मानव संसाधन व्यवस्थापन र सीएसआर
बलराम चापागाईं
आज हरेक व्यावसायिक संस्थाको सफलताको कडी पूँजी, प्रविधिभन्दा पनि सक्षम मानव संसाधन हो भन्ने प्रमाणित भइसकेको छ । किनकि, अरू साधनस्रोत सजिलै प्राप्त गर्न, किन्न वा नक्कल गर्न सकिन्छ । तर, सक्षम मानव संसाधन वा तिनमा निहित ज्ञान तथा शीप अरू वस्तुजस्तो न त सजिलै प्राप्त गर्न सकिन्छ न सजिलै खरिदविक्री गर्न नै । त्यसैगरी यसको सक्षमताले नै अरू साधनस्रोतको सही उपयोग हुनु/नहुनुलाई निर्धारण गर्दछ । त्यसैले मानव संसाधन व्यवस्थापनलाई आधुनिक व्यावसायिक संस्थाहरूले उच्च प्राथमिकताका साथ अँगालेको पाइन्छ । आमबुझाइमा यसका प्रमुख कामहरू भनेको आवश्यकतानुसार मानव संसाधनलाई प्राप्त गर्ने, तिनको क्षमता अभिवृद्धि गर्ने, उपयोग गर्ने र श्रम सम्बन्धमा सौहार्दता कायम गर्ने नै हो ।
समयको गतिसँगै व्यावसायिक जगत्मा नयाँनयाँ चुनौतीहरू देखा परेका छन् । खासगरी सन् १९९० को दशकयता विश्वव्यापीकरण, राजनीतिक, आर्थिक, सामाजिक र प्राविधिक परिवर्तनहरू, श्रमशक्तिमा विविधता, मानव संसाधनको चलायमानता, कार्यस्थल र व्यक्तिगत जीवनबीचको द्वन्द्व, उपभोक्ता एवम् अन्य सरोकारवालाहरूको बदलिँदा आकाङ्क्षा एवम् प्राथमिकताहरू, बढ्दो व्यावसायिक प्रतिस्पर्धा आदिका कारण मानव संसाधन व्यवस्थापनका थप नयाँ भूमिकाहरू अपरिहार्य भएका छन् । नयाँ परिप्रेक्ष्यमा मानव संसाधन व्यवस्थापनको भूमिका परम्परागत ढर्रा (नीतिनियमको पहरेदार)बाट माथि उठी मानव संसाधनको उच्चतम उपयोग एवम् व्यावसायिक लक्ष्य प्राप्तिका लागि परिस्थितिअनुकूल नीति निर्धारण गर्ने वा यसमा उच्च व्यवस्थापनलाई सही मार्ग देखाउने हुनु जरुरी छ ।
स्मरणीय के छ भने, हाम्रो मुलुकमा सापेक्षिक रूपमा कम बुझिएको वा कम महत्त्व दिइएको व्यावसायिक-सामाजिक उत्तरदायित्व र मानव संसाधन व्यवस्थापनका कतिपय सवालहरू साझा छन् । उदाहरणका लागि कर्मचारी छनोट प्रक्रियालाई समावेशी बनाउने, मानव संसाधनको विकास एवम् उच्चतम उपयोग गर्ने, व्यावसायिक उद्देश्यसँग नबाझिने हिसाबले सरोकारवालाहरूको आवश्यकतालाई सम्बोधन गरी आपसी सम्बन्ध सुमधुर गर्ने आदि यी दुइका साझा सवालहरू हुन् । तसर्थ, नेपालका व्यावसायिक प्रतिष्ठानहरूले यी दुवै विषयवस्तुलाई अलग-अलग नठानी अन्तरसम्बन्धित छन् भन्ने बुझनु जरुरी छ । वास्तवमा मानव संसाधन व्यवस्थापनलाई निश्चित प्रकारले अगाडि बढाउँदा व्यावसायिक-सामाजिक उत्तरदायित्वको प्रवर्द्धन हुने र उत्तरदायी व्यावसायिक-सामाजिक अभ्यासले मानव संसाधन व्यवस्थापनलाई प्रभावकारी बनाउने हुन्छ ।
