एचआईभीविरूद्धको लडाइँबारे पुनर्विचार
ब्योर्न लोम्बर्ग
तीस वर्षअघि, लस एञ्जलसका पाँच युवा समलिङ्गीलाई एचआईभी/एड्स भनिने रोगले आक्रमण गरेपछि विश्वलाई पहिलोपटक त्यसको खतराबारे जानकारी भयो । आज उक्त रोगले साँच्चै नै विश्वव्यापी प्रभाव पारेको छ । यस रोगका कारण वार्षिक १८ लाख मानिसको मृत्यु हुने गरेको छ । यो वाशिङटन डीसीको जनसङ्ख्याको तीन गुणा बढी हो ।
निश्चय पनि १९८१ पछि निकै महत्त्वपूर्ण वैज्ञानिक प्रगति भइसकेका छन् । यसअघि जानकारीमा नआएको रेट्रोभाइरसले एड्स गराइरहेको र त्यस्तो भाइरस मुख्यत: यौन सम्पर्कबाट सङ्क्रमण भइरहेको वैज्ञानिकहरूले पत्ता लगाए । उनीहरूले बिरामीको एचआईभी स्तर र रोगको अवस्था मापन गर्ने परीक्षण पनि पत्ता लगाए । त्यसैगरी, उनीहरूले एचआईभी सङ्क्रमणलाई दीर्घकालसम्म थेग्न सक्ने एण्टिरेट्रोभाइरल औषधिको पनि विकास गरे ।
यस्ता विकासका साथै रोगका कारण हुने अपहेलना र भेदभाव घटाउन नीतिनिर्माता, मानवअधिकार अभियन्ता र एचआईभी/एड्स सङ्क्रमित व्यक्तिहरूले निकै संघर्ष गरेका छन् । साथै, एचआईभीको उपचार र रोकथामका लागि निकै ठूलो मात्रामा खर्च गरिएको छ । सन् २००८ सम्म न्यून र मध्यम आम्दानीयुक्त देशमा एचआईभी कार्यक्रमका लागि उपलब्ध स्रोत १२ वर्षअघिको भन्दा ५० गुणाले बढी थियो ।
तर, यस्तो महत्त्वपूर्ण प्रगति हुँदाहुँदै पनि एचआईभी/एड्सबाट हुने क्षति अझै निकै पीडादायी छ । अझै पनि वार्षिक २४ लाख थप मानिस यस रोगबाट सङ्क्रमित हुने गरेका छन् भने ३ करोड ४० लाख एचआईभी/एड्स पीडितको जीवन रक्षाका लागि उपचारको आवश्यकता छ । विकसित देशहरूमा एचआईभी/एड्सविरूद्धको लडाइँ जितिसकियो भन्ने व्यापक भ्रम छ । तर, यथार्थमा सङ्कटमा कम दृष्टिगोचर भएको मात्रै हो ।
अफ्रिकाको सब-सहारा क्षेत्रमा विश्वको १० प्रतिशत जनसङ्ख्याको मात्र बसोबास छ जबकि
विश्वका ७० प्रतिशत एचआईभी/एड्स पीडितहरू त्यस क्षेत्रमा बस्छन् । अफ्रिकाभरि नै उक्त रोगले राष्ट्रिय आयको औसत वृद्धिदरलाई प्रत्येक वर्ष२ देखि ४ प्रतिशत बिन्दुसम्म घटाइरहेको अनुमान छ ।
बर्नहार्ड स्वार्टल्याण्डरले नेतृत्व गरेको यूएन-एड्सका अनुसन्धानकर्ताहरूले एचआईभीको रोकथाम, उपचार, हेरचाह र सहाराका लागि सन् २०१५ सम्ममा कम्तीमा वार्षिक २२ अर्ब डलर आवश्यक पर्ने हिसाब गरेका थिए । यूएन-एड्स र केइजर फयामिली फाउण्डेशनको आँकडाअनुसार २०१० मा दाताहरूले एचआईभी रोकथाम, उपचार, हेरचाह र सहाराका लागि ६ अर्ब ९० करोड डलर दिएका थिए, जुन २००९ को भन्दा १० प्रतिशतले कम हो । विश्वव्यापी वित्तीय सङ्कट र 'दाताको थकान'का कारण यसो भएको हो । डेनमार्क, जर्मनी, नेदरल्याण्ड, नर्वे, स्पेन, स्वीडेन, अमेरिका र यूरोपेली आयोग सबैले आफ्ना खर्च घटाइसकेका छन् ।
दु:खलाग्दो यथार्थ के हो भने २०१५ सम्ममा २२ अर्बको वार्षिक कोष प्राप्त गर्नु व्यावहारिक रूपले असम्भव छ । त्यसैले अर्को प्रश्न सोधिनु आवश्यक छ, हालको रकममा अलिकता मात्र वृद्धि गरेर हामी के नै हासिल गर्न सक्छौं ? कोपनहेगन कन्सेसस सेण्टर र रश फाउण्डेशनले गर्न लागेको नयाँ परियोजना रिथिङ्क एचआईभी त्यसैबारे हो ।
