चीनको आर्थिक वृद्धिको प्रवृत्ति परिवर्तन
माइकल स्पेन्स
चीन मध्यम आम्दानी भएको देशको स्तरबाट विकसित देशको स्तरमा पुग्ने सङ्क्रमणमा छ । जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, सिङ्गापुरलगायत तुलनात्मक रूपले कमैमात्र एशियाली देशले दिगो उच्च आर्थिक वृद्धिदरका साथै सफलतापूवक त्यस्तो सङ्क्रमण पार गरेका छन् । चीनजस्तो विशाल आकार र विविधता भएको कुनै पनि देशले विश्वमै पहिलोपटक त्यस्तो सफलता हासिल गर्ने भएको छ ।
गत महीना अनुमोदित चीनको १२औं पञ्चवर्षीय योजनाले त्यस किसिमको मार्गचित्र प्रस्तुत गरेको छ । तर, उक्त मार्गचित्र वास्तविक योजना नै भने होइन । बरु यो अर्थतन्त्रको संरचनागत विकासलाई टेवा दिने उद्देश्यले ल्याइएको नीतिगत प्राथमिकताको सञ्जाल हो । त्यसबाट योजनाको अवधि र त्यसपछि पनि तीव्र आर्थिक विकास कायम गर्न सहयोग पुग्नेछ ।
त्यसैले आन्तरिक र बाह्य दुवै दृष्टिकोणले उक्त मार्गचित्र महत्त्वपूर्ण छ । विश्वका उदीयमान अर्थतन्त्रहरूको आर्थिक वृद्धि अब चीनमा निर्भर रहेको छ । जापान, दक्षिण कोरिया, भारत र ब्राजिललगायतका प्रमुख अर्थतन्त्रहरूका लागि चीन प्रमुख निर्यात साझेदार भइसकेको छ । चीनको नयाँ पञ्चवर्षीय योजनामा कम्तीमा पनि पाँचओटा महत्त्वपूर्ण सङ्क्रमण अवस्था छन् :
>अर्थतन्त्रको वृद्धि प्रवृत्ति वा आपूर्ति पक्ष सम्बद्ध संरचना परिवर्तन गर्ने: किनभने श्रम खर्च बढ्नुका साथै विकसित देशहरूको वृद्धि अनिश्चित समयसम्मका लागि सुस्तिन सक्छ
>लगानी र निर्यातको साटो घरेलु खपतमा जोड दिएर मागलाई पुन:सन्तुलन गर्ने
>तीव्र शहरीकरण भइरहेको जनसङ्ख्यालाई समायोजन तथा सुसम्बद्ध गर्ने, सामाजिक परिवर्तनको प्रक्रिया सुनिश्चित गर्नका लागि उत्प्रेरणाको संयन्त्र विकास गर्ने
>समावेशीकरण र समान अवसर प्राप्तिका लागि आवश्यक संस्थाको निर्माण गर्ने
>स्थिरता, वृद्धि र दिगोपनाका साथै जलवायु परिवर्तनलाई सम्बोधन गर्ने दिशामा अन्तरराष्ट्रिय दायित्व बहन गर्ने ।
चीनका लागि चुनौती भनेको कार्यान्वयन पक्ष हो, जसको अर्थ सुधार र प्रणालीगत परिवर्तन गर्नुपर्ने हुन्छ । देशहरू धनी हुँदै जाँदा योजना र बजारबीचको सन्तुलन क्रमश: बजारको पक्षमा सर्दै जाने देखिएको छ । आर्थिक वृद्धिको संवाहक संरचनागत विकास क्रमश: बजारका अवसर र उद्यमशील प्रेरणाबाट निर्देशित हुन्छ । त्यसका लागि थुप्रै नयाँ व्यवसायहरूको सृजना गर्नुपर्ने हुन्छ ।
