दाहिने आँखाले हेर्नुस् त !
अभय पाण्डे
डाक्टरः दाहिने आँखाले हेर्नुस् त ! के देख्नुभयो ? रियल डिजिटल टीभी नामक डिजिटल केवल सेवाको विज्ञापनमा डाक्टरले बिरामी बनेको प्रसिद्ध हास्य अभिनेता जितु नेपाललाई यही प्रश्न सोध्छ । बिरामीले जे देख्छ, त्यही भन्छ । तर, सञ्चार मन्त्रालयले के देख्यो कुन्नि - करीब दुइ साताअघि उक्त विज्ञापन प्रसारणमा प्रतिबन्ध लगायो । सौभाग्य भने पनि दुर्भाग्य भने पनि त्यो विज्ञापन बनाउने जिम्मा एक विज्ञापन संस्थामार्फत मैले नै पाएको थिएँ । सौभाग्य यस कारण कि त्यो विज्ञापन अधिकांश टीभी च्यानलहरूमा करीब चार महीना प्रसारण भइसकेको थियो । यति लामो समयपछि प्रतिबन्धित भएको यो पहिलो टीभी विज्ञापन थियो । अझ मलाई थाहा भएसम्म सञ्चार मन्त्रालयले अहिलेसम्म कुनै पनि टीभी विज्ञापनमा प्रतिबन्ध लगाएको यो पहिलो घटना थियो । सौभाग्य यस कारण पनि कि त्यो विज्ञापन भारतको स्टार, जी, सोनी, आदिबाट प्रसारण हुँदैनथ्यो । प्रसारण भएको भए ती सबै च्यानललाई नेपालमा प्रतिबन्ध लगाउनुबाहेक मन्त्रालयसँग अर्को विकल्प थिएन । हाम्रो सञ्चार मन्त्रालयले काटेको पुर्जी उनीहरूका लागि बाध्यकारी हुने थिएन । अझ विज्ञापन इण्टरनेटमा प्रसारण भएको भए त कसकसलाई पुर्जी काट्ने भनेर थाहा पाउन नै एउटा आयोग गठन गर्नुपर्ने हुन्थ्यो ।
दुर्भाग्य यस कारण कि न त त्यस विज्ञापनमा अमर्यादित तवरले महिलाको वक्षस्थल वा नितम्ब देखाइएको छ, न त बालश्रम नै देखाइएको छ । न त कुनै पनि प्रयोगशालामा प्रमाणित नै नगरिएको हावादारी वैधानिक दाबी नै छ, न त त्यसमा कुनै धर्म वा सम्प्रदायको संवेदनशीलतामाथि नै खेलबाड गरिएको छ । त्यस विज्ञापनमा केवल तुलना गरिएको छ, डिजिटल केवल र डीटीएच सेवाबीच । यथार्थ के हो भने, तुलनाको खेल डिजिटल एघारबाट नै शुरू भएको थियो । पहिलो गोल सायद रियल डिजिटल एघारले गर्न भ्यायो । त्यसो त दुइ सेवाबीच तथ्यपरक तुलना गरिनु प्रतिबन्धको उपयुक्त कारण हुन सक्दैन । त्यसबाहेक अन्य कारणले गर्दा प्रतिबन्धित भएको भए, त्यो वस्तुगत तथ्यमा आधारित छ जस्तो मलाई लाग्दैन, भए मेरो अज्ञानता नै भन्नु पर्ला ।
कुन कारणले प्रतिबन्धित भयो भन्ने प्रश्नभन्दा बढी महत्त्वपूर्ण प्रश्न छ, कुन निकायले कुन प्रक्रियाद्वारा प्रतिबन्धित गर्यो ? विनाकारण विज्ञापनमा प्रतिबन्ध लागिसक्यो । टीभी च्यानलहरूले पनि सरकारको आज्ञालाई शिरोधार्य गरिसके । 'गेम इज नाउ फिनिष्ड' । आश्चर्यको कुरा त के छ भने बेलाबेलामा टीभी च्यानलहरूको तार काटिदिने हैसियत राख्ने डिजिटल केबलका मालिकहरू आफ्नै तार काट्दाचाहिँ मौन छन् । स्थिति के छ भने, यस विषयमा न विज्ञापनको मालिक बोल्छ, न विज्ञापन एजेन्सी बोल्छ, न त विज्ञापन एजेन्सीहरूको शीर्ष संस्था 'आन' नै बोल्छ । मैले मात्र बितिसकेको कुरामा धेरै बोल्नु आवश्यक छैन । तर, भविष्यमा हुन सक्ने अन्य प्रतिबन्धको सम्बन्धमा चाहिँ बोल्न जरुरी छ । जब पत्रकार साथीहरूमाथि ठाउँठाउँमा साङ्घातिक हमला हुँदा आफ्नै पहल र स्रोतसाधन लगाएर (एभिन्युज टीभीको सदाशयतासहित) 'कलम बन्छ मसी' भन्ने विज्ञापन बनाउन अघि सरे भने आफ्नै क्षेत्रको स्वतन्त्रताको मुद्दालाई नउठाउने भन्ने त प्रश्न नै उठ्दैन ।
