सम्पत्ति-दायित्व व्यवस्थापन
नीलम तिम्सिना
जोखिम व्यवस्थापन बैङ्किङ व्यवसायको अभिन्न अङ्ग हो । मुनाफा सफल जोखिम व्यवस्थापनको पुरस्कार भएकाले समग्रमा बैङ्किङ व्यवसायमा जोखिम विद्यमान हुन्छ । तर, अत्यधिक र अव्यवस्थित जोखिमले संस्थालाई नोक्सानको धरातलमा ओराल्नुका साथै निक्षेपकर्ताको निक्षेपलाई समेत धरापमा पार्दछ । तसथ, जोखिमलाई एउटा उपयुक्त सीमाभित्र व्यवस्थित गर्नु कुशल बैङ्किङका लागि आवश्यक छ । बैङ्किङ व्यवसायमा निहित जोखिमलाई निमिटयान्न पार्न त सकिँदैन । तर, व्यवस्थित गर्न भने अवश्य सकिन्छ । र, यो जिम्मेवारी जोखिम लिने बैङ्क-वित्तीय संस्थाकै हो ।
बैङ्किङ कारोबारमा विभिन्न किसिमका जोखिमहरू विद्यमान हुन्छन् । जस्तै, कर्जा जोखिम, तरलता जोखिम, ब्याजदर जोखिम, विनिमयदर जोखिम, कार्य सञ्चालन जोखिम, ख्याति जोखिम, कानूनी जोखिम, रणनीतिक जोखिम आदि । यी सम्पूर्ण जोखिम कुनै न कुनै रूपमा एआपसमा सम्बन्धित हुन्छन् र एउटाको अस्तित्वले अर्कोलाई निम्त्याइरहेको हुन्छ ।
जोखिम व्यवस्थापनमा सम्पत्ति-दायित्वको प्रभावकारी व्यवस्थापनको भूमिका कस्तो रहन्छ भन्ने विषयमा यो आलेखलाई केन्द्रित गर्न खोजिएको छ । मुख्य रूपमा तरलता र ब्याजदर जोखिमलाई सम्पत्ति-दायित्व व्यवस्थापनले समेट्छ । तर पनि कर्जा जोखिम व्यवस्थापन गर्न गरिएका समुचित प्रयासहरूले सम्पत्ति-दायित्व व्यवस्थापनलाई समेत सहयोग पुर्याउँछन् ।
बैङ्कहरूको मुख्य र परम्परादेखि चलिआएको कार्य भनेकै निक्षेपकर्ताहरूबाट निक्षेप स्वीकार गरी कर्जा लगानी गर्नु हो । कर्जा लगानीबाट बैङ्कलाई ब्याज आम्दानी प्राप्त हुन्छ भने निक्षेपमा ब्याज तिर्नुपर्दछ । यिनै दुईबीचको अन्तर नै बैङ्क-वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत हो । बैङ्क-वित्तीय संस्था मुनाफामुखी प्रकृतिका हुने हुनाले बढी आम्दानी खोज्नु पनि स्वाभाविक हो । यसका लागि बढी ब्याजदरमा धेरै कर्जा लगानी गर्न खोज्नु स्वाभाविकै हो । तर, निक्षेपकर्ताले माग गरेको बेला निक्षेप रकम फिर्ता दिनु पनि उत्तिकै जरुरी हुन्छ । ज्यादा मुनाफाको प्रलोभनमा धेरै रकम कर्जा लगानी गरियो र निक्षेपको रकम समयमा फिर्ता दिन सकिएन भने बैङ्कप्रतिको विश्वासमा धमिरा लाग्दछ र प्रणालीगत सङ्कट आउँछ । त्यसमा पनि अल्पकालीन निक्षेप लिई दीर्घकालीन र अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरियो भने त जोखिम झनै गम्भीर रूपमा प्रकट हुन्छ । बैङ्कहरूको मुख्य सम्पत्ति भनेकै कर्जा हो र मुख्य दायित्व भनेकै निक्षेप हो । अन्य सम्पत्तिहरूमा ढुकुटीको नगद, अन्य बैङ्क-वित्तीय संस्थामा रहेको नगद, सरकारी ट्रेजरी बिलमा गरेको लगायत अन्य लगानी, स्थिर सम्पत्ति र अन्य सम्पत्ति पर्दछन् भने अन्य दायित्वहरूमा सापटी र अन्य दायित्व पर्दछन् ।
