
रामकाजी कोने
पर्यटन वर्ष२०११ लाई सफल बनाउन विभिन्न प्रवर्धनात्मक कामहरू भइरहेका छन् । गत वर्ष हामी पर्यटन वर्षको प्रचारप्रसार गर्न ८० जना बृहत् मिसन लिएर चीन गएका थियौं । यूनाइटेड फेडेरेशन अफ ट्राभल्स एजेण्ट एशोसियशन (उफ्टा) को सम्मेलन नेपालमै गराएका छौं । हामी पर्यटन वर्ष सफल पार्न प्रयास गरिरहेका छौं ।
यसलाई सफल बनाउन अहिले भइरहेकाभन्दा केही नयाँ अवधारणाहरू ल्याउनुपर्छ, नयाँ गन्तव्यहरू पहिल्याउनुपर्छ । त्यसका लागि पनि हामी लागिपरेका छौं । अहिले पर्यटकलाई खानेबस्ने सुविधाको क्षेत्रमा होटलमा समस्या देखापरेको छ । जस्तो, अहिले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा होटलमा कोठा नपाइने समस्या छ । होटलमा कोठाको माग बढेलगत्तै त्यसमा मूल्य पनि वृद्धि भइरहेको छ । यस सन्दर्भमा 'होम स्टे' को अवधारणा पनि ल्याइएको छ । तर, होम स्टेको कार्यविधि अपर्याप्त छ ।
प्रवर्धनका केही काम नहुँदा पनि पर्यटकको आगमनमा वार्षिक २५-३० प्रतिशतले वृद्धि भएको छ । त्यसैले पर्यटक वृद्धि हुने सम्भावना धेरै छ । पर्यटन वर्ष शुरू हुन मुश्किलले तीन महीना मात्र बाँकी छ । तसर्थ, पर्यटन वर्ष २०११ का सन्दर्भमा पर्यटकको बसोवासका कुरामा केही समस्या आउने हो कि भन्ने हामीले देखेका छौं । यसमा होटल, नेपाल पर्यटन बोर्ड, ट्राभल्स एण्ड टूर्स कम्पनीबीचमा समन्वय हुनु जरूरी छ ।
विमानस्थल पर्यटकको नेपाल प्रवेशको पहिलो ढोका हो । त्यहीं नै विभिन्न किसिमका विकृति छन् । पर्यटकलाई आउनेबित्तिकै यातायातको सुविधा हुँदैन । विमानस्थल साँधुरो छ । यसलाई तुरुन्तै समाधान गर्नुपर्ने देखिन्छ । स्वागतसत्कारका लागि राम्रो वातावरण बनाएर पर्यटकलाई आकषिर्त गर्न सकिन्छ । यसका लागि व्यवसायीहरूले पनि पहल गर्नुपर्छ । नेपाल पर्यटन बोर्डले अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसारको नीति बनाएर अघि बढ्नुपर्छ । हाम्रा पर्यटनका मुख्य स्रोतहरूमा अहिले पर्यटन वर्षको एकदमै कम प्रचारप्रसार भएको छ । पर्यटकले नेपालमा आउँदा पाउने सुविधाका बारेमा पनि ध्यान दिनुपर्छ । पर्यटन व्यवसायका विभिन्न क्षेत्रहरू, जस्तो टूर, ट्रेकिङ, होटललगायत सबै मिलेर समन्वयात्मक रूपमा एउटा प्याकेज बनाउनुपर्छ । त्यसमा एअरलाइन्स पनि पर्दछन् ।
अहिले एअरलाइन्सको दुर्गतिले गर्दा नेपाल आउने पर्यटकलाई नराम्रो प्रभाव परेको छ । यसले नेपाल आउने पर्यटकमा कमी पनि आएको छ । पछिल्लो समयमा चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्या झण्डै ६०-६५ प्रतिशतले बढेको थियो । चीनको साउथ इष्र्टन एअरलाइन्सको नेपाल उडान बन्द भएपछि नेपाल आउन चाहने पर्यटकलाई समस्या परेको छ । नेपाल आउन चाहने पर्यटकले ८ सय डलर हवाईभाडा तिर्नुपरिरहेको छ । जबकि, यूरोप-चीन आतेजाते टिकट ४ सय डलरमा पाइन्छ । चीनबाट स्पेन १० घण्टाको यात्रा साढे ४ सय डलरमा हुन्छ ।