यदि कुनै कम्पनी सामाजिक रूपले उत्तरदायी छ भने यसले उच्चकोटिका मानव संसाधनलाई संस्थाप्रति आकर्षित गर्न सक्छ । यस्तो किसिमको कम्पनीले उसको मानव संसाधनलाई लामो समयसम्म संस्थामा रहिरहन चाहने बनाउँदछ । उदाहरणका लागि सन् २००३ मा अमेरिकाको विख्यात स्टयाण्डफोर्ड विश्वविद्यालयका 'एमबीए ग्रयाजुएट'हरूमाझ गरिएको सर्वेक्षणले उनीहरू यदि सामाजिक रूपले उत्तरदायी कम्पनीमा रोजगारी पाए अन्य कम्पनीको दाँजोमा औसत वाषिर्क १३ हजार ७ सय डलर कम पारिश्रमिकमा काम गर्न तयार रहेको देखाएको छ । त्यसैगरी 'सियर्स' कम्पनीले आफूले व्यावसायिक-सामाजिक उत्तरदायित्वको मर्म र भावनाअनुरूप काम गर्दा कर्मचारीले संस्था छोडेर अन्यत्र जाने क्रम २० प्रतिशतले कम भएको पाएको बताएको छ ।
त्यसैले नेपालका मानव संसाधन व्यवस्थापकहरूले कर्मचारीको व्यवहार र उत्पादकत्वको कुरा गर्दा उनीहरूको मनोविज्ञान बुझ्न जरुरी छ । कर्मचारीले
संस्थाप्रति सकारात्मक वा नकारात्मक सोचाइ बनाउन तलबसुविधाले मात्र नभई समग्र कार्य वातावरण र संस्थाको ख्यातिले समेत असर गर्दछ । उत्तरदायी व्यावसायिक-सामाजिक अभ्यासको मान्यताअनुरूप व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा समग्र कार्य वातावरण र सरोकारवालाहरूसँगको सम्बन्धमा सुधार हुन गई संस्थाको ख्यातिसमेत वृद्धि हुने हुन्छ । यी सबै कुराले अन्ततः सजिलैसँग उच्चकोटिका मानव संसाधन प्राप्त गर्ने, उनीहरूको क्षमताको अधिकतम उपयोग गर्ने, उत्पादकत्वमा वृद्धि ल्याउने, श्रमसम्बन्ध सुधार गर्ने र मुनाफामा वद्धि गर्नेसमेतको लाभ एउटा कम्पनीले लिन सक्छ । यसबाट समग्र व्यावसायिक उद्देश्यहरू प्राप्त गर्न सहज र सजिलो हुन्छ ।
जबसम्म सबै कर्मचारीहरूलाई व्यावसायिक-सामाजिक उत्तरदायित्व एवम् नैतिकताका सम्बन्धमा राम्ररी सजग एवम् सहभागी बनाइँदैन, तबसम्म संस्थाले पैसा, विश्वास र ख्याति सबैमा नोक्सानी बेहोर्नुपर्ने प्रबल सम्भावना रहन्छ । उदाहरणका लागि एक औषधि निर्माता कम्पनी 'नोभार्टिस'ले हालै लैङ्गिक विभेदको अभियोगमा २५ करोड अमेरिकी डलर जरिवाना तिर्नुपरेको दृष्टान्त हामीमाझ छिपेको छैन । नेपालमै पनि जुस, पेट्रोल एवम् खाद्यपदार्थमा मिसावट, बालश्रमिकको उपयोग आदि सम्बन्धमा सानाठूला 'स्क्याण्डल'हरू हुने गरेका छन् । एक सर्वेक्षणका अनुसार असन्तुष्ट कर्मचारीले कामको गुणस्तर एवम् ग्राहकको सन्तुष्टिमा ध्यान दिन सक्दैन । र, हरेक असन्तुष्ट ग्राहकले कम्तीमा आठ जना अरू व्यक्तिलाई आफ्नो अनुभव सुनाउँछ । यी कुराहरूबाट के बुझ्न सकिन्छ भने कर्मचारीको सन्तुष्टि, ग्राहकको सन्तुष्टि र अन्ततः व्यावसायिक सफलतामा व्यावसायिक नैतिकता एवम् व्यावसायिक-सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण भूमिका हुन्छ ।