बैङ्कहरूको सम्पत्ति-दायित्व विभिन्न अवधिका हुने गर्दछन् । अर्थात् अल्पकालीन (१ वर्षभन्दा कम अवधि) र दीर्घकालीन (१ वर्षभन्दा बढी अवधि) का हुन्छन् । सिद्धान्तत: दीर्घकालीन दायित्वद्वारा दीर्घकालीन सम्पत्ति र अल्पकालीन दायित्वद्वारा अल्पकालीन सम्पत्तिमा लगानी गर्नुपर्ने हो तर सधैंभरि यो सम्भव हुँदैन । यो नै बैङ्क व्यवस्थापनको जोखिम व्यवस्थापन गर्ने कुशलता, क्षमता परीक्षणको बिन्दु हो । कति जोखिम लिने ? कतिसम्म जोखिम सहन गर्न सकिन्छ ? कतिसम्म मुनाफा आर्जन गर्ने ? यसमा सीमा लगाउनुपर्छ कि पर्दैन ? निक्षेपकर्ताले मागेको बेला रकम फिर्ता गर्न सकिन्छ कि सकिँदैन, यदि यस्तो अवस्थामा समस्या आए साधन कहाँबाट जुटाउने ? आदिजस्ता प्रश्नहरूको उत्तर कुशल बैङ्क व्यवस्थापकले यहीँनेर खोज्नुपर्ने हुन्छ । सम्पत्ति-दायित्वको कुशल व्यवस्थापनद्वारा 'मिसम्याच' हुन नदिने कार्य जोखिम व्यवस्थापनका लागि अति नै महत्त्वपूर्ण हुन्छ । यदि 'मिसम्याच' हुन गएमा बैङ्क समस्यामा पर्दछ । सम्पत्तिभन्दा दायित्व बढी भयो भने बैङ्कमा स्रोत 'आइडल' बस्दछ, जसले मुनाफामा प्रतिकूल असर पार्दर्छ । दायित्वभन्दा सम्पत्ति धेरै भयो भने अल्पकालमा तरलतामा समस्या हुन्छ भने दीर्घकालमा 'नेटवर्थ' नै प्रभावित हुन पुग्दछ । त्यस्तै, अल्पकालीन निक्षेप लिएर दीर्घकालीन कर्जा लगानी हुन गयो भने तरलताको समस्या हुन्छ । त्यस्तै, सम्पत्ति-दायित्वको संरचना, त्यसमा प्राप्त हुने/तिर्नुपर्ने ब्याजदर, त्यसको भुक्तानी मिति, ब्याजको पुनर्निर्धारणजस्ता तत्त्वहरूको सही व्यवस्थापन सम्पत्ति-दायित्व व्यवस्थापनअन्तर्गत पर्दछ । मुख्य रूपमा सम्पत्ति-दायित्व व्यवस्थापनले अल्पकालीन साधन व्यवस्थापनमा जोड दिन्छ । खुद ब्याज-आम्दानी अधिकतम बनाउनु र 'म्याचुरिटी मिसम्याच' कम गर्नु यसको मुख्य कार्यक्षेत्र हो ।
सम्पत्ति-दायित्व व्यवस्थापन कुशल ढङ्गले गर्नका लागि बैङ्कहरूमा प्रमुख कार्यकारी अधिकृतको मातहतमा सम्पत्ति-दायित्व समिति गठन गरिएको हुन्छ । आवश्यकताअनुसार यस समितिमा अर्थशास्त्री, वित्त नियन्त्रक, कर्जा व्यवस्थापक र लगानी व्यवस्थापक पनि समावेश हुन्छन् । कम्तीमा महीनाको एकपटक यसको बैठक बस्नुपर्दछ । मुलुकको समष्टिगत आर्थिक अवस्था (जसले बैङ्कको कार्यसम्पादनमा असर गर्दछ)को मूल्याङ्कन, मौद्रिक र वित्त नीतिको विश्लेषण, ब्याज र विनिमयदरको अनुमान, बाह्य वातावरणहरूको समीक्षा, नियमनकारी