शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

हरित रोजगारको झूटो आश्वासन
बियोर्न लोम्बर्ग
जलवायु परिवर्तनको 'पुस्तागत चुनौती’ लाई सामना गर्नुपर्नेजस्ता अलङ्कारयुक्त राजनीतिक शब्दावलीमा अहिले परिवर्तन आइरहेको छ । सौर्य र वायु ऊर्जाजस्ता वैकल्पिक ऊर्जाक्षेत्रमा गरिने लगानीको औचित्य अब वातावरणीय आधारमा प्रमाणित गर्न नसकिने भएको छ । त्यसैले कथित वातावरण मैत्री अर्थात् 'हरित रोजगार’ का आर्थिक फाइदाको कुरा गरेर त्यसको औचित्य प्रमाणित गर्ने प्रयास भइरहेका छन् । तर, दुःखका साथ भन्नुपर्ने हुन्छ कि त्यसबाट आर्थिक वास्तविकताको सही व्याख्या भइरहेको छैन ।  

कोपनहेगन कन्सेन्सस् सेण्टरले हालै वरिष्ठ ऊर्जा अर्थशास्त्री गुर्कन गुलनसँग हरित रोजगारको व्याख्या, मापन र पूर्वानुमानका पछाडिको वैज्ञानिक यथार्थबारे जिज्ञासा राखेको थियो । गुलनको निष्कर्ष छ, वातावरण मैत्री अर्थात् हरितनीति असल उद्देश्य राखेर प्रतिपादन गरिएका छन् । तर, रोजगार पनि निर्माण हुन्छ भनेर त्यसको औचित्य प्रमाणित गर्न सकिँदैन । वास्तवमा त्यस्ता नीतिहरूबाट सृजित रोजगारभन्दा तिनले गर्दा गुम्ने रोजगारको सङ्ख्या बढी हुन्छ ।

सरसर्ती हेर्दा हरित रोजगारको सृजना एकदम सरलजस्तो देखिन्छ । हावाबाट चल्ने टर्बाइन र सोलार प्यानलको निर्माणका लागि थप निर्माणकर्ता, प्राविधिक, व्यापारी र विशेषज्ञ कामदारको आवश्यकता पर्छ । त्यसको आधारमा हरितनीतिका प्रवर्तकहरूले जलवायु बचाउने मात्र हैन कि बेरोजगारीसमेत घटाउने दाबी गर्नपुगे । वास्तवमा धेरै अध्ययनपश्चात् निकालिएको यस्तो निष्कर्षको राजनीतिकर्मीहरूले चाखलाग्दो उद्धरण गरिरहेका छन् । फेरि कसरी ती विश्लेषण गलत प्रमाणित हुन पुगे ?

कतिपय अवस्थामा गुलेनले के पनि पाए भने हरित रोजगारका पक्षपातीहरूले अल्पकालीन अवस्थाको निर्माण रोजगार र दीर्घकालीन अवस्थाको सञ्चालन रोजगारमा कुनै भिन्नता गरेका छैनन् । विण्ड टर्बाइनको निर्माण अल्पकालीन रोजगार हो भने विण्ड टर्बाइनको सञ्चालनलाई निरन्तरता दिनु दीर्घकालीन रोजगार हो । अझ, कतिपयले त परम्परागत ऊर्जाक्षेत्रमा भन्दा नयाँ रोजगारले बढी फाइदा दिने दाबी पनि गरेका छन् । तर, हरित ऊर्जाका पक्षपातीहरूले आफूले गरेको त्यस्तो दाबीको औचित्य भने प्रमाणित गर्न सकेका छैनन् ।

अन्य सन्दर्भमा प्रयोग गरिने 'हरित’ रोजगारको परिभाषा झन् यति अस्पष्ट छ कि त्यो लगभग निर्रथक नै हुन्छ । कङ्क्रीट कारखानाको दिगोपना सल्लाहकार सेवा परिवर्तन गरेर नवीकरणीय ऊर्जाक्षेत्रमा जान्छन् भने के त्यसबाट हरित रोजगारमा वृद्धि भएको निष्कर्ष निकाल्ने त ?