तर, नेपालमा आउने जम्मा चार घण्टाको दूरीलाई ८ सय डलर तिर्नुपर्छ । यसले चिनियाँ पर्यटकलाई नेपाल भियभयाउन अप्ठेरो परेको छ । यूरोपबाट नेपालका लागि सीधा उडानको व्यवस्था छिटो गर्न जरूरी छ । यूरोपतर्फ उडान गर्ने हाम्रोमा कुनै जहाज छैन । साना तथा मध्यम भाडाका जहाजहरूले यसमा केही सहयोग त गरेका छन् तर, त्यसो गर्न कुनै एअरलाइन्स इच्छुक छन् भने विधिवत् अनुमति दिने व्यवस्था मिलाउनुपर्छ । विमान व्यवसायीहरूलाई पर्यटन वर्षको जहाजको भाडा नबढाउन अनुरोध/पहल गर्नुपर्दछ । राजनीतिक समस्या पर्यटन वर्षको सबैभन्दा ठूलो चुनौती बनेको छ । पर्यटन व्यवसाय अत्यन्तै जोखिमपूर्ण र संवेदनशील व्यवसाय हो । यसलाई बन्द-हडताल, अवरोध आदिले नराम्रो प्रभाव पार्दछ ।
देशमा शान्ति र राजनीतिक स्थिरता भएका वेला नेपाल आउने पर्यटकको सङ्ख्यामा स्वाभाविक वृद्धि हुन्छ । 'पराईको छुराले भन्दा आफन्तको कुराले मार्यो’ भनेजस्तै नेपालमा बाह्यभन्दा आन्तरिक समस्या नै बढी खतरनाक देखिन्छन् । अहिले राजनीतिक क्षेत्रमा पर्यटनसम्बन्धी सूझबूझको खाँचो छ । पर्यटकहरू सुरक्षित छन्, उनीहरूलाई कुनै पनि किसिमको हानि हुँदैन, बाटामा अवरोध हुँदैन भन्ने प्रतिबद्धता सरकारबाट आउनुपर्छ । नेपालबन्दका नाममा होटल तथा विमानस्थलमै पर्यटक थुनिने वातावरण अन्त्य हुनुपर्छ । यसको समाधानका लागि एअरलाइन्स, टान, हान, नाटा, नेपाल पर्यटन बोर्डलगायतले संयुक्त रूपमा नेपालसम्बन्धी एउटा अवधारणा बनाउनु जरूरी छ । यस दिशामा केही काम भएका छन् । नेपाल पर्यटन बोर्डले यस कार्यमा सबैसँग समन्वय गर्नुपर्दछ । यसअघि नेपालसम्बन्धी जुन गलत सन्देश प्रवाह भएको छ, त्यसलाई बदल्ने पहल सरकारबाट हुन आवश्यक छ ।
४० प्रतिशत पर्यटक दोहोर्याई/ तेहर्याई नेपाल आएको अनुभव छ । यसबाट पर्यटकहरू नेपाल आउन कति इच्छुक छन् भन्ने प्रष्ट हुन्छ । अब हामीले धार्मिक पर्यटनलाई पनि जोड दिनुपर्छ । हामी दुइ देशबीचको तरुल नभएर दुइ देशबीचको हीरा बन्नका लागि धार्मिक पर्यटन सेतु बन्न सक्छौँ। भारतमा १ अरबको हाराहारीमा हिन्दुजनसङ्ख्या छ । पशुपतिनाथदेखि मुक्तिनाथसम्मका पवित्र धाम नेपालमै रहेको सन्दर्भमा भारतीय पर्यटकहरूलाई आकर्षित गराउन सकिन्छ । त्यस्तै, चीनका लागि अरनिकोसँगको सम्बन्ध त छँदैछ ।
चिनियाँ बुद्ध धर्मावलम्बीका लागि बुद्धको जन्मस्थान आकर्षक गन्तव्य बनाउन सकिन्छ । यसलाई हामीले उल्लेख्य मात्रामा प्रवर्धन गर्न सकेका छैनौँ ।
कैलाश-मानसरोवरलाई पनि नेपालको पर्यटन विकासका लागि प्रयोग गर्न सकिने ठूलो सम्भावना छ । अहिले वार्षिक १५ हजार पर्यटक नेपाल भएर कैलाश-मानसरोवर जान्छन् । यो क्रम बढ्दो छ ।