निकायको निर्देशनहरूको समीक्षा, नयाँ किसिमका सेवाहरूको सम्भावना आदिबारे छलफल गर्दै सम्पत्ति-दायित्वको 'म्याचुरिटी अवधि', प्रतिफलदर, तरलता आदि सम्बन्धमा निर्णयलिनुपर्दछ । कुन समयमा कुन निक्षेप परिपक्व हुँदै छ ? त्यसको भुक्तानी गर्नुपरेमा कसरी तयार अवस्थामा रहने ? भन्ने कुरामा सदैव चनाखो रहनुपर्दछ । विशेषगरी सम्पत्ति-दायित्व व्यवस्थापन समितिले दायित्व व्यवस्थापनतर्फनिक्षेप घटिरहेको छ कि बढिरहेको छ ? निक्षेपको भावी प्रवृत्तिको अनुमान, निक्षेपको स्थायित्व, निक्षेपको भुक्तानी अवधि र निक्षेप नवीकरण हुने/नहुने सम्भावना, परिवर्तित बजार वातावरणले निक्षेपमा पारेको/पार्नसक्ने असर, ब्याजदर परिवर्तनले निक्षेपमा पार्नसक्ने अनुमान, सङ्कटको घडीमा साधनको स्रोतहरू, (जस्तै : अन्तरबैङ्क साधन, रिपो, पुनर्कर्जा र अन्य)को व्यवस्था आदि कुराहरूमा ध्यान दिएको हुन्छ । त्यस्तै, सम्पत्ति व्यवस्थापनतर्फकर्जाको माग बढिरहेको छ वा घटिरहेको ? तरल सम्पत्ति (नगद, बैङ्क मौज्दात, अल्पकालीन लगानी र मौद्रिक उपकरणहरू)को पर्याप्तता (किनकि सङ्कटको घडीमा यिनै उपकरणहरूबाट साधन जुटाउन सकिन्छ), सम्पत्तिको भुक्तानी संरचना, परिवर्तित बजार वातावरणको कर्जाको मागमा परेको/पर्नसक्ने असर, वासलातबाहिरका कारोबारहरू यदि वासलातभित्रका सम्पत्तिमा परिणत भए भने त्यसका लागि आवश्यक साधनको व्यवस्था अदि कुराहरूमा जोड दिइएको हुन्छ ।
सम्पत्ति-दायित्व व्यवस्थापन समितिले कुशल नीति बनाई उल्लिखित कुराहरूमा सजगतापूर्वक व्यवस्थापन गर्ने हो भने तरलता जोखिमलगायत बजार जोखिम कम भएर जान्छन् । त्यसका लागि निरन्तर रूपमा तरलता बजार जोखिम र पूँजी व्यवस्थापन सम्बन्धमा रिपोर्ट प्राप्त गर्ने, मूल्याङ्कन गर्ने र कुशल आकस्मिक साधन योजना बनाउन आवश्यक छ । यो कार्य निश्चय नै सजिलो छैन । यस क्रममा केही मुनाफाको त्याग गर्नुपर्ने पनि हुन सक्छ । तर त्यो कष्ट सहन सक्यो भने तरलता सङ्कटचाहिँ आउँदैन ।
केही संस्थाबाहेक नेपाली वित्तीय क्षेत्रमा सम्पत्ति-दायित्व व्यवस्थापन प्रभावकारी रहेको पाइँदैन । निक्षेपको भुक्तानी अवधि, निक्षेपको नवीकरणको सम्भावना, कर्जाको भुक्तानी अवधि र कर्जा चुक्ता हुने सम्भावना, कर्जाको संरचना, विविधता, निक्षेपको संरचना, विविधता आदिमा पर्याप्त ध्यान दिन नसकेको/नचाहेको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाहरू संस्थागत निक्षेपमा धेरै निर्भर छन् । तर, निक्षेपको भुक्तानी अवधि पूरा भएपछि निक्षेपकर्ताले माग गरेको खण्डमा फिर्ता बुझाउनुपर्छ भन्ने सामान्य बैङ्किङ ज्ञानलाई समेत अवलम्बन