स्थानीय बालीको व्यावसायिकतामा सहकारी
डा. विश्वमोहन आचार्य
नेपालमा सहकारी विभिन्न क्षेत्रमा क्रियाशील छन् । यसमध्ये बहुउद्देश्यीय, कृषि, उपभोक्ता, बचत तथा ऋण र पछिल्लो समयमा यातायात, सञ्चार, सूचना, विद्युत् आदि सहकारीको दर्ता र सञ्चालन तीव्र हुँदै आएको छ ।
हाल देशका कुल सहकारीमध्ये बचत तथा ऋण सहकारी मात्रै झण्डै ५० प्रतिशतको हाराहारीमा छन् । तर, यसको औचित्य पुष्टयाइँमा अझै मेहनत गर्नुपर्ने देखिन्छ । यस्ता सहकारीले लगानीका आधारमा सर्वसाधारणसँग समेत कारोबार गरी केही लगानीकर्तालाई मुनाफा दिलाउने मात्रै काम गरिरहेका छन् । शहरबजारमा मात्रै खुल्ने ठूलाठूला साइनबोर्ड झुण्डयाउने यस्ता सहकारीको प्रवृत्ति नै हो । यस्ता सहकारीले बैङ्क तथा वित्तीय संस्थाको झलक दिने कार्य गरिरहेका छन् ।
नेपाल कृषिप्रधान देश हो र ६७ प्रतिशतभन्दा बढी जनता कृषिमै संलग्न छन् । तर पनि नेपालको कृषि पछौटे अवस्थामा नै रहिरहेको छ । कृषिको व्यावसायीकरणका लागि सहकारी उत्तम विकल्प भएको विश्वव्यापी रूपमा स्थापित भइसके पनि नेपालमा त्यस्तो देखिएको छैन ।
नेपालमा कृषि सहकारीको विकास केही मात्रामा भए पनि त्यो पर्याप्त छैन । कुनै पनि क्षेत्रबाट कृषि सहकारीको क्षेत्र र आयामबारे स्पष्ट खाका प्रस्तुत हुन सकेको छैन । अझै पनि कृषिक्षेत्र भन्नाले खाद्यान्न बाली उत्पादन, मलखाद, कीटनाशक औषधि आदिलाई मात्र हेरिँदै आएको छ ।
कृषि सहकारीका धेरै क्षेत्र र बहुआयाम विद्यमान छन् । तर पनि त्यसतर्फन त सरकार, न सहकारीकर्मी, न त नीतिनिर्माताहरूको नै दृष्टि पुग्न सकेको छ । राजनीतिक नियुक्ति पाएर सहकारीका नेतृत्वदायी संस्था हाक्नेको ठूला गफ र अदूरदृष्टिको कुरै नगरौं । यस्ता मानिसहरूको हालीमुहाली रहेसम्म सहकारी क्षेत्रले अपेक्षित भूमिका निर्वाह गर्ने सम्भावना कमै छ । योग्य अर्थात् यस क्षेत्रलाई बुझेका तथा सृजनशीलता भएकाहरूले नेतृत्वदायी भूमिका नै पाउँदैनन् ।
आज हाम्रो मुलुक पनि जलवायु परिवर्तनबाट क्रमश: प्रभावित हुँदै गएको छ । यसले गर्दा एकातिर समयमा वर्षात् नहुने अर्कोतिर असमयको वर्षाले गर्दा बाढी, पहिरो, प्राकृतिक विनाश, खाद्यान्न र अन्य उत्पादनमा कमी, खाद्यसुरक्षा र वितरणका चुनौतीहरूको सामना राष्ट्रले गर्नुपरेको छ ।
जलवायु परिवर्तनबाट सुरक्षित हुन वर्षेनि करोडौं रुपैयाँ खर्चिनुपरेको छ । कृषि उत्पादनमा समेत यसको नकारात्मक प्रभाव अत्यन्तै धेरै परेको र पर्ने देखिन्छ । यदि कृषिका नयाँ क्षेत्र र विद्यमान आयामको पहिचान र परिचालन गर्न सकेमा धेरै हदसम्म जलवायु परिवर्तनको असर र खाद्य न्यूनताको समस्याबाट हामी मुक्त हुन सक्नेछौं । सहकारीका माध्यमबाट अहिलेसम्म हेपिएका र वास्ता नगरिएका बालीहरूको विकास गरी यस्तो सफलता हासिल गर्न सकिन्छ ।
कोदो, मकै, जुनेलो वा फापरजस्ता अन्नलाई कुअन्न वा गरीबको खान्कीका रूपमा चित्रित गर्ने र त्यहीअनुरूपको व्यवहार गर्ने काम हुँदै आएको छ । वास्तवमा यी अन्न गरीब जनताको खाना र रक्सीजाँडजस्ता मादक पदार्थ बनाउन मात्रै प्रयोग हुँदै आएको छ ।
