शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

उदीयमान अर्थव्यवस्था उच्च जोखिममा
डा.कमलराज ढुङ्गेल
करीब ३० वर्ष पहिले विश्व बैङ्कमा कार्यरत आन्तोइन भान आग्तमाइलले उदीयमान अर्थव्यवस्थाका राष्ट्रहरूको समूहलाई 'इमर्जिङ मार्केट' भनी नामकरण गरेको थिए । यस समूहअन्तर्गत चीन तथा पूर्वी एशियाका मुलुकहरू, भारत, रूस तथा पूर्वी यूरोपका मुलुकहरू, अर्जेण्टिना, ब्राजिल र दक्षिण अफ्रीकालगायत अन्य धेरै विकासोन्मुख देशहरू पर्दछन् । समयको अन्तरालसँगै यी मुलुकहरूको आर्थिक वृद्धिदर तीव्र गतिले बढिरहेको छ । तीन दशक पहिले यी राष्ट्रहरूको कुल गार्हस्थ्य उत्पादनले विश्वको एक तिहाइ भाग ओगटेको थियो । तर, आज यो हिस्सा आधाभन्दा बढी भएको छ । यी राष्ट्रहरूको कुल गार्हस्थ्य उत्पादनले विश्वभरिको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत हिस्सामा अधिकार जमाएको छ ।

यसबाट के भन्न सकिन्छ भने यी राष्ट्रहरू उच्च तापीय जोखिमबाट मुक्त हुन सकेका छैनन् । हालसालै 'दि इकोनोमिष्ट’ भन्ने साप्ताहिक पत्रिकाले यी राष्ट्रहरूमा हुन सक्ने उच्च तापीय जोखिमको मापनसम्बन्धी अध्ययन गरेको थियो । उच्च तापीय जोखिमको मापनका निम्ति यस अध्ययनले ६ ओटा छुट्टाछुट्टै आर्थिक चरहरूको प्रयोग गरेको थियो । उसले प्रयोग गरेका चरहरूमा मूल्य स्फीतिदर, कुल गार्हस्थ्य उत्पादन, बेरोजगारी दर, आर्थिक ऋण, वास्तविक ब्याजदर र बाह्य सन्तुलन थिए । यी प्रत्येक चरहरूको छुट्टाछुट्टै सूचाङ्क तयार गरी यसैको आधारमा उच्च तापीय जोखिमको मापन गरिएको छ । यी प्रत्येक चरको सूचाङ्कको कुल जोडबाट प्राप्त परिणामको आधारमा उच्च तापीय जोखिमको मात्राको निर्धारण गरिन्छ । यसै तथ्यका आधारमा उदीयमान अर्थव्यवस्थाअन्तर्गतका मुलुकहरूको अनुक्रमको निर्धारण गरिएको छ । अर्थिक रूपले उदाउँदा मुलुकको यी सबै सूचाङ्कको कुल योग १ सय हुँदा सो मुलुक उच्च तापीय जोखिमको खतरामा परेको मानिन्छ । यसको अर्थ यी आर्थिक चरहरूको सूचाङ्कको कुल जोडले कुन राष्ट्र उच्च तापीय जोखिमको कति खतरामा छ भन्ने तथ्य पत्ता लगाउँछ । यी आर्थिक चरहरूको सूचाङ्कले इङ्गित गरेको जोखिमका आधारमा ती अर्थतन्त्रहरूलाई पुन: वर्गीकरण गरिएको छ । यसो गर्दा शून्यले न्यून, एकले मध्यम र दुईले उच्च तापीय जोखिम सङ्केत गर्दछ । यदि कुनै एउटा आर्थिक चरको वृद्धिदर ५ प्रतिशतभन्दा बढी छ भने त्यसलाई अङ्क दुईले सम्बोधन गरिन्छ । उक्त मान शून्य र पाँच प्रतिशतको बीचमा रहेको अवस्थालाई एकले र शून्य प्रतिशत हुँदा शून्यले सम्बोधन गरिन्छ । शून्य भन्नुको अर्थ तापीय जोखिम मुक्त वा न्यून जोखिमको अवस्था हो । यही मान्यताका आधारमा उदाउँदो आर्थिक वृद्धिदर हासिल गरिरहेका मुलुकहरूको तापीय जोखिम कति छ भनेर निर्धारण गरिन्छ । यो तापीय जोखिम निर्धारण गर्ने व्यक्तिगत आर्थिक चरहरूको छुट्टाछुट्टै वर्णनतल गरिएको छ ।