गरेको देखिँदैन । अल्पकालीन निक्षेप लिई दीर्घकालीन र अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्नाले कर्जा समयमा असुल नहुने तर निक्षेप फिर्ता माग हुने अवस्थाले 'म्याचुरिटी मिसम्याच' भई समस्या परेको देखिन्छ । त्यसमाथि पनि घरजग्गा क्षेत्रमा कारोबार र मूल्यमा सुस्ती आउँदा त पहिले अधिक मूल्याङ्कन गरेर दिइएका कर्जाहरू उठ्न सक्ने सम्भावना कम हुन्छ । पर्याप्त धितोविना परियोजनाको धितोमा मात्र, ऋणीको आर्थिक स्थिति र नगदप्रवाहको पर्याप्त विश्लेषणविना नै कर्जा दिने प्रवृत्तिले समस्या पारेको छ । अनुगमन, सदुपयोग निरीक्षण कुशल हुन नसक्दाका समस्याहरू आफ्नै ठाउँमा छन् । जे होस् नेपाली बैङ्क-वित्तीय संस्थाहरूमा अहिले आएको तरलता जोखिमको मुख्य कारण पनि सम्पत्ति-दायित्व व्यवस्थापन प्रभावकारी रूपमा हुन नसक्नु नै हो ।
विशेषगरी 'ग्याप' विश्लेषण, कर्जा-निक्षेप अनुपात, खुद तरल सम्पत्ति/निक्षेप अनुपात, संस्थागत निक्षेप/कुल निक्षेप अनुपात, अल्पकालीन सम्पत्ति/अल्पकालीन दायित्व अनुपातजस्ता उपकरणहरूको कुशल विश्लेषण हुनु आवश्यक छ । एकल ग्राहक कर्जा सीमा, अर्थव्यवस्थाको एउटै क्षेत्रमा भएको कर्जा, सरकारी प्रतिभूतिमा गरिएको लगानी, निक्षेपको संरचना, भुक्तानी अवधि, निक्षेप फिर्ता हुने प्रवृत्ति, निक्षेपको नवीकरणको सम्भावना, ब्याजदर, कर्जाको संरचना, भुक्तानी अवधि र ब्याजदर, समष्टिगत आर्थिक परिसूचकहरूको प्रवृत्तिजस्ता परिसूचकहरूको सजगतापूर्वक विश्लेषण गर्नुपर्छ । पूर्वसचेतता, दबाब परीक्षण, आकस्मिक योजना, जोखिम व्यवस्थापनजस्ता उपकरणहरूको सावधानीपूर्वक अवलम्बन गर्दै अगाडि बढेमा सम्पत्ति-दायित्व व्यवस्थापन कुशल हुन सक्छ । कुशल कर्जा व्यवस्थापन र संस्थागत सुशासन त कुशल सम्पत्ति-दायित्व व्यवस्थापनका आधार नै हुन् । बैङ्क-वित्तीय संस्थाहरूले यी पक्षमा समुचित सन्तुलन कायम गरी कुशलतापूर्वक सम्पत्ति-दायित्व व्यवस्थापन गर्नसकेमा तरलता, ब्याजदरलगायत समग्र जोखिम व्यवस्थापनमा सहयोग पुग्दछ । सुपरिवेक्षकहरूले पनि बैङ्क-वित्तीय संस्थाहरूले सम्पत्ति-दायित्व व्यवस्थापनको उपरोक्त पक्षहरूमा ध्यान दिन सकेको/नसकेको बारेमा गहन र व्यापक ढङ्गले दृष्टि पुर्याउनु आवश्यक छ । तसथ, सम्पत्ति-दायित्वको कुशल व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै सजग भएर पूर्ण व्यावसायिक/विश्वसनीय रूपमा अगाडि बढ्न सकेमा वित्तीय क्षेत्रको तरलता समस्या क्रमश: कम भएर जाने कुरा निश्चित छ ।
लेखक नेपाल राष्ट्र बैङ्ककी निर्देशक हुन् । यहाँ प्रस्तुत विचार लेखकका निजी हुन् ।
Admin 2011-07-27