हामीकहाँ यसको समुचित उपभोग र उत्पादनमा ध्यान पुग्न सकेको छैन । तर, सहकारीमार्फत यी खाद्यान्नको उत्पादन, प्रशोधन तथा उपयुक्त बजार व्यवस्था गर्नसके उपभोक्ता मूल्य कायम भई खाद्यसुरक्षाका साथै गरीबी न्यूनीकरणमा ठूलो टेवा पुर्याउन सक्दछ ।
अहिले शहर बजारका हुनेखानले यी अन्नको ढिँडो खान पाउँदा गर्व गर्न थालेका छन् । यी अन्नमा हुने पौष्टिक तत्त्वका बारेमा बढ्दो जनचेतनाका कारण यस्तो भएको हो । तर, यी अन्न उत्पादनमा गरीब किसान मात्र संलग्न हुने भएकाले उच्पादकत्व बढ्न सकेको छैन । यी बाली उत्पादन गर्ने किसानलाई कृषि सहकारीमा आबद्ध गराएर उत्पादन बढाउन सकिन्छ । यी बालीको उत्पादन व्यावसायिक रूपमा गर्न सकिन्छ । आधुनिक रूपमा यी बालीको प्रशोधन, विक्रीवितरण र बजार व्यवस्था गर्नुमा सहकारीको योगदान महत्त्वपूर्ण हुन सक्छ ।
यी बालीको उत्पादन वषर्ा कम हुने सुक्खा क्षेत्रमा समेत राम्रो हुन्छ । यदि खडेरी परी नै हाल्यो भने पनि यी बालीको उत्पादनमा त्यति धेरै नकारात्मक असर हुँदैन । त्यसैले यी बालीको व्यावसायिक खेती गर्न सके खाद्यसकङ्टलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ ।
यसैगरी यी बालीहरूका डाँठबाट हस्तकलाका सामान समेत उत्पादन गर्न सकिन्छ । त्यसबाट उद्यम र उद्यमशीलताको विकासमा ठूलो टेवा पुग्न सक्दछ । सामान्य किसानमा उद्यमशीलताको विकास गर्न सके दिगो आर्थिक विकासमा ठूलो टेवा पुग्छ ।
स्थानीय स्रोत, साधन, शीप, ज्ञान र दक्षताको सम्मिश्रण गरी यस्ता बालीहरूको उत्पादन, प्रवर्द्धन, विकास र संरक्षणमा सहकारीको प्रवेश उत्पादनमूलक हुन सक्छ । यस कार्यमा सरकारको संरक्षण, नीतिनिर्माताहरूको दूरदृष्टि तथा सर्वसाधारणको सोचाइमा परिवर्तन आवश्यक छ । यसो हुन सक्दा कुअन्न वा गरीबको भोजनको साटो 'हाम्रो भोजन'का रूपमा यी बालीलाई स्थापित गराउन सकिन्छ । यसबाट गरीबी न्यूनीकरणका लागि अलापविलाप गरिरहनु पनि पर्दैनथ्यो । 'नजिकको तीर्थ हेला' भनेजस्तै हामीले स्थानीयस्तरमा भएका स्रोतसाधन र ज्ञानको प्रयोगमा ध्यान दिन सकेका छैनौं । अब यसतर्फ पनि ध्यान दिन जरुरी भइसकेको छ । यदि त्यसो गर्न सकेको खण्डमा गरीबी न्यूनीकरण भई 'गरीब' शब्दको प्रयोग गरिरहनुपर्ने अवस्था नै आउँदैनथ्यो कि ? अत: यस्ता बालीहरूको उत्पादन, संरक्षण, प्रवर्द्धन, प्रशोधन र विक्रीवितरणमा सहकारीले विशेष ध्यान पुर्याउनुपर्छ ।
सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा क्रियाशील भनिएका निकायहरूले पनि यस कार्यमा सक्रियता देखाउनु आवश्यक छ । यसो गर्न सकियो भने मात्रै सहकारीको मूलभूत लक्ष्य र कार्य पूरा हुन सक्नेछ । 'नेपालमा ग्रामीण कृषि र सहकारी संस्थाहरू' विषयमा विद्यावारिधि गरेका लेखक राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक हुन् ।
इमेल : bmacharya60@yahoo.com
Admin 2011-09-27