मूल्य स्फीतिदर : अति विकसित मुलुकहरूको तुलनामा तीव्र आर्थिक उदय भएका मुलुकहरूमा मूल्य स्फीति अधिक रहेको छ । मे २०११ मा यस समूहअर्न्तगतका देशहरूमा औसत मूल्य वृद्धिदर ६७ प्रतिशत रहेको छ । तर, यी देशहरूमा औसत मूल्य  वृद्धिदरको दायरा भने छुट्टाछुट्टै रहेको छ । उक्त अवधिमा ताइवानमा यो दर १ दशमलव ७ प्रतिशत रहेको छ भने भियतनाम, भेनेजुएला र अर्जेण्टिनामा २० प्रतिशतभन्दा बढी रहेको छ । चीनमा यो दर २ दशमलव ४ प्रतिशत मात्र रहेको छ किनभने यसमा खाद्यवस्तुहरू र ऊर्जाका साधनको मूल्य वृद्धिदर भने समावेश गरिएको छैन । ब्राजिल र भारतमा यो दर क्रमश: ५ दशमलव ५ र ८ प्रतिशत रहेको छ । दि इकोनोमिष्ट पत्रिकाका अनुसार क्षमताभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरिरहेका उदीयमान मुलुकहरूको श्रमबजार अत्यन्त सङ्कुचित हुनुका साथै ती मुलुकहरूमा मूल्य, ज्याला र खाद्यवस्तुको मूल्य स्फीतिदर अत्यन्त धेरै रहेको तथ्य पुष्टि भएको छ ।

कुल गार्हस्थ्य उत्पादन : उदीयमान आर्थिक अवस्था भएका देशहरूको उच्च तापीय जोखिमको मापन गर्ने दोस्रो आर्थिक चर कुल गार्हस्थ्य उत्पादन हो । यसको मापन उक्त मुलुकहरूको सन् २००७ पछि औसत वद्धिदरको आँकडाका आधारमा गरिएको छ । अर्जेण्टिना, ब्राजिल र भारतको आर्थिक वृद्धिदर लामोसमयमा भएको आर्थिक विकासको वृद्धिदरभन्दा बढी छ । अर्थात् यी राष्ट्रहरूको आर्थिक वृद्धिदर अत्यन्त तीव्र गतिले बढिरहेको छ । तर, चीनको हालैको वृद्धिदर भने उसले दीर्घकालमा हासिले गरेको वृद्धिदरको ट्रेण्डभन्दा कम रहेको अध्ययनले देखाएको छ । यसरी दीर्घकालीन आर्थिक वृद्धिदर हासिल गर्नुको मुख्य कारण भने यी राष्ट्रहरूले पहल गरेको समसामयिक सुधारको परिणाम हो भन्न सकिन्छ ।

बेरोजगारी दर : उच्च तापीय जोखिमको मापन गर्ने तेस्रो आर्थिक चर उदीयमान अर्थव्यवस्थामा रहेको बेरोजगारीको वृद्धिदर हो । अर्जेण्टिना, ब्राजिल, इण्डोनेशिया र हङकङमा बेरोजगारीदर १० वर्षको औसतभन्दा कम रहेको छ । ब्राजिलमा यो दर अन्य मुलुकहरूको तुलनामा धेरै कम रहेको छ । तर, ज्यालादरमा भने तीव्ररूपमा वृद्धि भइरहेको कुरा उक्त अनुसन्धानले सार्वजनिक गरेको छ ।

