लाभांश प्रतिफल, ब्याजदर र शेयरबजार
रविन्द्र भट्टराई
शेयरबजारले दिशा परिवर्तन गर्ने बिन्दु वा समयको पहिचान गर्ने विभिन्न औजारमध्ये लाभांश प्रतिफल एक हो । यसको प्रत्यक्ष तुलना ब्याजदरसँग हुन्छ । लाभांश प्रतिफल कम्पनीले दिएको वा भविष्यमा दिन सक्ने प्रतिशेयर लाभांशलाई तत्कालको बजार मूल्यले भाग गरेर पत्ता लगाइन्छ । त्यसलाई 'डिभिडेण्ड यिल्ड' पनि भनिन्छ । जब लाभांश प्रतिफल ब्याजदरभन्दा बढी हुन्छ लगानीकर्ताले बैङ्कबाट ऋण लिएर शेयरमा लगाउँछन् । र, शेयरको माग बढ्न गई मूल्य बढ्छ । अर्कातर्फलाभांश प्रतिफलभन्दा ब्याजदर बढी भए शेयर विक्री गरी बैङ्कमा पैसा राख्ने गरिन्छ । यसले शेयरको आपूर्ति बढ्न गई मूल्य घट्न जान्छ । अन्तरराष्ट्रिय बजारमा, जहाँ ऋणपत्र बजारको विकास भएको छ, शेयरबजार र ऋणपत्रको बजार ठीक विपरीत दिशामा चल्ने गर्छन् । नेपालमा ऋणपत्र बजारको विकास हुन नसकेका कारण अन्तरराष्ट्रिय बजारमा हुने गरेका अनुभव देखिन सकेका छैनन् । तर, शेयर मूल्य र बैङ्कको ब्याजदरसँग भने धेरै नै सम्बन्ध रहने देखिएको छ ।
लाभांश प्रतिफलले समग्र बजारको पनि गणना गर्न सकिन्छ । यसमा शेयरबजारमा सूचीकृत कम्पनीले बाँडेको कुल लाभांशलाई कुल बजार पूँजीकरणले भाग गरेर आउने परिणाम नै बजारको लाभांश प्रतिफल हो । सीमित कम्पनीलाई आधार मानेर बजार परिसूचक गणना गर्ने अन्तरराष्ट्रिय बजारमा यो प्रतिफल गणना गरिन्छ । अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकरण भएका कम्पनीमध्ये उत्कृष्ट ३० कम्पनीका आधारमा 'डाउजोन इण्ड्रष्ट्रियल एभरेज'को गणना गरिन्छ । त्यसैगरी, भारतमा बम्बै स्टक एक्सचेञ्जमा सूचीकरण भएका कम्पनीमध्ये ३० कम्पनीको छनोट गरी सेन्सेक्सको गणना गरिन्छ । यिनै ३० कम्पनीले वितरण गरेको कुल लाभांश र यिनको कुल बजार पूँजीकरणका आधारमा बजारको लाभांश प्रतिफल गणना गरिन्छ । सम्बन्धित निकायमा लगानीकर्तालाई पर्याप्त सूचना प्रदान गर्ने सोचको विकास भएमा नेपालको बजारमा पनि यस्ता अनुपातको गणना गर्न सकिन्छ । बजेटमा सरकारले लगानीकर्तालाई अधिकतम सूचना प्रदान गर्ने प्रविधिको विकास गर्ने बताएको छ । यो प्रतिबद्धताबाट लगानीकर्ताले आगामी दिनमा कति नयाँ सूचना प्राप्त गर्न सक्छन्, त्यो भने भविष्यले नै देखाउनेछ ।
लाभांश प्रतिफल जसरी नै समग्र शेयरबजारको मूल्य-आम्दानी अनुपात पनि गणना गरिन्छ । कुल बजार पूँजीकरणलाई कुल नाफाले भाग गरेर बजारको मूल्य-आम्दानी अनुपातको गणना गरिन्छ । यसले समग्र बजार बढी मूल्याङ्कन भएको छ वा कम भन्ने पत्ता लगाउन सकिन्छ । यसका अलावा बजार कुन तहमा रहँदासम्म ठीक हुन्छ भन्ने पनि यसबाट निर्धारण गर्न सकिन्छ । नेपालमा नेप्से परिसूचकको तह कति हुँदा बजार सही अवस्थामा रहेको हुन्छ भन्ने अन्योल रहेको छ र समय समयमा विभिन्न क्षेत्र तथा व्यक्तिबाट विभिन्न थरिका तथ्याङ्क प्रस्तुत भएका पाइन्छन् । यसले बजारको वास्तविकताका बारेमा सर्वसाधारणमा भ्रम सृजना गरी बजारमा अनावश्यक उतारचढावको स्थिति सृजना गर्ने गरेको पाइन्छ । बजारको लाभांश प्रतिफलजस्ता तथ्याङ्क प्रकाशनका लागि नेपाल स्टक एक्सचेञ्ज एकमात्र जिम्मेवार निकाय हो । नेप्सेले सूचीकृत कम्पनीका सूचना सङ्कलन गरी यस्ता सूचना प्रकाशन गर्नुपर्छ । समग्र सूचीकृत कम्पनीका तथ्याङ्क सङ्कलन गर्न नसकिए पनि सूचीकृत 'क' वर्गका कम्पनीको बजार पूँजीकरण, तिनको खुद नाफा र लाभांश वितरणका आधारमा यी सूचकाङ्क गणना गरी यसको वेबसाइटमार्फत प्रकाशन गर्नुपर्ने देखिन्छ । बजारको लाभांश प्रतिफल औसत ब्याजदरभन्दा बढी रहुन्जेल बजार बढ्छ । र, जब बजारमा लाभांश प्रतिफलले ब्याजदरलाई तल पार्छ, बजारमा बुलिस प्रवृत्ति शुरू हुन्छ । तर, जब ब्याजदर बढी हुन शुरू गर्छ बजारमा स्वत: वियरिस प्रवृत्ति शुरू हुन्छ ।