सहायता उपलब्ध गराउनेका प्रमुख प्राथमिकता के हुनुपर्छ भन्नेमा धेरै किसिमका मत छन् । किनभने यस विषयका विकल्प पनि धेरै छन् । हामीले यस सन्दर्भमा एकदमै अलग किसिमले हेर्ने अफ्रिकाभरिका एचआईभी पीडितसँग कुराकानी गर्यौं । केन्याको कावाङ्ग्वारेका ३८ वर्षीय इस्थरले सामाजिक नीतिमा अझ बढी सुधारबारे निकै भावनात्मक तर्क गरिन् । उनले भनिन्, 'मलाई लाग्छ एचआईभीले मात्रै मार्दैन । यससँगै आउने अपमान र तनावले पनि छिटो मृत्यु गराउँछ ।’ तर, ताञ्जानियाको मुङ्गुशीस्थित २८ वर्षीया रेहेमाले भने आर्थिक सहायताले सबैभन्दा ठूलो फरक पार्ने बताइन् । 'पेटमा खाना नभई र म कहाँ ओत लाग्ने भन्ने चिन्ताबीच एण्टिरेट्रोभाइरल औषधि खान निकै कठिन हुन्छ ।’
रिथिङ्क एचआईभीमा हामीले विश्वका केही प्रमुख एचआईभी अर्थशास्त्री, महामारीविद् (इपिडिमियोलोजिष्ट) र जनसङ्ख्याविद्लाई आबद्ध गरेका छौं । तिनको अनुसन्धानले यस विषयमा निकै महत्त्वपूर्ण थप जानकारी उपलब्ध गराउनेछ । अनुसन्धानकर्ताका समूहले महामारी नियन्त्रणका प्रभावकारी उपायबारे १८ ओटा कार्यपत्र लेखेका छन् । उनीहरूले केकस्ता कुरा प्रभावकारी हुन्छन् र अप्रिmकाका अन्य भागमा के लागू गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेका छन् ।
उनीहरू सबैले आफ्ना प्रस्तावित समाधानको लागत र फाइदाको हिसाब गरेका छन्, जुन उनीहरूले विश्वस्तरीय पाँच अर्थशास्त्रीसमक्ष प्रस्तुत गर्नेछन् । तीमध्ये तीन नोबेल पुरस्कार विजेता हुनेछन् । ती नोबेल विजेताले यसका आधारमा पत्ता लगाउने कुराले यस विषयमा थप वित्तीय स्रोत जुटाउने सबैभन्दा प्रभावकारी उपायतर्फ सङ्केत गर्नेछ । विश्वव्यापी चुनौती सम्बोधनका लागि प्रत्येक ४ वर्षमा आयोजना गरिने 'कोपनहेगन कन्सेसस’को प्रक्रिया पनि यही हो । अबको कोपनहेगन कन्सेन्सस सन् २०१२ मा आयोजना हुँदै छ । यस सम्बन्धमा आधारभूत सिद्धान्त निकै सरल छ : उही रकमलाई दुईपटक खर्च गर्न सकिन्न । एकथरी आयोजनाका लागि खर्च भइसकेको अर्बौं डलर फेरि अन्यत्र खर्चिन सकिन्न । त्यसो भए शुरूमा कता खर्च गर्नु सबैभन्दा राम्रो हुन्छ ? प्राय: यस्तो सजिलो प्रश्न सोधिँदैन । किनभने त्यसो गर्नुको अर्थ थुप्रै लोकप्रिय रणनीतिबीच छनोट गर्नु हुन्छ, जसका आ-आफ्नै उत्साही समर्थक हुन्छन् ।
कतिपय विकल्पको प्रभावकारिता औंल्याउँदै वा थप अनुसन्धान गरिनुपर्ने नीतिगत छनोटतर्फ सङ्केत गर्दै यो नयाँ अनुसन्धान र नोबेल विजेताहरूको निष्कर्षले दातालाई निर्णय गर्न सहयोग गर्नुका साथै सर्वाधिक महत्त्वपूर्ण कार्यक्रमको पहिचान गर्न सजिलो बनाउनेछ ।
एचआईभी/एड्स पत्ता लागेको ३० वर्षपछि हामीले अभूतपूर्व वैज्ञानिक र नीतिगत विकास देखिसकेका छौं । तर, एचआईभी/एड्स अझै पनि करोडौंका लागि दैनिक चिन्ताको विषय रहेको छ । त्यसैगरी, यसले विकास प्रक्रियालाई अवरुद्ध गर्नुका साथै थुप्रै जीवनलाई नष्ट गरेको छ । चासो र पैसा दुवै घटिरहेको अवस्थामा यस रोगविरुद्ध हामीले लागत-लाभ विश्लेषणबाट प्राप्त पाठलाई आफ्नो हतियार भण्डारमा थपेर लडाइँ जारी राख्न सक्छौं ।
ब्योर्न लोम्बर्ग 'स्केप्टिकल इन्भाइरोन्मेण्टलिष्टँ र 'कुलईट’का लेखक, कोपनहेगन कन्सेसस सेण्टरका प्रमुख तथा कोपनहेगन बिजनेश स्कूलका एडजङ्क्ट प्रोफेसर हुन् ।
साभार: प्रोजेक्ट सिण्डिकेट, २०११
Admin 2011-09-28