जलविद्युत्मा भुटानको पाठ
ज्ञानेन्द्रलाल प्रधान
नेपालको जलविद्युत् विकासका बारेमा निकै चर्चा हुने गरेको छ । तर, त्यसका लागि सार्थक पहल हुन सकेको छैन । नेपालका राजनीतिक दलहरूमध्ये कसैले १० हजार मेगावाट उत्पादन गर्ने, कसैले २५ हाजार गर्ने, कसैले ५ हजार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तिनलाई सकारात्मक रूपमा नै लिनुपर्छ । तर, सबै राजनीतिक दलबीच साझा प्रतिबद्धता आउन सकेको छैन ।
नेपालको जलविद्युत् विकासका लागि भुटानबाट सिक्नुपर्ने धेरै कुरा छन् । त्यसबारेमा केही चर्चा गर्छु । २० वर्षअघि भारतले भुटानमा जलविद्युत् गृह बनाइदिँदा नेपालका केही विज्ञ भनाउँदाहरू त्यसको ठूलो विरोध गर्थे । हाल विरोधको क्रम कम भएको छ । भुटानमा सबैभन्दा ठूलो १ हजार ४० मेगावाटको 'ताला' विद्युत् आयोजना सञ्चालनमा छ । त्यसभन्दा मुनि ३ सय ८० मेगावाटको 'छुखा' पनि सञ्चालनमा छ । अन्य साना जलविद्युत्गृहहरूको सबै जडित क्षमता जोड्दा १ हजार ५ सय मेगावाट पुग्छ, जबकि भुटानको जनसङ्ख्या जम्मा ६ लाख मात्र छ । नेपालको झण्डै ३ करोड जनसङ्ख्या छ । हामीकहाँ जलविद्युत्को जडित क्षमता जम्मा ७ सय मेगावाट मात्र छ । अहिले भुटानले १ रूपैयाँ ७५ पैसा -भारतीय रुपैयाँ बराबरमा उद्योगलाई बिजुली दिन्छ । त्यसले गर्दा नेपालमा आउने उद्योगहरू पनि भुटान गएका छन् । त्यसैले भुटानको औद्योगिकीकरणमा तीव्र वृद्धि भएको छ । अहिले सबै भुटानीको घरमा विद्युत् सेवा पुगेको छ ।
उनीहरू बिजुलीले घर तताउँछन् । यसबाट त्यहाँको वनविनास हुनुको साटो बढेर गएको छ । यसले गर्दा भुटानको विकास स्वीटजरल्याण्डको पथमा अघि बढिरहेको छ । अहिले यो पर्यटनको पनि राम्रो गन्तव्य बनिरहेको छ । जसरी भुटान र भारतबीचको सम्बन्ध सुमधुर रूपमा अघि बढेको छ, त्यसबाट हामीले केही सिक्नैपर्छ ।
भुटान विद्युत् उत्पादनमा हामीभन्दा धनी भए तापनि जलस्रोतको व्यवस्थापन, निर्माण कार्य, लघु जलविद्युत् आदिमा ऊ हामीभन्दा पछि छ । त्यसमा पनि ऊ हामीलाई जित्ने क्रममा अघि बढेको छ । सन् २०१३ मा सबै भुटानीले बिजुली पाउनेछन् । त्यसपछि भुटानको सम्पूर्ण ऊर्जा व्यवस्थापन आन्तरिक ऊर्जाले गर्नेछ । अहिले पनि उसले आफूले उत्पादन गरेको विद्युत् भारतमा बेचेर उसको बजेटको ४५ प्रतिशतभन्दा बढी आय गरेको छ । हामीकहाँ चाहिँ भारतले बनाइदियो, उसैले लग्यो भन्ने मानसिकता छ । यदि मेरो जमीनमा कसैले आएर घर बनाइदिन्छ र त्यो घरको भाडा तिर्छ भने त्योभन्दा बढी फाइदा के हुनसक्छ ? यो चाहिँ हाम्रा मुख विज्ञहरूले बुझ्नु अति जरुरी छ । भुटानमा भएका सबै कुरा हामीलाई चित्त नबुझ्ला । भुटानमा भारतीय सैनिकले सुरक्षा दिन्छ । त्यो हाम्रो सवालमा चित्त बुझ्ने कुरा होइन ।