उदाहरणका लागि नेपालको शेयरबजारलाई प्रभावित गर्नसक्ने केही कम्पनीको लाभांश प्रतिफल दर र ब्याजदरलाई विश्लेषण गर्दा यिनले बजारको दिशा परिवर्तन गर्ने सङ्केत प्रदान गरेको पाइन्छ । आव २०६०/६१ देखि यताको तथ्याङ्क हेर्दा आव २०६३/६४ सम्म नबिल बैङ्कको लाभांश प्रतिफल दर ब्याजदरभन्दा बढी देखिन्छ । आव २०६४/६५ मा आएर ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदरभन्दा लाभांश प्रतिफल दर तल झरेको टेबलमा प्रस्तुत तथ्याङ्कबाट थाहा पाउन सकिन्छ । त्यही वर्षबाट नै शेयरबजारमा पनि बियरिस प्रवृत्ति देखा परेको हो । यस्तै तथ्याङ्क स्टयाण्डर्ड चार्टर्ड बैंकको पनि छ, जुन टेबलमा हेर्न सकिन्छ । यी तथ्याङ्क, आर्थिक वृद्धि र शेयरबजारको सम्बन्ध तथा ब्याजदर र शेयरबजारको सम्बन्धको यसअघिका अङ्कमा गरिएको विश्लेषण र त्यसबाट निस्किएको विश्वव्यापी मान्यताअनुसारको परिणामले नेपालको शेयरबजारमा पनि विवेकशील लगानी हुने गरेको प्रस्ट हुन्छ । यी परिणामले नेपालको शेयरबजार हल्लाका भरमा मात्र चल्छ र कुनै विवेकशीलता छैन भन्ने जस्ता अभिव्यक्ति दिँदै हिँड्ने अर्थशास्त्री तथा नियमन निकायका पदाधिकारीका कुरा मिथ्या सावित गरिदिएको छ । छोटो समयमा बजारको उतारचढाव अस्वाभाविकजस्तो देखिए तापनि लामो समयमा भने यसले विवेकशीलता प्रस्तुत गरेको छ । बजारमा आएका सूचनासँगै लगानीकर्ताले तत्काल लगानी (खरीद वा विक्री) उत्तेजना प्रस्तुत गर्नु विश्वव्यापी मान्यता पनि हो ।
आव २०६६/६७ बाट यी दुई बैङ्कको लाभांश प्रतिफलमा पुन: वृद्धि शुरू भएको छ । आव २०६७/६८ मा पनि यो दर बढ्ने अनुमान गर्न सकिन्छ । पछिल्ला तथ्याङ्कअनुसार यी कम्पनीको लाभांश प्रतिफल दर ब्याजदरभन्दा अझै कम देखिन्छ । तर पनि, समयमा आएको बजेट, वित्तीय क्षेत्रमा चालिएका सुधारका कार्यक्रम, शोधनान्तर बचत, घटाइएको नगद मौज्दात अनुपातले आगामी दिनमा ब्याजदरमा कमी आउने प्रशस्तै सम्भावना छन् । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्कअनुसार ट्रेजरी बिल्सको वार्षिक औसत ब्याजदर गतवर्षको भन्दा बढी भए पनि वैशाख महीनायताको मासिक ब्याजदर भने घटेको छ । यो घट्दो क्रमले आगामी महीना पनि निरन्तरता पाउने आशा गर्न सकिन्छ ।
यी कम्पनीको लाभांश प्रतिफलमा देखिएको 'यू टन'ले बजारमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको छ । प्राविधिक विश्लेषणका आधारमा पनि शेयरबजार माथि जाने सङ्केत देखापरेका छन् । पुस महीनायताको नेप्से परिसूचकलाई रेखाचित्रमा प्रस्तुत गर्दा यसले उल्टो 'हेड एण्ड सोल्जर'को आकृति बनाएको छ । यो प्राविधिकरूपमा बजार बढ्ने सङ्केत हो । यसैगरी २ सय ९२ बाट बढेर ३ सय ६४ पुगी बजार घट्दा बजार पुन: २ सय ९२ भन्दा तल जान नसक्नु र ३ सय ६४ को अवरोध पार गर्नुले पनि बजार थप सकारात्मक हुने कुराको सङ्केत गर्छ ।
लेखक शेयर विश्लेषक हुन् ।
Admin 2011-07-28