शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विकासशील देशमा क्यान्सर उपचार
हेनरी आई मिलर
क्यान्सरलाई कहिलेकाहीँ धनी देशको रोग भनिन्छ तर यो गरीब देशको पनि रूग्णता र मृत्युको प्रमुख कारण रही आएको छ । वास्तवमा यस दशकको अन्त्यसम्ममा विश्वभरिका १५ करोड मानिसलाई क्यान्सर हुनेछ, जसमध्ये ६० प्रतिशत विकासशील देशबाट हुनेछन् । यद्यपि विकासशील देशका थोरै मात्र मानिस क्यान्सर हुने उमेरसम्म बाँच्छन् ।

न्यून पोषण तथा वातावरणमा रहेका भाइरस र विषालुपदार्थसँगको सङ्क्रमणका साथै निदान र उपचारको अभावले क्यान्सरको घटना र जोखिम बढ्छ । गरीब देशका धेरै मानिस त्यस्ता क्यान्सरबाट मर्छन् जुन धनी देशमा पूर्णरूपले उपचारयोग्य छन् । तर, प्राय: उनीहरू सरूवा रोगजस्ता अन्य व्याधिबाट पनि मर्ने गर्छन् । त्यसो भए यस्तो जटिलतालाई कसरी समाधान गर्न सकिएला त ?

विश्व स्वास्थ्य सङ्गठनकी मार्गरेट चान र अन्तरराष्ट्रिय आणविक ऊर्जा निकाय (आईएइए)का निर्देशक युकिया अमानोले हालैको एक लेखमा धेरैजसो विकासशील देशका स्वास्थ्य सेवा प्रणाली क्यान्सरभन्दा पनि सरूवा रोग नियन्त्रणमा केन्द्रित रहेको लेखेका छन् । सरूवा रोगको ठूलो मृत्युदर र धेरैजसो सरूवा रोग तुलनात्मक रूपले कम खर्चमै उपचार गर्न सकिने हुँदा यस्तो रणनीति स्वाभाविक नै देखिन्छ ।

विकासशील देशमा धेरै प्रकारका क्यान्सरको निदान र उपचारका लागि पूर्वाधारमा निकै ठूलो लगानी गर्नुपर्ने हुन्छ । जस्तो कि चान र अमानोले पनि भनेका छन् : 'धेरैजसो देशमा क्यान्सर बिरामीको हेरचाहका लागि आवश्यक पर्ने कोष, उपकरण र योग्य जनशक्तिको अभाव छ । ३० ओटा देशमा एउटा पनि रेडियोथेरापी मेशिन छैन र तीमध्ये आधाजसो अप्रिmकामा छन् । साथै, ती देशहरूसँग क्यान्सर सेवाको दीर्घकालीन माग सम्बोधनका लागि वित्तीय स्रोत, सुविधा, उपकरण, प्रविधि, पूर्वाधार तथा कर्मचारी छैनन् ।’   

यस्ता कमीको सम्बोधनका लागि आईर्एइएले विभिन्न देशमा रेडिएशन उपचार क्षमता निर्माण गर्नुपर्ने हुन्छ । तर, दक्ष र लगनशील कर्मचारीविना प्रविधिमात्रैले पनि खासै उपलब्धि हुँदैन । त्यस्तो उपाय कुनै खास लक्ष्यमा केन्द्रित हुँदैन र लागतका हिसाबले पनि प्रभावकारी हुँदैन । तर, संयुक्त राष्ट्रसङ्घको आफ्नैतथ्याङ्कले देखाएअनुसार गरीब जनसङ्ख्याका लागि सरूवा रोग अझै पनि श्रापकै रूपमा देखिएको छ, जबकि धेरैजसो सरूवा रोगको रोकथाम गर्न सकिन्छ ।

सन् २००८ मा मलेरियाबाट झण्डै २५ करोड सङ्क्रमित भएका थिए, जसमध्ये १० लाखको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये धेरैजसो ५ वर्षमुनिका केटाकेटी थिए । लगभग सबैजसो गरीब र
मलेरिया पीडित देशहरूमा मलेरियाविरूद्धको औषधि खासगरी, आर्टेमिसिनिनमा आधारित संयुक्त उपचारको अभाव छ ।   

मलेरियाको सङ्क्रमणलाई लामखुट्टे विनाशक रसायन डीडीटीको समुचित प्रयोगले कम गर्न सकिन्छ । तर, संयुक्त राष्ट्रसङ्घ र राष्ट्रिय नियामकहरूले डीडीटीको विषालुपनबारे  गलत धारणाबाट प्रभावित भएर त्यसलाई सजिलै उपलब्ध हुन नसक्ने बनाएका छन् । त्यसैगरी, फाइलेरिया र हैजाजस्ता अन्य थुप्रै उष्णप्रदेशीय रोगहरूबाट लाखौंको मृत्यु हुने गरेको छ ।