गुलेनले पत्ता लगाएका कतिपय कुरा झनै चिन्तालाग्दा छन् । जस्तो कि, हरित ऊर्जा उत्पादनबाट सृजित हुने भनिएका रोजगारका कतिपय दाबी विश्वसनीय तथ्याङ्कमा आधारित छैनन् । विशाल पर्ती जग्गाहरूलाई विण्ड टर्बाइन र सोलार प्यानलले ढाक्ने परिकल्पना गरिन्छ भने निर्माण क्षेत्रमा थुप्रै रोजगार सृजना हुने अनुमान गर्नु स्वाभाविक नै हुन आउँछ । तर, हरितनीतिका कारण हुने ठूलो खर्च र गुम्ने रोजगारबारे चर्चा नगर्नु यस्ता विश्लेषणको सबैभन्दा ठूलो कमजोरी हो । सौर्य र वायु ऊर्जाजस्ता वैकल्पिक ऊर्जा स्रोतबाट पाइने इन्धन र बिजुली परम्परागत ऊर्जास्रोतको भन्दा निकै महँगो हुन्छ । त्यस्ता इन्धन र बिजुलीको मूल्य बढाउँदा उत्पादकत्वलाई नोक्सान गर्छ । त्यसले रोजगारका साथै आम्दानीबाट गरिएको बचत पनि घट्छ । तर पनि, हरित रोजगारका धेरैजसो पक्षपातीहरूले आफ्नो अध्ययनमा यस्ता खर्चलाई समावेश गरेका हुँदैनन् । यसरी लगानीको खर्चका साथै मूल्यवृद्धि हुँदा उपभोक्तामाथि पर्न जाने भारको पनि बेवास्ता हुन गएको देखिन्छ ।   

हरित रोजगार सृजनाका लागि कतिपय कम्पनी राजनीतिक हस्तक्षेपको पनि माग गर्छन् । अनुदान र करको कटौतीबाट फाइदा उठाउन चाहने कम्पनीहरूले त्यस्तो माग गरेका हुन्छन् । तर, ती नीतिले इन्धन र बिजुलीको लागत खर्च बढाउने हुनाले त्यसबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा असर पर्न जान्छ ।

यी सबै कुरालाई दृष्टिगत गर्नेबित्तिकै हरित रोजगारबाट हुने भनिएको कथित रोजगार वृद्धिको निर्रथकता आफै प्रस्टिन जान्छ । अझ त्यसबाट समष्टिगत रूपमा झनै कम रोजगार सृजना हुने कतिपय आर्थिक नमूनाले देखाएका छन् । ठूलो खर्च गरेर हरित रोजगार सृजना गर्ने सरकारी प्रयासको परिणामस्वरूप अन्ततः भएको रोजगार  पनि गुम्न पुग्छ ।   

यसका पक्षपातीहरूले अझै पनि के तर्क गर्न सक्छन् भने, हरित रोजगारमा गरिने लगानी सुस्त अर्थतन्त्रलाई प्रोत्साहित गर्ने राम्रो उपाय हो । तर, गुलनले के पनि देखाएका छन् भने स्वास्थ्यसेवाजस्ता अर्थतन्त्रका अन्य क्षेत्रमा त्यति नै सरकारी लगानी हुने हो भने झन् बढी रोजगारको सृजना हुन्छ ।

रोजगार सृजनाबाहेक केही अनुसन्धानकर्ताले त वैकल्पिक ऊर्जामा गरिने लगानीबाट थुप्रै किसिमको आर्थिक फाइदा हुने दाबी उत्साहका साथ गरेका छन् । उनीहरूले उत्पादकतत्त्व बढ्ने, अतिरिक्त आम्दानी बढ्ने र व्यवसाय खर्चमा कटौती हुनेलगायतका दाबी गरेका छन् । यस्ता दाबीलाई पनि गुलनले हरित प्रविधि र ऊर्जा बजारको वास्तविकतासँग मेल नखाएको भन्ने निष्कर्षदिएका छन् । आधारभूत समस्या के हो भने जैविक इन्धनको तुलनामा हरित ऊर्जा प्रविधि अझै निकै खर्चिलो र निस्प्रभावी छ । कम प्रभावकारी र बढी खर्चिलो वैकल्पिक ऊर्जा स्रोतको प्रयोगले व्यवसाय र उपभोक्तालाई फाइदाको साटो झनै नोक्सान गर्छ ।