भारतले बनाइदिएको जलस्रोतको गति अति नै सुस्त भएका कारण भुटानले वैदेशिक लगानी भित्र्याउने, भुटानीले पनि लगानी गर्न पाउने र भारतीयलाई पनि लगानी गर्न दिने योजना अघि सार्यो । तर, भारत चलाख भएर आफूबाहेक अरू कसैलाई भुटान छिर्न नदिने नीति बनायो । अहिले भारतले ६० प्रतिशत अनुदान र ४० प्रतिशत ऋण संरचनामा भुटानको विद्युत्मा लगानी गरिरहेको छ । अहिले भारत र भुटानबीच ११ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता भएको छ । त्यसबाट उत्पादित बिजुली पहिले भुटानीले प्रयोग गर्न पाउँछन् । उनीहरूले १ रूपैयाँ ७५ पैसा प्रतियुनिटमा बिजुली उपयोग गर्न पाउँछन् । बढी भएको बिजुली भारत निकासी गरेर आफ्नो बजेट चलाउने भन्ने भुटानको नीति छ । १५ वर्षअघि भुटानको बजेट शतप्रतिशत दातामा आधारित थियो । भारतको पैसाबिना भुटानको बजेट चल्दैन थियो । अहिले बजेटको ४५ प्रतिशत भुटानको आफ्नै हुन्छ ।
आउँदो ५ वर्षमा भुटानको बजेट बिनाअनुदान चल्ने अवस्था छ । आगामी १० वर्षमा भुटानले थप १२ हजार विद्युत् उत्पादन गर्ने नीति लिएको छ । भुटानको प्रतिव्यक्ति आय आज ३ हजार डलर पुगिसकेको छ, जुन चीन र भारतभन्दा माथि हो । आउने ५ वर्षमा भुटानको प्रतिव्यक्ति आय ५ हजार डलरभन्दा माथि हुनेछ । आउने १० वर्षमा भुटानको प्रतिव्यक्ति आय जापानपछि एसियामा दोस्रो हुनेछ । भुटान जलविद्युत्को विकासमार्फ आर्थिक रूपमा सम्पन्न मुलुक बन्ने क्रममा छ । त्यसैले भुटानबाट धेरै कुरा सिक्नु जरुरी छ ।
भुटानमा जति पनि जलविद्युत् बनाउने काम हुन्छ, त्यसका लागि भुटान र भारत सरकारबीच सम्झौता हुन्छ । सम्झौताअनुसार कम्पनी खडा हुन्छ । त्यो कम्पनीमा भुटानी र भारतीय दुवै देशका प्रमुख बस्छन् । उनीहरूले योजना बनाइदिन्छन् । त्यो योजनामा कसरी आफ्नो स्वार्थरक्षा गर्ने भन्ने भुटानीहरूको चासो हुन्छ । जलविद्युत् आयोजना बनिसकेपछि केही कर्मचारीहरू भारतीय रहन्छन् भने भुटानीहरूकै क्षमता अभिवृद्धि गरी उनीहरूले नै आयोजना सम्हाल्छन् । छुखा विद्युत्गृह सम्पूर्ण रूपमा भुटानीहरूले नै चलाएका छन् । तालामा दुइ/चारजना भारतीयहरू छन् भने बाँकी सबै भुटानीहरू नै छन् ।