एचआईभी सङ्क्रमणका नयाँ घटनाहरूमा गत दशकमा विश्वव्यापी रूपले नै कमी आए तापनि २००८ मा २७ लाख मानिसलाई उक्त भाइरसको सङ्क्रमण भएको थियो भने २० लाखजना एचआईभी एड्ससम्बन्धी कारणले मृत्यु भएको थियो । त्यस वर्षको अन्त्यसम्ममा निम्न र मध्यम आम्दानी भएका देशका ४० लाख मानिसले एचआईभीविरूद्धको उपचार गराइरहेका थिए भने एचआईभी पोजिटिभ भएका ५० लाखभन्दा बढीको उपचार हुन सकेको थिएन । क्षयरोगका नयाँ रोगीको सङ्ख्या पनि विश्वव्यापी रूपले नै बढिरहेको छ र खासगरी बहुऔषधि प्रतिरोधक ब्याक्टेरियाको नयाँ स्वरूप देखिनु चिन्ताजनक छ ।   

संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्कअनुसार विश्वको १५ प्रतिशत जनसङ्ख्या स्वच्छ पानीसम्मको पहुँचबाट वञ्चित छ । त्यसैगरी, २००८ मा २ अर्ब ६० करोड मानिसको मात्र स्वच्छ शौचालयसम्म पहुँच थियो भने १ अर्ब १० करोडले खुला ठाउँमा दिसा गरिरहेका थिए । पुरानै तरीकाको ढल व्यवस्थापनले शिष्टोसोमायासिस, ट्रकोमा, भाइरल हेपाटाइटिस र हैजाजस्ता रोग फैलिरहेको छ ।

कतिपय क्यान्सर दीर्घकालीन भाइरल सङ्क्रमणबाट हुन्छन् । त्यसैले, रेडियोथेरापी सुविधा निर्माणमा भन्दा पनि स्वच्छ खानेपानीमा पहुँच, आधारभूत सरसफाइ, एण्टिबायोटिक्स र खोपमा सुधार गरेर सङ्क्रामक रोगमाथि आक्रमण गर्नु बढी युक्तिसङ्गत देखिन्छ । प्रविधिमा कमजोर तर तेलमा धनी मध्यपूर्वी देशहरूमा उच्च गुणस्तरको रेडियोथेरापी (र कार्डियो-पल्मोनरी बाइपास) उपकरण आपूर्ति गरिए तापनि ती कहिल्यै प्रयोग भने नगरिएको पाइएको छ । अथवा विद्युतीय गडबडी र विद्युत् कटौतीले ती मेशिन क्षतिग्रस्त भएका छन् । कतिपय गरीब देशहरूमा एउटा पनि मेडिकल स्कूल छैन र विदेश पढ्न गएका तिनका नागरिक कि त विदेशमै बस्छन् कि स्वदेशमा न्यून-गुणस्तरको प्रविधि चलाउन बाध्य हुन्छन् ।   

महँगा उपकरण, महँगा केमोथेरापी औषधि र बोनम्यारो (हड्डीभित्रको मासी) प्रत्यारोपणजस्ता जटिल प्रक्रिया उपयुक्त हुन्न भन्दैमा विकासशील देशहरूमा क्यान्सरको उपचार नै गर्न हुन्न भन्ने पनि होइन । कहिलेकाहीँ रोकथाम, निदान र उपचार नै कम खर्चिलो सावित हुन्छन् । हेपाटाइटिस ए र बी (तथा सी)विरूद्धको खोपले भाइरल सङ्क्रमण मात्र नभई सिरोसिस र हेपाटिक कासिनोमाको सम्भावनालाई पनि घटाउँछ । साथै, वायु प्रदूषण र धूमपान नियन्त्रणका क्षेत्रमा गरिने सार्वजनिक स्वास्थ्य प्रयासले एशिया र अप्रिmकामा फोक्सोको क्यान्सरको
सम्भावना घटाउन सक्छ ।

अर्को उदाहरण पाठेघरको क्यान्सरको हो, जसमध्ये धेरैजसोलाई ⋲युमन पापिलोमा भाइरसविरूद्धको खोपले उपचार गर्न सकिन्छ । त्यसैगरी, पाठेघरको क्यान्सर पत्ता लगाउन एसिटिक एसिडको प्रयोग गर्न सकिन्छ र त्यसपछि चिस्यान (क्रायोथेरापी) उपचार गर्न सकिन्छ । मुख्य कुरा के हो भने स्वास्थ्य सेवाको स्रोत र साधन सीमित भएकाले कठिन निर्णयपनि लिनुपर्ने हुन्छ, जसबाट न्यूनतम खर्चमा धेरैजनालाई सेवा पुर्याउन सकियोस् ।

हेनरी आई मिलर स्टयान्फोर्ड युनिभसिटीको हुभर इन्षिटच्युशनमा साइण्टिफिक फिलोसोफी एण्ड पब्लिक पोलिसीका फेलो हुन् । उनी यूएस नेशनल इन्षिटच्युट अफ हेल्थ र यूएस फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनका अधिकारी पनि हुन् ।

Admin 2011-08-30