नेपालबाट त्यहाँ पुग्न १७ दिन लाग्छ । पर्यटकले यसमध्ये ४ दिन नेपालमा बिताउँछन् । यो यात्रा अहिले नेपालगञ्जबाट सिमीकोट हुँदै र खासा हुँदै पनि भइरहेको छ । हामीले उपल्लो मुस्ताङको नयाँ रूट खोल्नुपर्छ । किनभने उपल्लो मुस्ताङको रूट पुरानो नीतिगत कारणले द्वन्द्वकालमा निषेधित क्षेत्र थियो । र, यो हालसम्म पनि कायमै छ । तर, अहिलेको सन्दर्भमा त्यसलाई निषेधित राखिरहनु आवश्यक छैन । किनभने त्यहाँ भएका गुम्बालगायतका सम्पदाहरूको सुरक्षा सरकारले दिन सकेको छैन । र, ती सम्पदाहरू चोरी भएर नाशिइसकेका छन् । अब पोखराबाट जोमसोम, मुस्ताङ, दामोदर कुण्ड, तिब्बत हुँदै कैलाश मानसरोवर जाने बाटो खोल्नु आवश्यक छ । यसबाट कैलाश-मानसरोवर जान लाग्ने १७ दिनमध्ये ७-८ दिन पर्यटकले नेपालमै बिताउँछन् । यसले पनि पर्यटन प्रवर्धन हुन्छ । यसमा पहल गर्न सकेमा नेपालमा पर्यटकको बसाइ लम्बिन्छ । यसले मुलुकको आर्थिक विकासमा समेत राम्रो योगदान पुर्याउँछ ।
नेपालमा कृषि र जलस्रोतपछि पर्यटनलाई तेस्रो महत्वमा राखिएको छ । तेस्रो महत्वमा राखिए तापनि हाम्रो माग पर्यटनलाई राष्ट्रिय उद्योगका रूपमा स्थापित गरियोस् भन्ने हो । उदाहरणका लागि बङ्गलादेशले गार्मेण्टलाई राष्ट्रिय उद्योगका रूपमा राखेको छ । हामीसँग उत्कृष्ट प्राकृतिक सम्पदाहरू छन् । हामीसँग विभिन्न मौलिक संस्कृतिहरू पनि छन् । यसलाई व्यवस्थापन गर्न सके यो कच्चापदार्थविनाको उद्योगका रूपमा स्थापित हुन्छ । त्यसैले यसलाई सरकारले उच्च प्राथमिकता दिनु आवश्यक छ ।
पर्यटकलाई विभिन्न सुविधाहरू जस्तै-यातायातका साधनमा छूट दिनुपर्छ । त्यस्तै पर्यटनमा लगानीको वातावरण बन्नुपर्दछ । गरीबी हाम्रो सबैभन्दा ठूलो समस्या हो । गरीबीको समाधान रोजगारी हो । रोजगारी लगानीबाट सिर्जना हुन्छ । लगानीका लागि वातावरण चाहिन्छ । यो वातावरण निर्माणका लागि सरकार र राजनीतिक दलहरूले पहल गर्नुपर्छ ।
पर्यटक हाम्रा पाहुना हुन् । पर्यटन व्यवसाय अतिथिलाई खुशी बनाएर गरिने व्यवसाय हो । पर्यटनको विकास हाम्रो सत्कारसँग गाँसिएको छ । सबै नेपालीले पर्यटक देख्नेबित्तिकै हँसिलो मुखले 'के छ ? (हाउ आर यू ? )' भनेर आत्मीय व्यवहार गरिदिने हो भने उनीहरूमा राम्रो प्रभाव पर्छ ।
नेपाल पर्यटन वर्ष यस सम्बन्धी व्यवसायीहरूका लागि मात्र नभएर सम्पूर्ण नेपालीको अभियान हो । यसमा सबै मिलेर लाग्नुपर्दछ । यो नेपालमा पर्यटक ल्याउने एउटा शुरूआत मात्र हो । द्वन्द्वपछिको नेपालको परिचय दिने उत्कृष्ट अवसर पनि यही हो ।
लेखक नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का पूर्वअध्यक्ष हुन् ।