अङ्ग्रेजीमा एउटा भनाइ छ, 'नोबल डिड्स रिक्वाएर नोबल मिन्स' अर्थात् राम्रो काम भनेर चिनिन राम्रै बाटो अपनाएको हुनुपर्दछ । मनसायचाहिँ जतिसुकै राम्रो भए तापनि तरीका वा प्रक्रियासहित अपनाइएको छैन भने त्यसलाई राम्रो कार्य भन्न मिल्दैन । विज्ञापनको नियमन हुनु राम्रो कुरा हो । यद्यपि, मेरो मान्यता के छ भने, विज्ञापन एउटा यस्तो व्यवसाय हो जो स्वनियमित हुन्छ, हुन करै लाग्छ । विज्ञापनको सन्देश वा प्रस्तुतिमा अलिकति पनि तल-माथि भए, त्यसको सीधा असर वस्तु वा सेवाको उपभोग अथवा छविमा पर्न जान्छ । त्यसको पीडा सञ्चार मन्त्रालयलाई त्यति हुँदैन, जति उत्पादनकर्तालाई हुन्छ । फलस्वरूप दोस्रो दिन त्यो विज्ञापन बजारबाट हट्छ, कसैले हटाउनु पर्दैन ।
सञ्चारमाध्यमसँग गाँसिएर आए पनि सञ्चारमाध्यमले पस्कने समाचार, विचार वा लेख र विज्ञापनबीच तात्विक भिन्नता छ । उदाहरणका लागि, हेर्दा उस्तैउस्तै देखिए पनि, ९९ प्रतिशत वंशाणु समान भए पनि मानिस र चिम्पाञ्जीबीच भिन्नता हुन्छ । त्यसैले मानिसलाई रोग लागेका खण्डमा भेटेरिनरी डाक्टरले उपचार गर्दैन । सञ्चारका माध्यम प्रशस्त भए पनि विज्ञापन मूलतः व्यापार हो । त्यसैले यसको उपचार सञ्चार मन्त्रालयले गर्न मिल्दैन । ऊ सञ्चारमाध्यमको उपचार गर्ने डाक्टर किन नहोस् । अमेरिकामा विज्ञापनको नियमन गर्ने सर्वोच्च संस्था 'फेडरल ट्रेड कमिशन' छ । व्यापारको खेलमा के उचित के अनुचित ? के नैतिक के अनैतिक ? के ठीक के बेठीक ? यो सबै हेर्ने विशेष संस्था सञ्चार मन्त्रालय हुन सक्दैन । नत्र त कानूनी मुद्दामामिलाको निर्णय पनि कानून मन्त्रालयले गरिदिए भइहाल्यो नि, किन स्वतन्त्र निकाय चाहियो र ?
स्मरण रहोस्, अमेरिकामा विज्ञापन अमेरिकी संविधानको पहिलो संशोधनद्वारा संरक्षित छ, जसले वाकस्वतन्त्रतालाई प्रत्याभूत गर्दछ । त्यहाँ विज्ञापनलाई व्यवसायको वाकस्वतन्त्रता मानिन्छ । निश्चय पनि यस स्वतन्त्रताका कैयौं सीमा छन् र ती सीमाहरू नाघिए फेडरल ट्रेड कमिशनजस्ता संस्थाहरू क्रियाशील हुन्छन् । स्पष्ट रूपमा उल्लेख भएका प्रावधानहरूमा टेकेर मात्र यसले कारबाही अगाडि बढाउँछ । हाम्रोमा जस्तो गायत्री मन्त्ररूपी चार लाइनको सर्वअर्थी, सर्वव्यापी मार्गदर्शनलाई आफ्नो स्वविवेकले व्याख्या गरेर, एकले टिप्पणी उठाएर, उठाउन लगाएर र अर्काले सही गरेको भरमा त्यहाँ विज्ञापनमाथि प्रतिबन्ध लगाइँदैन । त्यहाँ स्वविवेकीय अधिकार एकदम न्यून हुन्छ, त्यसैले त अमेरिका प्रजातन्त्रको मात्र होइन, कानूनी राज्यको पनि नमूना मानिन्छ ।
जहाँसम्म विज्ञापनको स्वतन्त्रताको सन्दर्भछ, त्यसलाई नियमन गर्ने स्वतन्त्र निकाय हुनुपर्दछ र त्यहाँ स्वविवेकीय अधिकारको प्रयोग हुने अवस्था हुनु हुँदैन । त्यसका लागि सञ्चार मन्त्रालयले दाहिने र देब्रे आँखाले हेरेर मात्र पुग्दैन, तेस्रो आँखा नै खोल्नुपर्ने हुन्छ ।
लेखक सर्वाधिक कृति अवार्ड जित्ने विज्ञापनकर्मी हुन् ।