जैविक इन्धनबाट दिगो प्रणालीतर्फो रूपान्तरणका लागि न्यून कार्बनयुक्त ऊर्जालाई सस्तो र अझ प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि हरित ऊर्जाबाट सञ्चालन हुने आगामी पुस्ताको  वैकल्पिक प्रणालीको अनुसन्धान र विकासका क्षेत्रमा उल्लेख्य लगानी गरिनुपर्छ । अनुसन्धानका लागि छुट्टयाइने हालको बजेट अत्यन्त अपुग छ, त्यसमा व्यापक परिवर्तन गरिनुपर्छ । त्यतिन्जेल, विद्यमान अप्रभावकारी र महँगा प्रविधिको प्रयोगबाट कुनै खर्चविना नै ठूलो नाफा हुने राजनीतिकर्मीहरूको दाबीप्रति जनसमुदाय सचेत हुनुपर्छ ।   

वियोर्न लोम्बर्ग 'द स्केप्टिकल इन्भाइरोन्मेण्टलिष्ट’ र 'कुल इट’ का लेखक, कोपनहेगन कन्सेन्सस् सेण्टरका निर्देशक, र कोपनहेगन बिजनेश स्कूलका एड्जङ्क्ट प्रोफेशर हुन् ।
साभारः प्रोजेक्ट सिण्डिकेट

व्यवस्थित शहर र संस्थागत 'रीमा’
पूर्णिमा राजभण्डारी
शहरीकरणको व्यवस्थित विकासका लागि हाउजिङ उद्योगको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने मान्यता विश्वव्यापी रूपमा नै स्थापित छ । सीमित शहरी जनसङ्ख्या भएर पनि अव्यवस्थित बसोबासको दिशातर्फअघि बढेको हाम्रो जस्तो देशमा यो मान्यताअनुसार अगाडि बढ्नु अझ बढी अपरिहार्य छ । यसका लागि हाउजिङ उद्योगसँग सम्बन्धित विविध पक्षहरूलाई संस्थागत गर्नुपर्ने हुन्छ ।

रियल इस्टेट तथा हाउजिङ व्यवसाय सुस्ताउँदा यसले देशका विविध क्षेत्रमा पुर्‍याएको नकारात्मक असरबाट अर्थतन्त्र नकारात्मक रूपमा प्रभावित भएको वास्तविकतालाई राज्यका प्रमुख निकायहरूले अहिले आत्मसात् गरेका छन् । यस व्यवसायलाई देशको अर्थतन्त्रमा एक प्रमुख 'उद्योग'का रूपमा पनि स्वीकार गरिसकिएको छ । यसले यो उद्योगको पुनरुत्थानका लागि निकट भविष्यमा उचित नीतिगत लचकताको पनि सङ्केत गरेको छ । जसबाट नेपालमा हाउजिङ उद्योग र यससँगै जोडिएर आउने विविध पक्षको संस्थागत विकासको सम्भावना बढेर गएको छ ।

हाउजिङ उद्योगसँग प्रत्यक्षरूपमा सरोकार राख्ने पक्षहरू डेभलपर्स, निर्माणकर्ता, परामर्शदाता, सरकार, बैङ्क तथा वित्तीय संस्था, रियल इस्टेट मार्केटिङ एजेण्ट (रीमा) लगायत छन् । यीमध्ये धेरै संस्थागत रूपमा नै स्थापित भएका तथा हुने क्रममा छन् । तर, यस उद्योगसँग सम्बन्धित विविध पक्षबीच रही रियल इस्टेट व्यवसायलाई सहजता प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा रहने व्यावसायिक तथा दक्ष 'रीमा'को अभ्यास भने नेपालमा भर्खरै शुरू हुँदै छ । अतः यो संस्थागत हुन अझै केही समय लाग्नु स्वाभाविक हो । तर, पनि रियल इस्टेट उद्योगमा दक्ष रीमाको आवश्यकता झन्झन् बढ्दै गएकाले यसलाई सकेसम्म चाँडै संस्थागत गर्न सम्बन्धित क्षेत्रका व्यवसायीहरू मिलेर अघि बढ्नु आवश्यक छ ।