यस्तो परिवर्तनलाई टेवा दिन धेरै किसिमको व्यवस्था मिलाउनुपर्ने हुन्छ । व्यापारयोग्य क्षेत्रमा रहेका श्रमप्रधान उद्योगलाई घट्न दिनुपर्छ । त्यति हुँदा पनि कतिपय कम्पनीहरूले आफूलाई जोगाई राख्नेछन् । तर, त्यसका लागि उनीहरूले अन्तरराष्ट्रिय अर्थतन्त्रका विभिन्न क्षेत्रमा स्थानान्तरण हुनुपर्नेछ अथवा घरेलु बजारमा मूल्य अभिवृद्धि सञ्जाललाई माथितिर लानुपर्नेछ । विनिमय दरको सङ्ख्यात्मक र वास्तविक वृद्धिले संरचनागत परिवर्तनलाई प्रवर्द्धन गर्नेछ । तर, त्यसका साथै कमजोर मुद्रा नीतिले अप्ठयारोमा पार्नेछ ।
बचतका नयाँ अवसर सृजना गर्न तथा नयाँ र बढ्दै गइरहेका व्यापारलाई चाहिने ऋण तथा पूँजीको कुशल आपूर्तिका लागि वित्तीय क्षेत्रको विकास गर्नै पर्छ । निर्यात क्षेत्रमा शीप तथा मूल्य अभिवृद्धिको संरचनामा सुधार भए तापनि ग्रामीण जनसङ्ख्यालाई शहरतर्फ आकर्षित गर्न चीनले त्यसो गर्नु आवश्यक छ । घरेलु, शहरी र व्यापारयोग्य सेवा क्षेत्रमा धेरैजसो यस्ता रोजगार सृजना हुनेछन् ।
तर, शहरीकरणका सामु अर्को एउटा चुनौती पनि छ । बसोबासको अनुमति दिने हुकोउ प्रणालीले बसाइँसराइलाई नियन्त्रण गरेर आप्रवासीलाई पूर्णस्तरको शहरी नागरिक बन्न दिँदैन । अन्यन्त्र देखिएका तीव्र र असन्तुलित शहरीकरणका नकारात्मक परिणामलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरू हुकोउ प्रणाली कायमै राख्न चाहन्छन् । तर, चीन र अरू देशको अवस्था फरक छ । अन्य देशमा शहरी क्षेत्रमा रहेको अवसरको आकर्षितले भन्दा पनि ग्रामीण क्षेत्रमा अवसरको अभावले आप्रवासन गराउँछ ।
निजीक्षेत्रको भूमिका बढ्दै जाँदा प्रतिस्पर्धा, आगमन र बर्हिगमन, बजारको खुलापन, बौद्धिक सम्पत्ति र सामाजिक सुरक्षाको सञ्जाललाई प्रवर्द्धन गर्ने खालका कानूनी संरचना र नीतिहरू ल्याउनुपर्ने हुन्छ । घरेलु र अन्तरराष्ट्रिय आपूर्ति सञ्जालमा उच्च मूल्यअभिवृद्धितर्फको प्रवाहका लागि अर्थतन्त्रको बौद्धिक र प्रविधिगत आधारमा अझ प्रभावकारी शिक्षा तथा विस्तारित लगानी आवश्यक पर्छ । प्रविधिको आयात र घरेलु नवप्रवर्तनबीचको सन्तुलन विस्तारै घरेलु नवप्रवर्तन तर्फसर्दै जानेछ ।
चिनियाँ सार्वजनिक क्षेत्रसँग जमीन, विविध पूवाधार, विशाल विदेशी मुद्रा सञ्चिति तथा राज्यनियन्त्रित उद्योगहरूमा ठूलो हिस्सा रहेको छ । त्यसरी व्यावसायिक क्षेत्रमा रहेको कुल अचल सम्पत्तिको आधाभन्दा बढी र आम्दानीको एक तिहाइभन्दा बढी हिस्सा सार्वजनिक क्षेत्रले ओगटेको छ । अन्य देशमा यस्ता सम्पत्तिलाई नागरिक कोषमा राखिनुका साथै आर्थिक र सामजिक विकासका लागि लगानी गरिन्छ । तर, चीनले यस क्षेत्रमा भिन्नै कीर्तिमान राखेको छ । चीनले अन्य देशले जस्तै दिगो तथा उच्च आर्थिक वृद्धिका लागि सार्वजनिक क्षेत्रको लगानी खोज्नु पर्दैन ।
