शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अर्थतन्त्र र शेयर बजार
रविन्द्र भट्टराई
नेपालको शेयरबजार देशको अर्थतन्त्रअनुसार नचलेको भन्ने भनाइ नियमन निकायका अधिकारीबाट बारम्बार आइरहेको छ । छोटो समयको मूल्याङ्कन गरी दिइएका यी अभिव्यक्तिमा सत्यता भए पनि दीर्घकालमा नेपालको शेयरबजार देशको अर्थतन्त्रअनुसार नै चलेको सेक्युरिटिज रिसच सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस)ले गरेको अध्ययनले देखाएको छ । अन्तरराष्ट्रिय बजारमा उपलब्ध लगानीका पर्याप्त विकल्प तथा लगानी पूवाधार नेपालको बजारमा नभए पनि नेपाली लगानीकर्ताको व्यवहार विकसित देशका लगानीकर्तासरह नै रहेको देखिएको छ । समग्रमा शेयरबजार अन्तरराष्ट्रिय मूल्य र मान्यताअनुसार चलेको छ भन्ने पनि यो अनुसन्धानले देखाएको छ ।

अर्थतन्त्रका पछिल्लो १० वर्षमा तथ्याङ्क र नेप्से परिसूचकलाई आधार मानी गरिएको सो अध्ययनमा शेयरबजारको आर्थिक वृद्धिदरसँगको सम्बन्ध सकारात्मक र ब्याजदरसँगको सम्बन्ध नकारात्मक नै रहेको छ । सिद्धान्तत: शेयरबजारको अर्थतन्त्रसँगको सम्बन्ध सकारात्मक र ब्याजदरसँग नकारात्मक हुन्छ । यसको अर्थ अर्थतन्त्र सुदृढ हुँदा शेयरबजार बढ्ने र कमजोर हुँदा बजार घट्ने हुन्छ । यसैगरी, ब्याजदर बढ्दा शेयरबजार घट्ने र ब्याजदर घट्दा शेयरबजार बढ्ने हुन्छ । अध्ययनका आधारमा अघिल्लो ५ वर्षभन्दा पछिल्लो पाँच वर्षमा यी तत्त्वबीचको सम्बन्ध बढेर गएको छ ।

अध्ययनले देखाएअनुसार १० वर्षको नेप्से परिसूचक र आर्थिक वृद्धिदरको सम्बन्ध सकारात्मक शून्य दशमलव ६१ रहेको छ । यो सम्बन्ध सकारात्मक भए पनि समग्र शेयरबजार घटबढ हुनुमा अर्थतन्त्रका परिसूचकको भूमिका ३७ प्रतिशत मात्र छ भने बाँकी घटबढमा अन्य तत्त्वको प्रभाव रहेको छ । अन्य तत्त्वमा सट्टेबाजी, लगानीकर्ताको व्यवहार, कम्पनी विशेष आदि पर्दछन् । यसमा बढी प्रभाव लगानीकर्ताको आवेग तथा सट्टेबाजी रहेको कम्पनीका मूल्य-आम्दनी अनुपात तथा शेयरबजार र ब्याजदरको सम्बन्धले देखाउँछ । आव २०६३/६४ पछि बढ्न शुरू गरेको ब्याजदरसँगै घट्नुपर्ने शेयर बजार १ वर्षपछि आव २०६४/६५ को अन्त्यबाट मात्र घट्न शुरू गरेको छ । यो कुरा ब्याजदर र नेप्सेको चित्रबाट प्रस्ट हुन्छ । यसैगरी आव २०६५/६६ मा बजार उच्च बिन्दुमा पुग्दा कतिपय कम्पनीको मूल्य आम्दानी अनुपात ४ सय गुणासम्म पुगेको छ । वृद्धिको सम्भावना नदेखिएका र २५ भन्दा बढी मूल्य-आम्दानी अनुपात भएका कम्पनीका शेयर सट्टेबाजी गरिएका शेयरमा पर्दछन् । यो कुरा अध्ययन अवधिमा समग्र अर्थतन्त्रभन्दा शेयरबजारको उतारचढाव उच्च रहनुले पनि पुष्टि गर्छ । अध्ययनको अवधिमा आर्थिक वृद्धिदरको स्टयार्ण्र्डड डेभिएशन १ दशमलव ४३ छ भने नेप्से परिसूचकको २ सय ६० दशमलव शून्य १ छ ।

शेयरबजार र अर्थतन्त्रको सम्बन्ध सकारात्मक भए पनि अर्थतन्त्रको शेयर बजारमा प्रभाव भने केही कम देखिएको छ । यो हुनुमा अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने क्षेत्रका कम्पनीको शेयरबजारमा उपस्थिति नहुनु तथा कृषिमा आश्रति जनताको शेयरबाजारमा पहुँच नहुनु पनि हो । कुल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने कृषिक्षेत्रका कम्पनीको उपस्थिति शेयरबजारमा शून्य छ भने कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशतको योगदान गर्ने वित्तीय मध्यस्थता गर्ने कम्पनीले समग्र शेयरबजारको पोर्टफोलियोको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