कैयौं वर्षअघिदेखि नै हुँदै आएको घरजग्गाको किनबेचमा जानी-नजानी 'रियल इस्टेट ब्रोकर' को भूमिका रहँदै आएको छ । यसको समयसापेक्ष रूप नै आधुनिक 'रीमा' हो । जो परम्परागत 'ब्रोकर' भन्दा उच्च व्यावसायिक र  सम्बन्धित क्षेत्रका विविध विषयमा जानकार, दक्ष र रियल इस्टेट मार्केटिङबारे तालीम प्राप्त हुन्छ । उसलाई बैङ्क, बीमा, सम्पत्ति मूल्याङ्कन, बजार अवस्था आदिलगायत ग्राहकको आवश्यकता सम्बोधन गर्न सक्ने कार्यगत ज्ञान हुन्छ ।

खासगरी कानूनी व्यक्ति (वकिल), सम्पत्ति निरीक्षक (होम इन्पेक्टर), मूल्याङ्कनकर्ता, बीमा आदिसँग समन्वय गरेर हाउजिङ कारोवारलाई सहज बनाउने काम 'रीमा' ले गर्ने अन्तरराष्ट्रिय अभ्यास छ । नेपालमा यो हुन सकेको छैन । नेपालमा अहिलेसम्म डेभलपर्स आफैले नै यी सबैपक्षबीच समन्वयकर्ताको भूमिका खेल्दै आएको छ । तर, यसलाई अन्तरराष्ट्रिय अभ्यासअनुरूप स्थापित गरी नेपाली हाउजिङ व्यवसायको स्तर पनि विश्व बजारलाई सम्बोधन गर्ने किसिमको बनाउने प्रयासको खाँचो छ ।

रीमाको सम्बन्ध रियल इस्टेट व्यवसायमा आम्दानीसँग मात्र नभएर पारदर्शिता र नैतिकतासँग पनि छ । किनबेचका लागि उपलब्ध घरजग्गाबारे ग्राहकलाई सही सूचना, आवश्यक परामर्श तथा सहयोग र कारोबारको चाँजोपाँजो मिलाइदिनु नै रीमाको पेशागत उद्देश्य हो । यसका आधारमा उपभोक्ताले पनि स्थान, गुणस्तर, सुविधा, मूल्य आदि दृष्टिले बजारमा उपलब्ध घरजग्गामध्येबाट उत्कृष्टलाई छनोट गर्ने अवसर पाउँछन् । व्यवसायी वा डेभलपर्सले पनि उद्योगमा टिकिराख्न आफ्नो बजार सुरक्षित गर्नुपर्ने हुन्छ । त्यसैले, रीमाका माध्यमबाट उपभोक्तामा उपलब्ध हुने विकल्प छनोटको सुविधाबीच प्रतिस्पर्धा गर्न डेभलपर्समा उचित मूल्यमा सम्पूर्ण मापदण्ड पूरा भएका, आवश्यक पूर्वाधारको पर्याप्त सुविधायुक्त र गुणस्तरीय प्रोपर्टी निर्माण गर्ने मनोवैज्ञानिक दबाब बढ्छ । यसबाट डेभलपर्सहरूबीच स्वस्थ प्रतिपर्धाको विकास हुन्छ । जसले अन्ततः देशलाई व्यवस्थित शहरीकरणको दिशातर्फ डोर्‍याउँछ । त्यस्तै, यसले अधिकतम परिवारमा आफ्नै घरको पहुँच पनि सृजना गर्नेछ । अतः व्यवस्थित शहर निर्माणका लागि रीमालाई संस्थागत गर्नु अत्यावश्यक छ ।

बृहत् इन्भेष्टमेण्ट प्रालि विगत २ वर्षदेखि यही प्रयासमा जुटेको छ । उद्योगको यो आवश्यकतालाई पूरा गर्न २०६५ देखि बृहत्ले थालेको रियल इस्टेट मार्केटिङ एजेण्टसम्बन्धी अन्तरराष्ट्रिय स्तरको तालीमबाट अहिलेसम्म तीन ब्याचमा गरी ५० जना 'रीमा' उत्पादन भइसकेका छन् । हाल घर तथा अपार्टमेण्ट निर्माणमा व्यावसायिक रूपमा सक्रिय हाउजिङ कम्पनीहरूमा पनि तालीम प्राप्त, दक्ष तथा व्यावसायिक रीमाको अभाव छ । त्यसैले, तालीम लिएका कुनै पनि रीमा अहिले कामविहीन भएर बस्नु परेको छैन र बस्नुपर्ने अवस्था पनि छैन । हाउजिङ कम्पनीहरूले आफ्ना उत्पादन विक्री गर्नका लागि खोजेजस्तो जनशक्तिको बजारमा कमी रहेकाले 'रीमा' करियरका दृष्टिले पनि आकर्षक पेशा हो ।

