक्ने, रोगविरुद्ध लड्ने, पानी तथा ढल निकासको पहुँचमा सुधार ल्याउने, व्यापार तथा आप्रवासी आगमनमा बाधा घटाउने, आतङ्कवादको सामना गर्ने तथा लैङ्गिक समानता स्थापना गर्नेलगायतका परियोजना थिए ।
 
त्यो विशेषज्ञ टोलीले प्रत्येक परियोजनामा लाग्ने खर्च तथा त्यसबाट हुने फाइदाको लेखाजोखा गरेको थियो । त्यो अभ्यासले त्यस्तो परियोजनामा गरिएको लगानीलाई उत्तम लगानी ठहर्यायो, जसमा थोरै लगानी गर्दा पनि स्वास्थ , उन्नति तथा सामुदायिक लाभ सृजनामा उल्लेख्य योगदान पुग्न सक्छ । तिनमा खोप कार्यक्रमलाई अझ विस्तार गर्ने, स्कूल छाड्ने दर घटाउने, समुदायमा आधारित पोषणको अभिवृद्धि गर्ने तथा सूक्ष्मपोषकका औषधि (सपलमेण्ट) बाँड्नेजस्ता परियोजना पहिचान गरिएका  थिए ।  

दुल्लु बीबीको जस्तो परिवारलाई अत्ति उपयोगी हुने सूक्ष्मपोषक औषधिसम्बन्धी परियोजना अति सस्तो पनि छ । एउटा बच्चालाई एक वर्षसम्म चाहिने भिटामिन 'ए’ को खर्च मात्र १ दशलमव २ डलर पर्न आउँछ । त्यसैगरी मात्र १ डलरले वर्षभरि चाहिने जिङ्कको खर्च पुग्छ ।

सानो लगानीले पनि ठूलो प्रभाव पार्ने क्षेत्रको पहिचान भएपछि उक्त कार्यक्रमले मानवतावादी संस्था तथा सरकारहरूको ध्यान आकर्षित गर्न  सफल  भयो । यही जनवरीभित्रै कोपनहेगन कन्सेन्सस सेण्टरले 'अनुदान निर्देशिका’ (गाइड टु गिभिङ) प्रकाशित गर्दै छ । त्यसमा सरकारी कोष अथवा चन्दा कोषजस्तो ठूलो रकम नहुँदा पनि हामी सबैले कसरी विशेषज्ञहरूले दिएका ती सुझावको उपयोग गर्न सक्छौँ  भन्ने विषयलाई समेटेको छ ।

कतिपय मानिसहरू प्राथमिकता निर्धारणको आवश्यकतालाई नै अस्वीकार गर्दछन् । तर, त्यो त गर्नुपर्ने नै हुन्छ । केही परियोजना तथा मुद्दाले धेरै प्रचार, पैसा र ध्यान पाउँछन् । कोपनहेगन कन्सेन्ससले एउटा आधार प्रदान गरेको छ । त्यसै आधारमा उभिएर हामी सानो 'लगानी’ ले पनि विभिन्न क्षेत्रमा ठूलो योगदान पुर्याउने सम्बन्धमा निर्णय लिन सक्नेछौं ।

कस्तो संस्थालाई चन्दा दिने त ? ती जसले वर्तमानमा जीवन बचाउने काम गरिरहेका छन् ? कि भविष्यको पुस्तालाई फाइदा हुने शिक्षाजस्तो क्षेत्रमा लगानी गर्नलाई हामी प्रायः यस्ता रोचक नाराहरू सुन्ने गर्र्छौं 'शिक्षाविना कुनै भविष्य छैन’ अथवा 'पानीविना कोही पनि बाच्न सक्दैन’ । तर, कुन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने निर्णय गर्न सजिलो छैन । धेरै मानिस अहिले पनि उचित शिक्षा तथा सफा पिउने पानीविना नै जीवन बिताउन बाध्य छन् ।

त्यसैले १० डलर मात्र पनि अतिरिक्त चन्दा थप गर्दा मानिसहरूको ठूलो भलाइ हुने परियोजनाको कसरी छनोट गर्ने भन्ने विषयमा त्यो विशेषज्ञ टोलीले ठूलो मेहनतसाथ अध्ययन गरेको थियो । कार्बन सन्तुलन परियोजनामा लगानी गर्ने कि सूक्ष्मपोषक औषधी बाँड्ने चन्दाकोषलाई अनुदान दिने ? भन्नेबारे टोलीले दिएको निष्कर्षप्रष्ट छ ।

व्यक्ति, समुदाय तथा देशहरूलाई हुने फाइदालाई मौद्रिक रूपान्तरण गरेर हामी ती दुइ विकल्पको छनोट गर्न सक्छौँ । कोपनहेगन कन्सेन्ससका विशेषज्ञ अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार विश्वव्यापी तापमान वृद्धि नियन्त्रण गर्न गरिने कार्बन सन्तुलन (कार्बन अफसेट) तुलनात्मक रूपले प्रभावहीन हुन्छ । अर्थात् त्यसरी गरिएको १० डलरको लगानीले ३ डलरबराबरको मात्र जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिलाई जोगाउँछ । तर, हामीले अहिले १० डलर भिटामिन 'ए’ सपलमेण्टमा खर्च गर्यौं भने भविष्यमा १ सय ७० डलरभन्दा बढीको स्वास्थ्य तथा दीर्घकालीन उन्नति पाउन सकिन्छ ।

यसबाट  एउटा निष्कर्ष के निकाल्न सकिन्छ भने, विश्वव्यापी तापमान वृद्धिले कुपोषणजस्ता समस्या झनै बढाउन सक्छ । तर, पर्याप्त पोषण पाएका समुदायलाई जलवायुसँग सम्बन्धित खतराको कम जोखिम हुन्छ । समग्रमा भन्ने हो भने सूक्ष्मपोषक सपलमेण्ट, भिटामिन, फोर्टिफिकेशन, बायोफोर्टिफिकेशन तथा पोषणसम्बन्धी जनचेतनाजस्ता प्रत्यक्ष हस्तक्षेपकारी कदमबाट सबैभन्दा प्रभावकारी सहयोग गर्न सकिन्छ ।

दुल्लु बीबीका अर्बौं कथा छन्, त्यसैगरी अर्बौंको सङ्ख्यामा अन्य कथाहरू पनि छन् । अर्थशास्त्रका सामान्य सिद्धान्त अपनाउँदा पनि व्यक्ति, सरकार तथा मानवतावादीलगायत हामी सबैका उदारताले ठूलो भलाइ सुनिश्चित गर्न सकिनेछ ।
द स्केप्टिकल इन्भारोन्मेष्टलिष्ट तथा कुलर् इटका लेखक लोम्बर्ग कोपनहेगन कन्सेन्सस सेण्टरका प्रमुख तथा कोपनहेगन बिजनेश स्कूलका एजन्कट प्रोफेसर हुन् ।