भुटानीहरूले आफ्नो मौलिकता र संस्कृतिलाई पनि जलविद्युत्का क्षेत्रमा प्रयोग गरेका छन् । छुखा जलविद्युत् आयोजनाको भित्तामा गौतम बुद्धको सम्पूर्ण जीवनयात्राको चित्र छ । हाम्रोमा हेर्नुहुन्छ भने जर्मन आउँछन्, डिजाइन गरिदिन्छन् अनि जर्मन चित्र नै झुण्ड्याएर हिँडिदिन्छन् । यहाँ हाम्रो संस्कृति झल्काउने परम्परा छैन ।
हाम्रा विगत र वर्तमानका गल्तीबाट भुटानले यी सबै कुरा सिकेको हो । उनीहरू पनि त्यही भन्छन् । तर, हामीले आफ्नो गल्तीबाट आफैंले सिक्न सकेका छैनौं । भुटानले नेपालको गल्तीबाट धेरै कुरा सिकेको छ । उसले राजसंस्था बचाएर राख्नसक्यो, हाम्रो राजसंस्था गएको कारणले । हामीले जलविद्युत्का विषयमा भारतसँग राजनीति गर्यौं, उसले भारतसँग सुमधुर सम्बन्ध राख्यो । हामीले आफ्नै विद्युत् माग धान्न सकेका छैनौं, उसले निर्यात थाल्यो । भुटानसँग पैसा छैन । ऊसँग सम्भाव्यता मात्रै छ, हामीजस्तै । उसले भारत र अन्य वैदेशिक सहयोग लिएर विकास गरिरहेको छ । त्यसकारण भुटान नेपालको जलविद्युत् विकासका लागि विकासका लागि नमूना हुनसक्छ ।
नेपालको अघिल्लो सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नीति लिएको थियो । अहिलेको सरकारले हौसिएर २५ हजार मेगावाट उत्पादन गर्ने भन्यो । तर, त्यही सरकारले अहिलेको बजेटमा यस सम्बन्धमा एक शब्द पनि बोलेन । त्यसकारण हाम्रो सरकार र हाम्रा मन्त्रीहरूले जलविद्युत्को विकासका बारेमा भुटान गएर सिक्नु जरुरी छ । जलविद्युत्का क्षेत्रमा भुटान कसरी बन्ने भनेर सोच्नुपर्ने बेला आइसकेको छ ।
हामी पञ्चेश्वर बनाउने परिकल्पना गरिरहेका छौँ, सप्तकोशी बनाउने परिकल्पना गरिरहेका छौँ । भारत सरकारसँग सम्झौता गर्र्छौं । अनि आफ्नै कायर् कर्ता उठाएर उनीहरूलाई पिटेर पठाउँछौँ । कि त जलविद्युत् नबनाउने भनेर बस्नुपर्यो । या जलविद्युत् बनाउनुपर्छ भन्ने भावना छ भने कमसेकम डीपीआर त गर्न दिनुपर्यो नि ।
जलविद्युत् राष्ट्रको सम्पत्ति हो । योभन्दा अन्य स्रोतले देशको विकास होला भन्ने मलाई विश्वास छैन । चाहे कृषि भन्नुस्, चाहे पर्यटन, चाहे निकासी, चाहे औद्योगीकरण यी सबै क्षेत्र १०-२० प्रतिशतमा सीमित हुन्छन् । बाँकी ८०-९० प्रतिशत विकास यी क्षेत्रले ल्याउन सक्दै सक्दैनन् । त्यसकारण देशको समग्र विकासका लागि जलविद्युत्को विकास हुनुपर्छ । यो हाम्रो आन्तरिक कच्चापदार्थ हो । यसको व्यवस्थापन गर्नु जरुरी छ । जसरी भुटानले विगत १० वर्षमा फड्को मार्यो, हामी पनि आज शुरु गर्यौं भने आगामी १० वर्षमा धेरै योजनाहरू पूरा गर्न सक्नेछौँ ।
लेखक जलस्रोतविद् हुन् ।