अधिक ऋण : अधिक ऋण ६ ओटा आर्थिक चरमध्यको एउटा प्रमुख चरका रूपमा रहेको छ । अधिक ऋण प्रवाहले सम्पत्ति तथा जायजेथाको मूल्यमा तीव्र गतिमा उतारचढाव गराउँछ । यसले वस्तु तथा सेवाको मूल्यमा पनि अत्यन्त तीव्र गतिमा वृद्धि गराउँछ । बैङ्कहरूले प्रवाहित गरेको ऋणको वृद्धिदर र प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरको अन्तर नै अधिक ऋण हो । यी राष्ट्रहरूमा बैङ्क तथा वित्तीय संस्थाहरूको तीव्र विकास भइरहेको हुन्छ । समग्रमा यिनीहरूले प्रवाह गरेको ऋणको वृद्धिदर प्रचलित मूल्यमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरभन्दा बढी हुन्छ । अर्जेण्टिना, हङकङ, ब्राजिल र टर्कीमा ऋण प्रवाहको वृद्धिदरले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाई उछिनिरहेको छ । यस अध्ययनले समेटेका २७ देशमध्ये १० ओटा देश जस्तै : रूस, दक्षिण अप्रिmका, इजिप्ट, चिलीलगायतमा बैङ्क ऋण प्रवाहको वृद्धिदर कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरभन्दा कम रहेको छ ।

वास्तविक ब्याजदर : अध्ययनमा समावेश गरिएका उदीयमान देशहरूमध्ये आधाभन्दा बढीमा वास्तविक ब्याजदर ऋणात्मक रहेको छ । यी देशहरूमा वास्तविक मागको मात्रामा कमी आउनुले नै यसो हुनुको प्रमुख कारण हो भन्न सकिन्छ । वास्तविक ब्याजदर ऋणात्मक भएका १५ मुलुकहरूमध्ये भारत, भियतनाम, अर्जेण्टिना तथा हङकङ प्रमुख रहेका छन् । वास्तविक ब्याजदरमा भएको ऋणात्मक वृद्धिदरको नकारात्मक असर ऋण प्रवाह गर्ने क्षमता तथा वस्तु तथा सेवाको मूल्यमा पर्दछ । वास्तविक ब्याजको वृद्धिदर ब्राजिलमा ६ प्रतिशत रहेको छ जुन विश्वकै सबैभन्दा बढी हो । चीनमा यसको वृद्धिदर धनात्मक रहेको छ ।

बाह्य सन्तुलन : चालू खातामा भएको घाटा उच्च तापीय अवस्थाको उदाहरण हो  । बाह्य सन्तुलनमा घाटा हुँदा वस्तु तथा सेवा पूर्तिको तुलनामा घरेलु माग बढी हुन्छ । सन् २०१० मा टर्कीको चालू खातामा ८ प्रतिशत घाटा देखिएको छ, जुन २००९ मा २ प्रतिशत मात्र थियो । ब्राजिल र भारतको चालू खाताको घाटाले वस्तु तथा सेवाको मागमा वृद्धि हुने सङ्केत गरेको छ ।

निष्कर्षमा यस अध्ययनले के देखाएको छ भने अध्ययनमा समावेश गरिएका २७ राष्ट्रहरूमध्ये सातओटा अर्जेण्टिना, ब्राजिल, हङकङ, भारत, इण्डोनेशिया, टर्की र भियतनाम उच्च तापीय जोखिमको ८० प्रतिशतभन्दा बढी खतरामा रहेका छन् । ४०-८० प्रतिशत बीचमा उच्च तापीय जोखिममा रहेका १२ ओटा मुलुकहरू सिङ्गापुर, थाइल्याण्ड, इजिप्ट, पेरु, फिलिपिन्स, चिली, चीन, कोलम्बिया रहेका छन् । त्यसैगरी आठओटा राष्ट्रहरू रूस, दक्षिण अफ्रीका, चेक रिपब्लिक, मेक्सिको, पाकिस्तान, ताइवान, मलेशिया र हङ्गेरी ४० प्रतिशतभन्दा कम उच्च तापीय जोखिममा परेका छन् ।
लेखक त्रिभुवन विश्वविद्यालयका   अर्थशास्त्रका प्राध्यापक हुन् ।
Email : kamal.raj.dhungel@gmail.com

Admin 2011-07-25