हालै चितवनमा भइरहेको राष्ट्रिय घरजग्गा मेलामा आयोजित 'घरजग्गा कारोबारमा ब्रोकर/एजेण्टले जान्नुपर्ने कुराहरू' विषयक प्रशिक्षणमा उत्साहजनक सहभागिता थियो । सहभागी लामो समयसम्म घरजग्गा कारोबारमा संलग्न व्यक्तिहरू  थिए । उनीहरूमा व्यावहारिक अनुभवको कमी थिएन । तर पनि यस उद्योगमा देखिएको पेशागत भविष्यलाई सुनिश्चित गर्न रीमासम्बन्धी स्तरीय सैद्धान्तिक ज्ञान र तालीमको आवश्यकता महसूस भएकाले कार्यशालामा सहभागी भएको उनीहरूको प्रतिक्रिया थियो । यसले पनि यस उद्योगमा रीमाको पेशागत भविष्यको दायरा स्पष्ट गर्छ ।

रोजगार बजारमा उपलब्ध आकर्षक रोजगारीका विकल्पमध्ये रीमा पेशा पनि एक हुन सक्छ, जसले शिक्षित बेरोजगारको समस्यालाई धेरै हदसम्म सम्बोधन गर्न सक्छ । यही सोचले बृहत्ले आगामी चैत ९ गतेदेखि चौथो ब्याचमा पनि नेपाली मात्र नभएर एशियाली बजारका लागिसमेत योग्य हुने स्तरको रीमा उत्पादन गर्न व्यावसायिक तालीमको आयोजना गर्दै छ ।

एक जना रीमाले वार्षिक कम्तीमा १० ओटा घर वा अपार्टमेण्टको कारोबार मिलाइदिन सक्छ । अहिले नेपालमा ५३ ओटा घर तथा अपार्टमेण्ट निर्माण कम्पनी छन् । यीमध्येका विभिन्न कम्पनीबाट निर्मित करीब ८ हजार घर तथा अपार्टमेण्ट बजारमा उपलब्ध छन् । सन् २०२० सम्ममा काठमाडौं उपत्यकामा मात्रै वार्षिक ४० हजार घरको माग हुने अनुमान छ । यसले पनि दक्ष रीमाको पेशागत भविष्य फराकिलो रहेको बुझाउँछ । बजार माग तथा आवश्यकताअनुसार घर वा अपार्टमेण्ट बन्न नसकेको तथ्याङ्कले पनि बृहत् इन्भेष्टमेण्ट दक्ष रीमा उत्पादनमा अघि बढेको हो ।

बृहत् रीमा उत्पादन गर्ने मात्र नभई यस पेशामा सामाजिक उद्यमशीलताको संस्कारसमेत स्थापित गर्ने दिशामा अघि बढेको छ । यसको उदाहरण, कम्पनीमा कार्यरत सबै रीमाले आफ्नो आम्दानीको केही हिस्सा जम्मा गर्ने गरी एक कोष स्थापना गरेका छन् । उक्त कोषबाट विभिन्न सामाजिक संस्था, शैक्षिक प्रतिष्ठानलाई आर्थिक सहयोग तथा विद्यार्थीलाई छात्रावृत्ति प्रदान हुँदै आएको छ । नेपाल एम्बुलेन्स सेवा, हसपिस, माइती नेपाल आदिलाई कोषले सहयोग उपलब्ध गराइसकेको छ । रीमाबीच यो संस्कार अहिले संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि सृजना हुन थालिसकेको छ ।
लेखिका बृहत् इन्भेष्टमेण्ट्स प्रालिकी प्रमुख कार्यकारी अधिकृत हुन् ।

Admin 2011-02-24