नेपालजस्तो द्वन्द्वपीडित मुलुकमा यो अझ बढी सान्दर्भिक छ । व्यावसायिक-सामाजिक उत्तरदायित्वलाई राम्रोसँग निर्वाह गर्दा सरोकारवालाहरूसँगको सम्बन्धमा सुधार हुन गई औद्योगिक प्रतिष्ठानहरूमा बन्द हडताल कम हुने, संस्थाले कानूनी झमेलाहरू बेहोर्नु नपर्ने, सम्पत्तिको सुरक्षा हुने, सुरक्षा खर्चमा कटौती हुने, आपूर्ति सञ्जाल सहज हुने, सुशासन प्रवर्द्धन हुने आदि हुन्छ । साथै, उत्पादकत्व र बजार विस्तारले थप रोजगारीको अवसर सृजना हुन गई द्वन्द्वको मूल कारण बेरोजगारी एवम् आर्थिक असमानताको समस्यालाई सम्बोधन गर्न सकिन्छ । यति मात्र नभई गरीबी, आपसी अविश्वास, आपराधिक क्रियाकलाप आदिमा कमी एवम् सुशासन प्रवर्द्धन भई देशमा थप स्वदेशी एवम् विदेशी लगानी आकषिर्त गर्न सकिन्छ ।
अझ के पनि विश्वास गरिन्छ भने, जहाँ सामाजिक रूपले उत्तरदायीपूर्ण व्यावसायिक अभ्यास हुन्छ, त्यहाँ कर्मचारीहरूको युनियनहरूप्रतिको झुकाव एवम् आबद्धता कम हुन गई स्वतः रोजगारदाता र श्रमिकहरूबीचको तनाव कम हुन जान्छ र श्रमसम्बन्ध सौहार्दपूर्ण हुन्छ । नेपालका उद्यमी-व्यवसायीहरू र मानव संसाधन व्यवस्थापकहरूले दीर्घकालीन एवम् दिगो समृद्धिका लागि यस तथ्यलाई बेलैमा मनन गर्न जरुरी छ ।
माथिका छलफल एवम् उदाहरणहरूबाट मानव संसाधन व्यवस्थापनले व्यावसायिक-सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ र खेल्नुपर्छ भन्ने कुरालाई प्रस्ट पार्दछ । तर, यसका लागि किन, के र कसरी भन्ने सम्बन्धमा स्पष्ट खाका हुन भने जरुरी छ । सर्वप्रथम स्पष्ट मूलभूत व्यावसायिक उद्देश्य, मूल्य र मान्यताहरू स्थापित गरिनुपर्दछ र यसमा सामाजिक उत्तरदायित्वका पक्षहरूलाई पनि समेटिनुपर्छ । तत्पश्चात् व्यावसायिक-सामाजिक उत्तरदायित्व रणनीति (सीएसआर स्ट्राटेजी) तय गर्ने, कर्मचारी आचारसंहिता तयार पार्ने, सीएसआर रणनीतिको मर्मअनुरूप मानव संसाधन योजना तर्जुमा गर्ने, छनोट गर्ने एवम् अभिमुखीकरण तथा तालिम प्रदान गर्ने गर्नुपर्दछ । यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा सीएसआरसम्बन्धी उद्देश्यहरू हासिल भए/नभएको पनि हेरिनुपर्छ । र, अन्त्यमा यससम्बन्धी सम्पूर्ण क्रियाकलाप एवम् उपलब्धिहरूलाई सबै सरोकारवालाहरूमाझ सञ्चार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
समग्रमा दिगो व्यावसायिक विकास, सरोकारवालाहरूसँगको सम्बन्ध सुधार एवम् द्वन्द्व रूपान्तरणका लागि समेत व्यावसायिक-सामाजिक उत्तरदायित्व आजको अपरिहार्य आवश्यकता हो । यसका लागि मानव संसाधन व्यवस्थापनको सक्रिय भूमिका एवम् संस्थाको उच्च व्यवस्थापन तहको दृढ प्रतिज्ञाको खाँचो छ ।
लेखक राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)का वरिष्ठ प्रशिक्षक एवम् सल्लाहकार हुन् ।
Admin 2011-02-25