पहिलो ५ वर्षको तथ्याङ्कअनुसार अर्थतन्त्र र शेयरबजारको सम्बन्ध शून्य दशमलव १९ र शेयरबजारमा हुने उतारचढावमा अर्थतन्त्रको प्रभाव ३ दशमलव ५ प्रतिशत भए पनि पछिल्लो ५ वर्ष-आव २०६२/६३ देखियताको अवधि)मा भने यो सम्बन्धमा सुधार आई सम्बन्ध शून्य दशमलव ४८ र प्रभाव २२ दशमलव ९७ प्रतिशत पुगेको छ । पछिल्लो समयमा शेयरबजारको अर्थतन्त्रसँगको सम्बन्धमा भएको वृद्धिको प्रमुख कारण शेयरबजारमा नेपाल टेलिकम तथा जलविद्युत् क्षेत्रका कम्पनीको शेयर सूचीकरण हुनु हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चारको भूमिका ९ प्रतिशतभन्दा बढी छ । कुल बजार पूँजीकरणमा यो क्षेत्रको अंश १५ प्रतिशतभन्दा बढी र नेप्से परिसूचक गणनामा यसको भार पनि उच्च रहेको छ । शेयरबजारमा वित्तीय क्षेत्रको पोर्टफोलियो घटाउन सरकारले टेलिकमको प्रतिस्पर्धी कम्पनी एनसेललाई सवसाधारणमा जान प्रोत्साहित गर्नुपर्ने देखिन्छ । यो गर्नसके शेयरबजार बढी तरङ्गित र सन्तुलित बन्न जानेछ । उपभोक्ता खर्चको उतारचढावको मापन गर्ने महत्त्वपूर्ण सूचाकाङ्क यी कम्पनीको आय विवरण हुन सक्ने भएकाले यो क्षेत्रले देशका कुनाकाप्चाको जनताको आयस्तर र खर्चको प्रवृत्तिलाई नेप्से परिसूचकमा प्रदर्शित गर्न सहयोग पुर्‍याउनेछ ।

अर्कोतर्फ समग्र ब्याजदर र शेयर बजारको अन्तरराष्ट्रिय बजारमा हुने गरेका सम्बन्धलाई नेपालको शेयर बजारले पनि प्रदर्शित गरेको अध्ययनले देखाएको छ । लगानीका विकल्पलाई तत्काल परिवर्तन गर्नसक्ने बजार विकासको अभावमा यहाँको बजारले ब्याजदरमा हुने गरेका तत्कालको परिवर्तनलाई प्रदर्शित गर्दैन । यद्यपि ब्याजदरको दीर्घकालीन प्रवृत्तिलाई भने आत्मसात् गरेको अध्ययनबाट प्रस्ट देख्न सकिन्छ । अध्ययन अवधिमा ९१ दिनको ट्रेजरी बिल्सको वार्षिक भारित औसत ब्याजदर र नेप्से परिसूचकको सम्बन्ध सकारात्मक शून्य दशमलव १९ रहे पनि अघिल्लो र पछिल्लो ५ वर्षको अलगअलग सम्बन्ध भने क्रमश: शून्य दशमलव ४६ र शून्य दशमलव ५४ ऋणात्मक रहेको छ ।

यो अध्ययनअनुसार नेपालको शेयरबजारले अर्थतन्त्रका सूचकाङ्कसँग हुनुपर्ने सम्बन्धलाई कायम राखेको छ  र पछिल्ला वर्षमा यस्तो सम्बन्ध बढ्दै पनि गइरहेको छ । केन्द्रीय निक्षेप प्रणालीको कार्यान्वयनसँगै नेप्सेले शेयर कारोबारमा अनलाइन प्रविधिको विकास गरी कारोबारलाई सहजीकरण गरेमा बजारले अन्तरराष्ट्रियस्तरका थप पूवाधार प्राप्त गर्नेछ । यो भएमा देश तथा विदेशमा रहेका नेपालीको आयस्तरलाई बजारमा प्रदर्शित गर्न थप बल पुग्नेछ । पूँजीबजारमार्फत अर्थतन्त्रमा सुधार ल्याउन र अर्थतन्त्रको प्रभाव पूँजीबजारमा बढाउन नेपालको आन्तरिक स्रोत र साधनलाई उपयोग गरी पर्याप्त आन्तरिक बजार भएका र निर्यात गर्नसक्ने जस्तो- जलविद्युत् तथा फोहोर व्यवस्थापन कम्पनीको विकास र प्रवर्द्धन गर्नुपर्ने हुन्छ । फोहोर व्यवस्थापन कम्पनीमा प्रत्येक घरधनीलाई शेयरधनी बनाई घरमा उत्पादित फोहोर कम्पनीले खरीद गरी प्राङ्गारिक मल उत्पादन गर्ने र त्यसको विक्रीवितरण बढाई रासायनिक मलको प्रयोग घटाउन सकिन्छ भने प्लाष्टिकबाट तेल तथा म्याट उत्पादन गर्न सकिन्छ । त्यसैगरी कृषिको व्यवसायीकरण र कम्पनीको सूचीकरण गर्न जरुरी छ । यसको पहिलो प्रयासमा हाल नाफामा सञ्चालन भएको दुग्ध विकास संस्थानको निजीकरण तथा निजीक्षेत्रबाट खुलेका दुध उत्पादन कम्पनी जस्तो- चितवन मिल्कलाई सवसाधारणमा गई स्टक एक्सचेञ्जमा सूचीकरण गर्न प्रोत्साहन गर्नुपर्छ । बजारलाई थप विकास गरी लगानीकर्तालाई सेवा दिन नेप्सेको एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धी बनाउन आवश्यक छ । त्यसका लागि मूल्य बढाबढ प्रक्रिया अवलम्बन गरी थप एक स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्न सकिन्छ । यो गरिएमा आफ्नो नाफा बढाउन नयाँ कम्पनीको सूचीकरणका लागि एक्सचेञ्जहरूले नै मार्केटिङ गर्ने वातावरणको सृजना हुनेछ । यसो हुँदा बजारमा वास्तविक क्षेत्रको प्रभाव पनि बढ्नेछ ।
लेखक शेयर विश्लेषक तथा एसआरसीएसका अध्यक्ष हुन् ।

Admin 2011-04-27