तर, ध्यान दिनुपर्ने कतिपय विषयहरू छन् । त्यस्ता लगानीलाई सफल मानिन्छ, जसले आर्थिक र सामाजिक विकासलाई टेवा दिनुका साथै उच्च निजी र सामाजिक प्रतिफल दिन्छ । सार्वजनिक क्षेत्र र राज्य नियन्त्रित उद्योगमा गरिएका लगानीले यस्तो शर्त पूरा गर्न सकिरहेका छैनन् ।
साँच्चै भन्ने हो भने, राज्यनियन्त्रित उद्योगको सम्भार खर्च हेर्ने हो र १९९० को दशकमा त्यस क्षेत्रको वित्तीय सङ्कटलाई विचार गर्ने हो भने त्यस क्षेत्रमा सरकारी बजेटबाट थप लगानी गर्नुको कुनै औचित्य छैन । यदि राज्यनियन्त्रित उद्योगबाट उच्च आम्दानीको अपेक्षा नगर्ने हो भने अन्तत: अर्थिक वृद्धिमा सुस्तता आउने नै हुन्छ । त्यसैले सामाजिक सेवा र सामाजिक सुरक्षा क्षेत्रको आर्थिक भारको पूर्ति सार्वजनिक वा निजीक्षेत्रमा उच्च प्रतिफलको लगानीबाट गर्नुपर्ने हुन्छ ।
राज्यनियन्त्रित उद्योगहरूले उत्पादन र श्रमबजारमा निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्छन्, तर पूँजीबजारहरूमा भने त्यस्तो प्रतिस्पर्धा कमै गर्छन् । अहिले ज्याला र आम्दानीमा वृद्धि भइरहेकोजस्तो देखिन्छ । तर, आर्थिक वृद्धिका प्रारूप खिच्नका लागि माग क्षेत्रतर्फसंरचनागत परिवर्तन गर्नुपर्ने हुन्छ, जसले थप खर्चयोग्य आम्दानी, सरकारी खपत र उच्च प्रतिफलको लगानी बढाओस् ।
व्यापारिक मुनाफालगायतका उचित तरीकाले पुन: नवीकृत बचतलाई उच्च प्रतिफल दिने सार्वजनिक वा निजीक्षेत्रमा लगानी गर्न सकिन्छ । त्यस्तो लगानीले कुल घरेलु माग बढाउनुका साथै आपूर्ति पक्षमा संरचनागत परिवर्तन ल्याउँछ । त्यसले लगानीको कम प्रतिफल दिने पक्ष हट्दै जानुका साथै कुल मागमा उचित प्रकारका अवयव संलग्न हुन पाउँछन् ।
यसप्रकार, पञ्चवर्षीय योजनाको लक्ष्य कुल मागलाई विस्तार गर्नु नभई त्यसको पुन:संरचना गर्नु हो । त्यसबाट दिगो वृद्धि हासिल हुनुका साथै हालको लगानी प्रवृत्तिमा देखिएजस्तो घट्दो प्रतिफलबाट जोगिनु हो । त्यस्तो प्रवृत्तिमा परिवर्तन गर्नका लागि वित्तीय प्रणालीमै पुन:संरचना गर्नुपर्ने हुन्छ । त्यसबाट वित्तीय र पूँजीबजारका अनुसाशन तथा व्यावसायिक सुशासन सुधारभित्र रहेर बचतलाई कुशलतापूवक लगानी गर्न सकिनेछ । चिनियाँ नेताहरूले चाहेजस्तो र चीनको अर्थतन्त्रलाई चाहिएकोजस्तो उच्च प्रतिफलयुक्त लगानी र खपत विस्तारका लागि त्यस्तो प्रणालीको प्रारूप कोर्नु आवश्यक छ ।
माइकल स्पेन्स स्र्टन स्कूल अफ बिजनेश, न्यूयोर्क युनिभसिटीका प्राध्यापक तथा स्टानफोर्ड युनिभसिटीको हुभर इन्षिटच्युशनका 'सिनियर फेलो' हुन् ।
Admin 2011-04-24